उकुसमुकुसपूर्ण दिनहरूमा अदालतका मुद्दाहरूले मेरो दैनिकी थकित बनाएको थियो । सधैँ कामको चापले घेरेको हुन्छ, जसले जीवनलाई एउटा अनवरत दौड जस्तो बनाइदिन्छ । तर, साउनमा अदालतहरूमा मुद्दा दर्ता र सुनुवाइ नहुने परम्पराले यस वर्ष विदेश भ्रमणको योजना बुनेको थिएँ ।
यस योजनाले मेरो मनमा नयाँ उत्साहको ज्वाला बालिदियो – नेपालको व्यस्त जीवनबाट अलिकति मुक्ति पाएर नयाँ संस्कृति र दृश्यहरूको अनुभव लिने अवसर । तर, यस वर्ष अदालतले साउनको १० गतेसम्म मात्र बिदा दियो । योजना पहिल्यै बनेको थियो, टिकट अनलाइनबाट आफैं काटेको थिएँ ।
कुनै ट्राभल एजेन्सीको सहयोग नलिइ, क्याथे प्यासिफिकको उडान बुक गरेको थिएँ – हङकङ ट्रान्जिटसहित । राति ११ बजेको उडानले मनमा उत्साहको तरङ्ग जगायो । यो यात्रा मेरो लागि मात्र घुमघाम होइन, जीवनको नयाँ अध्याय जस्तो लाग्यो, जसले दैनिक एकनासेपनबाट मुक्ति दिन्थ्यो ।
सहकर्मी मित्र विष्णुकुमार गिरीले मलाई एयरपोर्ट छोड्न गाडी लिएर पर्खेर बस्नुभयो । विष्णुजीलाई गाडीमा हात नबसुन्जेल हेमकुमार भाइले हरक्षण सघाइरहनुभएको थियो । राति ८ बजेसम्म उहाँहरूले मलाई पर्खनुभयो । मैले पटक-पटक भनेको थिएँ, ‘म आफैं जान्छु, राति नकुर्नुस् ।’
तर, उहाँहरूले मान्नुभएन । यो साथीहरूको अपनत्वले यात्राको सुरुवातलाई नै विशेष बनायो । एयरपोर्ट पुग्दा विदेश जानेहरूको ठूलो मेला लागेको थियो । मानिसहरूका सपना, आशा र बिदाइका दृश्यहरूले वातावरणलाई एउटा जीवन्त चित्र जस्तो बनाएको थियो । विष्णुजी र हेमकुमार भाइलाई बिदाइका हात हल्लाउँदा मनमा एउटा हल्का भारीपन महसुस भयो, तर यात्राको उत्साहले त्यसलाई छोपिदियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्ततामा म क्याथे प्यासिफिक काउन्टरतिर लागेँ । मेरो नयाँ पासपोर्टमा जापानको मात्र भिसा थियो । क्याथे प्यासिफिकका कर्मचारीले सोधे, ‘तपाईंको पहिलो पटक हो विदेशयात्रा ?’ मैले भनेँ, ‘यो पासपोर्टबाट पहिलो हो ।’ उनले सोधे, ‘कहाँ-कहाँ जानुभएको छ ?’ मैले पुरानो पासपोर्ट दिएँ र भनेँ, ‘आफैँ हेर्नुहोस् ।’ अमेरिका पटक-पटक गएको, क्यानाडा, अष्ट्रेलिया, कोरियाका भिसाहरू देखेर उनले मुस्कुराउँदै भने, ‘तपाईंलाई थप सोधिरहनु पर्दैन, जानोस् !’ उनले ट्रान्जिटको समेत बोर्डिङ पास दिए ।
यो क्षणमा मलाई लाग्यो, विगतका यात्राहरूको अनुभवले जीवनका बाटाहरूलाई कति सहज र सरल बनाउँछ । तर, अध्यागमन पार गर्न अझै बाँकी थियो । अधिकृतले होटल बुकिङ नभएको देखेर भने, ‘होटल बुकिङ नभई जान मिल्दैन ।’ मैले भने, ‘जापानमा धेरै साथीहरू छन्, उनीहरूले उतै व्यवस्था गरेका छन् । म घुम्न जान लागेको, उतै बस्न होइन । म अमेरिका, क्यानाडाजस्ता मुलुक सबै घुमिसकेको छु । विदेश बस्ने रहर भए तिनै मुलुकमा बस्ने थिएँ ।’
उनले मेरो पुरानो पासपोर्ट हेरे, विभिन्न देशको भिसा देखेर कुलडाउन भए । अनि भने, ‘देख्नुभएकै छ, केही समय अगाडिको नाटक !’ उनले भिजिट भिसामा भएको अनियमिततालाई इङ्गित गरे । मैले भने, ‘मलाई थाहा छ, त्यसैले केरकार पनि गर्नुपर्छ ।’
उनले नेपालमा मेरो काम सोधे । ‘वकालत गर्छु’ भन्दा उनले भिजिटिङ कार्ड मागे । मैले ह्यान्ड लगेजबाट निकालेँ । उनले मेरो भिजिटिङ कार्ड स्क्यान गरेर सिस्टममा राखे, अनि भने, ‘शुभयात्रा !’ सेक्युरिटी पार गरेर प्रतीक्षालयमा पुगेँ । त्यहाँ पत्रकार आशिष ज्ञवालीसँग भेट भयो । उनी पनि हङकङ जाँदै थिए । ट्रान्जिटसम्म सँगै हुने भैयो भनेर खुशी साटासाट गर्यौँ ।
‘कफी पिउँ दाइ !’ उनले भने । एयरपोर्टको महँगो कफी म एक्लै हुँदा कहिल्यै पिउँदिन । तर, उनले कर गरेपछि सहमत भएँ । उनले पैसा तिर्न पनि दिएनन् । साढे २ घण्टाको पर्खाइ सँगै हुँदा सहज भयो, जस्तो कि समयको नदीमा सँगै बहिरहेका दुई डुङ्गा । बोर्डिङ भएपछि जहाजमा सिट अलग पर्यो । हङकङ पुगेपछि पनि भेट भएन, मेसेञ्जरमा कुरा गरेर बिदा भएँ । यो छोटो भेटले यात्रालाई भावनात्मक गहिराइ दियो ।
हङकङको भव्य एयरपोर्टमा सजिलै हराउन सकिने वातावरण थियो, जस्तो कि एउटा विशाल महासागरमा डुबुल्की मारेजस्तो । त्रिभुवन विमानस्थलमा कुमार न्यौपानेसँग भेट भएको थियो, उनी बुवालाई क्यानाडा पठाउन छाड्न आएका थिए । उनले हङकङ पुगेपछि बुवाको मोबाइलमा वाइफाइ जोडिदिनु है भनेर म्यासेज गरे । बुवालाई चिन्न नसकूँला भनेर फोटोसम्म पठाएका थिए ।
मैले हङकङ उत्रिएपछि उहाँलाई खोजेँ, तर ठूलो एयरपोर्टमा उहाँ कतै छलिनु भयो । ‘बुवा भेटिनुभएन’ भनेर म्यासेज गरेँ । छोटो ट्रान्जिट (करिब दुई घण्टा) पत्नै नपाइ बित्यो, बोर्डिङ सुरु भयो । कैलालीका न्यौपाने बासँग काठमाडौंबाट हङकङसम्म सँगै सिट थिएँ । उहाँ छोरालाई भेट्न जाँदै हुनुहुन्थ्यो । हङकङमा तातो पानी खुवाएँ । उहाँले फोनमा छोरासँग सम्पर्क गर्न खोजिरहनुभयो, तर भएन । मैले ढाडस दिएँ, ‘म तपाईंको छोरालाई जसरी पनि भेटाउँला ।’
हानेदा एयरपोर्टमा भने उहाँ हराउनुभयो । एक्लै अध्यागमनमा फर्म भरेँ । अधिकृतले फर्ममा जापानको ठेगाना छुटेको इशारा गरे, भरेँ । एउटै शब्द बोलेनन् । पुरानो पासपोर्ट देखेर मेरो हातबाट लिए । अमेरिकाको भिसा हेरे र एउटै प्रश्न नसोधी इन्ट्री छाप लगाइदिए । अमेरिकाको भिसाको ‘पावर’ यहाँ पनि महसुस भयो ।
भन्सारमा ल्याएका कुरा घोषणा गरेँ । त्यहाँ उपहारका सामान केही ल्याएको छ कि भन्ने प्रश्न थियो । बुद्धका मूर्ति १० थान (मूल्य २००० येन), नेपाली कलाका किरिङहरू २० थान (मूल्य ३००० येन) लेखेँ । अधिकृत अल्मलिइन्, तर कुनै महसुल नलिई बिदा दिइन् । यो सजिलोपनले जापानको प्रणालीको प्रशंसा गरेँ, जसले यात्रुलाई बोझ होइन, सहजता दिन्छ । बाहिर निस्केर सिम लिन खोजेँ – एक साताको ६००० येन १ नेपालमा ५० रुपैयाँमा पाइने सिम यहाँ यति महँगो लाग्यो । एयरपोर्टको फ्री वाइफाइ जोड्न खोजेँ, तर कनेक्ट भएन । इन्फर्मेसन डेस्ककी युवतीले सहयोग गरिन् । वाइफाइ जोडिएपछि घरमा आमालाई फोन गरेँ । अनि अरूलाइ पनि ।
ट्रेनबाट गन्तव्यतिर लागेँ । जापानी रेल खचाखच भरिएको थियो, तर यात्रुहरू साइलेन्ट – सियो खसे पनि सुनिन्थ्यो । यो शान्ति, यो अनुशासन जापानको जनजीवनको प्रतिबिम्ब हो, जस्तो कि एउटा शान्त तालमा प्रतिबिम्बित चन्द्रमा । नेपालको व्यस्त बसहरूको हल्ला सम्झेर मुस्कुराएँ । जापानको यातायात प्रणाली चरम विकासको उदाहरण हो – शिनकानसेन जस्ता हाई स्पीड ट्रेनहरू । जसले समयलाई जित्छन्, स्टेशनहरू सफा र समयबद्ध छन्, जसले जीवनलाई एउटा सुव्यवस्थित यात्रा बनाउँछ ।
सिन्जुकु सिटी पुगेर फ्रेस भएँ । नजिकैको पार्क घुमेँ । जापानको विकास देखेर अचम्म लाग्यो – उज्यालो सहरहरू जसले रातलाई दिन बनाउँछन्, रोबोटहरूको प्रयोग जसले मानव श्रमलाई सहज बनाउँछ, हरेक ठाउँमा प्रविधिको छाप जसले भविष्यलाई वर्तमानमा ल्याइदिन्छ । तर, यो विकासले जनजीवनलाई शान्त र सम्मानपूर्ण बनाएको छ । मानिसहरू विनम्र छन्, सडक सफा छन्, कुनै हर्नको आवाज छैन । नेपालको ट्राफिक जाम सम्झेर लाग्यो, विकासले जीवनलाई कति सहज र सुन्दर बनाउँछ ।

साँझ नेपाली रेस्टुराँमा सुकुटी, हाँसको छोइला र ममको स्वाद लिएँ । स्वाद नेपालकै जस्तो थियो, जसले घरको याद दिलायो, तर मूल्य भने कुनै परिकारको पनि एक हजार येनभन्दा कम छैन । यो महँगाइले चकित बनायो, जस्तो कि मूल्यहरूले आकाशका ताराहरू छुने प्रयास गरेका हुन् । भोलिपल्ट बिहान विण्डो सपिङमा निस्केँ । अनार एकको ४९८ येन, चामल किलोको १६०० येन१ यो मूल्य देखेर सातो गयो, तर जापानको अर्थव्यवस्थाको यो पक्षले विकासको मूल्य पनि सिकायो ।
एउटा पसलको ढोकामा नपुग्दै पसलका मान्छेले नेपालीमा ‘नमस्कार’ भने । नेपाली लवज सुन्दा अपनत्व महसुस भयो, जस्तो कि विदेशी भूमिमा घरको ढोका भेटिएजस्तो । पसलमा थिए चित्र क्षेत्री, नवलपरासीका । मैले सोधेँ, ‘घर कहाँ हो ?’
उनले भने, ‘नवलपरासी ।’
मैले सोधेँ, ‘कतिबेर भयो नेपालबाट आएको ?’
उनले भने, ‘डेढ वर्ष ।’
मैले भने, ‘डेढ वर्षमै व्यवसाय सुरु गर्नुभएको ?’
उनले भने, ‘कहाँ हुनु, म काम गर्ने मान्छे ।’
पसलमा एक बुढा जापानी ढसमस बसेका थिए । मैले सोधेँ, ‘उनी साहु हुन् ?’
उनले भने, ‘हैन, म धेरै जापानी भाषा जान्दिन । कोही जापानी बाहेक अरू भाषा नबोल्ने मानिस आए भने म त्यही बुढा जापानीसँग कुरा गराइदिन्छु ।’
मैले सोधेँ, ‘अनि ती बुढा मान्छेले चाहिँ अरू भाषा जान्दछन् त ?’
उनले भने, ‘कहाँ जान्नु !’
मैले भने, ‘अनि तपाईंसँग चाहिँ उनीहरूले कसरी कुरा गर्छन् त ?’
उनले भने, ‘इशाराले ।’
हामी दुवै हाँस्यौं । यो दृश्यले जापानमा नेपालीहरूको संघर्ष र अनुकूलनको कथा बोल्थ्यो, जस्तो कि एउटा पुरानो कथा नयाँ पात्रहरूले जीवन्त बनाएजस्तो ।
मैले सोधेँ, ‘तपाईंको पसलमा त पूजाका सामग्री पनि पाइने रहेछन् ।’
उनले भने, ‘पूजामा चाहिने सम्पूर्ण सामग्री पाइन्छन् – गौमुत्रदेखि गङ्गाजलसम्म ।’
मैले भने, ‘अनि किराना पसलमा मोबाइल र ट्याब्लेट पनि छन् त ?’
उनले भने, ‘यहाँ सबैभन्दा बढी बिक्ने मोबाइल र ट्याब्लेट त हुन् ।’
मैले भने, ‘यहाँ सबै खानेकुरा महँगो रहेछ है !’
उनले भने, ‘खानेकुरा मात्र हैन, घरभाडा उस्तै महँगो, यातायात, मोवाइल सेब सबै झन् महँगो । चामल किलोको १६०० भनेको सुन्दा सातो गएको थियो । यो बङ्गलादेशको चामल हो, त्यसैले धेरै महँगो ।’
मैले सोधेँ, ‘अनि जापानी सस्तो पाइन्छ ?’
उनले भने, ‘कहाँ पाउनु । किलोको ८०० भन्दा घटि कुनै चामल पाइँदैन । खानेकुरा मात्र होइन, यहाँ हरेक कुरा महँगो छ – रक्सी बाहेक ।’
मैले अचम्म मान्दै सोधेँ, ‘रक्सी चाहिँ कति सस्तो छ ?’
उनले भने, ‘नेपालमा लोकल रक्सी खाएर मात्न कम्तिमा १००० रुपैयाँ चाहिन्छ हैन ? यहाँ लोकल रक्सी पाइँदैन । राम्रै खालको ब्रान्डको रक्सी १०० येनमा एक क्वार्टरभन्दा बढी पाइन्छ, त्यसले मातिहालिन्छ । दिनभर काम गरेर थाकिन्छ, त्यो थकान मेटाउन सस्तैमा सकिन्छ । सय येन खर्च गरे, थकाइ मेटायो ।’
उनले उदाहरण दिँदै भने, ‘नेपालको बियर नेपाल आइसको सानो बोतल ५०० मा बेच्छौँ । अरू यहाँको त्यस्तै बियर १०० येनमा पाइन्छ ।’
मैले पत्याइन, तर एउटा रक्सी पसलमा ५०० एमएलको क्यान बियरको मूल्य सोधेको ३०० येन । नेपालको भन्दा सस्तो । उनको पसलमा वाइवाइ चाउचाउ, आमाको अचार ब्रान्डका अचार, फापर, चामल, कोदोको पीठो पनि बेच्दा रहेछन् । म बसुन्जेल ५/७ जना ग्राहक आए, सबै नेपाली भाषी ।
उनले भने, ‘यहाँ नेपालीहरू धेरै छन् ।’
म पत्रकार पनि भएकोले उनको कुरालाइ लेखमा उतार्ने कुरा गरेँ । ‘रक्सी मात्र सस्तो, अरू सबै महँगो’ भन्ने उनको भनाइलाई हेडलाइन बनाउने भने ।
‘तपाइँ अनुमति दिनुहुन्छ भने तपाइँको एउटा फोटो खिच्छु है !’ उनले म पत्रकार भएको प्रमाण मागे । मैले गुगल गरेर लेखहरू देखाएँ । उनले विश्वास गरे, त्यसपछि नेपाली ढाका टोपी लगाएर फोटोका लागि पोज दिए ।

उनले भने, ‘मेरो फोटो छापिएपछि मलाई लिङ्क पठाउनुस् है !’
मैले भने, ‘म केही दिन यतै हुन्छु, तपाईंको लेख छापिएपछि देखाउन आउँला ।‘
यति भनेर उनलाई बिदाइका हात हल्लाएँ । यो भलाकुसारी लामो भयो, तर जापानमा नेपाली जीवनको एउटा जीवन्त चित्र उजागर गर्यो ।
यो यात्राले जापानको चरम विकासलाई नजिकबाट देखाउने अवसर दियोस् प्रविधिमा आधारित समाज, जहाँ रोबोटहरूले दैनिक कामहरूलाई सहज बनाउँछन्, ट्रेनहरू समयको सुई जस्तो चल्छन्, सडकहरू सफा र सुव्यवस्थित छन् ।
जनजीवन शान्त र विनम्र छ – कुनै झगडा छैन, सम्मानको संस्कृति छ, जसले समाजलाई एउटा सुन्दर बगैँचा जस्तो बनाउँछ । तर, महँगाइ र एकाकीपनको छाया पनि छ, जसले नेपालको सस्तो जीवन र अपनत्वको याद दिलाउँछ ।
यो यात्रा मेरो लागि विकास र भावनाको सन्तुलन सिकाउने एउटा अमूल्य पाठ भयो । जापानबाट फर्कदा, यो संस्मरण मेरो जीवनको अमूल्य सम्पदा हुनेछ, जसले नयाँ दृष्टिकोण दिन्छ ।
(घिमिरे अधिवक्ता एवम् पत्रकार हुन् ।)
प्रतिक्रिया