वर्तमानमा घटिरहेको घटनाको जरा कुनै न कुनै रुपमा इतिहाससँग जोडिन्छ। नेपालको राजनीतिक इतिहासमा पाँचथरका आङ्देम्बे लिम्बूको जरा पनि इतिहाससँग गहिरो गरी जोडिएको छ। पाँचथर आङसाराङको आङ्देम्बे खलकका देउमान आङ्देम्बेले लिम्बू जातिबाट पहिलो मन्त्री हुने अवसर पाएर एउटा इतिहासको रचना गरे। नेपालको राजनीतिक सङ्क्रमणकालमा विक्रम संवत २०१३ माघ २३ गते टङ्कप्रसाद आचार्य प्रधानमन्त्री नियुक्त हुँदा देउमान मन्त्रिमण्डलको आठौँ वरियतामा अर्थ तथा मालपोत उपमन्त्री नियुक्त भएका थिए।
२०१५ को आमनिर्वाचनपछि वि.सं.२०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्त्वमा गठित पहिलो लोकतान्त्रिक सरकारमा देउमानकै माहिला छोरा प्रेमराजले सरकारमा जाने अवसर पाए। उपमन्त्रीहरुमध्ये पहिलो वरियतामा रहेका उनले कृषि तथा खाद्य मन्त्रालयको जिम्मेवारी पाएका थिए। असार १६ मा मन्त्रिमण्डल हेरफेर हुँदा प्रेमराज आङ्देम्बे ग्राम विकास मन्त्री नियुक्त भएका थिए।
पाँचथरका आङ्देम्बेहरुले यसप्रकारको राजनीतिक नेतृत्त्वको अवसर पाउनुको कारण खोतल्दा उनीहरुसँग जोडिएको इतिहासको जरोतिर पुग्नुपर्ने हुन्छ। उनीहरुको इतिहास निक्कै खँदिलो रहेको छ।
आठराईबाट अम्लाबुङ
लिम्बूमा विभिन्न उपसमूह छन्। तीमध्ये पापोहाङ वंशका लिम्बू हुन्, आङ्देम्बेहरु। “लिम्बूको सङ्क्षिप्त इतिहास र आङ्देम्बे वंशावली” (अम्बिकाप्रसाद आङ्देम्बे (सम्पा.), २०६६:३७–४५)मा उल्लेख भएअनुसार आङ्देम्बेहरु मुधाहाङ थाप्लासोका सन्तान हुन्। पहिले आठराई क्षेत्रमा रहेका मुधाहाङको अर्की हजुरआमातिरका कान्छा भाइ मुन्धाङ आवाहाङसँग जग्गा अङ्शसम्बन्धी विवाद भएपछि उनी आठराईको जग्गा आफ्नो भाइलाई छाडेर पाँचथरतिर लागे। पहिले फेदेनको सुम्हालुङ यकमा बसेरपछि अम्लाबुङमा आफ्नो जरोकिलो गाडे। उनीहरु मध्येबाट पछि कोही आङसाराङतिर गए। माथि उल्लेख गरिएका मन्त्रीहरु देउमान र प्रेमराज आङसाराङका आङ्देम्बे हुन्।
आङ्देम्बेहरु तेर्हथुमको इवा, होडालाई आफ्नो पूर्वथलो मान्छन्। त्यहाँका इङ्नामहरु आङ्देम्बेका दाजुभाइ हुन्। लिम्बूको पापोहाङ वंशमा पाँचथरका आङ्देम्बे, लावती, तुम्रोक, तुम्बापो, कोयानाम्बा, इङ्वाबा, सेर्मा आदि थर पर्छन्।
आङ्देम्बेहरु तेर्हथुमको इवा, होडालाई आफ्नो पूर्वथलो मान्छन्। त्यहाँका इङ्नामहरु आङ्देम्बेका दाजुभाइ हुन्। लिम्बूको पापोहाङ वंशमा पाँचथरका आङ्देम्बे, लावती, तुम्रोक, तुम्बापो, कोयानाम्बा, इङ्वाबा, सेर्मा आदि थर पर्छन्। यस्तै तेर्हथुमका इङ्नाम तथा धनकुटाका इवाहाङहरु पनि पापोहाङ वंशकै हुन्।
तमोर नदीमा पाइने एक प्रकारको माछा प्रजातिलाई लिम्बूहरु पापो माछा भन्छन्। यसलाई “लिम्बूनी माछा” पनि भनिन्छ। घर झगडाका क्रममा भाइको सल्लाहले दाजु मुधाहाङ थाप्लासोले आफ्नी हजुरआमा नाहाङ्मालाई बाकसमा हालेर तमोर नदीमा बगाउँदा नमरी माछाको रुपमा देवीमा परिणत भएको लोकविश्वास उनीहरुको रहेको छ। त्यसैले पापोहाङ उपसमूहका लिम्बूहरु उक्त माछालाई आफ्नी हजुर आमा मान्छन्। पाँचथरको साविकको सुभाङ गाउँको वडा नम्बर २, रातमाटेको एउटा ओढारको ढुङ्गे भित्तामा अहिले पनि ठूलो माछाको आकृति छ। पापोहाङ उपसमूहका लिम्बूहरुले ढुङ्गामा देखिएको माछाको उक्त आकृतिलाई आफ्नी हजुरआमाको प्रतिरुप मान्ने गर्छन्।
सेनकालमा यिनै पापोहाङवंशी आङ्देम्बे लिम्बूहरुका एक जना प्रतापी पुर्खा थिए, कुम राय। उनी राजधानी विजयपुरका एक विश्वसनीय लिम्बू भारदार थिए। आफ्ना समकालीन भारदारहरु सुन राय र जङ्ग रायसँग मिलेर उनले वि.सं. १८३१ साउनमा गोरखालीसँग एक सम्झौता गरेका थिए। सोही सम्झौताअनुसार पृथ्वीनारायण शाहले उनीहरुको नाममा एक लालमोहर जारी गरी हिजो मकवानी सेनहरुले लिम्बूहरुलाई दिएको जिम्मा र अधिकार थमौति गरिदिएका थिए। यस लेखमा उनै ऐतिहासिक व्यक्तित्त्व कुम रायको इतिहास खोतल्ने जमर्को गरिएको छ।
लिम्बूसँग गोरखालीको त्यो प्रतिज्ञा
राजा कामदत्त सेनको हत्या गरेपछि सर्वेसर्वा हुन पुगेका देवान बुद्धिकर्ण राय राजधानी विजयपुरको शासन सत्ता सम्हालिरहेका थिए। चौदण्डीबाट झिकाएर कर्ण सेनलाई उनले नाम मात्रको राजा बनाएर विजयपुरको राजगद्दीमा राखेका थिए। उता पृथ्वीनारायण शाहको निर्देशनअनुसार पूर्वतर्फ पहाडी खण्डबाट अमरसिंह थापालाई नायव गराएर सरदार रामकृष्ण कुँवरको सैन्य नेतृत्वमा गोरखाली सेना अगाडि बढिरहेको थियो। तराई खण्डबाट पारथ भण्डारी, कीर्तिसिंह खवास र बलि बानियाँलाई साथमा लिएर बख्शी अभिमानसिंह बस्न्यात विजयपुरतिर बढिरहेका थिए।
वि.सं. १८३१ को असार साउनको समय थियो। बर्षादको समय भएकोले सप्तकोशीमा भेल उर्लिरहेको थियो। गोरखालीले माझकिरात अम्बल गरिसकेको अवस्था भएकोले उनीहरुको सामना गर्न विजयपुरमा बुद्धिकर्ण राय आन्तरिक तयारीमा जुटिरहेका थिए। सम्भवतः उनलाई लागेको थियो– गोरखालीहरु कोशीको उर्लदो भेल तरेर तत्कालै विजयपुर आउन सक्ने छैनन्। उनी ढुक्कैसित विजयपुरमा बसिरहेका थिए।
पृथ्वीनारायण शाहको निर्देशनअनुसार पूर्वतर्फ पहाडी खण्डबाट अमरसिंह थापालाई नायव गराएर सरदार रामकृष्ण कुँवरको सैन्य नेतृत्वमा गोरखाली सेना अगाडि बढिरहेको थियो। तराई खण्डबाट पारथ भण्डारी, कीर्तिसिंह खवास र बलि बानियाँलाई साथमा लिएर बख्शी अभिमानसिंह बस्न्यात विजयपुरतिर बढिरहेका थिए।
तर मध्य वर्षादको समयमा अभिमानसिंह बस्न्यात अम्बरपुरबाट अगाडि बढे। उनले उर्लदो कोशीमा हात्तीद्वारा आफ्नो सेना कोशीपार गराए। उनले एक्कासी हमला गरिदिँदा ८५ जना लिम्बू सेना मारिएको र बुद्धिकर्ण राय हात्तीमा सवार भई विजयपुरबाट पलायन भएको बाबुराम आचार्यले “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी” (२०६१ः४२२) मा उल्लेख गरेका छन्।
विजयपुर आक्रमणलगत्तै यसै विषयमा पृथ्वीनारायण शाहले आफ्ना गुरु योगी भगवन्तनाथलाई लेखेको पत्र योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १” (२०५५ः६–७) मा प्रकाशित गरेका छन्। वि.सं. १८३१ भदौ सुदी ६ रोज ६ मा लेखिएको उक्त पत्रमा “…किरातको अम्बल मदेश पहाड भोट जति थियो आाफ्ना आशिर्वादले सबै फत्ते भयो. मदेश माहाँ कनकाई नदी पहाडमाहा सभा खोलो तमोर नदीको साध लाग्यो. मानिस काट्न पाइयेनन्. भाग्यो कति मोगलानातिर गयो. कति सुखिमतिर गयो. अरु झार जङ्गलमाँहा जना ८५ काटिया” भन्ने परेको छ।
बाबुराम आचार्यले “पूर्णिमा” पूर्णाङ्क २७ (असोज २०२९ः१६७) मा उल्लेख गरेअनुसार वि.सं. १८३१ साउन ५ गते विजयपुर गोरखालीको हातमा गएको हो। पृथ्वीनारायण शाहले आफ्नातर्फबाट उल्लेख गरेको माथिका भनाइ हेर्दा आक्रमण क्रममा ८५ जना मारिएका र लिम्बूहरुको शासन प्रशासनमा प्रत्यक्ष हात रहने विजयपुरलाई गोरखालीले सजिलै कब्जामा लिएको भन्ने देखिन्छ।
तर लिम्बू स्रोतहरुबाट भने पृथ्वीनारायण शाहका भारदारले लिम्बूहरुलाई हात लिन नूनपानी छोएर उनीहरुले हिजो पाउँदै आएको अधिकार कायम गरिदिने बाचा बन्धन गरेपछि र सोहीअनुसार पृथ्वीनारायण शाहले लालमोहर गरेपछि मात्रै केही लिम्बूहरुले गोरखाली आधिपत्य स्वीकार गरेको देखिन्छ।
इतिहासकार इमानसिंह चेम्जोङले इतिहास अन्वेषणका क्रममा पृथ्वीनारायण शाहले लालमोहर गरिदिएकामध्येका सुन रायका एक सन्ततिलाई भेटेर सोधीखोजी गरेका थिए। उनले सुन रायका सन्तति पाँचथर चुङ्जिवाका विचारसिंह चेम्जोङसँग सोधेर लिम्बूहरुसँग गोरखालीहरुले गरेको नूनपानीको प्रतिज्ञा विषयको बयान टिपोट गर्न भ्याएका थिए। चेम्जोङले “किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास” (२०५९ः९४–९६)का उल्लेख गरेअनुसार अभिमानसिंह बस्न्यातलगायतका गोरखाली सैन्य नायकले ताँवाको भाँडामा राखिएको नूनपानी पिएर प्रतिज्ञा गरेको समारोहको दृश्यको सार यस्तो छ :

राजा कामदत्त सेनले कुम रायलाई वि.सं. १८०८ मा लेखेको मोहर (स्रोतः भगिराज इङनाम)।
गोरखा राजप्रतिनिधिहरु अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास र बलि बानियाँसँग विजयपुरमा लिम्बू प्रतिनिधि सुन राय, कुम राय र जङ्ग रायले भेट गर्दा लिम्बू प्रतिनिधिले ताँवाको ठूलो खड्कुलोमा पानी हाली त्यसमा एक पाथी नून हाली ताँवाकै डाडुले चलाए र अभिमानसिंह बस्न्यातलाई खड्कुलोमा भएको नून जस्ताको तस्तै निकाल्न लगाए। बस्न्यातले पानीमा बिलिइसकेकोले नूनलाई जस्ताको तस्तै निकाल्न सम्भव नभएको बताए। लिम्बू प्रतिनिधिले पनि आफूहरुको सर्त मान्ने भए पानीमा नून मिलेजस्तै आफूहरु पनि गोरखालीसँग मिल्न तयार रहेको बताए।
उनीहरुको सर्त थियो, हिजो सेन मकवानीहरुले दिएको जग्गा भोगको अधिकार कायम राखिनुपर्ने। नूनपानीको किरिया खाई यो सर्त पुरा गरिसकेपछि भविष्यमा आफूहरुलाई अपहेलना गरे, आफूहरुको अधिकार खोसे गोरखा वंश मराउ अपुताली परी नूनपानीमा बिलाई हराएजस्तै किरिया खान तयार छौँ कि छैनौ भनी लिम्बू प्रतिनिधिले प्रश्न गर्दा अभिमानसिंह बस्न्यात लगायतका गोरखाली प्रतिनिधिले यो सर्त मान्न आफूहरु तयार भएको बताउँदै किरिया खाँदै एक एक मुख नूनपानी पिए।
यस धर्मसर्तपछि लिम्बू प्रतिनिधि सुन राय, कुम राय र जङ्ग रायले गोरखाली आधिपत्यलाई स्वीकार गरे। यसपछि पृथ्वीनारायण शाहले यी तीन जना लिम्बू सुब्बाहरुको नाममा एक लालमोहर जारी गरिदिए। कतिपय लिम्बूहरुले यस लालमोहरलाई गोरखाली र आफूहरुबीच भएको सन्धिपत्र मान्ने गरेका छन्। वि.सं. १८३१ साउन सुदी १ रोज २ जारी यो लालमोहर इतिहासकार शङ्करमान राजवंशीले “प्राचीन नेपाल” सङ्ख्या ३ (वैशाख २०२५:३०) मा प्रकाशित गरेका छन्।
लालमोहरमा “तिमीहरुलाई हिज पनि पिछा बक्सेको हो त्यो तिम्रो लिम्बूवान मुलुक हाम्रो प्रतापले तिम्रा पुर्खा तुतू तुम्याहांगको प्रताप हान्यो र याहा श्री ढङ्गसन्तान लिम्बुवान खम्बुवान मुलुक हाम्रो भयो तापनि तिमीहरु हाम्रै छौ तिम्रा जहानको पिछा हामीले लियौं जस जस जस्को जे जे तम्रा खाइन् पाइन् लुङ्गवाङ वाङसिंग वांगगङ जिमी भूमी हिजकाके आपुंगी सबै थामी बक्स्यौ” भन्ने परेको छ।
पञ्चाङ्ग विशेषज्ञ समेत रहेका राजवंशी (२०२५:३०)ले पृथ्वीनारायण शाहले यो लालमोहर वि.सं. १८३१ साउन २७ गते सोमबार जारी गरेको उल्लेख गरेका छन्। इलाम जमुनका कहरसिंह लिम्बूले सङ्कलन गरेर राखेको लालमोहरको नक्कलबाट नक्कल गरेर राष्ट्रिय अभिलेखालयले यो दस्तावेजलाई माइक्रोफिल्मिङमा सुरक्षित राखेको छ। यो लालमोहरको डीएनए ७/६० रहेको छ।
यस्तो लालमोहर पाउनेमध्येका एक आङ्देम्बे थरका लिम्बू कुम राय त्यो समयमा विजयपुरको एक महत्त्वपूर्ण भारदार रहेको स्पष्ट हुन्छ।
यस्तो सर्त राखेर लिम्बूहरुसँग सम्झौता गर्ने लामो इतिहास बोकेको गोरखाली राजवंश पछिल्लो समय राज्यच्यूत भइसकेको छ। २०५८ जेठ १९ गते अकल्पनीय घटनामार्फत् तत्कालिन राजा वीरेन्द्रको वंश विनास नै हुनपुग्यो। संयोग नै मान्नुपर्छ, लिम्बूहरुसँग हिजो शाहवंशका राजाहरुले एउटा धर्मपत्र गरे, २०२१ मा भूमिसुधार मार्फत् उक्त धर्मपत्रको वाचा तोडियो। २०५८ मा राजा वीरेन्द्रको वंशविनास भयो। २०६३ तिर आइपुग्दा त नेपालबाट राजतन्त्र नै समाप्त भयो, हिजो लिम्बूहरुसँग नूनपानीको वाचा गर्दा पानीमा नून बिलाएजस्तै। यी घटनाहरु देखिरहँदा वि.सं. १८३१ साउन २७ गते सोमबारको माथि उल्लेखित पृथ्वीनारायण शाहको लालमोहरमा “…तिमीहरुको आपुंगी खाइन पाइन त्यो मुलुक जिमी भुमी जिती हामीले खोसी मासे हामीले पुजी ल्याएको देवताले हाम्रो राजकाज नासोस् भन्ने वाचाको तसली मोहर वाधिदियौं” भन्ने व्यहोरा स्मरणीय भएर आउँछ।

देवान सिरिकान्त रायले कुम रायलाई वि.सं. १८११ मा लेखेको मोहर (स्रोतः भगिराज इङनाम)।
कुम रायको राजनीतिक सक्रियता
अभिमानसिंह बस्न्यातलगायत गोरखाली राजप्रतिनिधिहरुसँग नुनपानीको थिति बाँधेर धर्मपत्र गर्ने तथा सोहीअनुसार पृथ्वीनारायण शाहबाट लालमोहर जारी गराउनेमध्ये पाँचथरका आङ्देम्बे लिम्बू कुम राय एक थिए भन्ने माथि पनि उल्लेख भइसकेको छ। अब उनै कुम रायको राजनीतिक सक्रियताका बारेमा प्रमाणप्रमेय केही ऐतिहासिक चर्चा गरौँ।
कुम रायको जन्म र मृत्युको तिथि उल्लेख भएको हालसम्म कुनै ऐतिहासिक सामग्री भने फेला पर्न सकेको छैन। “आङ्देम्बे वंशावली”(२०६६ः१८४) अनुसार उनी चौधौँ पुस्ताका आङ्देम्बे लिम्बू हुन्। उनका पूर्वजहरु फौदसिंह, खेम्नोदाहाङ, विनोधाहाङ पनि विजयपुरका महत्त्वपूर्ण भारदार थिए। वंशावलीमा कुम रायलाई खेम्नोदाहाङका दाजु विनोदाहाङका नाति भनी उल्लेख गरिएको छ।
कुम राय एक ऐतिहासिक व्यक्तित्त्व हुन् भन्ने प्रमाण प्रशस्तै पाइएको छ। उनलाई सेन राजा कामदत्त सेनले रिझाएर राखेका थिए भन्ने प्रमाण हो– वि.सं. १८०८ वैशाखमा उनलाई प्रदान गरिएको स्याहामोहर। इतिहासकार भगिराज इङ्नामले “लिम्बूवानको ऐतिहासिक अभिलेख सङ्ग्रह” (२०८१:१०) मा यो स्याहामोहरको सक्कल प्रकाशित गरेका छन्। यसअघि अम्बिकाप्रसाद आङ्देम्बेले “लिम्बूको सङ्क्षिप्त इतिहास र आङ्देम्बे वंशावली” (२०६६:१८८)मा प्रकाशित गरेका थिए।
विजयपुरको इतिहासमा राजा कामदत्त सेन र त्यहाँका देवान विचित्र रायबीच मतभेद हुँदा कामदत्त विजयपुरमा टिक्न नसकी अन्यत्रै भागेर हिँड्नु परेको थियो भन्ने प्रमाण पनि हो, यो स्याहामोहर। यो स्याहामोहर राजधानी विजयपुरबाट नभई मूलघाटबाट जारी गरिएको छ। मूलघाट विजयपुरबाट उत्तर र धनकुटा बजारबाट दक्षिण तमोरकिनारमा रहेको एक प्रसिद्ध घाट हो। विस्थापित अवस्थामा रहेका राजा कामदत्त सेनले त्यहीँबाट त्यस समयका चर्चित लिम्बू भारदारहरुलाई रिझाएर हात लिने क्रममा कुम रायलाई यो पत्र लेखेको देखिन्छ।
यताबाट हेर्दा कुम राय वि.सं. १८०८ तिरै सक्रिय थिए भन्ने प्रमाण मिल्छ। वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले उनको नाममा जारी गरेको लालमोहर पनि पाइएकोले कुम रायको २३ वर्ष लामो राजनीतिक सक्रियता ऐतिहासिक रुपमा प्रामाणिक देखिन्छ।
इङ्नाम (२०८१ः१४–१५)ले विजयपुरका तात्कालिन देवान सिरिकान्त रायले कुम रायलाई वि.सं. १८११ भदौ वदीमा लेखेको पत्र प्रकाशित गरेका छन्। पत्रमा “राजभार समर्थ” लेखिएकोले कुम राय त्यसबेलाको राजनैतिक हैसियत उच्च रहेको व्यक्ति थिए भन्न कुनै कञ्जुस्याई गर्न पर्दैन। इङ्नाम (२०८१ः२१–२२)ले विजयपुरका तात्कालीन देवान विचित्र रायले नेम्वाङ राय, लोसुमा राय, सामु रायलगायत कुम रायलाई रैतीहरुबाट खेतिपातीको आयस्ता उठाउनु भनी लेखेको पत्र पनि प्रकाशित गरेका छन्। ज्यादै जीर्ण भएका कारण यस मोहरको तिथि भने अस्पष्ट छ।
यी महत्त्वपूर्ण ऐतिहासिक पत्रहरु अहिले पनि कुम रायका सन्तति हर्कबहादुर आङ्देम्बेसँग सुरक्षित छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर १ (साविकको नवमीडाँडा–६) का हर्कबहादुरका बुबा पनि उक्त क्षेत्रका नाम चलेका लिम्बू सुब्बा थिए। गाउँमा उनी “रत्ने सुब्बा”को नामले परिचित थिए। यति पुरानो ऐतिहासिक पत्रहरु हालसम्म पनि सुरक्षित राखेर यो परिवारले इतिहासको क्षेत्रमा ठूलो योगदान गरेकोमा दुइमत छैन।

देवान विचित्र रायले कुम रायलगायत लिम्बूहरुलाई लेखेको मोहर (स्रोतः भगिराज इङनाम)।
यो परिवारसँग विजयपुर हात लिनुअघि नै लिम्बूहरुलाई आफ्नो पक्षमा पार्न कुटनीतिक रुपमा वि.सं. १८२९ माघ सुदी ४ रोज ३ मा कान्तिपुर मुकामबाट आङ्देम्वे लिम्बू पुनि रायलाई लेखेको पत्र अहिले पनि सुरक्षित रहेको छ। यो नै अहिलेसम्म लिम्बूहरुलाई पृथ्वीनारायण शाहले लेखेको पत्रहरुमध्येको सक्कल हो। अन्य पत्रहरु सारेर राखेको अवस्थामा फेला परेका हुन्।
माथि सुरुमै भनियो, वर्तमानमा घटिरहेका घटनाहरुलाई गम्भीरतापूर्वक नियाल्यौँ भने त्यसको जरा इतिहाससँग जोडिएको पनि स्पष्ट देखिन सक्छ। जस्तो कि लिम्बूमा पहिलो पटक मन्त्री हुने अवसर पाएका देउमान आङ्देम्बेको राजनीतिक इतिहासको विरासत उनकै वंशका अगुवा व्यक्तित्त्व कुम रायले कायम गरिदिएका रहेछन्।
प्रतिक्रिया