निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी आन्दोलनकारीको प्रवेश भयो । आन्दोलनकारीलाई ओलीले आग्रह गरे- ‘मसँग भएका अरु सबै सामान डढाए हुन्छ तर आइप्याड भने कुनै हालतमा दिन्न ।’ प्रदर्शनकारी सोधे- ‘त्यो आइप्याडमा के छ र, हामीले नपाउने ?’
ओलीले बेलिविस्तार लगाए- ‘यसमा राजनीतिक ज्ञान छ । माक्र्स, लेनिन, माओवाददेखि समाज रुपान्तरणको सूत्र छ । मुलुकलाई आर्थिक समृद्धिमा लैजाने रोडम्याप छ । चुनावताका पार्टीले व्यक्त गरेका संकल्प छन् । जनता लटपट्याउने खुराफाती काइदा कानुन छन् । अनन्त सत्ता हत्याउने रणनीति छन् ।’ प्रधानमन्त्रीका व्याख्या सकिन नपाउँदै प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिने गरी प्रदर्शनकारीले दुई चड्कन लगाए । अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए ।
परिवर्तन चाहनेले निर्भिकतापूर्वक आफ्नो धारणा राखे- ‘राजनीतिक प्रतिवद्धता आइप्याडमा हैन, व्यवहारमा उतार्ने विषय हो । यो एजेण्डामा तपाईं आलोकाँचो हुनुहुँदो रहेछ । हामीलाई शिक्षा दिने गुरु कापीमा नभएर मनमा राख्थे । उनको दीक्षाले सिकेको ज्ञान कर्ममा उतार्ने प्रेरणा प्राप्त भयो । कापी हेरेर ज्ञान दिने र ज्ञानका कुरा आईप्याडमा राख्ने सबै फटाहा हुन् । त्यही कारण तपाईं अपमान योग्य हुनुभयो ।’
सयौं सुरक्षाकर्मीबीच रहेका प्रधानमन्त्रीलाई शिक्षा दिएका किशोर सुरक्षितसाथ त्यहाँबाट बिदा भए ।
विषय काल्पनिक भए पनि प्रकारान्तरमा नेपाली राजनीतिमा यही दृश्य सत्य प्रमाणित भयो । यस घट्नाले बोक्ने गाम्भीर्य नै यसपटकको आन्दोलनले बोकेको भावभूमि हो । आगो लागेपछि दमकल किन्न टिप्पणी उठाउने खरदारी शैलीमा रमाइलो गर्ने सरकारी कार्यशैलीलाई आन्दोलनकारीले दमकलको तागत नपुग्ने आकारमा आगो झोसिदिए । सोच्ने एउटा, बोल्ने अर्को र गर्ने झन् अलग कर्मले हरेक नेताको इतिहास बिटुलिएको छ । राज्यमा स्थापित अनुत्तरदायी ठग शासनप्रणालीका कारण हरेक सरकार प्रमुख रत्नपार्कमा औषधी बेच्न चिच्याउने पात्रजस्तै जोक्कर बन्ने गरेका छन् ।
राज्यमा स्थापित अनुत्तरदायी ठग शासनप्रणालीका कारण हरेक सरकार प्रमुख रत्नपार्कमा औषधी बेच्न चिच्याउने पात्रजस्तै जोक्कर बन्ने गरेका छन् ।
ओली, दाहाल र देउवा शैली नाम नभएर प्रवृत्ति हो । हिजो राजा ज्ञानेन्द्रलाई सत्ता ढल्ने अघिल्लो दिनसम्म आफ्नो सरकार बज्रझैं लाग्थ्यो । राज्यलाई समानान्तर च्यालेन्ज गरेर बहादुरीपूर्वक नेपाली राजनीतिको मैदानमा उत्रिएको प्रचण्ड मिसाइल ‘कटुवाल’ नामको एउटा मट्याङ्ग्रा प्रहार सहन नसकेर पहिलो ब्याटिङमै बिचलित भयो । चारगणले छेकेको सर्वशक्तिमान राजपरिवारको नास रक्तकुण्डमा हुन्छ भन्ने छनक कसलाई थियो ?
दीपेन्द्रको विवाह कारण बनाइनु त एउटा कुशल निर्देशकले सिनेमाभित्र परिकल्पना गरेको भावुक दृश्य मात्रै हो । बेस्सरी जनमत पाएको, बडो जुक्तिले काम लिएको, कसैको आर्शिर्वाद रहेको आधारमा कुर्सीको निजीकरण सफल भएको देखिदैन । प्राविधिक शब्दका अर्थनीति मुखाग्र हुने तर चुलोको अर्थशास्त्र नबुझ्ने देश निर्माणको इन्जिनियरिङका कारण नेपालीको भाग्य मिलको फित्ता घुमेझैं गन्तव्यबिनाको चक्रव्यूहमा घुमेको दशकौं भयो ।
हजुरबादेखि नातिपुस्तासम्मले गरिबीको सारंगी पेट उदाहरण दिने इथियोपियामा फलेको बेसारले नेपालीको तिउन, तरकारी रंगिएको छ । जोडी अंकको आर्थिक विकासमा पाइला टेकेको इथियोपियालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याउने बहादुर नेपाली त्यतिबेला लज्जित हुनेछन, जतिबेला परिवार पाल्ने उपाय नभेटेर श्रम बेच्न त्यहाँ जान लाईन लाग्नुपर्ने दिन अब धेरै टाढा छैन् ।
खानेतेलको गुणस्तरमा इतिहास बनाएको खोकनाका तेलमिल रुस, युक्रेन र अष्ट्रेलियाबाट ल्याइएको तोरीले धानेको वर्षौं भइसक्यो । भक्तपुरको जुजु धौ घिटिक घिटिकको अवस्थामा रहेका बेला नेपाली बजारमा स्पेनबाट आयातीत दहीको तिर्खा बढ्दो छ ।
विश्वमा हतियार बेचेर खरबौं डलर भित्र्याउने अमेरिकाले झण्डै १७ लाख केजी भटमास नेपाली भान्सामा छिराएको सत्यले नेपालको कुन राजनीतिक कोर्समा ठाउँ पाउला ?
विश्वमा हतियार बेचेर खरबौं डलर भित्र्याउने अमेरिकाले झण्डै १७ लाख केजी भटमास नेपाली भान्सामा छिराएको सत्यले नेपालको कुन राजनीतिक कोर्समा ठाउँ पाउला ? अर्जेन्टिनाले कलाकौशल मार्फत फुटबल मात्र देखाउँदैन बरु त्यहाँबाट पठाइएका जुनेलो नेपालीका दाँतलाई उपयुक्त फाँकी बनेका छन् ।
वर्षौंदेखि नारा समृद्धिको भए पनि काम गर्ने शैलीमा एक इन्च परिवर्तन आएको छैन् । इन्जिनियरकी छोरीको विहेमा ठेकेदारले समयमै बैंक खातामा खर्च जम्मा नगरेको दोष आयोजनाले सामना गर्नु परिरहेकै छ । यी अनेकन गाँठा सुशासनका बाधक हुन् ।
आन्दोलनबाट बनेको सरकारले दृश्यमा नदेखिने तर खिल बनेर पीडा दिइरहने यस्ता समस्या आत्मसात गर्न जरुरी छ । वेस्ट मिनिस्ट्री प्रणालीमा प्रधानमन्त्रीको बोली नै कानून हो । तर यस्तो शक्तिशाली प्रधानमन्त्रीको कार्यालय मन्त्रीले नपत्याएका सचिवकोे अखडा बन्ने गरेको छ ।
यस्तो गम्भीर निकायलाई मनसा, बाचा, कर्मणा शक्तिशाली बनाउनुपर्ने दायित्त्व कसले निर्वाह गर्ने ? नयाँ सरकारका अनुहारमा सधैँ प्रकट हुने राष्ट्रिय गफाडीको नजिर मेटाउनु यो सरकारको पहिलो र अन्तिम कर्तव्य हो । अर्कातिर संघीयताले थुम्का थुम्कामा सेवक नभएर शासकका चेकपोष्ट बढाएको अर्को यथार्थ जगजाहेर छ । ठूलामान्छेबाट आजित देश, ठूलामान्छेकै घमण्डले अस्थिपञ्जरमा अनुवाद हुनपुग्यो ।
लुटतन्त्रका उम्दा पात्रले सन्तानका लागि शहरमा वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देशप्रेमको संस्कार दिएनन् । त्यसैले घरघरमा सन्तान हैन, आत्मघाती बम उत्पादन भइरहेका छन् । माटो मुटुमा नभएर फेसबुकमा दुख्ने गर्छ । नेपालमा हाँस्न बिर्सिएको नेपाली विदेशी भूमिमा खुसी हुने भाकल गर्छ ।
लुटतन्त्रका उम्दा पात्रले सन्तानका लागि शहरमा वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देशप्रेमको संस्कार दिएनन् ।
देश के हो ? यसको उत्तर शरणार्थीलाई थाहा छ । दलाई लामासँग के छैन ? सबैथोक हुँदा पनि माटो नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहो-याउनु उति अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो ।
राजनीतिशास्त्र भन्छ- ‘जनता कहिल्यै गलत हुँदैन ।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदैछ । कसैको बेली कसैलाई पच्दैन । राजनीतिक रिङ बाहिर बसेकाको प्रदूषणले राजनीतिका कलपूर्जामा खिया लागेको छ । खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्नेसम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ । देश संघीयतामा गएर संघीय संरचना बनिसक्दा पनि पदाधिकारीलाई पाएको पदप्रति स्नेह छैन । देश बनाउने रोडम्यापभन्दा उनीहरुलाई सलामीको लोभ छ ।
मन्त्री भएपछि बाटोमा ठाडो रहेको बिजुली पोललाई पनि आदेश दिए पालन हुन्छ भन्ने असफल राजनीतिक डक्टिनलाई अहिलेका प्रतिनिधिहरुले सच्याउन आवश्यक छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । आफ्नै जन्मदर्ताको रेकर्ड राखिएको पालिका, वडा कार्यालय असन्तुष्टिका नाममा त्यहीँका मानिसले जलाएका छन् । आफूले कर तिरेको सम्पतिमा आगो लगाउने यो कर्म एउटा देशभक्त मानिसका लागि कति सुहाउने विषय हो ? यो त खरानीका लागि घर पोल्ने मूर्खता शिवाय केही होइन ।
बेथिति यति बढ्यो कि दर्ता चलानीको काम समेत शुभलाभबिना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न बिचौलियाको भरथेग चाहिन्छ । कर्मचारी सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चार वर्षे बच्चो राजा बनाउनेदेखि लिएर तिलस्मी देवदूतका रुपमा प्रचण्ड अवतारको अवतरण गराई डेढ दशक बीचमा नाङ्गेझार बनाउने प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ ।
जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ ।
नेताहरुको कमजोरीको फाइदा उठाएर स्वार्थीले देशमा फौजी निकायको संख्या लाखौं पु-याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीमा आएन ।
सन् १९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो । अहिले त्यही चीनले पठाएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरुप प्रयोग गरी फेसबुकमा भारतलाई धम्क्याउनुअघि चीन र भारतबीच दुई खर्ब डलर बढीको व्यापारिक सम्झौता छ भन्ने सत्यसँग थोरै परिचित भइदिए कति गुन लाग्थ्यो । जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ ।
प्रतिक्रिया