खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल « Khabarhub

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन् शक्तिशाली बनेर आएका छन् ।

अर्कातिर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष अपेक्षाकृत कमजोर बन्न पुगेको छ । १९ सदस्यीय पदाधिकारीमा १७ जना ओली पक्षका निर्वाचित हुँदा ७२ जना खुला केन्द्रीय सदस्यतर्फ पोखरेल पक्षका एकजना मात्रै आएका छन् ।

पदाधिकारी र केन्द्रीय कमिटीको संख्यात्मक संरचना केलाउँदा पार्टीभित्र शक्ति सन्तुलनको हिसाबमा ओली स्पष्ट बर्चस्व कायम गर्न सफल भएका छन् ।

चितवनमा भएको दशौँ महाधिवेशनबाट ओली र इतर पक्ष पदाधिकारीका करिब बराबरी थिए । केन्द्रीय कमिटीमा पनि कम्तीमा ७० जना सदस्य ओलीको विपक्षी कित्तामा थिए ।

तर यस पटक पदाधिकारीदेखि केन्द्रीय कमिटीमा समेत ओलीले एकलौटी गरेका छन् । ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै पार्टीको नेतृत्वमा उनको पकड अझै बलियो बनेको छ। अध्यक्षसहित अधिकांश प्रमुख पदाधिकारी उनीनिकट निर्वाचित हुँदा निर्णय प्रक्रियामा ओलीको प्रभाव झन् बढ्ने निश्चित भएको छ ।

ओलीलाई पदाधिकारीमा चुनौती दिने उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्रै देखिएका छन् । पदाधिकारी र केन्द्रीय कमिटीको हिसाब गर्दा पोखरेल पक्ष जम्मै १२ जना अटाएका छन् । पोखरेल पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि हारेका छन् ।

उता ओली पक्षका उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिवका उम्मेदवार विष्णु रिमाल पनि केन्द्रीय सदस्यमा हारेका छन् । तर यो क्षति महेश बस्नेत जस्ता लडाकु र शंकर पोखरेल जस्ता सहयोगी जिताएर ओलीले परिपूर्ति गर्न सक्छन् ।

पोखरेल पक्षले ९ सचिवमा एकजनालाई पनि जिताउन सकेन । गोकुल बास्कोटा र कर्ण थापा जस्ता चर्चित अनुहार पनि पराजित भएका छन् । निर्वाचित केन्द्रीय सदस्यहरूमा ओली पक्षका नेताहरूको संख्या उल्लेख्य छ ।

यस परिणामले एमालेमा आन्तरिक शक्ति सन्तुलन अब गौण बनेको छ । अब एमालेमा ओलीको एकल नेतृत्व चल्ने अवस्था छ । त्यही छनक ओलीले बिहीबार भएको शपथमा पोखरेलसहितलाई नबोलाएर दिइसकेका छन् ।

पोखरेल समूह पदाधिकारी तहमा अपेक्षित सफलता हासिल गर्न नसक्दा पार्टीभित्रको शक्ति सन्तुलन फेरिएको छ। उक्त समूहको भूमिका खुम्चिँदा ओलीका लागि आफूअनुकुल जुनसुकै निर्णय गर्ने बाटो खुलेको छ।

झपटले धानेको इज्जत

उता पदाधिकारीमा दुईजना जिताएको पोखरेल पक्ष खुला केन्द्रीय सदस्यमा पनि निरीह देखिएको छ। ७२ जना खुला केन्द्रीय सदस्यमध्ये पोखरेल पक्षका एकजनाले मात्रै जितेका छन् ।

पदाधिकारीमा उठेर हारेका पोखरेल पक्षीय नेताहरूले कर्णबहादुर थापा, गोकुल बास्कोटासहितले केन्द्रीय कमिटीमा त जित निकाले । तर, खुला केन्द्रीय सदस्य एउटा मात्रै पदमा उम्मेदवारी दिएर जित्ने नेता हुन् झपट रावल । उनलाई ओली पक्षले आफ्नो प्यानलमा राखेको थिएनन् । उनको पदाधिकारीमा पनि उम्मेदावारी थिएन।

उनले ७२ जनाका लागि भएको प्रतिस्पर्धामा पोखरेल प्यानलबाट १२४२ मतसहित ४३ औँ नम्बरमा रहँदै जित निकालेका छन् । खासमा उनी पोखरेल प्यानलबाट सचिव पदमा उठ्न चाहन्थे ।

तर नेता व्यवस्थापन गर्दै जाँदा उनलाई खुला केन्द्रीय सदस्यमा टिकट मिल्यो । सुदूरपश्चिमका नेता कर्ण थापासमेत सचिवमा उठेपछि उनी केन्द्रीय सदस्यमा सीमित भएका थिए । खुला केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर जित निकाल्ने रावल पोखरेल पक्षका एक्ला नेता भएका छन् ।

कैलाली क्षेत्र नम्बर २ का पूर्वसांसदसमेत रहेका उनले यो जितपछि एमालेभित्रको लोकतान्त्रिक चरित्रलाई बचाइरहन कोसिस गर्ने बताए । उनले लोकतान्त्रिक प्रतिस्पर्धाबाट मिलेको उपलब्धिलाई पार्टीको उन्नयनमा प्रयोग गर्ने पनि उल्लेख गरेका छन् ।

कैलालीका उनीसँगै सुदूरपश्चिमका लेखराज भट्ट उपमहासचिव पदमा निर्वाचित भएका छन् । भट्ट ओ‌ली प्यानलमा थिए । अन्य ५ जना नेताहरू पनि केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । माओवादीबाट आएका पूर्वमन्त्री गौरीशंकर चौधरी पनि केन्द्रीय कमिटीमा आएका छन् ।

सुदूरपश्चिमबाट अन्यमा प्रदेश सांसद सन्तोषकुमारी शर्मा थापा, लीला भण्डारी र कमला ओलीले जितेका छन्

पोखरेल समूहका केन्द्रीय सदस्य

क्र.सं. नाम
१ ईश्वर पोखरेल
२ गोकर्ण विष्ट
३ योगेश भट्टराई
४ अग्निप्रसाद खरेल
५ आनन्द प्रसाद पोखरेल
६ कर्णबहादुर थापा
७ कृष्णगोपाल श्रेष्ठ
८ गोकुलप्रसाद बास्कोटा
९ झपट बहादुर रावल
१० ठाकुरप्रसाद गैरे
११ रचना खड्का
१२ विन्दा पाण्डे

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ११ बजे

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह