अर्थतन्त्रमा लापरवाही गरिरहन मिल्दैन, बैंकिङ सुशासन आयोग बनाऔँ | Khabarhub Khabarhub

आइएसएसआर नीति बहस

अर्थतन्त्रमा लापरवाही गरिरहन मिल्दैन, बैंकिङ सुशासन आयोग बनाऔँ

बैंक र उद्यमीबीच शोषक र शोषितको सम्बन्ध हुनु हुँदैन



आज म बैंकिङ क्षेत्रबारे भइरहेको छलफलको दोस्रो कार्यक्रममा पनि उपस्थित भएको छु । अघिल्लो कार्यक्रममा पनि भनेको थिएँ कि म यो क्षेत्रलाई नबुझेको, अलि टाढाबाट मात्र हेरेको व्यक्ति हुँ । किनभने, मसँग बैंकमा डिपोजिट राख्ने पैसा पनि छैन, ऋण लिएको पनि छैन, अब डुब्ला भन्ने डर पनि छैन । त्यो अवस्थाको मान्छे भएको हुनाले मैले धेरै सरोकार राखेर नहेरेको विषय थियो । अघिल्लो शत्रमा बसेपछि यो क्षेत्रबारे केही धारणा बनाउने अवसर मिल्यो ।

यहाँहरु बैंकर, बैंकको नेतृत्व गर्नेहरू हुनुहुन्छ । जलविद्युत, कृषि, पर्यटन क्षेत्रका मान्छेहरू हुनुहुन्छ । यहाँहरूसँग स्रोतसम्पन्न जुन अनुभव छ, आ–आफ्नो क्षेत्रमा योगदान दिनुभएको छ । त्यसको लाभ देशले पाउनुपर्छ, त्यसमा विवाद भएन । आज हामी बैंकलाई केन्द्रमा राखेर, बैंकले खासगरी जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा दिएका योगदान र अब गर्नुपर्ने कामका विषयबारे कुरा गर्न खोजिरहेका छौँ ।

पहिले एउटा बैंक थियो, दुईवटा भयो, अहिले धेरै बैंकहरू छन् । वित्तीय संस्थाहरू धेरै भएका छन्का । हाम्रो मुद्राप्रदाय र कारोबार बढेको छ । उपभोक्ताहरू पनि बढेका छन् । सबै चिज त बढेको छ, त्यसो भइकन पनि हाम्रो उत्पादकत्व त बढेको छैन । हाम्रो उद्योग पनि बढेको छैन । कृषि पनि बढेको छैन । पर्यटन पनि बढेको छैन ।

छँदै छैन भन्ने होइन, केही बढेको पनि होला । तर, यो देशको जुन सम्भावना र आवश्यकता हो – त्यसको बाबजुद यो क्षेत्रले देशलाई योगदान दिन खोज्दाखोज्दै पनि अपेक्षित मात्रामा भइरहेको अनुभव छैन।

यो पनि-

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

बैंकिङ क्षेत्रले कारोबार त बढाएको छ, तर यसको उत्पादनशीलता के हो ? किनभने हामीकहाँ कृषि उस्तै भएपछि, उद्योग उस्तै भएपछि, अझ घट्दो अवस्थामा भएपछि…! दुबै उत्पादनमा आयात निर्भर हुनुपरेको छ । पर्यटन क्षेत्रमा आशा र दाबी धेरै हुने र न्यून कुरा हासिल भएपछि यी क्षेत्रबारे हामीले समीक्षा गर्नैपर्छ । हामी प्रतिरक्षात्मक हुन जरुरी छैन ।

अर्थतन्त्रले यो क्षेत्रबाट जे जति योगदान पाउनुपर्छ, जे जति सम्भाव्यता छ, त्यसबाट भरपूर लाभ पाउनुपर्छ । यसो हुने के कुराले रोक्यो होला, के कुराले अप्ठेरो पार्‍यो होला भन्ने हिसाबले हामी यो कार्यक्रममा यहाँ बसिरहेका छौँ जस्तो लाग्छ ।

अब सबै उद्यमीहरू कालोसूचीमा भएपछि नयाँ उद्यमी त्यही सूचीमै थपिन किन आउँछ ? जति कालोसूची भयो, त्यति नयाँ उद्यमी आउँदैन, देश छोड्ने अवस्था आउँछ

बैंकिङ क्षेत्रबारे म सँग खास अनुभव छैन । तर, मैले अड्कल गरिरहँदा के देखिरहेको छु भने बैंकले प्रवाह गर्ने ऋणको ठूलो उपभोक्ता को हो ? बैंकको कर्जा कति प्रतिशतले भोगिरहेका छन् ? बहुसङ्ख्यक नागरिकमा बैंकिङ पहुँच कति छ ? कृषि, पर्यटन, शिक्षा लगायत उद्यम/व्यवसाय चलाउन बैंकिङ पहुँचको लाभ कतिले लिन पाएका छन् ? निकै थोरैले यसको लाभ र स्रोत उपभोग गर्ने, तर योगदान दिन नसक्ने अवस्था रहनु चिन्ताजनक छ ।

बैंकमा खर्बौं रुपैयाँ तरलता छ । तर, लगानी भइरहेको छैन । तरलता माग छैन । ऋणीलाई ऋण नचाहिएको पनि होइन, ऋण चाहिएको छ, माग्न सक्ने अवस्था छैन । ऋण माग्नका लागि अवस्था यस्तो भयो कि ‘ऋण लिएपछि तिर्न सक्छु, व्यवसाय बचाउनु सक्छु’ भन्ने अवस्था छैन । यहाँ ठूला व्यवसायी पनि हुनुहुन्छ, अन्यथा नलिनुहोला । के देखिरहेको छु भने साना व्यवसायीको ऋण असुलीमा सख्त कारबाही हुने, ठूला व्यवसायीको ऋण चाहिँ पुनःसंरचना र पुनःतालिकीकरण गर्ने भइरहेको छ । यो मापदण्डले के गर्छ ? अर्थतन्त्रलाई ‘बुस्ट’ गर्छ र ?

स–साना उद्यमीले पनि बैंकबाट कर्जा सुविधा पाउनुपर्छ । पैसा नभएको कारण उद्यम गर्न नपाएको नहोस् । उसले उद्यम चलाउन पाओस् । मैले के एउटा प्रवृत्ति देखेँ भने – यो चाहिँ ‘कोल्याटल बेस’, धितो चाहिने, एक करोडको धितो छ भने २५ लाख रुपैयाँ मूल्याङ्कन गरिदिने ! ऋण प्रवाह गर्दा २० लाख रुपैयाँ गरिदिने । लिलाम गर्दा २० लाख रुपैयाँ पनि आउँछ कि आउँदैन भन्ने भइरहने ! यो यस्तो किमिसमको समस्या छ । त्यसभित्रको जुन प्रक्रियागत झन्झट छ – त्यो छिचोल्न नसकिने !

तपाईं (बैंकर)हरूले मूल्याङ्कन गर्नुभएकै हुन्छ त ! जग्गाको मूल्याङ्कन गरेको नै हुन्छ । मूल्याङ्कन गरेको जग्गा लिलाम हुँदा कम्तिमा उचित मूल्य त पाउनु नि ! मूल्याङ्कन गर्दा र लिलाम गर्दा अर्को दर हुने भएपछि फेरि के भयो ? त्यसकारण बैंकले कति चाहिँ विश्वास आर्जन गर्नसक्यो ? कति सहजीकरण गर्नसक्यो ? यसतर्फ ध्यान पुर्‍याउनुपर्छ ।

जतिसुकै महँगो भए पनि हामीले राष्ट्रिय उत्पादन नै प्रयोग गर्नुपर्छ, यहीँ उत्पादन बढाउन जोड दिनुपर्छ । ‘बाहिरबाट आयात गर्दा सस्तो पर्छ’ भन्दै आयातलाई नै प्रोत्साहन गर्न मिल्दैन

अब सबै उद्यमीहरू कालोसूचीमा भएपछि नयाँ उद्यमी त्यही सूचीमै थपिइन किन आउँछ ? त्यसकारण लामो कालोसूची बनाउनु भनेको उद्यमीहरूलाई अनुकूल बनाउने वातावरण हो जस्तो मलाई लाग्दैन । जति कालोसूची भयो, त्यति नयाँ उद्यमी आउँदैन, देश छोड्ने अवस्था आउँछ । नयाँ उद्यमी नआएपछि माग सिर्जना हुँदैन । माग सिर्जना नभएपछि लगानी गर्न पाइँदैन । लगानी नभएपछि विकासको सम्भावना रोकियो, कारोबार घट्यो । यो हिसाबले बैंक पो कति दिन सुरक्षित होला ? बैंकले आखिर बचतकर्तालाई ब्याज त तिर्नुपर्छ होला । ब्याज तिर्नलाई पनि हम्मे अवस्थामा पुग्यो भने बैंका पनि सहकारीकै समस्या नआउला त ? त्यस्तो नहोस् ।

बैंक त हामी सबै जनताको सम्पत्ति हो । त्यसकारण बैंकसुरक्षित हुनुपर्छ, सफल हुनुपर्छ, बैंकको लाभ अर्थतन्त्रले भरपूर पाएको हुनुपर्छ । त्यसलाई कसरी सिर्जनात्मकरुपमा अगाडि लैजान सकिन्छ ? मैले के भन्न चाहेँ भने – यो ‘प्रोजेक्ट फाइनान्सिङमा भन्दा ‘कोल्याटरल फाइनान्सिङ’मा जोड गरी बैंक आफू अति सुरक्षित हुन खोज्यो र अर्थतन्त्रलाई अति असुरक्षित छोड्यो ।
बैंकको सुरक्षा र उद्यमीको सुुरक्षा सँगसँगै हुनुपर्छ ।

बैंकले गरेको लगानीमा ऋणी लिलाम हुने र बैंकले नाफा बाँड्ने कसरी हुनसक्छ ? यो ‘बैकिङ फिलोसोफी’सँग मिल्छ र ? उद्यम त दुवैको संयुक्त ‘इन्टरप्राइजेज’ हो नि त ! बैंकले त्यसै त लगानी गरेन होला ? उसले उद्यम र प्राजेक्ट त जाँचेको नै हो । जाँचेपछि उद्यम सफल बिन्दूमा नपुगेसम्म उसले भरथेग गर्ने हो ।

जतिबेला उद्यमीलाई पुँजीगत समस्या परेको हुन्छ, त्यहीबेला असुली गरिरहेको हुन्छ, त्यहीबेला दबाब दिइरहेको हुन्छ । उद्यमीले उद्यमलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुग्यो भने बैंकले उसले अर्थतन्त्रमा के योगदान दिन सक्छ ? उद्यमीलाई ‘क्लोजर’को बिन्दुमा पुर्‍याइसकेपछि माग घट्ने नै भयो । माग घटिसकेपछि बैंकले सम्भाव्य योगदान दिने कुरा घटेर गयो ।

कृषि क्षेत्रमा सरकारले खर्ब रुपैयाँ हाराहारीमा अनुदान दिइरहेको सुनिन्छ । तर, योगदान देखिँदैन त ! नेपालको यस्तो अनुकूल भूगोल छ । प्राङ्गारिक कृषि क्षेत्र विकास गर्ने सम्भावना छ । तर, यो क्षेत्र दिनानुदिन साँघुरिएर गएको छ । यो स्थिति अन्य गर्न हामीले फरक ढङ्गले, अझ क्रान्तिकारी ढङ्गले परिवर्तन गर्ने सोच र साहस देखाउनुपर्छ

आज बैंकमा केन्द्रित भए पनि समस्या यहाँ मात्रै होइन । समस्या सरकारको सम्पूर्ण तहमा छ । सबै जिम्मा हामीलाई लगायो भनेर बैंकरहरूले नभन्नु होला । बैंकले अर्थतन्त्रमा अधिकतमा योगदान दिएको हुनुपर्छ । अर्थतन्त्रको मेरुदण्ड यही नै हो ।

डिपोजिट रहने र ऋण लगानी गर्न नपाउने ! ऋण चाहिने र ऋण माग्न नसक्ने, माग गरेपछि दिन नसक्ने, दिएपछि फेरि असुल हुन नसक्ने ! यो घनचक्करमा परेपछि अर्थतन्त्र यो भन्दा तल्लो बिन्दूमा जाने तय छ । यसलाई हामीले नाटकीय रूपमा फरक दृष्टिकोण, सिर्जनात्मक सोच, संस्कार, अलिकति हिम्मत, जोखिम लिने क्षमता र उद्यमशीलता बढाएनौँ भने अर्थतन्त्रले त्राण पाउँदैन ।

बैंकरहरूसँग बैंकिङ क्षेत्रका जीवन्त अनुभवहरू छन् । ती अनुभवहरू अर्थतन्त्रको सुधारमा परावर्तन हुनुपर्छ । अर्थतन्त्रलाई निकास दिन के काम गर्न सकिन्छ, त्यसतर्फ हेर्नुपर्छ । हामीले जलविद्युत, कृषि र पर्यटन गरी तीनवटा क्षेत्रबारे कुरा गरिरहेका छौँ । जलविद्युतमा प्रशस्त लगानी भएको छ । हालका दिनहरूमा भारत र बङ्गलादेशतिर पनि विद्युत निर्यात शुरू भएको छ । यो क्षेत्रले अलिक आशा जगाएको छ । तर, जलविद्युतमा जति लगानी भएको छ – त्यसको अनुपातमा अर्थतन्त्रमा योगदान भइसक्यो कि भएन ? यो महत्वपूर्ण सवाल हो ।

‘प्रोजेक्ट फाइनान्सिङमा हामीले यति लगानी गर्‍यौँ’ भन्नु नै पर्याप्त होइन । हामीले अधिकतम लगानी गर्‍यौँ कि गरेनौँ ? अर्थात्, जति लगानी गर्नुपर्थ्यो – त्यतिमात्र गर्‍यौँ कि आवश्यकताभन्दा बढी गर्‍यौँ ? सुशासनको त्यो पाटो हामीले हेर्नुपर्छ कि पर्दैन ? एक अर्ब रुपैयाँ लागतको परियोजना बनाउन हामीले तीन अर्ब रुपैयाँ खर्च गर्‍यौँ भने त्यो त झण्झट भयो । त्यसो भएपछि अरू उद्यमीले पाउनुपर्ने ऋण पाएनन्, बैंकले दिनुपर्ने योगदान पनि दिन सकेन । त्यसको ‘गभन्र्यान्स’ के हुन्छ ?

कृषि क्षेत्रमा सरकारले खर्ब रुपैयाँ हाराहारीमा अनुदान दिइरहेको सुनिन्छ । तर, योगदान देखिँदैन त ! मौसम अनुकूल भयो भने उत्पादन अलिकता बढेको सुनिन्छ । तर, तपाईंहरू (बैंक)ले दिएको कर्जाको कारणबाट उद्यमशीलता फस्टायो कि फस्टाएन ? कृषि उपज उत्पादनमा वृद्धि भयो कि भएन ?

कृषिमा त आधुनिकीकरणको सवाल पनि छ । आधुनिक कृषिको कुरा गर्नासाथ औद्योगिक कृषिको कुरा आउँछ । त्यसो भएपछि यो क्षेत्रले अर्थतन्त्रमा गुणात्मक योगदान दिएको देखिनुपर्छ । केही फरक त देखिनैपर्छ । त्यसकारण कृषि क्षेत्रमा पनि बैंकको लगानीले आवश्यक उपादेयता प्रमाणित गर्न सक्यो कि सकेन ? यो पनि चिन्तन गर्नुपर्ने विषय हो ।

पर्यटन क्षेत्रमा नयाँ नयाँ पाँचतारे होटल खोलिएको भन्ने सुनिन्छ । यस्तो सुन्दा पूर्वाधार विकास भयो, पर्यटक बास बस्न सक्ने कोठा बढ्यो भन्ने हुन्छ । पर्यटकीय होटलहरूमा हामीसँग एक लाख १६ हजार कोठा उपलब्ध रहेछन् । पर्यटन पूर्वाधारको क्षेत्रमा भएको यो विकास सानो होइन । तर, होटलको कोठामात्रै हाम्रो उद्यम र लगानीको क्षेत्र हो त ? या वास्तविक पर्यटक भित्र्याउने रणनीति कार्यान्वयनले पनि पूर्वाधार विकासमा अर्थ राख्छ ? पर्यटक भित्र्याउने एजेण्डामा हामीले लगानी गर्छौं कि गर्दैनौँ ? पर्यटन प्रवद्र्धनका गतिविधिमा हाम्रो लगानी हुन सक्छ कि सक्दैन ?

मैले वाल्यकालदेखि कृषिपछि पर्यटन क्षेत्र हाम्रो अर्थतन्त्रको आधार हो भन्ने सुनिरहेको छु । वार्षिक १० लाख पर्यटक आउने अवस्था भनेको त संसारकै न्यून हो । हामी विश्वमै कम पर्यटक भित्र्याउने मुलुकमा पर्दारहेछौँ । यो कुन ठूलो उपलब्धि भयो त ? पाँचतारे होटलको सङ्ख्या बढेर के भयो ? म त के चाहन्छु भने पर्यटकीय सुविधा व्यवस्था भएका साना आकारका उद्यम फस्टाउनुपर्छ ।

गाउँमा पाँचतारे होटल चाहिँदैन । यहाँ आएका पर्यटक शहरमा मात्र होइन, गाउँमा पनि पुग्छन् । गाउँठाउँमा पर्यटक पुग्दा पनि अलिक सफा, आधारभूत सुविधायुक्त पर्यटकीय पूर्वाधार पाउन सक्नुपर्छ । त्यस्ता पूर्वाधार बनाउन खोजेका उद्यमीले कति लगानी पाएका छन् ? कूल कर्जा प्रवाहमा उनीहरूले पाएको कर्जाको अनुपात कति हो ? त्यस्ता उद्यमले पर्यटन विकासमा दिएको योगदानको अनुपात कस्तो छ ? सम्भाव्यता र चुनौति कति हो ?

सर्सर्ती हेर्दा हामीकहाँ विकासका निम्ति आवश्यक स्रोतको आँखीझ्याल बैंकिङ क्षेत्र हो । तर कृषि, जलविद्युत र पर्यटन लगायत यावत क्षेत्रहरूमा बैंकिङ क्षेत्रले योगदान गर्न सक्ने कति हो ? म बैंकिङ क्षेत्रसँग धेरै आशावादी किन छु भने लगानीको स्रोत त बैंकसँगै छ, अनुभव पनि छ । बैंकको काम पैसा लिएर बस्ने मात्रै त होइन नि । लगानीकर्ताका लागि बैंक असल सुझावदाता र बजार निर्माण गरिदिने आधार हो । लगानी सम्भाव्यता उजागर गरिदिने संस्था पनि बैंक नै हो ।

एउटा उद्यमीका लागि बैंक सहयोगी भूमिका निभाउने नियन्त्रक र परामर्शदाता संस्था हो । त्यसो हुँदा बैंकले योगदान दिनसक्ने क्षेत्र व्यापक हुनसक्छ ।

जतिसुकै महँगो भए पनि हामीले राष्ट्रिय उत्पादन नै प्रयोग गर्नुपर्छ, यहीँ उत्पादन बढाउन जोड दिनुपर्छ । ‘बाहिरबाट आयात गर्दा सस्तो पर्छ’ भन्दै आयातलाई नै प्रोत्साहन गर्न मिल्दैन । जतिसुकै महँगो भए पनि धान उत्पादन यहीँ गर्नुपर्छ । संसारका ठूला राष्ट्रले त्यही सोचअनुसार काम गरेका हुन्छन् । यहाँको उत्पादन महँगो भयो भन्दै कृषि क्षेत्रलाई निरुत्साहित गर्दै सजिलो बाटो खोज्छौँ भने राष्ट्रलाई कुनै न कुनै बिन्दुमा खतरामा राखिरहेका हुन्छौँ, राष्ट्रविरुद्ध षडयन्त्र गरिरहेका हुन्छौँ ।

कृषि क्षेत्र यति महत्वपूर्ण देख्छु । नेपालको यस्तो अनुकूल भूगोल छ । प्राङ्गारिक कृषि क्षेत्र विकास गर्ने सम्भावना छ । तर, यो क्षेत्र दिनानुदिन साँघुरिएर गएको छ । यो स्थिति अन्य गर्न हामीले फरक ढङ्गले, अझ क्रान्तिकारी ढङ्गले परिवर्तन गर्ने सोच र साहस देखाउनुपर्छ । कसरी गर्ने भन्ने चुनौती छ । हामीले चुनौती चिर्दै यी तीनै क्षेत्रमा सफलता हासिल गर्नेतर्फ अघि बढ्नैपर्छ ।

अवरोध छिचोल्नुपर्छ

हामीले आज यी तिनै क्षेत्रका महत्व, चुनौती र सम्भावनाबारे मन्थन गर्‍यौँ । सबै क्षेत्रका प्रतिनिधिहरूका कुरा सुन्दा हामी साँच्चै असहज अवस्थामा रहेछौँ भन्ने लाग्यो । तर, हामीले झेलिरहेका तमाम समस्याहरू समाधान गर्न सकिन्छ । सबै समस्याहरू समाधान हुने खालकै छन् ।

यी क्षेत्रको सम्भाव्यता व्यवहारतः किन उजागर भएनन् ? यिनले प्राथमिकता किन पाएनन् ? किन समृद्धिको बाटो पाएनन् ? किन हाम्रा आँखा लागेनन् ? यो उदेकलाग्दो छ । यी क्षेत्रको विकास हुनुपर्नेमा अनावश्यक जेलिएको जस्तो लाग्छ ।

बहुविधागत छलफल हामीले जसरी गर्‍यौँ – यसबाट एकले अर्कोलाई आफ्ना सम्भाव्यता, अवसर र चुनौतीहरू बुझ्न–बुझाउन सहयोग गरेको छ । यस किसिमको छलफल सरकारको माथिल्लो स्तरमा, योजना आयोगको, अर्थ मन्त्रालयको, विभिन्न मन्त्रालयको, निजी क्षेत्रको तहमा हुनुपर्छ । बहुक्षेत्र संवादलाई हामीले निरन्तरता दिनुपर्छ । हामीलाई कहिलेकाहीँ ‘कुरा गरेर के हुन्छ ?’ भन्ने लाग्छ । तर, छलफल/बहसले नै सम्भावनाको नयाँ बाटो तय गर्ने हो ।

हामीले बैंकलाई लेन्स बनाएर ऊर्जा, कृषि र पर्यटन तीनै क्षेत्रलाई हेर्‍यौँ । बैंकको नजरबाट हेर्दा लगानीका अरू धेरै क्षेत्र छन् । अर्थतन्त्रका सबै पहलुहरू यहाँ जोडिन आउँछ । आजको परिस्थितिमा हामीले यी विषयहरूमा ध्यान दिनैपर्छ । हामीले हाम्रो विकास प्रक्रियामा संवाद कम गर्‍यौँ, एकले अर्कोलाई लिड गर्ने प्रयास गर्‍यौँ । विकासको वृहत रूपरेखा कोर्दै कोरेनौँ । एक्लै हिँड्ने यात्रीका रूपमा हामीले हेर्‍यौँ । निजी क्षेत्र आफ्नै बाटोमा हिँड्यो, सरकारले पनि उस्तै गर्‍यो ।

जो जहाँ छौँ, आफ्नै बाटो समात्यौँ । एकले अर्कोलाई संवाद गर्न जरुरी नै ठानेनौँ । ‘आ–आफ्नो साम्राज्य कायम गर्छु’ भन्दा सबैको साम्राज्य भत्किएको छ । अब संवाद, समन्वय, सहकारिता र समझदारीबाट मात्रै हाम्रा विकासका अवरोध चिर्न सकिन्छ । अर्थतन्त्रमा हामीले लापरवाही गरिरहन सक्दैनौँ । आज हामी जुन अवस्थामा छौँ – त्यो हाम्रो लापरवाहीको नतिजा हो ।

ऊर्जा क्षेत्रमा ५० वर्षअघि नै हामीले आजको जस्तो बल लगाएको भए नेपाल गरीब हुँदैनथ्यो । हामीले वैभव हासिल गरिसकेका हुन्थ्यौँ । अब गुमेका अवसरहरूको मूल्याङ्कन कति गर्ने ? त्यो त गयो गयो । त्यसैले अबका अवसर र सङ्कट बोध गर्नुपर्छ ।

जलवायु परिवर्तनका कारण जलविद्युत क्षेत्रमा आगामी दिनमा लगानी कतिसम्म सुरक्षित हुन सक्छ भन्ने छ । पहिलेभन्दा अहिले हिउँदमा हाम्रो जलस्रोतको परिमाण घटिसकेको छ । विद्युत उत्पादन क्षमता पनि तुलनात्मक घटिसकेको छ ।

अब पनि हामीले लगानी गरेनौँ र स्रोतको भरपूर लाभ जतिसक्दो चाँडो लिने कोसिस गरेनौँ भने सम्भाव्य ऊर्जा उत्पादनको लाभ भोलिका दिनमा अझ धेरै घट्न सक्छ । त्यसैले जलविद्युतबाट पाउन सकिने अत्यधिक लाभ चाँडोभन्दा चाँडो लिऔँ । जलवायु परिवर्तनको ट्रेण्ड यस्तै रहिरह्यो भने भोलि रिक्तीकरणको हदसम्म पुग्न बेर छैन । हिमाल कालो हुन धेरै समय नलाग्ने रहेछ ।

हामीले न्यायपूर्ण रूपमा, तीव्र रूपमा, उत्पादनमूलक ढङ्गले प्रतिफल लिनेगरी जलस्रोत दोहनतर्फ लाग्नुपर्छ । बैंकसँग क्षमता छ भने लगानी क्षमताको हदसम्म नै यस क्षेत्रमा लगानी गर्नुपर्छ । किनकी यो चाँडो प्रतिफल लिनुपर्ने अवस्थाको स्रोत हो । अबलाई जलविद्युत विदेश निर्यात गर्ने अवसर पनि खुलेको छ ।

जुनसुकै क्षेत्रमा हाम्रो कमजोरीको कारक विश्वासहीनता र आत्मविश्वासमा कमी नै हो । त्यसको पनि कारण चाहिँ हाम्रो गभर्नेन्समा भइरहेको कमजोरी हो । जे जे हुनुथियो, हामीले भोगेरै आइसक्यौँ । त्यसो हुनुमा आ–आफ्नो हिस्साको जिम्मेवारी लिऔँ । गभर्नेन्सकै कमजोरीले गर्दा यो देश सुन्दर हुँदाहुँदै कुरुप भइरहेको छ । हाम्रो विपुलता घटिरहेको छ । गभर्नेन्स कमजोर भएपछि सबै समस्या हुँदोरहेछ । सबै अवसर बिग्रँदोरहेछ । यसतर्फ हामीले ध्यान दिनुपर्छ ।

गभर्नेन्समा कमजोरीको मार स–साना लगानीकर्ता र शेयरधनीलाई परेको छ । ५०/१०० कित्ता शेयर किनेकाहरू नठगिउन् । बाठाले बेचेर भागिहाल्ने, निर्दोषलाई खाडलमा जाक्ने ! यसो भएपछि त अर्कोपटक उसले शेयर किन्नै सक्दैन । शेयर बजारमा उसले विश्वास गुमायो भने, बैंकिङ क्षेत्रको सुशासनप्रति उसको विश्वास उड्यो भने देश छाड्ने बाहेक अर्को विकल्प रहँदैन । त्यसकारण बैकिङ, जलविद्युत, पर्यटन र कृषि…सबैतिर गभर्नेन्सको पाटो बलियो हुनुपर्छ ।

बैंकिङ क्षेत्रले नै यी सबैमा गभर्नेन्स गर्न सक्छ भन्ने होइन । कुरा त बैंकिङ क्षेत्रको भयो, तर हेर्दाखेरि समग्र विकास प्रक्रियामा चुनौती देखियो । एकले अर्कोलाई त छोएकै हुँदोरहेछ, छुट्याएर हेर्न हुँदोरहेनछ ।

अब हामी अनुसन्धान र विकासतर्फ नै लाग्ने हो । यसो हुन अत्यावश्यक देखिन्छ । गभर्नेन्सको कुरा गर्दा लगानीकर्ताको, स–साना कृषक र उद्यमीमा आत्मविश्वास हल्लाउने काम हामीले गर्नुभएन । उसलाई सहजीकरण गर्नुपर्छ । अप्ठेरो परेका बेला निचोरिदिनु हुँदैन । ‘लगानी नै नपुगेर गर्न नसकेको हो ? अलिक रकम थपिदिँदा गर्न सक्छौ ?’ भनी सोध्नुपर्छ ।

मैले माथि पनि भनेँ – बैंक भनेको पैसामात्र दिने संस्था होइन । त्यो त बुद्धि र विवेक पनि प्रयोग गर्नुपर्ने संस्था हो । जमानत, सल्लाहकार, बजार निर्माता, व्यवस्थापन पनि बैंक नै हो । बैंकले बैंकिङमात्र होइन, समग्र विकास नै बुझ्नुपर्छ । बहुक्षेत्र सम्बन्धको सबै प्रकृतिलाई बुझ्नुपर्छ । बैंकरलाई विकास प्रक्रियाबारे राम्रो ज्ञान भयो भने सम्पूर्ण विकासमै लाभ पुग्छ । बैंकलाई बैंकमात्रै या कृषकलाई कृषकमात्रै भनेर नछुट्याऔँ ।

यो पनि सत्य हो कि बैंकले अरूको पैसा राखेर खेलवाड गर्न सक्दैन । डिपोजिटरले मागेका बेला रकम दिनैपर्छ । तर, त्यसभित्र लचिलोपन पनि हुन्छ । उद्यमीलाई परास्त गर्ने र निराश पार्ने तरिकाबाट काम गर्नुहुँदैन

उद्यमशीलता वास्तवमै मरिरहेको छ । उद्यम जानेर मात्रै नहुँदोरहेछ, योगदान दिन र प्रतिफल लिन लगानी चाहिनेरहेछ । यहाँ डर कहाँ भयो भने निष्क्रिय कर्जा बढाउने र खराब ऋणीको संख्या बढाउनुहुँदैन । यसो गर्नु भनेको हाम्रो उद्यमीको सूची घटाउनु हो । उद्यमी घटेपछि ऋण लिने क्षमता घट्छ । त्यसो हुँदा बैंकमात्रै त रहन सक्दैन । बैंकलाई त ऋणी नै चाहिन्छ । ऋणी भनेको त उद्यमी नै हो । हामीले धेरै सुरक्षित अवतरण खोज्यौँ ।

यो पनि सत्य हो कि बैंकले अरूको पैसा राखेर खेलवाड गर्न सक्दैन । डिपोजिटरले मागेका बेला रकम दिनैपर्छ । तर, त्यसभित्र लचिलोपन पनि हुन्छ । उद्यमीलाई परास्त गर्ने र निराश पार्ने तरिकाबाट काम गर्नुहुँदैन । उसलाई उद्यममा रहिरहने, केही गर्ने ऊर्जा भरिरहने, आशा जगाइरहने, सहजीकरण गरेर हुन्छ भने उद्यमलाई जीवित बनाइराख्ने गनुपर्छ । यसरी काम गर्दा देशभर नै उद्यमशीलता झ्याङ्गिएर जान्छ । बल्ल विकासको नयाँ आयाम शुरू हुन्छ ।

ठूला उद्योग र परियोजनाको आफ्नो महत्व छ, त्यसलाई हामीले नजरअन्दाज गर्नुहुँदैन । तर, जनसङ्ख्याको हिसाबबाट बहुसङ्ख्यक जनताको सुख र सन्तुष्टिको कुरा गर्दा साना उद्यमीहरूले दिने योगदानको योग धेरै महत्वपूर्ण हुन्छ । त्यो राष्ट्रिय एकतासँग, सामाजिक सद्भावसँग जोडिन्छ ।

यो देशमा जुनसुकै क्षेत्रका जति नियामकहरू छन्, उनीहरूको उद्देश्य सबै कुरा ठीक ठाउँमा रहोस् भन्ने हो । तर, अहिले नियामक नै सबैभन्दा ठूलो बाधक भएको छ । जुन नियामककहाँ गयो, त्यहाँ हुने अड्चन उद्यमीले नाघ्नै सक्दैन, त्यहीँ अल्मिलिएको देखिन्छ । नियामककै कारण उद्यममा लागत प्रभाव पनि घटिरहेको छ । समय र लागत दुबै बढाइदिने भएको छ । नियामकलाई नै जवाफदेही र पारदर्शी बनाउने, कार्यविधिलाई कसरी सङ्क्षिप्त बनाउने, यसतर्फ लाग्नुपर्छ ।

बैंकरूमा हेर्दा ल्याप्चे मार्काको ऋणी छ, व्यवस्थापकले पनि नबुझ्ने अङ्ग्रेजी भाषाको ऋण सम्झौतापत्र छ । ल्याप्चे अरूले नै लगाउने भएपछि व्यवस्थापकले पनि बुझ्नै परेन । शर्तहरू सबै ‘आफ्नो हात जगन्नाथ’ शैलीको छ । बैंकले ब्याजदर, शर्त जे परिवर्तन गरे पनि एकतर्फी ! ऋणीले त्यो थाहा पाउनै सक्दैन, थाहा दिने च्यानल पनि छैन । यस्तो ‘हाइ ह्याण्डेडनेस’ले असमानता, असमन्यायिक परिस्थिति बन्छ । त्यो वातावरण बैंकका लागि पनि अनुकूल होइन ।

उद्यमीलाई बैंकले झुक्याउँदैन, शोषण गर्दैन, सकेसम्म सुविधा दिन्छ, अप्ठेरो परेका बेला भरथेग गरिदिन्छ, मित्रवत सम्बन्ध राख्छ भनी अनुभूत गराउनुपर्छ । शोषक र शोषितको सम्बन्ध राख्ने नै होइन । त्यसैले, हाम्रा नियामकहरूलाई कसरी जिम्मेवार बनाउने ? सेवाग्राहीमैत्री सेवाप्रदायक कसरी निर्माण गर्ने ? यता ध्यान दिनुपर्छ ।

पुरानो कृषि प्रणालीबाट हामी कहीँ पुग्दैनौँ । यस्तै मल, यस्तै बीऊ, यस्तै जमिनले कहीँ पुगिँदैन । हामीले अब ‘इन्नोभेटिभ एग्रिकल्चर’ गर्नुपर्छ । थोरै दिनमा धेरै फल्ने, बजारमा उच्च मूल्य पाउने उपायको खोजी गर्नुपर्छ । यसतर्फ अनुसन्धान गर्नुपर्छ । खेती भनेको माटो खोस्रेर बीऊ पुर्ने, जे जति फल्छ – त्यही प्रतिफल हो भनेर बस्नुहुँदैन ।

कृषिको आधुनिकीकरण गर्न पनि बैंकिङ क्षेत्रको भूमिका अग्रपङ्क्तिमै हुन्छ । उत्पादनशील कृषिका लागि बैंकले योगदान दिने ठाउँ छ । लगानी गर्ने जोखिम लिन तयार हुनुपर्छ । कृषिलाई कुनै मानेमा नजरअन्दाज गर्नुहुँदैन । बाँच्ने अन्तिम दिनसम्म पनि कृषि आवश्यक छ । कृषि उत्पादन किनेरै राष्ट्र चल्न भनिन्छ भने कुनै दिन अरूले अन्न भण्डारमा बिर्को लगाउनेबित्तिकै राष्ट्र मर्छ । आत्मसमर्पण गर्नुपर्ने अवस्था आउँछ । खाद्यको स्रोत बन्द गर्दा सबै कुरा सकिन्छ ।

त्यसैले कृषिलाई नै हामीले सर्वोच्च प्राथमिकता दिनुपर्छ । यो अस्तित्वको रणनीति हो । व्यक्तिदेखि देशको अस्तित्वका लागि कृषि चाहिन्छ । एउटा बैंकरले कृषि क्षेत्रको महत्व जति बुझेको छ, कृषि क्षेत्रमा लगानी गर्न जति उदारमना राख्छ, कृषिको भविष्य त्यसैअनुसार तय हुन्छ । कृषि क्षेत्रमा अहिले बैंकहरूबाट १५ प्रतिशत लगानी हुनुपर्ने भनिएको छ । तर, लगानीको वितरण कस्तो छ ? अनुदान वितरण कसरी भइरहेको छ ? अनुदानको उत्पादकत्व कस्तो भयो ? ऋणको व्यापक विकेन्द्रीकरण भयो कि भएन ? यी कुराहरूलाई चुनौतीकै रूपमा हेर्नुपर्छ जस्तो मलाई लाग्छ ।

पर्यटन क्षेत्रमा होटलका नाममा भवन ठडियो । केही कर्मचारी राख्यौँ होला । तर, त्यत्ति मात्रले त पर्यटक आउँदैनन् । पर्यटनको आयाम संस्कृति, भाषा, सामाजिक प्रणाली, कानूनी प्रक्रिया र आर्थिक कारोबार पनि हो । हेर्नलाई मात्रै त कोही आउँदैन । त्यहाँ त अनेक चाखहरू हुन्छन् । लगानी गर्ने क्षेत्रले यी सबै पक्षमा नजर लगाएको हुनुपर्छ । प्राङ्गारिक उत्पादन पर्यटकलाई खान दिइन्छ भने त्यो पनि पर्यटनको अंश हुन्छ । हस्तकलाका सामान बेच्न राखिन्छ, त्यो पनि पर्यटनकै अंश हुन्छ । यी तमाम कुरा पर्यटनको अंश हो है भनेर हेर्नुपर्छ ।

होटलको भवन बनाउन कति पैसा लाग्छ भन्ने मात्रै त पर्यटन होइन । होटल शिलान्यास गरेपछि त्यो परियोजना सम्पन्न भयो भन्यो, सकियो । त्यत्ति त होइन होला नि ! पर्यटनको यति ठूलो योगदान जो छ, यसलाई सम्बोधन गर्ने चाहना राख्नुपर्छ । बैंकिङ क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू निम्तिएका छन्, नयाँ क्षितिज पनि खुलेको छ । बैंकिङ क्षेत्रले त्यसका लागि आफूलाई तयार राख्नुपर्नेछ । बैंकिङ गभर्नेन्स नै प्रश्नाङ्कित छ भन्ने मलाई लाग्छ ।

बैंकिङ त्यति सजिलो छैन । राष्ट्र बैंकले आफ्नो काम त गरिरहेको होला, तर परिणाममा बैंकको उत्पादकत्व कहाँ देखियो भन्ने मेरो प्रश्न छ । यो क्षेत्रलाई कसरी उत्पादनशील बनाउन सकिन्छ ? अर्थतन्त्रको एउटा मेरुदण्ड बनाउन सकिन्छ ? जनताको विश्वासको बिन्दु कसरी बनाउन सकिन्छ ? आर्थिक सुरक्षाको अनुभूति कसरी दिन सकिन्छ ? कसरी सहजीकरणको माध्यम बनाउन सकिन्छ ? यस हिसाबबाट हामीले हेर्नुपर्छ । यसका लागि समन्वय चाहिन्छ ।

‘अहिले जति तरलता उपलब्ध छ, भोलि त्यो नहुन सक्छ । त्यो अवस्था सन्निकट छ । आजै कर्जा उपभोग गरौँ’ भनिरहँदा हाम्रा ऋणीहरू, उद्यमका आकाङ्क्षीहरू ऋण माग्न सक्ने अवस्थामा छैनन् । अर्कातिर समय घर्कंदो छ । हामीले त अवसर त्यत्तिकै गुमाइरहेका छौँ । यसलाई ‘इमर्जेन्सी ट्रिट’ गर्नैपर्छ । नयाँ रणनीति तय गर्नुपर्छ ।

बैंकिङ क्षेत्रमा ‘मल्टिसेक्टर गभर्नेन्स’ नै सुधार्नुपर्छ । यी सबै काम गर्नका लागि उच्चस्तरीय आयोग नै गठन गर्ने बेला त आएन ? मैले यसो भन्दै गर्दा ‘यसले के गर्न लाग्यो ?’ भन्नुहोला । मेरो कुनै दूराग्रहले यसो भनिरहेको छैन । बैंकिङ क्षेत्र ‘रिफर्म’मा यस्तो आयोगले कुनै योगदान दिन सक्छ कि भनेर यो धारणा राखेको हुँ ।

अहिले सबैभन्दा गएगुज्रेको चाहिँ राजनीति नै हो । गभर्नेन्स सुधार्न सक्ने क्षमता राजनीतिसँगै हुन्थ्यो । तर, त्यो क्षमता प्रयोग नभएपछि मैले भन्न बाध्य हुनैपर्छ । हाम्रो राजनीति गएगुज्रेको अवस्थामा पुगेको छ । राजनीतिक सुधार धेरै जरुरी छ ।

राजनीतिक सुधार भएन भने हामीले चाहेर पनि केही हुँदैन । राजनीतिले आवश्यक कानून र नीति बनाइदिनुपर्छ । अरूसँग समन्वय गराइदिनुपर्छ । कार्यान्वयन गरिदिनुपर्छ । कतिपय कुरालाई राजनीतिले मात्रै समायोजन गर्न सक्छ । हामीले अब नयाँ नीति र रणनीतिहरू तयार गर्नुपर्छ ।

[इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहब डटकमले बिहीबार संयुक्त रूपमा आयोजना गरेको ‘बैंकिङ र वित्तीय सरोकार : जलविद्युत, कृषि र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राखेका विचारको सम्पादित अंश ।]

यो पनि-

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ४१ बजे

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।