एमालेमाथि साइबर हमला भयो : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेमाथि साइबर हमला भयो : महासचिव पोखरेल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि साइबर हमला भइरहेको दाबी गरेका छन् । 

उनले सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेकपा एमाले विरुद्ध सञ्चालित साइबर हमला भइरहेको भन्दै एमालेलाई राष्ट्रिय शक्तिको निर्माण हुन नदिन खेल भएको तर्क गरे । 

‘यतिबेला नेकपा एमाले विरुद्ध सञ्चालित साइबर हमला भइरहेको छ । त्यसको उद्देश्य नेकपा एमालेलाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो’ । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्, ‘मिस इन्फरमेसन र डिसइन्फर्मेसनको बाढी त्यसै उद्देश्य तर्फ लक्षित देखिन्छ । नेकपा एमालेको तीन महिने जरा केन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनु पर्दछ ।’ 

पोख्रेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस शीर्षकमा लामो स्ट्याटसमा थप लेखेका छन् ‘यति बेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरीत मान्यताका रूपमा अर्थ्याउने कोसिस भइरहेको छ । नेपालको संविधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्वीकार गरेबाट राजनीतिक दलको सङ्ख्या संविधानको भावना अनुरूप धेरै हुनसक्ने देखिँदैन ।’ 

यस्तो छ पोख्रेलको थप स्ट्याटस

निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस

यति बेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरीत मान्यताका रूपमा अर्थ्याउने कोसिस भइरहेको छ ।

नेपालको संविधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्वीकार गरेबाट राजनीतिक दलको सङ्ख्या संविधानको भावना अनुरूप धेरै हुनसक्ने देखिँदैन । समाजवाद उन्मुख आर्थिक९सामाजिक व्यवस्था विश्वमा प्रचलित मान्यताका हिसाबले दुई प्रकारका रहेका छन् पहिलो वैज्ञानिक समाजवाद र दोस्रो प्रजातान्त्रिक समाजवाद । नेपालका सन्दर्भमा नेपाली कांग्रेसले स्थापना कालमा प्रजातान्त्रिक समाजवादलाई आफ्नो लक्षका रूपमा प्रस्तुत गरेको पाइन्छ भने नेपालका कम्युनिस्ट पार्टीहरूले वैज्ञानिक समाजवादलाई लक्षका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

समान सोच र समान लक्ष राख्नेहरूको एउटै पार्टी हुनु पर्दछ भन्ने मान्यता राख्ने हो भने स्वाभाविक रूपमा नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मान्दछ ।

जहाँसम्म जनताको बहुदलीय जनवाद एकदलीयताको विरुद्धमा प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने बाटो हो । जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन । कम्युनिस्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो । तर भविष्यमा पनि यस्तै भइरहनु पर्दछ भन्ने कुरा वर्ग दृष्टिकोणका आधारमा गलत हो ।

नेपालको कानुनी व्यवस्थाका आधारमा दल खोल्न र त्यसका आधारमा जनतामा परीक्षित हुने अधिकार सबैलाई प्राप्त छ । तर विकास र समृद्धिको कोणबाट विवेचना गर्ने हो भने राजनीतिक स्थायित्व अपरिहार्य छ । त्यसका लागि जनमतलाई ध्रुवीकरण गर्न सक्ने बलिया राजनीतिक दलहरूको आवश्यकता पर्दछ । केही समय अघि सम्पन्न भएको अमेरिका राष्ट्रपतिको चुनावमा दुईभन्दा बढी राष्ट्रपति पदका उम्मेद्वारहरु थिए । तर कसैले पनि डोनाल्ड ट्रम्प र कमला ह्यारिस बाहेकको चर्चा सुनेनन्, डोनाल्ड ट्रम्प विजयी भए । कमला ह्यारिस निकटतम् प्रतिद्वन्द्वी भइन् ।

 बाँकी उम्मेद्वारहरुले कसैले पनि ०.५ मत कटाउन सकेनन् । यस प्रकारको राजनीतिक ध्रुवीकरणले नै त्यहाँ राजनीतिक स्थायित्व कायम भएको छ । पछिल्लो समयमा हाम्रा छिमेकी मुलुकहरू विकास र समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढिरहेका छन् । चीनमा राष्ट्रपति प्रणाली छ, चीनका राष्ट्रपति सीले तेस्रो कार्यकालको नेतृत्व गरिरहेका छन् । भारतमा कार्यकारी प्रधानमन्त्रीको व्यवस्था छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको नेतृत्व गरिरहेका छन् । तब न ती मुलुक विकासको बाटोमा अघि बढ्न सफल छन् ।

तर यही अवधिमा हाम्रो मुलुकमा कति प्रधानमन्त्री बने, कति मन्त्रीहरु फेरिए हिसाब गरी साध्य छैन । भारतमा अहिले भारतीय जनता पार्टीको एकल बहुमत छैन । तर त्यहाँका सहयोगी पार्टीहरूले प्रधानमन्त्रीमा दाबी गरेनन् । महत्त्वपूर्ण मन्त्रालय चाहियो भनेर विवाद गरेनन् । प्रधानमन्त्रीलाई मन्त्री छान्ने अधिकार छ भनेर शालीनता पूर्वक सहयोग गर्ने काम गरे ।

तर नेपालका हकमा भन्ने हो भने २७५ सिटको प्रतिनिधि सभामा जम्मा ३२ सिट पाएको नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नका लागि कहिले एमाले कहिले कांग्रेसतिरको गठबन्धन बनाए । उनीहरूलाई विश्वासमा लिएर भन्दा घुर्क्याएर शासन गर्ने र सरकारमा टिकिरहने नीति लिए । अनि भन्न थाले ३२ सिट भनेको चानचुने सिट होइन, यो त म्याजिक नम्बर हो । यसले त पाँचै वर्ष शासन गर्ला जस्तो छ । यही प्रवृत्ति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यस प्रवृत्तिलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ काँग्रेस एमालेका नेताहरु पनि जिम्मेवार छन् । जुन कुरा यति बेला आएर उनीहरूले महसुस गरेका छन् ।

लोकतान्त्रिक व्यवस्था जनताको व्यवस्था हो । लोकतान्त्रिक व्यवस्थामा राज्य बलियो नभईकन जनता बलिया हुन सक्तैनन् । यति बेला राजनीतिक अस्थिरताका कारणले जनतामा बढ्दो निराशा र त्यसको जगमा हुर्किएको सामाजिक अराजकता नेपाली लोकतन्त्रको सबैभन्दा ठुलो चुनौती हो । अराजकता लोकतान्त्रिक विकासको चुनौती हो, राजनीतिक स्थायित्वका लागि बाधक हो, विकास र समृद्धिको यात्राको तगारो हो । यसमाथि समाजले विजय हासिल गर्नु अपरिहार्य छ ।

विकास र समृद्धिका लागि मुलुकमा बढ्दो निराशा र अराजकतालाई चिरेर आशा जागृत गर्नु आवश्यक छ । आशावादी, जागृत र अनुशासित जनता र समाजले मात्र विकास र समृद्धिको यात्रामा सफलता हासिल गर्न सक्दछ । समाजलाई आशावादी, जागृत र अनुशासित बनाउने कामको नेतृत्व राज्य र राजनीतिक दलहरूले नै गर्नु पर्दछ ।

नेपाल जस्तो संवेदनशील भू९राजनीतिको चपेटामा परेको मुलुकमा राज्य बलियो नभईकन स्वाधीनता र स्वाभिमानको गौरवलाई जोगाउन सम्भव हुँदैन । त्यसमाथि विकास र समृद्धिका लागि राज्य बलियो हुनु अपरिहार्य छ । राज्यलाई बलियो बनाउनका लागि नीतिमा आधारित राजनीतिक स्थायित्व आवश्यक पर्दछ । त्यसका लागि बलिया राजनीतिक दलहरूको आवश्यकता पर्दछ । यस उद्देश्य प्राप्तिका लागि नेकपा(एमाले)हरेक हिसाबले योग्य र सक्षम छ ।

अहिले नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल हो । नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरूका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेका छन् र नेकपा (एमाले)को नेतृत्व माथि हमला गरिरहेका छन् । यो प्रवृत्ति हरेक हिसाबले जनता र राष्ट्रका लागि घातक छ । समाजवादको यात्राका लागि त झनै वाधक छ ।

यति बेला नेकपा(एमाले) विरुद्ध सञ्चालित साइवर हमला भइरहेको छ । त्यसको उद्देश्य नेकपा(एमाले)लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो । मिस इन्फरमेसन र डिसइन्फर्मेसनको बाढी त्यसै उद्देश्य तर्फ लक्षित देखिन्छ । नेकपा (एमाले)को तीन महिने जरा केन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनु पर्दछ ।

आगामी चुनावमा निर्वाचन पूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष गरेर नेकपा (एमाले) र नेपाली कांग्रेसले आम निर्वाचनलाई एजेन्डा केन्द्रित गर्ने सङ्कल्प गरेका छन्। चुनाव पछि जसको बहुमत आउँछ उसले पाँच वर्ष सहज नेतृत्व गर्ने अवस्था निर्माण गर्नु पर्दछ ।

 कसैको बहुमत नआएको अवस्थामा पनि प्रमुख दललाई सरकारको नेतृत्व दिन तयार हुनु पर्दछ । तब मात्र नेपालको लोकतन्त्रले जनभावना अनुरूप विकास र समृद्धिको दिशामा अग्रसर हुने अवसर प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ११ बजे

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन

काठमाडौं– सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएको

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

 सुनसरी– सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको

गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ

काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर

क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा भेटियो

काठमाडौं– काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल नयाँ बजारमा फेला परेको

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं– तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको