बागलुङका बाँझो जग्गामा ओखरखेती « Khabarhub

बागलुङका बाँझो जग्गामा ओखरखेती


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए ।

तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत १० लाख र स्थानीयको आठ लाख लगानीमा एक सय ४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको १२ लाख र स्थानीयको आठ लाख गरी २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको वडाअध्यक्ष थापाले बताए ।

उनका अनुसार यस वर्ष २० लाखबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् । जुरेढुङ्गाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ । सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूलखेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जङ्गल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुङ्गा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताए । एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिए ।

प्रतिबिरुवा तीन सय २० मा बिरुवा ल्याइएको थियो । जुरे ढुङ्गाका किसानहरूले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन् ।

यस वर्ष जुरे ढुङ्गा कृषक समूहलाई एक हजार ५०० बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताए ।

उपप्रमुख खड्काले वडा नम्बर ९ का किसानले सुन्तला र तरकारीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : २१ बजे

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६