देउवाको भ्रमण रद्द : कांग्रेस-एमालेको सरकारसँग अझै खुसी भएनन् मोदी | Khabarhub Khabarhub

देउवाको भ्रमण रद्द : कांग्रेस-एमालेको सरकारसँग अझै खुसी भएनन् मोदी


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित भारत भ्रमण अचानक स्थगित भएपछि राजनीतिक वृत्तमा अनेक टिप्पणी भइरहेका छन् ।

अन्तिम समयमा पूर्वप्रधानमन्त्री देउवाको भ्रमण स्थगितलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग अझै पनि भारत असन्तुष्ट रहेको कोणबाट समेत ब्याख्या गरिएको छ ।

गत असार १७ गते मध्यरातमा एकजना व्यवसायीको निवासमा देउवा र ओलीबीच भएको सात बुँदे सहमतिपश्चात् गठन भएको कांग्रेस–एमाले नेतृत्वको सरकारसँग भारतीय संस्थापन पक्ष सुरूवातबाटै सन्तुष्ट थिएन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न एमाले अध्यक्ष ओली तत्कालीन सत्ता समीकरण तोड्न कांग्रेस सभापति देउवासँग भित्रभित्रै मिलेपछि भारतीय संस्थापन पक्ष असन्तुष्ट देखिएको थियो ।

त्यही असन्तुष्टिका कारण वर्तमान सरकार बनेको सात महिना बितिसक्दा पनि भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि औपचारिक आमन्त्रणसम्म गरेको छैन । ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालेको एक महिना नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रण दिएका थिए ।

शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत् गत साउन २७ गते प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई भ्रमणको निमन्त्रण दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई निम्तो गर्ने प्रयोजनसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नयाँ दिल्ली पठाएका थिए । गत भदौ २ गते आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री राणालाई नयाँ दिल्लीमा अभूतपूर्व स्वागत गरिएको थियो ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर मोदीले नेपालको निम्तो स्वीकार गरेको बताएकी थिइन् ।

त्यसको एक महिनापछि असोज पहिलो साता पनि उनले अमेरिकामा भएको ओली–मोदी भेटवार्ताबारे जानकारी दिँदै कान्तिपुरसँग भनेकी थिइन्, ‘मोदीजी छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ । साथै, द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर तमाम समस्या समाधान गर्ने सहमति पनि बैठक दौरान भएको छ ।’

तर, संघीय संसद्का दुई ठूला दल मिलेर शक्तिशाली सरकार बनेको सय दिन पूरा हुँदा पनि न मोदी नेपाल भ्रमणमा आए, न त उनले ओलीलाई नै आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले पनि सत्ता सम्हालेलगत्तै निम्तो दिने परम्परा नयाँ दिल्लीले तोडिदिएपछि गत मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरे ।

भ्रमणका क्रममा नेपाली दूतावासले आयोजना गरेको ‘रिसेप्सन’मा प्रधानमन्त्री ओलीले चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएको अभिव्यक्ति सार्वजनिक गरे । चीन भ्रमणका क्रममा नेपालले गरेको सम्झौताका कारण भारत कांग्रेस–एमालेको नेतृत्व र दुई दलको नेतृत्वमा रहेको शक्तिशाली सरकारसँग थप चिढिन पुग्यो ।

जसका कारण प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँजो मिलाउन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री राणा र पूर्व परराष्ट्रमन्त्री रहिसकेका एमाले उपमहासचिव प्रदीप ज्ञवाली निराशासहित स्वदेश फर्किन बाध्य भएका थिए । छुट्टाछुट्टै गएका राणा र ज्ञवालीले भारत सरकारका आधिकारिक प्रतिनिधिसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल पनि गर्न सकेनन् ।

परराष्ट्रमन्त्री राणा जर्मनी हुँदै गत पुस ४ गते र एमाले नेता ज्ञवाली काठमाडौंबाट पुस ५ गते नयाँ दिल्ली पुगेका थिए । दुवै जनाको भित्री उद्देश्य दुई मुलुकबीच चिसिएको सम्बन्ध सुधारेर ओलीलाई भारत भ्रमणमा पठाउनु थियो ।

भेटका लागि प्रयास गरे पनि भारतीय पक्षले नमानेपछि उनीहरू रित्तो हात स्वदेश फर्किनु परेको थियो । तथापि, स्वदेश फर्किने क्रममा परराष्ट्रमन्त्री राणाले आफू नेपाल–भारत अर्थसम्बन्धी एउटा सम्मेलनमा भाग लिन र उपचारका लागि दिल्ली गएका कारण कसैसँग भेटको कार्यतालिका नै नरहेको दाबी गरेकी थिइन् । ज्ञवालीले पनि सञ्चारमाध्यमहरूलाई प्रवासी संघको साहित्यिक कार्यक्रममा भाग लिन नयाँ दिल्लीमा सहभागी भएर फर्किएको प्रतिक्रिया दिएका थिए ।

देउवा किन गएनन् भारत ?

बिहीबारमात्रै पूर्वप्रधानमन्त्री देउवाले पूर्वनिर्धारित भारत भ्रमणको कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन् । भारतको उत्तर प्रदेश सरकारले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा उनी जाने कार्यक्रम थियो ।

आयोजकले कार्यक्रमको मुख्य वक्ताका रुपमा कांग्रेस सभापति देउवाको तस्बिरसहितको ब्यानरसमेत सार्वजनिक गरिसकेको थियो । उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तालिका थियो ।

तर, सभापति देउवाले बिहीबार बिहानमात्रै भारत भ्रमण एकाएक स्थगित गरेका थिए । उनी एयर इन्डियाको जहाजबाट बिहीबार दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तालिका थियो ।

आखिर पूर्वप्रधानमन्त्री देउवाले किन नयाँ दिल्ली हुँदै प्रयागराज जान तय भएको कार्यक्रम रद्द गरे ? यसबारे कांग्रेस र उनको सचिवालयले प्रस्ट खुलाएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवाको भारत भ्रमण स्थगित भएको पुष्टिसम्म गरेका छन् ।

यस्तै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भ्रमण रद्द हुनुको कारणबारे सञ्चारमाध्यमलाई भनेका छन्, ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । भिडभाड हुनेजस्ता कारणले नजाने निर्णय गरिएको हो ।’

तर, कांग्रेस स्रोत नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता नहुने भएपछि सभापति देउवाले भ्रमण स्थगित गरेको बताउँछन् । आगामी प्रधानमन्त्रीका रूपमा हेरिएका सभापति देउवाले नयाँ दिल्लीसँग सम्बन्ध सुधार्ने चाहना राखे पनि भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री मोदीलेसमेत भेट नदिने भएपछि भ्रमण रद्द गरेको स्रोतको भनाइ छ ।

‘ओलीलाई सहयोग गरेपछि कांग्रेससँग मोदी रिसाएका छन् । देउवा निजी भ्रमणमा जान लाग्नु भएको थियो,’ कांग्रेसका एक नेताले खबरहबसँग भने, ‘निजी भ्रमण गए पनि राजनीतिक काम फत्ते गर्न खोजिएको हो । निजी भ्रमणमा जाँदा राजनीतिक काम नहुने देखिएपछि भ्रमण रद्द भएको हो ।’

कांग्रेसका अर्का नेता सत्ता गठबन्धनमा आशंका उत्पन्न हुन सक्ने आकलन गरेर सभापति देउवा पूर्वनिर्धारित तालिकाअनुसार प्रयागराज नगएको बताउँछन् । ‘सभापतिज्यू अहिलेको गठबन्धन तलमाथि नहोस् भन्नेमा हुनुहुन्छ,’ ती नेताले भने, ‘भारत पनि प्रधानमन्त्री ओलीसँग खुशी छैन । यस्तो बेला उता जाँदा गठबन्धनमा आशंका पैदा हुन सक्छ भनेर नजानुभएको होला ।’

तर, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने यो तर्कमा सहमत छैनन् । ‘म अहिले सुनसरीमा छु । सभापतिज्यूको भ्रमण स्थगित भयो भन्ने खबर पाएँ,’ विश्वकर्माले खबरहबसँग भने, ‘तर, भारत जाँदा हाम्रो गठबन्धनमा के–के नै भइहाल्छ भन्ने होइन । हाम्रो गठबन्धन त्यति कमजोर छैन ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : १६ बजे

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

म्याग्दी– मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं- निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात

फुङ्लिङ्– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको

फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे