काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु « Khabarhub

काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काभ्रे– २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति भयो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका– २ नारायणटारबाट बुधबार यसको सुरुवात गरेका छन् । उनले उक्त पालिकाको वडा नम्बर २ का तीनजना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको सुरु गरेका हुन् । त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र सुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे ।

उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गरेका थिए ।

गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरु गर्न ढिलो भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए । सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख निकासा गरेको छ भने काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ ।

रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्नेछ ।

बढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरु गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकै पटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताए ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको निधन भएको थियो भने ६ जना अझै बेपत्तामा सूचीकृत छन् । यहाँ अर्बौँका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, सङ्ग्रहालयलगायत बाढीपहिरोले क्षति गरेको थियो । बाढीपहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ३१ बजे

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती