युक्रेनमा युद्धविराम थाति राख्दै रुससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प | Khabarhub Khabarhub

युक्रेनमा युद्धविराम थाति राख्दै रुससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध ‘२४ घण्टा’ भित्र अन्त्य गर्ने वाचा गरेका थिए । सदाझैँ आफ्नो बोली फेर्दै ट्रम्पले गत साता आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता भएमात्रै यस समस्याको समाधान हुने बताएका थिए । सोमबार ट्रम्प र पुटिनबीच २ घण्टा लामो टेलिफोन वार्ता भयो । तर, अझै पनि युक्रेनमा जारी युद्ध कहिले अन्त्य हुने हो भन्ने स्पष्ट छैन ।

पुटिनसँग वार्ता गरेपछि ट्रम्पले आफ्नै स्वामित्वमा रहेको ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘रुस र युक्रेनले तत्कालै वार्ता थाल्ने भएका छन्…।’ तर, दुई मुलुकबीच तत्कालै युद्धविरामको सम्भावना भने देखिन्न ।

रुसी समकक्षी भ्लादिमिर पुटिनले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुचारु गर्न गरेको सहयोगप्रति ट्रम्पलाई धन्यवाद दिएका छन् । यद्यपि तत्कालै युद्धविराम हुने सम्भावना नरहेको उनले संकेत गरे ।

कृष्ण सागरको तटमा अवस्थित सोची शहरमा सञ्चारकर्मीसँगको कुराकानीमा पुटिनले भने, ‘भविष्यमा सम्भावित शान्ति सम्झौताबारे रुसले युक्रेनी पक्षसँग प्रस्ताव गर्नेछ र समझदारीबारे काम गर्न तयार रहेको छ भन्नेबारे अमेरिकी राष्ट्रपतिसँग हामी सहमत छौँ ।’

पुटिनले भनेको ‘भविष्यमा सम्भावित शान्ति सम्झौता’ भन्नुको अर्थ तत्काल युद्धविरामको सम्भावना कम रहेको अर्थमा विश्लेषण गरिएको छ । टेलिफोन वार्ताका क्रममा दुवै नेताले कुनै समयसीमाबारे चर्चा नगरेको रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

युरोपेली नेताहरु र युक्रेनले रुस तत्काल युद्धविराम गर्न तयार हुनुपर्ने अडान राखेका छन् । तर, रुस उनीहरुको मागप्रति खासै सकारात्मक देखिन्न ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनसँगको कुराकानीअघि र पछि ट्रम्पसँग दुई पटक कुराकानी गरेका थिए । त्यसक्रममा उनले रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू थप कडा गर्न आग्रह गरेका थिए । ‘मैले पुटिनसँगको कुराकानी अघि युक्रेनको बारेमा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गरेँ ।’ जेलेन्स्कीले पत्रकारहरूलाई भने ।

ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरुसँग पनि टेलिफोन वार्ता गरेका थिए । रुसमाथि दबाब बढाउन युरोपेली मुलुकहरुले नयाँ प्रतिबन्धको तयारी गरिरहेका छन् । युरोपेली युनियनले छद्म रुपमा रुसी तेल ओसारपसार गर्न प्रयोग हुने १ सय ८९ पानीजहाजमाथि प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ ।

ट्रम्पले भने युरोपको यस कदमप्रति समर्थन नजनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ट्रम्प प्रतिबन्धभन्दा पनि रुससँगको सम्बन्ध पुनःस्थापित गर्नमा बढी इच्छुक रहेको बताइएको छ ।

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको केही समयलगत्तै रुसले चालकरहित हवाइ उपकरण ड्रोनले आफ्नो भूमिमा व्यापक हमला गरेको युक्रेनले जनाएको छ । युक्रेनी वायुसेनाका अनुसार ट्रम्प र पुटिनले वार्ता गरेको केही समयलगत्तै रुसले १ सय ८ वटा शाहेद र अरु धेरै प्रकारका छद्म ड्रोनले आक्रमण गरेको छ । तीमध्ये अधिकांश ड्रोन खसालिएको युक्रेनी पक्षको भनाइ छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ४७ बजे

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न