प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान | Khabarhub Khabarhub

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेनी– बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर पस्छन् । सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहे पनि थापा भने कृषिखेतीको सिकाइका लागि घरेलु कृषि औजारसँगै सिकेका कुरा टिपोट गर्न कापीकलम बोकेर खेतबारीमा पुग्न  थालेका छन्

गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाले जस्तै गरी कृषि पढिरहेका छन् ।  बेनी नगरपालिकाले किसानलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमताको विकास गर्न एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपिएम० कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका किसान साप्ताहिक रूपमा खेतबारीमा सञ्चालन हुने पाठशालामा पढ्न पुग्छन् ।

आनन्दबगर आइपिएपम कृषक पाठशालामा आबद्ध सदस्यले सामूहिक रूपमा गोँलभेडाखेती गरेका छन् । व्यावहारिक रूपमा उचित बीउको छनोट, नर्सरी र खेती गर्ने जमिनको व्यवस्थापन, बाली लगाउने तरिका, मलजल, गोडमेल र फल उत्पादन भएपछि टिप्नेसम्मका ज्ञान, सीप पाठशालामा सिकाउने गरिएको छ । पाठशालामा बीउ जमाउने र बिरुवा लगाउनेदेखि फल टिप्नेसम्मका ज्ञानका साथै रोगकीराको स्थानीय उपचारका बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्ने अवसर मिलेको स्थानीय किसान सरिता बानियाँ खड्काले बताए।

‘खेती गर्ने आधारभूत सीप सिक्नका लागि आइपिएम कृषक पाठशाला निकै प्रभावकारी भयो, रोगकीराको पहिचान र उपचारको तरिका र उपायसमेत सिक्यौँ’, बानियाँले भने। यहाँका किसानलाई टनेल र खुला ठाउँमा गोँलभेडाखेती गर्न व्यावहारिक रूपमा तालिम दिइएको छ । पुसदेखि सुरू भएको पाठशालामा किसानले सामूहिक रूपमा लगाएको गोँलभेडा अहिले उपभोगयोग्य भएको छ । उत्पादन भएको गोँलभेडा पाठशालामा सहभागी किसानले बाँडेर उपभोग गर्ने र धेरै उत्पादन भएमा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

बेनी नगरपालिका–४ डाँडाखेतको गोँलभेडाखेतीमा पनि आइपिएम कृषक पाठशाला सञ्चालन भइरहेको छ । यहाँका किसानले पनि तालिममा सिक्दै सामूहिक रूपमा लगाएको गोँलभेडा अहिले लटरम्म फलेका छन् । खेती गर्ने प्रविधि आधुनिक र रोगकीराको उपचार गर्न अग्र्यानिक विधिबारे जानकारी पाएपछि यहाँका किसान उत्साहित भएका छन् । एउटा बाली विशेषमा किसानलाई निपूर्ण बनाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । खेतबारीमा सञ्चालन हुने पाठशालामा किसानको हातबाट बीउ जमाउन तथा बिरुवा रोप्न लगाउने र उनीहरूकै हातबाट गोडमेल र स्याहार गरेर फलेको फललाई उपभोग र बजारीकरणसम्मको काम हुने भएकाले यो पाठशाला निकै उपयोगी बन्दै गएको छ ।

बेनी नगरपालिकाले यस वर्ष वडा नं १ आनन्दबगरमा गोँलभेडा, २ गौश्वारामा काउली, ३ भकिम्लीमा अकबरे खुर्सानी, ४ डाँडाखेतमा गोँलभेडा, ६ डम्मरामा कोसेबाली सिमी, ५ पुलाचौर र ९ घतानमा आलुखेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । हरेक बालीमा १८ देखि २२ हप्तासम्म किसानलाई खेतबारीमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए।

 “पाठशालामा सहजकर्ताले विषादीरहित उत्पादन गर्न र खेतीबालीमा जैविक मलको प्रयोग बढाउन किसानलाई सिकाएको छ, नगरपालिकाले आइपिएम कृषक पाठशालालाई हरेक वर्ष फरकफरक ठाउँमा निरन्तरता दिँदै आएको छ, किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न यो कार्यक्रमले प्रेरित गर्ने अपेक्षा गरेका छौँ”, कृषि अधिकृत ढुङ्गानाले भने ।

आइपिएम कृषक पाठशाला सञ्चालनका लागि नगरपालिकाले हरेक समूहका लागि रु एक लाख ५० हजारका दरले बजेट विनियोजन गरेको छ । बेनी नगरपालिकाको आइपिएम कृषक पाठशालामा जिल्लाकै अगुवा किसान सोवित शर्मा, क्षेत्रबहादुर कटुवाल र हरिराम पौडेलले सहजकर्ताका रूपमा काम गरेका छन् । हरेक समूहमा साताको एक दिन दैनिक चार घण्टा पाठशाला सञ्चालन हुने गर्छ ।

पाठशालामा स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा व्यवस्थापन गर्न व्यावहारिक अभ्याससमेत गराउने गरिएको छ । पाठशालामा तरकारीखेतीसँगै धान, मकै, गहुँलगायत खाद्यबाली, सुन्तला, कागतीलगायत फलफूलमा आइपर्ने समस्या र रोगकीरा व्यवस्थापनमा जैविक विषादीको प्रयोगको सम्बन्धमा समेत किसानलाई सिकाइएको छ । 

रोगकिराको उपचारमा प्राङ्गाारिक विधि प्रभावकारी 

बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोगकीराको उपचारमा रैथाने सीप र विधिलाई प्रयोगमा ल्याउन थालेका छन् । पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानले खेतीबालीमा लाग्ने रोगकीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् । 

पाठशाला सञ्चालनको लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोगकीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायतका तितो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताइन्।
 
‘पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गथ्र्यौँ, अहिले सिमीमा लागेको रोगकीरामा वानस्पतिक झोलको प्रयोग गर्यौँ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन’, उनले भनिन् । वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । पाठशाला सञ्चालनपछि गाउँघरका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोगकीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताइन्। 

हरेक साताको बिहीबार चार–चार घण्टाको दरले डम्मरा माझखेत कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । तालिममा सिमी र बोडीसँगै आलुलगायत खेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिइन् ।

 किसानलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर आम्दानी गर्न थालेका छन् ।

 रासायनिक विषादी : बिख हो, औषधि होइन

बेनी नगरपालिकाले पाठशालामा किसानलाई बीउ र जग्गाको छनोटदेखि प्राङ्गारिक बाली उत्पादनमा लाग्ने सीप र ज्ञान आर्जन गर्ने थलो बनेको छ । पछिल्लो समय खेतीबालीमा आउने रोगकीराको उपचारमा सहरबजारमा पाइने रासायनिक विषादीको प्रयोग बढिरहेको र त्यसले किसानदेखि उपभोग गर्ने नागरिकको जनस्वास्थ्यमा ठूलो समस्या ल्याइरहेको सन्दर्भमा आइपीएम कृषक पाठशालामा प्राङ्गारिक खेतीलाई जोड दिने गरिएको सहजकर्ता सोवित शर्माले बताए। 

‘खेतीबालीको रोगकीराको उपचारका लागि बजारमा पाइने विषादी बिख हो, औषधि होइन भन्ने बुझाइ किसानमा बनाउन पाठशालाले निकै भूमिका खेलेको छ, हामीले किसानलाई रोगकीराको पहिचान गरेर स्थानीयस्तरमा बनाउन सकिने जैविक विषादीको प्रयोगका लागि प्रेरित गरेका छौँ, स्वस्थ कृषि उपजले मात्र स्वस्थ नागरिक बन्न सघाउने कुरा बुझाएका छौँ’, सहजकर्ता शर्माले भने। 

बजारमा अहिले बाहिरबाट आयात गरिएका तरकारी र फलफूलमा प्रतिबन्धित विषादीको प्रयोग गर्ने गरिएको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरेको छ । खेतीबालीमा रोगकीराको महामारी आएको सन्दर्भमा मात्र सुरक्षितजन्य विषादीको प्रयोग गर्ने र प्रयोग गरेपछि कृषि उपजको तत्काल उपभोग नगर्ने सन्दर्भमा समेत किसानलाई जानकारी गराइएको अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए। 

उनले पाठशालामा किसानलाई जैविक विषादी बनाउने प्रयोगात्मक सीप सिकाइएकाले नगरपालिका क्षेत्रमा प्राङ्गारिक कृषि उत्पादनको लहर ल्याउन पाठशालाले भूमिका खेल्ने अपेक्षा गरिएको बताए। किसानलाई कोठाभित्र दिने तालिम औपचारिकतामा सीमित बनिरहेको सन्दर्भमा खेतबारीलाई नै पाठशाला बनाएर सञ्चालन गरिने आइपीएम कृषक पाठशाला किसानलाई व्यावहारिक ज्ञान र सीप विकास गर्ने उपयुक्त थलो बन्न थालेको छ ।

रासस
 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ५६ बजे

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना

गण्डकीको बजेटमा माओवादीको आपत्ति

पोखरा– प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको