काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे । चुरे पहाडी भेगमा पर्ने यो स्थानबाट औलिया मठमा वृक्ष सारिएको थियो । कोशी किनारमा पर्ने यो क्षेत्रका मान्छे हातखुट्टा काट्दा बिजयसालका बोक्रा निचोरेर लगाउँथे ।
बिजयसाल काट्दा रातो रगत जस्तै चोप निस्कन्थ्यो । धेरै औषधीय गुण रहेको यो वृक्ष उक्त क्षेत्रमा मासिँदै गएको चुरे र तरी क्षेत्रको वनस्पतिबारे जानकार युवराज भट्टराई बताउँछन् ।
‘हाम्रातिर तीन प्रकारका साल पाइन्छन् । एउटा सामान्य किसिमका साल सबैको जानकारीमा छ । अर्को सतिसाल हो । यो सिसौ प्रजातिको वनस्पति हो यो । त्यस्तै अर्को विजयसाल चाहिँ अहिले मासियो,’ भट्टराई भन्छन्, ‘अहिले हाम्रा वरपर दुई/तीन बोटमात्र छन् ।’
आधुनिक उपचार पद्धतिको विकासले घरेलु तथा आयुर्वेदिक उपचार पद्धति ओझेलमा पर्दै गएको भट्टराई बताउँछन् । बिजयसालको भाँडामा पानी राखेर खायो भने पेटको रोग निको हुने मान्यता थियो । औषधीय गुण भएकाले धेरै मान्छेले रुख काटेर विनाश गरे ।
‘स्वयम् हाम्रै बाले पनि हात काट्दा यसको प्रयोग गरेको मैले देखेको छु । त्यतिबेला अस्पताल हुँदैनथ्यो । बूढापाकाले जे गरे, हामीले पनि त्यही सिक्दै आयौँ । हामीले पनि वनमारा निचोरेर लगाएकै हो । हात भाँचिदा काम्रो लगाएर ठीक बनाएको पनि हामीले देख्यौँ’, भट्टराई थप्छन्, ‘हाम्रो मुलुकको यो पारम्परिक चिकित्सा पद्धति हो ।’

**
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार वर्षभन्दा अगाडि चतरा (सुनसरी) मा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरीको अभ्यास गरेको बताए ।
गत सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै उनले खेल्दाखेल्दै एउटा साथीको औँलो काटिएर छुट्टिएपछि ऋषिले जोडेको प्रसङ्ग उल्लेख गरे ।
प्रधानमन्त्रीको यो भनाइलाई सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले उडाइदिए । सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री केहीले ओलीलाई व्यङ्ग्य गर्दै भने– ‘उनी (ऋषि सुश्रुत) नेकपा एमालेको आदिकालीन स्थायी समिति सदस्य थिए ।’ कतिले भने, ‘शिव चामलिङले गणेशको शरीरमा हात्तीको शीर जोड्ने काम पनि नेपालमै भएको थियो । सायद त्यो नै मेजर सर्जरी हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले बेलाबखत शास्त्रसम्मत् कुरा पनि अपत्यारिलो तरिकाले प्रस्तुत गरिदिँदा उनी हाँसोका पात्र बन्दै आएका छन् । उनले आफूले अनुमानकै रूपमा भने पनि भवगान शिव ‘चाम्लिङ (राई)’ हुनुपर्छ भनेपछि झन् उनको व्यङ्ग्य र आलोचना भएकै थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा पनि ऋषि विश्वामित्रले कोशी किनार चतरामा गायत्री मन्त्रको रचना गरेको बताएका थिए । त्यतिमात्र होइन, भगवान राम र अयोध्याको विषयमा ओलीले दिएको वक्तव्य त देशव्यापी आलोचनाको विषय भएको थियो । यद्यपि तथ्य र शास्त्रसम्मत उनको भनाइ ठीक हो भन्ने पनि निस्किएका थिए ।
पछिल्लो पटक सोमबार त्रिवि शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा ऋषि सुश्रुतले चतरामा पहिलो पटक शल्यक्रिया गरेको बताए । तर सुन्ने मान्छेलाई यो कुरो अचम्म र अपत्यारिलो लाग्यो ।
ओलीले आफ्नो भाषणमा उल्लेख गरेका सुश्रुत ऋषि को हुन् ? सामान्य जानकारी राख्ने मान्छेलाई पनि प्रधानमन्त्री ओलीको कुरा जँचेन ।
गुगल सर्च गरेर सुश्रुत ऋषिबारे जानकारी लिनेले पनि ओलीका कुरा पत्याउँदैनन् । किनभने गुगलमा भारतको बनारसमा ईशापूर्व ८०० मा जन्मिएर १०० वर्षसम्म उनी जीवित रहेको जानकारी पाइन्छ ।
ऋषि सुश्रुतलाई गुगलले ‘एन्सियन्ट इण्डियन फिजिसियन एण्ड सर्जन’ (प्राचीन भारतीय चिकित्सक तथा शल्यचिकित्सक) का रूपमा चिनाएको छ । उनी ‘सुश्रुतसंहिता’ का सर्जक हुन् पनि भनिएको छ । भारतले ऋषि सुश्रुतलाई ‘भारत का गौरव’ भनेर प्रचारप्रसार गर्दै आएको छ ।
गुगल खोजेर जानकारी लिनेका लागि प्रधानमन्त्री ओलीको भनाइ मिथ्या सावित भयो । यद्यपि ओलीले कहीँ न कहीँ अध्ययन नगरी हावाकै भरमा यो तथ्यलाई भनेको नहुन सक्छ । गुगलले नै सुश्रुत ऋषिको अभिभावकका रूपमा विश्वामित्रलाई उल्लेख गरेको छ ।
ओलीले आफू प्रधानमन्त्री भएको अघिल्लो कार्यकालमा ‘विश्वामित्र ऋषिले कोशी किनारमा गायत्री मन्त्रको रचना गरेका हुन्’ भनेका थिए । विश्वामित्रका छोरा सुश्रुत भएपछि उनी पनि चतराकै भए भन्ने प्रसङ्ग मेल खान जान्छ । तर शास्त्रसम्मत यी तथ्य खोजीका विषय हुन् ।
शास्त्रले के भन्छ त ? प्रधानमन्त्री ओलीका कुरा मिथ्या हुन् त ? यो कुराको यथार्थ जान्न शास्त्र अध्ययन नै गर्नुपर्ने हुन्छ । शास्त्र पनि आस्थाका हिसाबले मान्य मात्रै हुन् कि प्रामाणिक हुन् भन्ने कुराको किटान गर्न सकिँदैन । यद्यपि प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तथ्य शास्त्रसम्मत छ त ? जाँचौँ ।
सुश्रुतलाई चिन्नुअघि उनका पिता पुर्खाबारे जानकारी प्राप्त गर्न आवश्यक हुन्छ । सुश्रुतका पिता विश्वामित्र हुन् भनियो । अब विश्वामित्रका पिता को हुन् ? यिनका हाँगाबिँगा कहाँदेखि आएका हुन् ? त्यतातर्फ लागौँ ।
विश्वामित्र अर्थात् कौशिक ऋषि क्षेत्रीय वंशका हुन् । शास्त्रअनुसार विश्वामित्रका पिताको नाम राजा गाधिक हो । राजा गाधिक कुशिक पुत्र थिए ।
कुशिक ऋषिको तपस्याबाट कौशिकी (अहिलेको कोशी) नदीको उत्पत्ति भएको मानिन्छ । भगवती गौरीको पसिनाबाट प्रकट भएकी सातधाराले युक्त नदी भन्ने उल्लेख छ । (स्कन्द पुराणको हिमवत् खण्ड तेस्रो प्रकरण अध्याय ४०)
शुभस्रवा च पापघ्नी भद्रावती महाप्रभा ।
वरदा चैव दुःखघ्नी सप्तैताः सत्यवाहिनी ।।६९।।
सततं सप्त कौशिक्यो वदिष्यन्तीति जीविनः ।
सप्तधारा भवामोऽद्य विख्याता मद्विभूतयः ।।७०।।
दुर्गा नारायणी चण्डि शिवदूती कपर्दिनी ।
वाराही च शची गौरी कौशिक्यः क्रमशोऽद्रिजाः ।।७१।।
हिमवत्खण्डको यो श्लोकले सप्तकोशीका रूपमा कोशी नदीको उत्पत्ति भएको र नदीलाई वाराहीका नामले समेत चिन्न सकिने उल्लेख छ । यसको अर्थ वराहक्षेत्रस्थित कोशी किनारमा कुशिक राजा थिए भन्न सकिन्छ ।

रामायणको बालकाण्ड अन्तर्गत सर्ग ३४, श्लोक १० मा भनिएको छ –
ततोऽहं हिमवत्पार्वे वसामि नियतः सुखम् ।
भगिन्यां स्नेहसंयुक्तः कौशिक्यां रघुनन्दन ।। १०।।
रघुनन्दन । मेरी आफ्नी बहिनी कौशिकीप्रति मलाई निकै स्नेह छ । त्यसैले म हिमालय नजिक पर्ने कोशी नदी तटमा नियमपूर्वक सुखले बस्दछु । सोही काण्डको २१ औं श्लोकमा ऋषिहरू द्वारा भनिएको छ –
विशेषेण भवानेव विश्वामित्र महायशः।
कौशिकी सरितां श्रेष्ठा कुलोद्योतकरी तव ।। २१।।
(भावानुवाद : महायशस्वी विश्वामित्रजी । तपाईंको वंशमा सबैभन्दा ठूला महात्मा तपाईं नै हुनुहुन्छ । र सरिता (नदी) हरूमा श्रेष्ठ कौशिकी पनि तपाईंको कुलको कीर्तिलाई प्रकाशमय बनाउँछिन् ।)
कौशिकका रूपमा चिनिने ऋषि विश्वामित्र कोशी किनारकै हुन भन्ने माथिका उदाहरणबाट पुष्टि गर्न सकिएला । प्रधानमन्त्री ओलीले भनेझैं शास्त्रअनुसार ‘गायत्री मन्त्र’ ऋषि विश्वामित्रले रचना गरेका थिए । (हेर्नुहोस् ऋगवेद, ३ः६२ः१०, तृतीय मण्डल, सुक्त ६२, श्लोक १०) ।
कोशी किनार कुशिक वंशजको राज्य थियो । विश्वामित्र कुशिक वंशज भएको ऋगवेदमा उल्लेख छ । (३ः२६ः१, ३ः४२ः९ ऋगवेद ।) त्यतिमात्र होइन । कोशी किनार सृष्टि, स्थितिसँग जोडिन्छ त्यसैले धेरै वस्तुहरूको स्थापना र निर्माण यहाँबाट भएको छ । सोमरस हृदयरमण गराउने ३ः४२ः८) सुरुमा अग्नि देवलाई (३ः१ः१ ऋगवेद) त्यसपछि भगवान इन्द्रलाई अर्पण गर्न (३ः४२ः४ ऋगवेद) विश्वामित्रले यही तयार गरेका थिए ।
माथिका यी तथ्यबाट विश्वामित्र ऋषि कोशी किनारमा बस्दथे । उनी यहीँका थिए भन्ने तथ्य पुष्टि हुने अवस्थामा विश्वामित्र ऋषिका छोरा कुशिक थिए भन्ने कुरा त शास्त्र र अध्ययनले भन्छ । यो तथ्य हेर्दा पिता कोशी किनारका हुन् भने छोरा भारतको त नुहुनु पर्ने हो ?

यी तथ्यसँग समुद्रमन्थनको सम्बन्ध छ ?
ऋषि सुश्रुतलाई जान्नुअघि उनले कसरी शल्यचिकित्साको प्रेरणा प्राप्त गरे ? त्यसको मूल कहाँ भन्ने जान्नका लागि समुद्र मन्थनको प्रसङ्ग हेरौँ ।
शास्त्रले सृष्टिकर्ता मानेको भगवान् ब्रह्मा हुन् । ब्रह्माका मानसपुत्र थिए, ऋषि अत्रि । धार्मिक, अध्यात्मिकबाहेक उनलाई ज्ञान, विज्ञानका ज्ञाता पनि शास्त्रले मानेको छ । ब्रह्माको आँखाबाट उत्पन्न भएका ऋषिका रूपमा उनलाई लिइन्छ ।
ऋषि अत्रिको विवाह देवहुति र प्रजापति कर्दमकी छोरी अनुसुइयासँग भयो । अनुसुइया सबैभन्दा ठूलो सतिकी रूपमा चिनिन्थिन् । कथा अनुसार उनका कुनै सन्तान भएनन् । अनुसुइयाले विभिन्न तप, ध्यान गर्न लागिन् । तर उनीहरूको भाग्यमा सन्तान लेखिएको थिएन ।
ऋषि अत्रिले बारम्बार सम्झाउँदा पनि अनुसुइया मानिनन् । महादेवको तपस्याबाट पुत्र प्राप्त गर्ने हठमा बसिन् । लामो समय तपस्या गर्दा पनि महादेव प्रसन्न नभएपछि ऋषि अत्रिले भोकै प्यासै तपस्या नगर भन्ने आदेश गरे । तर उनको मनमा दृढ सङ्कल्प थियो । उनी ऋषि आश्रमतर्फ लागिन् ।
त्यसै दिन दिन अपरिचित ऋषि अनुसुइयाको कुटीमा भिक्षा माग्न आइपुगे । भिक्षा माग्नेहरूले अनुसुइयालाई लाज, सरम त्याग गरेर जे मागे पनि भिक्षा प्रदान गर भने । तर उनले लाज, सरम त्याग गर्न नसक्ने बताइन् । भिक्षु ऋषिले आफ्नो अपमान भएको बताए । लाजको त्याग गरेर भिक्षा दिनुपर्नेमा अडिग भए ।

भिक्षा माग्नेहरूको अत्यन्तै ठूलो हठ देखेपछि अनुसुइयाले ध्यानदृष्टिले हेरिन् । उनी सति थिइन् र त्रिकालदर्शी पनि । ध्यान दृष्टिले हेर्दा भिक्षा माग्न आउनेहरू त त्रिदेव (ब्रह्मा, विष्णु, महादेव) रहेछन् । उनले त्रिदेवलाई आश्रमभित्र बोलाइन् र आफूले लाज त्याग गर्ने बताइन् । सतिको प्रभावले त्रिदेव नवजात शिशुमा परिवर्तन भए । उनले ती शिशुलाई स्तनपान गराइन् ।
उनले आफ्नो मातृत्व इच्छापूर्ति गरिन् भने उता सबैभन्दा ठूलो सतिका रूपमा आफूलाई थप प्रमाणित गरिन् । त्रिदेव शिशुका रूपमा परिवर्तन भएपछि त्रिदेवी उनीहरूलाई खोज्दै अत्रि ऋषि आश्रममा आए र त्रिदेवलाई पूर्ववत् अवस्थामा फर्काउन आग्रह गरे ।
त्रिदेवका अंशका रूपमा भगवान दत्तात्रयको जन्म भयो । र उनी अत्रि र अनुसुइयाका पुत्रका रूपमा रहे । यस्तै त्रिदेवबाट पनि एकएक अंश स्थापित भए । भगवान शिवका अवतारका रूपमा ऋषि दुर्वासा प्रकट भए । उनले ऋषि अत्रि र अनुसुइयाका पुत्रका रूपमा जन्म लिए ।
समयक्रममा देवराज इन्द्र भ्रमणमा निस्किएका बेला बाटोमा महर्षि दुर्वासासँग भेट भयो । भगवान शिवले दिएको विशेष माला दुर्वासाले इन्द्रलाई अर्पित गरे । इन्द्रले त्यो माला हात्तीको सुँडमा राखी दिए । हात्तीले सुँडबाट निकालेर खुट्टाले कुल्चिन पुग्यो । दुर्वासाले अपमान भएको ठानेर क्रोधित हुँदै इन्द्रलगायत सम्पूर्ण देवतालाई सामथ्र्य, शक्ति, लक्ष्मी र सौभाग्य गुमाउने श्राप दिए ।
यसबाट उन्मूक्ति पाउन समुद्र मन्थनको उपाय निकालियो । देवता र राक्षसबीचमा समुद्रमन्थन भयो । त्यहाँबाट १४ रत्न उत्पत्ति भए । कथाअनुसार धन्वन्तरी हातमा अमृत लिएर बाहिर आए । देवताहरूले अमृत पिए र पुनः शक्ति, सामर्थ्ययुक्त बने ।

‘उत्तरे हिमवत पाश्र्वे क्षीरोदो नाम सागर’
उत्तरपट्टि हिमालयको काखमा रमणीय क्षेत्रमा रहेको दूधकुण्ड (क्षीर सागर) मा समुद्रमन्थन भएको स्कन्दपुराणको हिमवत् खण्डमा उल्लेख रहेको जगदगुरु बालसन्त मोहन शरण देवाचार्यले समेत कुम्भ मेलाको उत्पत्तिका बारेमा भन्दै आएका छन् ।
नेपालको दूधकुण्डमा उत्पत्ति भएको अमृतको पिण्ड सुनसरीको चतरामा ल्याई कुम्भ मेला लगाई धरानस्थित पिण्डेश्वरमा स्थापना गरेको उनको मत छ ।
यसरी यी शास्त्रीय मतलाई हेर्दा धन्वन्तरीको पनि उत्पत्ति यही प्राचीन देवभूमिमा भएको थियो । ऋषि विश्वामित्रले आयुर्वेदको ज्ञान लिनका लागि धन्वन्तरीकहाँ ऋषि सुश्रुतलाई पठाएको शास्त्रीय तथ्य पाइन्छ । ऋषि सुश्रुतद्वारा रचित ‘सुश्रुतसंहिता’ मा समेत ब्रम्हाजीले पहिलो सहस्र अध्यायसहित आयुर्वेद प्रकाशन गरेको उल्लेख छ ।
त्यसलाई प्रजापतिले अध्ययन गरे । त्यसपछि अश्विनी कुमार हुँदै इन्द्रले अध्ययन गरे । इन्द्रदेवबाट धन्वन्तरीले विद्या प्राप्त गरे । त्यसलाई सुनेर सुश्रुत मुनिले आयुर्वेदको रचना गरे ।
धार्मिक गुरु कृष्णभक्तले लेखेका छन्– राजा परिक्षितलाई श्राप दिने समीक ऋषिको आश्रम वराहक्षेत्रमा थियो । ब्यासका छोरा शुकदेवले राजा परिक्षितलाई ज्ञान मार्गको उपदेश वराहक्षेत्रस्थित कौशिकी तटमै दिए । महर्षि विश्वामित्रको तपोभूमि भएर बगेकीले कोशी नदी नामाकरण गरिएकी थिइन् । विश्वामित्रले आफ्नो शौच सन्ध्याका लागि कोशी नदी उत्पत्ति गरेका थिए ।
शिकी तटमै ध्यानमा बस्दा विश्वामित्रले ऋगवेदको गायत्री मन्त्र भेटेका थिए । ॐकार र त्रिव्याह्ति (भूर् भुवः स्वः) कौशिकीको मुहानमा प्रकट भएको थियो ।

हिरण्यक्ष दैत्यले पृथ्वीलाई पातालमा लगेपछि भगवान् विष्णुले वराहको अवतार लिएको र सो दैत्यसँग युद्ध गरी पृथ्वीको उद्धार गरेको प्रसङ्गसहितको कौशिकी (कोशी) नदी तिरमा रहेको वराहको क्षेत्र कोका र कोशीको सङ्गमस्थल हो । यो क्षेत्र औलिया बाबाको तपस्थली, ऋर्षिमहर्षिहरूको तपोभूमि, आदिवराह, छिन्नमस्ता, सूर्यकुण्डजस्ता देवदेवीहरूको तपोस्थल हो ।
यो क्षेत्र नेपालको पवित्र चार क्षेत्रमध्ये एक पवित्र तीर्थस्थल हो । महर्षि ऋचिक पत्नी सत्यवतीले यहाँस्थित पर्वतमा बसी तपस्या गरेको प्रभावले कौशिकी नदी प्रवाहयुक्त बनेकी हुन् । यो क्षेत्र दुर्वासा, शृङ्गी, समिक, विश्वामित्र आदिको तपोस्थल थियो ।
(माथि उल्लेख गरिएका केही सन्दर्भहरू हिन्दू धर्मशास्त्रहरूबाट उधृत गरिएको हो । ती सन्दर्भबारे कुनै पुरातात्विक, वैज्ञानिक या अकाट्य प्रमाण छैनन् । सं.)
प्रतिक्रिया