लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ ।

लागूऔषधको ओसारपसार, बिक्री वितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय बिर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागूऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रूपमा हेरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५५९ जनालाई लागूऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता भएका छन् ।

बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०/८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो सङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको छ । 

‘की जेलमा की सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । विगत एक वर्षमा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्‍याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबिच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

समुदायसँग मिलेर दुर्व्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । त्यसअन्तर्गत ‘दुर्व्यसनविरुद्ध आमाहरू’ र ‘फाइट एगेस्न्ट नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाइ छ । 

उनका अनुसार आव २०८१/८२ मा झापामा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागूऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रूपमा झापा चिनिएको छ ।

कोशी प्रदेशमा आव २०८१/८२ मा लागूऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको छ । यसैगरी २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्लाका मेचीनगर, बिर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको छ । पूर्वी नाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागूऔषधसहित कारोबारी र प्रयोगकर्ता पक्राउ गर्दै आएको छ । 

प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरूले बिर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ । बिर्तामोड नगरपालिका– ५ स्थित मनकुमार सङ्ग्रौलाको दुई तले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागूऔषध र प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए । 

औषधि पसलले नै लागूऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो । स्थानीयले लागूऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले बिर्तामोडमा ‘सनलाइट फर्मा’नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

अभियुक्तहरूले बिर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ । 

भारतसँग १४४ किलोमिटर लामो खुला सिमाना भएका झापामा लागूऔषधको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागूऔषध भित्र्याउने र कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाजसमेत चिन्तित पाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ४९ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा