काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई वस्तुस्थिति बुझ्न रूपन्देही–३ मा खटाएको छ ।
आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि रूपन्देही–३ को वस्तुस्थिति बुझ्न उनी यतिबेला बुटवलमा छन् । महामन्त्री शर्मा सोमबार बेलुकी बुटवल पुगेका हुन् ।
यसअघि उपनिर्वाचनको तयारीलगायतका विषयमा बुझ्न साउन पहिलो साता महामन्त्री शर्मा रूपन्देही गएका थिए । क्षेत्रीय सभापति सुशील गुरूङका अनुसार चार दिन रूपन्देही बसेका शर्माले उपनिर्वाचन बारे स्थानीय नेताहरूसँग छलफल गरेका थिए ।
साउन पहिलो साता रूपन्देही बसाइँका क्रममा महामन्त्री शर्मा औपचारिक रूपमा पार्टीका कुनै पनि कार्यक्रमहरूमा सहभागी भने भएनन् । उनले त्यहाँ पार्टीको प्रदेश कार्यसमितिदेखि भ्रातृ संगठनहरूसँग छुट्टाछुट्टै निर्वाचनकेन्द्रित छलफल गरेका थिए ।
क्षेत्रीय सभापति गुरूङका अनुसार शर्माले साउन पहिलो साता लुम्बिनी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महासमिति–महाधिवेशन प्रतिनिधि र भ्रातृ संगठनहरूसँग अलग–अलग छलफल गरेर वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
‘साउन पहिलो साता आउनुभएको थियो । पनि चार दिन बस्नुभयो । औपचारिक रूपमा बाहिर कुनै पनि कार्यक्रमहरूमा सहभागी हुनुभएन,’ गुरूङले खबरहबसँग भने, ‘पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिसँग एक पल्ट बस्नुभयो । जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महासमिति–महाधिवेशन प्रतिनिधि, भ्रातृ संगठनहरूसँग अलग–अलग छलफल गर्नुभएको थियो ।’
महामन्त्री शर्मा रूपन्देहीबाट फर्किएपछि सभापति शेरबहादुर देउवाले गत साउन ९ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेर उपनिर्वाचनबारे छलफल गरेका थिए । उक्त बैठकमा जिल्ला सभापति रामकृष्ण खाँण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाँणले रूपन्देही–३ को पछिल्लो वस्तुस्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकाका १४, १५, १६, १७, १८ र १९ नम्बर वडा र मायादेवी गाउँपालिकाका ७ र ८ नम्बर वडाहरू मिलाएर क्षेत्र नम्बर ३ निर्धारण गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहरा, कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।

तत्कालीन समयमा यो क्षेत्रमा नेकपा (एमाले) ले राप्रपालाई सघाएका थियो । कांग्रेसलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को साथ थियो । एमालेको साथ पाएर तत्कालीन समयमा निर्वाचित राप्रपा समानुपातिकतर्फको मत परिणामअनुसार चौँथो स्थानमा आएको थियो । समानुपातिकतर्फको मतअनुसार रूपन्देही–३ मा राप्रपाको मत ९ हजार १८३ छ ।
यहाँ समानुपातिकतर्फ पहिलो भएको कांग्रेसको २० हजार २७९ मत देखिन्छ । राप्रपालाई सघाएको एमालेको समानुपातिकतर्फ १६ हजार ९८६ मत आएको थियो । कांग्रेसलाई सघाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकतर्फ क्रमशः दुई हजार ६३७ र ७८१ मत ल्याएका थिए ।
रूपन्देही–३ मा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले रूपन्देही–३ बाट उम्मेदवारी दिएका थिए ।
नाउपाका तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए । यहाँ समानुपातिकतर्फ १४ हजार १५४ मतसहित रास्वपा तेस्रो हुँदा नाउपाले ६ हजार १० र जनमतले तीन हजार ७३२ मत प्राप्त गरेका थिए ।
कांग्रेसमा प्रभावशाली नेताका रूपमा चिनिएका बहालवाला गृहमन्त्री खाँणलाई चुनावमा नबोली पराजित गरेर नेता बोहरा चर्चामा आएका थिए । पोष्ट कोभिडका कारण घाँटीमा समस्या भएर चुनावी अभियानका दौरान नबोलेका बोहराको ०८१ चैत १९ मा उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो ।
प्रतिनिधिसभा सदस्य बोहराको निधनका कारण रिक्त रहेको पद पूर्तिका लागि निर्वाचन आयोगले आगामी कार्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तय भएको छ । यस क्षेत्रमा निर्वाचन प्रयोजनका लागि २६ दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।
निर्वाचन आयोगले निवाृचन प्रयोजनका लागि दर्ता भएका दलहरूको सूची सार्वजनिक गरेकै दिन कांग्रेस महामन्त्री शर्मा सोमबार फेरि रूपन्देही पुगेका छन् । उनी उपनिर्वाचनलाई लक्षित गरेर नै दोस्रोपल्ट जिल्ला आएका क्षेत्रीय सभापति गुरूङले बताए ।
‘हिजो (सोमबार) राती आउनुभएको हो । आज भैरहवामै हुनुहुन्छ । पार्टीको औपचारिक कार्यक्रम होइन । अनौपचारिक रूपमा पार्टीका साथीहरू भेटिरहनुभएको छ,’ चुनावलक्षित भ्रमण हो कि भन्ने खबरहबको जिज्ञासामा गुरूङले भने, ‘निर्वाचनको बेला छ, निर्वाचन लक्षित नै भन्नुपर्यो नि ।’
रूपन्देही–३ को वस्तुस्थिति बुझ्नु, पार्टीका नेता–कार्यकर्ताको राय लिनु, पार्टीलाई फाइदा हुने गरी उम्मेदवार बनाउनु पर्ने व्यक्तिलगायतका विषयमा बुझ्न महामन्त्री शर्माको जिल्ला भ्रमणको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
‘पदाधिकारी, पूर्वपदाधिकारी बैठकले खटाएको भन्ने जानकारी छ । औपचारिक पत्र भने पठाएको छैन, हामीले पत्र पाएका छैनौँ । तर, समझदारीमै विश्व दाइलाई नै यहाँको वस्तुस्थिति बुझ्न, पार्टीका साथीहरूले के भन्नुहुन्छ, कसलाई उम्मेदवार बनाउँदा पार्टीका लागि राम्रो हुन्छ भन्नेलगायतका यावत विषयहरू बुझ्न आउनुभएको हो,’ सभापति गुरूङले भने ।
गुरूङका अनुसार महामन्त्री शर्माले मंगलबार दिउँसो उपनिर्वाचनका लागि पार्टीले गठन गर्ने उपसमितिहरूबारे छलफल गरेका छन् । ‘पार्टीकै साथीहरूसँग भेटघाट गर्न आउनुभएको हो । उहाँले विभिन्न उपसमितिहरूको अपेक्षा गर्नुभएको छ,’ उनले भने, ‘उपसमिति कस्तो मोडालिटीको बनाउने र कस्ता–कस्ता मान्छे राख्ने भनेर छलफल गर्नुभयो ।’
महामन्त्री शर्माले रूपन्देहीबाट पार्टीको १४ औँ महाधिवशेनमा विभिन्न तहका प्रत्यासीहरूसँग पनि छलफलको तयारी गरेको पनि क्षेत्रीय सभापति गुरूङल जानकारी दिए । ‘पार्टीको १४ औँ महाधिवेशनका विभिन्न तहका प्रत्यासीहरूसँग बस्न खोज्नुभएको छ,’ उनले भने ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि महामन्त्री शर्मालाई पार्टीले उपनिर्वाचनको तयारीका लागि रूपन्देही खटाएको जानकारी दिए । ‘निर्वाचन क्षेत्रका बारेमा पार्टीका तर्फबाट काम गरिरहनुभएको छ । त्यहाँ गएर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आन्तरिक काम गर्ने ‘अन्डरस्ट्यान्डिङ’ छ,’ उनले भने, ‘उहाँले गरेको कुरालाई हामीले आधिकारिक मानेका छौँ । मान्ने सहमति पनि भएको छ ।’
प्रतिक्रिया