हजार वर्ष पुरानो ‘गाउँ पूजा’, संस्कार जोगाउन युवा सक्रिय « Khabarhub

हजार वर्ष पुरानो ‘गाउँ पूजा’, संस्कार जोगाउन युवा सक्रिय


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धूपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।

यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई/दुई वर्षमा हुने ‘गाउँ पूजा’ पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन् ।

स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझ गाउँभरीका झाँक्रीहरू एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् ।

बराह थानमा पुगेपछि युवाहरूले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरुप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् ।

अनिष्ट हुन थालेपछि ‘गाउँ पूजा’ 
सुरुआती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ ।

एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बूढाबूढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरूको मृत्यु भइसकेको हुँदा उनीहरूको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउँछन् । ओडार मृत्यु भएका जुजाजुजी राक्षसको रुपमा गाउँ पसेरपछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि सुरु शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको उनको भनाइ छ ।

पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरू अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उनी बताउँछन् ।

‘बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यसबेला मानिसहरू बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरूको मृत्यु भइसकेको रहेछ,’ उपाध्यक्ष घर्ती मगरले भने, ‘उनीहरूको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा ग¥यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।’

भूत धपाउन खोलामा हाम फाल्छन् युवा
बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रूप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए ।

यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनको भनाइ छ । भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधी नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ ।

उनले भने, ‘झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरुले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ ।’

संरक्षणमा युवा र पालिकाको चासो
गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरूले चासो दिएका छन् । यसवर्ष गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो । युवाहरुले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरु लागेको गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए । युवाहरुलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको बताए । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उहाँको भनाइ छ । (रासस)

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : २७ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले