अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’ « Khabarhub

किताबका कुरा

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’



इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका हुन्छन् । नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आत्मकथा ‘आफ्नै कुरा’ मा सुनाएको एउटा प्रसंग त्यसकै उदाहरणका रुपमा रहेको छ ।

गिरिजाप्रसादले ‘आफ्नै कुरा’मा उल्लेख गरेअनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणा शिकार खेल्न काठमाडौंबाट विराटनगर आउने कार्यक्रम तय गरिएको हुन्छ ।

त्यसका लागि विराटनगरको केसलियामा शिकार क्याम्प खडा गरिएको थियो । त्यस ठाउँमा जमिनदारका रुपमा परिचित कृष्णप्रसाद कोइरालाको पहलमा आदर्श स्कुल सञ्चालनमा थियो। त्यही आदर्श स्कुललाई हाइस्कुल बनाउनु पर्यो भन्ने माग लिएर कृष्णप्रसाद शिकार क्याम्पमै पुगेका रहेछन्। राणा प्रधानमन्त्रीको स्वागतका लागि आदर्श स्कुलका विद्यार्थीहरूलाई लामबद्ध बनाएर उभ्याइएको थियो ।

विश्वेश्वरप्राद कोइराला (बीपी) लाई समेत पढाएका हेडमास्टर भारतको टेढी (जहाँ गिरिजाप्रसाद जन्मिए) बाट विराटनगर आएका रहेछन् । उनले गिरिजालाई पहिले नै अनुमान गरेर पक्कै पनि ‘जुद्ध शमशेरले ह्वाट इज योर नेम’ भनेर सोध्नेछन्, तिमीले, ‘माई नेम इज गिरिजाप्रसाद कोइराला’ भन्नु भनेर सिकाएका रहेछन्।

गिरिजाप्रसाद त्यसबेला हेड मास्टरले सिकाएको त्यो अंग्रेजी वाक्यसहित कुरा पनि कण्ठ पारेर शिकार क्याम्प पुगेका रहेछन् ।

नभन्दै जुद्ध शमशेर हात्तीबाट ओर्लिएर गिरिजाप्रसादसहितका विद्यार्थीहरू उभिएको ठाउँनजिकै पुगे । उनले विद्यार्थीहरूमध्ये अगाडि नै उभिएका गिरिजालाई सोधे,‘ह्वाट इज योर नेम ?’ उनले पनि हेडमास्टरले सिकाएकै अनुसारको उत्तर दिए, ‘माई नेम इज गिरिजाप्रसाद कोइराला ।’

जुद्ध शमशेरले कृष्णप्रसादलाई त्यसबेला ‘तिम्रो छोरा त विद्वान् पो रहेछ, एकै पटकमा यसरी फ्याट्ट जवाफ दियो’ भनेछन् ।

तर खास कुरा के रहेछ भने जुद्ध शमशेरलाई पनि राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदो रहेनछ । त्यही बुझेर नै गिरिजाले पनि त्यही अंग्रेजी वाक्य मात्रै कण्ठ पारेर शिकार क्याम्पमा गएका रहेछन् ।

त्यस घटनाबाट खुसी भएका जुद्ध शमशेरले त्यहाँ पुगेका गिरिजासहितका बालबालिकालाई मिठाइ खान भनेर पाँच-सात रुपैँया दिए । त्यही बेला उनले विराटनगरको आदर्श स्कुललाई, ‘ल, आजैदेखि यो हाइस्कुल भयो’, भनेर घोषणा गरिदिएका रहेछन् ।

‘ल अबदेखि पानी चल्छ’

गिरिजाप्रसादको ‘आफ्नै कथा’मा जुद्धशमशेरको अर्को पनि रमाइलो प्रसंग अटेको छ । शिकारकै क्रममा हात्तीमा सवार जुद्ध शमशेरलाई प्यास लागेछ । उनले हात्तीमै बसेर पानी पिउने गर्दा रहेछन्। त्यसैले एउटा झुपडीनजिक हात्ती रोकेर चाँदीको झारीबाट पानी पिएछन् ।

घर मालिकले त्यसबेला भनेछन्, ‘हजुर हामी दलित, हाम्रो त पानी चल्दैन।’ जुद्ध शमशेरले तत्कालै जवाफ फर्काउँदै भनेछन्, ‘पानी चल्दैन ? ल ल्याऊ त ।’ त्यसपछि उक्त झुपडीका दलित समुदायका ती मानिसले दिएको पानी आफ्नो मुखमा छर्केर उनले भनेछन् , ‘ल, अबदेखि पानी चल्छ ।’ त्यसबेला दलित भनेर हेपिएका उक्त घरका मानिसले छुँदा नचल्ने भनिएको पानी त्यस दिनदेखि गाउँका अरुका लागि चल्न थालेछ।

पत्रकार, प्राध्यापक तथा अनुसन्धानकर्ता जगत नेपालले तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसादसँग करिब २५ घण्टा कुराकानी गरेर लेखेको पुस्तक ‘आफ्नै कुरा’मा जुद्ध शमशेरसँग जोडिएका रमाइला किस्साले इतिहासतिर फर्काउँछ । पुस्तकमा गिरिजाप्रसाद जन्मनु अघिदेखि २०६२/०६३ को दोस्रो जनआन्दोलनपछिको संक्रमणकालीन अवस्थामा प्रधानमन्त्री भएको समयसम्म भए- गरेका र भोगेका कुरा पुस्तकमा समेटिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : ३५ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने