सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम | Khabarhub Khabarhub

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

जागिरेलाई राजनीतिमा निषेध अपरिहार्य



नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय हुनुपर्ने आसयको अडानबाट नरम बन्ने जस्तो देखिन्छ । देशको सही व्यवस्थापनमा उत्रिने कुरा आउन थालेको छ । तर आफ्नै दलभित्रको व्यवस्थापनको विषय भने पेचिलो बन्ने देखिन्छ । एक अर्काबीच असहयोग, आन्तरिक विभाजन, अस्थिर सत्ता समीकरण र नीतिगत कमजोरीले राज्यको मूल राजनीतिक सम्बन्धमा हुनुपर्ने निर्णय अनिश्चित बनाएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको डेढ दशक नपुग्दै मुलुक फेरि अस्थिरताको चक्रमा फसेको हो कि भन्ने देखिएको छ । तत्कालको लागि संवैधानिक सङ्कट भने टरेर थप हिंसा र रक्तपात रोकिएको छ । तर आज देशको भविष्य र राष्ट्रिय राजनीतिमा जुन सङ्कट आइपरेको छ, यसको मूल कारण बाह्य दबाब  मात्र होइन । यस समस्याको जरा प्रत्येक दलभित्रै छ ।

संगठनात्मक कमजोरी, सिद्धान्त, व्यवहारबीचको अन्तर, अस्पष्ट विचारधारा र संरचनागत लुलोपनले दललाई कमजोर बनाएको छ । यही कारण नेपालमा राजनीतिक प्रणाली लगातार अस्थिर रहँदै आएको हो ।  मुख्य तर्क यो हो कि नेपालको वर्तमान राजनीतिक सङ्कटको जरा दलभित्र नै छ । देशको हालको सङ्कट खोज्न दलभित्रबाटै कसरी थालनी हुनुपर्छ ? दलभित्र रहेका निम्न कारणहरूले गर्दा  आजको सङ्कट आएको छ–

सङ्गठनात्मक कमजोरी
अहिले दलभित्र सङ्गठन कमजोर छ । तिनका भ्रातृ सङ्गठनको कमजोर भूमिकालाई स्वतः  कमजोर बनाइएको छ । युवा, महिला, विद्यार्थी र पेशागत सङ्गठनहरूलाई प्रभावकारी बहस र जनसङ्गठनको आधार बनाउन सकिराखेको देखिँदैन । यी सङ्गठनको नेतृत्व गर्ने पुस्तामा अध्ययन र चिन्तनको कमी धेरै देखिन्छ । दलहरूको राजनीति निर्वाचनदेखि निर्वाचनसम्मको नीतिमा सञ्चालित हुने केवल निर्वाचन उपकरण मात्र बनेका छन् ।

नेतृत्व–कार्यकर्ता सम्बन्ध पार्टीको विचार, सिद्धान्त, कार्यक्रम र सङ्गठनको आवश्यकताभन्दा नातावाद, स्वार्थ, फाइदा र नेतृत्व सुरक्षा गर्न आवश्यक आधारमा मात्र भएको छ ।  नेताहरू सत्ता–सम्झौतामा व्यस्त हुँदा तल्लो तहका नेता र कार्यकर्ता उपेक्षित बन्दै आएका छन् । आन्तरिक लोकतन्त्र कमजोर व्यापक देखिन्छ ।

नेताहरूमा पनि निर्णय प्रक्रियामा पारदर्शिताको अभाव देखिन्छ भने निर्णय केवल शीर्ष नेताहरूको सीमित घेरामा सीमित रहँदै आएको प्रष्ट देखिन्छ । फलस्वरूप, नीति निर्माण र कार्यान्वयनमा निरन्तरता आउन नपाउँदा राजनीतिक अस्थिरता बढाउन चाहने बाहिरी स्वार्थ समूहले स्थान पाएको छ ।

सैद्धान्तिक कमजोरी
दलको निर्माणको आधार सिद्धान्त प्रमुख हुन्छ । यसको आधारमा सङ्गठन पार्टी सञ्चालन गर्नु आवश्यक रहन्छ । तर अहिले दलले अंगीकार गरेको सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर रहेको देख्न सकिन्छ । दलहरूले सिद्धान्ततः स्वीकार गरेर समाजवाद, जनताको लोकतन्त्र, समानता र समावेशी विकासको घोषणापत्र बनाएको भए पनि व्यवहारमा ती नीति–कार्यक्रमहरू प्रायः पुँजीवादी–निजीकरणतर्फ ढल्किएका छन् । यसले नै दलहरुमा सिद्धान्तको मर्म विपरित हिँड्नलाई उत्प्रेरित गरेको छ ।  स्रोत, शक्ति र पहुँचका लागि सिद्धान्त उपेक्षित बनेको देखिन्छ ।

आन्तरिक रुपमा नै सिद्धान्तको उपेक्षा भइरहँदा सत्ता समीकरण र बाह्य दबाबले सिद्धान्तमा प्रभाव राख्ने नै भयो । शिक्षा निजीकरण हुँदै जानु, स्वास्थ्य क्षेत्रमा सरकारी लगानी घटाउदै लैजानु,  कृषि क्षेत्रको योगदान कम भएर आयातमा निर्भर रहनु यसका उदाहरण हुन् । अहिले प्रत्येक दलको आन्तरिक बहसमा सिद्धान्तभन्दा सत्ता कायम राख्न प्राथमिकता पर्ने गरेको छ । सिद्धान्त र व्यवहारबीचको दूरीले जनतामा भ्रम र अविश्वास बढाएको छ । सैद्धान्तिक सङ्गठनको अभाव खड्किएको छ ।

वैचारिक सङ्कट
सिद्धान्तको उपेक्षासँगै दलभित्र स्पष्ट विचारधारात्मक दिशा अभाव हुँदा नीतिको अस्थिरतासँगै समाजवादी कार्यक्रम कमजोर बन्न जाँदा जनविश्वास कमजोर बन्दै गएको छ । दलहरूले आफूलाई समाजवादी वा लोकतान्त्रिक भनेर दाबी गरिरहेको भए पनि व्यवहारमा विचारलाई नीतिमा रूपान्तरण गर्न असफल जस्तै देखिएको छ ।

दलका नेतृत्वको प्राथमिकतामा सत्ता मात्र पर्न जाँदा  गठबन्धन सत्ताको संस्कृति मौलाएको छ । यसका लागि सरकारले सत्ता–गणितलाई प्राथमिकता दिइरहनु पर्ने अवस्था हुँदा नीति अस्थिर बन्न पुगेको छ । यसको असर कृषि, रोजगारी, शिक्षा, लगानी नीतिहरूमा परेको कारण सरकार परिवर्तनसँगै बदलिन्छ । वैचारिक अस्थिरता जनतामा अविश्वासको रूपमा देखिन्छ ।

संरचनागत र प्रणालीगत कमजोरी
गणतान्त्रिक संविधान २०७२ ले तोकेको संघीय संरचना, न्यायपालिका, आयोग जस्ता संस्थाहरू प्रभावकारी हुन सकेका छैनन् । दलहरूको उपल्लो तहमा रहेका केही नेतृत्वमा पलाएको स्वार्थ र हस्तक्षेपले संस्थागत कमजोरी बढाएको छ । संघीयताको अभ्यासमा आफ्नालाई नियुक्त गर्ने प्रवृत्ति बढ्न जाँदा सुशासन र जनतालाई दिनुपर्ने डेलिभरी प्रणालीमा समस्या छ । न्यायपालिका र संवैधानिक निकायमा हस्तक्षेप भएर न्याय सम्पादन प्रणाली कमजोर बन्यो भन्ने आरोप छ । यसले संविधानले दिएको अवसर व्यवहारमा निष्प्रभावी बनाएको छ ।

राजनीतिक अस्थिरताकाे परिणाम
दलभित्रको सङ्कटले मुलुकको राजनीति, समाज र अर्थतन्त्रलाई प्रभावित बनाएको छ । विकास नीति अस्पष्ट र अस्थिरताको कारण सरकार परिवर्तनसँगै प्राथमिकता बदलिने गरेको छ । आर्थिक–सामाजिक योजनामा निरन्तरता आउन सकेको छैन ।  आधारभूत पूर्वाधार, जलविद्युत, कृषि आधुनिकीकरण परियोजना बीचमै अधुरो रहेको छ । जनतामा दलप्रति अविश्वास बढ्दा घोषणापत्र र व्यवहारबीचको असमानताले निराशा पैदा गरेको अवस्था छ ।

जनताले सुशासन र भ्रष्टाचारविहीन राजनीतिक र प्रशासनिक संयन्त्र खोजेको छ । तर यसमा सत्ता शक्ति रहनेले समस्यामा सम्बोधन गर्ने रुचि राख्न सकेन । यसैको जगमा वैकल्पिक आन्दोलनको उदय भयो । नयाँ पुस्ताले दलहरूको कमजोरी र भ्रष्टाचारविरुद्ध आवाज उठाउन सुरु गर्‍याे । जे जसरी  बुझे पनि जेन–जीको आन्दोलन यसकै उदाहरण थियो । जसले संसदीय प्रणालीलाई नै हल्लायो । जुन दुःखद हो भन्ने देखिँदैन ।

बहस र सुधारका आवश्यक कदम
यसको पहिलो सुरुवात नेपालमा हालसम्म सत्तामा रहेर स्थापित बनेका दल र तिनका माथिल्लो नेतृत्वबाटै सुरु गर्नुपर्छ । दलभित्र सुधार वा रूपान्तरण  नगरेसम्म प्रणालीगत सुधार सम्भव छैन । दल भित्र आन्तरिक लोकतन्त्र, विचार र सैद्धान्तिक आधारको बलियो अभ्यास गर्न बहस निर्माण गर्नु पर्छ ।  दल नै राज्य सञ्चालनको आधार भएकाले पारदर्शिता र जवाफदेहिता नआएसम्म संघीय संरचना बलियो बन्ने कल्पना गर्न सकिँदैन ।

सिद्धान्तलाई व्यवहारमा उतार्नु आवश्यक छ ।  समाजवाद, लोकतन्त्र वा समानताको मूल मूल्य नीति र विकास योजनामा प्रतिबिम्बित हुनुपर्छ । आर्थिक–सामाजिक नीति निरन्तर कार्यान्वयन घोषणापत्र अनुसार योजना र विकासमा निरन्तरता पाउनु पर्छ । दलभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउँदै नेतृत्व चयनदेखि नीति निर्माणसम्म  नयाँ पुस्ताका नेता  र कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्छ ।

आगामी बाटो
दलभित्र सुधारको सुरुवात भनेको नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिता निर्माण गर्नु हो । सिद्धान्त कार्यान्वयन घोषणापत्र अनुसार लागू  गर्दै नीति र कार्यक्रममा रूपान्तरण गर्नु पर्दछ । आर्थिक–सामाजिक नीतिलाई पहिलो प्राथमिकतामा राख्दै रोजगारीमुखी विकास, कृषि र उद्योगमा दीर्घकालीन लगानी, सामाजिक सुरक्षा र समान अवसर निर्माण गर्नु पर्दछ ।

संघीय संरचनाको सुदृढीकरणसहित स्थानीय तहलाई जिम्मेवारी, संस्थागत स्वतन्त्रता सुनिश्चित गर्नु पर्छ । जनताद्वारा असफल प्रमाणित गरिएका र पटक पटक दल र संवैधानिक जिम्मेवारीमा रहेर काम गरेकालाई पनि अबको जिम्मेवारीमा स्थान दिनु हुन्न । भ्रष्ट्राचार र अनियमितताको आरोप लागेका र पुष्टि भएकालाई पनि दलको भूमिकामा जोड्नु हुन्न । अर्को प्रमुख कुरा नेपाल सरकारको निजामती सेवामा रही काम गरेकालाई पनि अब दल र राज्यको कुनै भूमिका समावेश नगरीकन दल निर्माण गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिनु पर्दछ ।

निष्कर्ष
अतः यो सब समस्याको समाधान पहिला दलभित्रबाट खोजिनु पर्दछ । नेपालको राजनीतिक सङ्कटको मूल जरा दलभित्र नै छ । सङ्गठनात्मक, सैद्धान्तिक, वैचारिक र संरचनागत कमजोरीले नीति अस्थिरता, विकास योजनाको अपूर्णता र जनविश्वासको कमी सिर्जना गरेको छ । सङ्कट समाधानको पहिलो चरण दलभित्रको सुधार हो ।

आन्तरिक लोकतन्त्र बलियो, पारदर्शिता र जवाफदेहिता सुनिश्चित, सिद्धान्त व्यवहारमा उतार्ने, र संघीय संरचना सुदृढ बनाउने कदमहरूले मात्र राजनीतिक स्थायित्व र दिगो विकास सम्भव हुन्छ । फेरि पनि समस्याको समाधान केवल केन्द्रीय राजनीति, संविधान र संसदीय भूमिकामा मात्र खोजियो भने त्यो भूल हुन सक्छ । अहिलेको राष्ट्रिय राजनीतिमा मात्र देखिएको विद्रोह र यसले निर्माण गरेको प्रत्येक दलभित्र जन्मिन सक्छ ।
(लेखक दिगो कृषि विकास पर्यावरणीय क्षेत्रको अध्ययन सँग सम्बन्धित छन्) 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ११ : ४९ बजे

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी