जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी | Khabarhub Khabarhub

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

कङ्क्रिट संरचनाले धान्छ ३ सय डिग्रीसम्म तापक्रम 



जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रुपमा जलेर ध्वस्त बनेका छन् । १ हजार ५ सय ६० वटा भवनमा भने आंशिक क्षति पुगेको छ । 

प्रहरी मातहतका १ सय ९७ वटा भवनमा पूर्ण र २ सय ५८ वटामा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताएका छन ।

 ‘२ सय १० वटा सरकारी भवन पूर्ण रुपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ, ४५ वटा पार्टी कार्यालय पूर्ण र १ सय ७४ वटामा आंशिक क्षति पुगेको छ, यस्तै ९७ वटा आवासीय तथा व्यापारिक भवनमा पूर्ण र २ सय ९२ वटा आंशिक रुपमा क्षतिग्रस्त छन्,’ उनले बताए ।

 

आगलागीबाट पूर्ण रुपमा जलेका भवन पुनःनिर्माण गर्नुको विकल्प रहेन । तर, आंशिक क्षति पुगेका भवन भने तत्काल मूल्याङ्कन गरी बस्न योग्य छन वा छैनन् भन्ने निक्र्यौल गर्न जरुरी छ । जलेका भवनको समयमै मूल्याङ्कन गरिएन भने जुनसुकै बेला अर्को जोखिम आउन सक्नेमा दुई मत छैन । यसबारे भवन विभागलाई खबरहबले प्रश्न गर्दा क्षतिग्रस्त भवनको  तत्काल मूल्याङ्कनका लागि विभागले शुक्रबारबाट टोली खटाएको बताएको छ । 

‘पहिलो चरणमा र्‍यापिड एसेसमेन्ट गर्नुपर्छ त्यसपछि मात्र भवन बस्न योग्य छ छैन भन्न सकिन्छ, काम त भइरहेकै थियो तर शुक्रबारदेखि टोली खटाएका छौँ,’ भवन विभागका महानिर्देशक मचाकाजी महर्जनले बताए । 

क्षतिबारे तत्काल मूल्याङ्कन गर्न मात्रै दश दिन खर्चेको भवन विभागको गति हेर्दा हजार बढी संरचनामध्ये कति सुरक्षित छन भन्ने यकिन गर्न विभागलाई कति समय लाग्ला? भन्न सकिने अवस्था छैन । तरपनि सिंहदरबार, सर्वोच्च अदालत लगायत अन्य सङ्घसंस्थाले जोखिम मोलेरै सेवा सुचारु गरिसकेका छन । 

‘त्यस्तो बढी क्षति नभएका संरचनामा बसिएको होला, समस्या नहोला, मूल्याङ्कनका लागि विभागले टोली खटाइसकेको छ,’ महर्जन बताउँछन् । 

पुलचोक क्याम्पस, सिभिल इन्जिनियरिङ विभागका सहायक प्राध्यापक तथा संरचना इन्जिनियर सञ्जयकुमार साह भने भवनको तत्काल मूल्याङ्कन नगरी प्रयोगमा ल्याइएमा जुनसुकै समय दुर्घट्ना निम्तिन सक्ने बताउँछन् । 

‘२४ गतेको जेन–जी आन्दोलन क्रममा भएको आगजनीबाट हाम्रा भवनहरू लामो समयसम्म जलेको देखियो, यसरी भवन जल्दा बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र त्यसले कस्तो असर पुर्‍याएको छ, भवनको भार थाम्ने विम, पिल्लर, छत, स्ल्याप, भित्ताको क्षमतामा के–कति ह्रास आएको छ भन्नेमा विज्ञको प्राविधिक सल्लाहबिना प्रयोग त के प्रवेश गर्न पनि असुरक्षित हुन्छ,’ उनले बताए । 

जेन-जी आन्दोलनमा जलाइएका भवन प्रयोग गर्नुअघि परीक्षण

 कस्तो अवस्थामा बढी जोखिम ?

सर्वप्रथम भवनले आफ्नै वजन धान्नुपर्ने हुन्छ । त्यसपछि भवन भित्रका सामान र प्रयोगकर्ताको भार हुन्छ । हुरीबतास, भूकम्प, आगलागीलगायतका प्राकृतिक प्रकोपमा समेत भवन सकेसम्म सुरक्षित रहन सक्ने गरी निर्माण गरिन्छ । 

कंक्रिटको संरचना

विश्वव्यापी मान्यता अनुसार कुनै पनि कंक्रिटको संरचना २ सय देखि ३ सय डिग्री सेल्सियस तापक्रमसम्म आगलागी हुँदा कंक्रिटको रङ र भारवहन क्षमतामा ह्रास आउँदैन । 

त्यो बढेर ३ देखि ६ सय डिग्री सेल्सियससम्म पुग्यो भने कंक्रिटमा केमिकल रियाक्सन भएर त्यसको भार वहन क्षमतामा ४० देखि ६० प्रतिशतसम्म ह्रास हुन पुग्छ र संरचना चर्किदै जान्छ । तापक्रम ६ सयदेखि ९ सय डिग्री सेल्सियस पुगेको अवस्थामा कंक्रिट चोक्टा चोक्टा भएर झर्न थाल्छ । ९ सय ५० देखि १२ सयसम्म पुगेको अवस्थामा भने संरचनापूर्ण रुपमा क्षतिग्रस्त हुने साहले बताए । 

‘हामी र्‍यापिड मूल्याङ्कनका लागि काठमाडौं जिल्ला अदालतको अवलोकनमा जाँदा भवनका विमहरुमा खासै क्षति भएको देखिदैनथ्यो तर अधिकांश स्ल्यापहरु झरेको छ , त्यहाँको तापक्रम ९ सय डिग्री सेल्सियस बढी पुगेको अनुमान गर्न सकिन्छ तर त्यसले संरचनाको बाहिरमात्रै क्षति पुगेको छ कि भित्रैसम्म पुगेको छ भन्ने विस्तृत मूल्याङ्कनपछि मात्रै थाहा पाउन सकिन्छ,’ उनले बताए । 

उनले थपे, ‘मूल्याङ्कनपछि बल्ल त्यो उपयोग गर्न योग्य छ छैन, त्यसलाई पूर्णनिर्माण, रेट्रोफिट गरेर संरचना जोगाउने पो हो कि भन्न सकिन्छ, जसलाई ३ वटा स्टिकर लगाएर छुट्याउन सकिन्छ । प्रारम्भिक मूल्याङ्कन अनुसार तत्काल उपयोग गर्न मिल्ने भवनमा हरियो स्टिकर लगाइन्छ तर त्यसो भन्दैमा भवन पूर्ण रुपमा सुरक्षित भन्न सकिदैन । भार बढ्दै जाँदा भविष्यमा जोखिम ब्यहोर्नु पर्ने हुन सक्छ, सुरक्षा निकायको निगरानीमा सावधानीपूर्वक प्रयोग गर्न सकिने भवनमा पहेँलो र रातो स्टिकर लगाइएको हकमा भने भवन भत्काउनै पर्ने भन्ने बुझिन्छ तर त्यस्तो होइन, रातो स्टिकर भनेको उच्च जोखिममा रहेका भवन भन्ने बुझ्नुपर्छ, जसलाई पूर्ण रुपमा मूल्याङ्कन, टेस्टिङ र विश्लेषण गरेपछि मात्रै भत्काउने कि रेट्रोफिट गर्ने भन्ने निर्णय लिन सकिन्छ ।’

स्टिलको संरचना 

आगलागीका कारण स्टिलमा ४ सय डिग्री सेल्सियससम्म तापक्रमले सामान्य असर मात्रै गर्छ । तापक्रम बढेर ८ सय डिग्री सेल्सियस पुग्दा आगोले त्यसको भार वहन क्षमता पूर्ण रुपमा नष्ट हुने उनले बताए । 

स्टिल भने १३ सय ७० देखि १५ सय ४० डिग्री सेल्सियस तापक्रममा मात्रै पग्लिन्छ । स्टिल संरचनाको क्षमतामा कुरा गर्दा क्षतिग्रस्त गोदावरी ललितपुरमा रहेको सनराइज सम्मेलन केन्द्र भवनको उदाहरण दिँदै उनी भन्छन्– ‘त्यहाँ विम, भित्ता कंक्रिट भएपनि माथिको संरचना स्टिलको रैछ, करिब ८ सय डिग्री सेल्सियस बढी तापक्रम पुगेर नै क्षति पुगेको हो, कंक्रीटले भने स्टिलले जस्तो तत्काल क्षमता गुमाउँदैन, मजबुत हुन्छ,’ उनले भने। 

सिमेन्ट मोटार अर्थात भित्ता निर्माण गर्दा इँट्टा जडानका लागि बनाइने घोलको पनि भवनलाई सुरक्षा दिनुमा उत्तिकै देन हुन्छ । यसले पनि २ सय देखि ४ सय तापक्रममा जडान छोडिसकेको हुन्छ । कंक्रिट मोटारको तुलनामा माटोको मोटार भने केही हदसम्म बढी तापक्रम वहन गर्ने प्रकृतिको हुन्छ । 

यदि भवनको भित्ता बाक्लो मोटाइमा छ भने त्यसमा कम क्षति पुग्ने आंकलन गर्न सकिने साह बताउँछन् ।रातो इँट्टाको हकमा भने १६ सय देखि २२ सय डिग्री सेल्सियस तापक्रममा मात्रै पूर्ण रुपमा भार वहन क्षमता नष्ट हुने उनको भनाई छ ।  

यस्तै आल्मुनियम ६ सय ६० देखि ६ सय ८० डिग्री सेल्सियसमा पग्लिने गर्छ । युपीभीसी भने १ सय ५ देखि २ सय ६० डिग्री सेल्सियस तापक्रममा पग्लिन्छ । यसरी कंक्रिट, स्टिल, आल्मुनियमबाट निर्माण गरिएका संरचनामा पुगेको क्षतिका आधारमा त्यहाँको तापक्रम आङ्कलन गर्न सकिन्छ । 

क्षतिग्रस्त भवनको मूल्याङ्कन कसरी ?

तत्कालीन र विस्तृत मूल्याङ्कन विधिमार्फत क्षतिग्रस्त भवनबारे निर्णय गरिन्छ । आगो निभाइसकेपछि भवनको तत्काल सुरक्षार्थ विशेषज्ञको प्रत्यक्ष निरीक्षणमा पर्खाल, छत, भित्ता लगायत बाहिरी र भित्री संरचनामा भएको प्रारम्भिक क्षति पहिचान गरिन्छ। सोही आधारमा भवन प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय लिइन्छ। 

तत्कालीन मूल्याङ्कन गर्दा भवनमा ३ वटा स्टिकरको प्रयोग गरिन्छ । तत्काल उपयोग गर्न मिल्ने भवनमा हरियो स्टिकर लगाइन्छ । तर, त्यसो भन्दैमा भवन पूर्ण रुपमा सुरक्षित भन्न सकिदैन त्यसमा जोखिम कायमै रहन्छ । 

यस्तै सुरक्षा निकायको निगरानीमा सावधानीपूर्वक प्रयोग गर्न सकिने भवनमा पहेँलो तथा रातो स्टिकर लगाइएको हकमा भने भवन उच्च जोखिममा रहेको बुझ्न सकिन्छ । जसलाई पूर्ण रुपमा मूल्याङ्कन, टेस्टिङ र विश्लेषण गरेपछि मात्रै भत्काउने कि रेट्रोफिट गर्ने भन्ने निर्णय लिन सकिन्छ । 

विस्तृत मूल्याङ्कन

आगोलगायत अन्य क्षतिले पारेको वास्तविक प्रभाव बुझ्न भवनको संरचनात्मक बलियोपन परीक्षण र भवनमा प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर अध्ययन गरिन्छ। यसका लागि अल्ट्रासोनिक पल्स भेलोसिटी टेस्ट, रिबाउन्ड ह्यामर टेस्ट, कोर स्याम्पलिङ लगायतका गहिरा प्राविधिक परीक्षण गरिन्छ। विस्तृत मूल्याङकनपछि मात्रै मर्मत तथा पुनर्निर्माणका लागि लागत अनुमान र योजना तयार पारिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा आगलागी भएको ३-४ घण्टा भित्रमा आगो निभाइएमा सिमेन्टेड संरचनामा खासै क्षति नपुग्ने उल्लेख रहेको उनले बताए । 

‘नेशनल फायर प्रोटेक्सन एशोसिएसन, अन्तराष्ट्रिय बिल्डिङ कोड लगायतका अन्तर्राष्ट्रिय कानुनी प्रावधान हेर्दा कुनै पनि आरसीसी भवनले ३ देखि ४ घण्टासम्म मात्रै आगो सहन गर्ने क्षमता राख्दारहेछन्, नेपालको हकमा समयमै आगो निभाउन पर्याप्त स्रोत नहुँदा ठूलो क्षति भएको भन्न सकियो,’ उनले भने। 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ६ : ३८ बजे

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

एजेन्सी– भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा

‘म कहिल्यै बिग्रिएको छैन, लहैलहैमा लागेर बिग्रेकाहरू सप्रियुन्’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’(एनएफसी) प्रविधिमा आधारित

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट