सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए | Khabarhub Khabarhub

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए



काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन जोशी पढ्दै कमाउँदै कार्यक्रममार्फत् इजरायल पुगेका थिए ।

११ महिने प्रयोगात्मक सिकाइका लागि विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायलको सेदोत नेगेभमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने तौरतरिका सिक्दै थिए ।

उनीहरू त्यहाँ पुगेको महिना दिनमै इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच द्वन्द्व चर्कियो । लडाकुहरू स्थलमार्ग हुँदै आइपुगेकाले सुरक्षित स्थानमा बस्न सूचना दिएपछि विपिनसहित नेपाली विद्यार्थी किबुज अलुमिमको बङ्करमा गए ।

ज्यान जोगाउन बङ्करमा छरिएर बसेका उनीहरूले सन् २०२३ अक्टोबर ७ को बिहानैदेखि मिसाइल र आक्रमण भोग्नुपर्‍यो ।
आक्रमणका क्रममा १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाले ज्यान गुमाए । बङ्करमा रहेका साथीहरूको ज्यान जोगाउन साहसका साथ लडाकुले हानेको ग्रिनेड टिपेर बाहिरै फ्याँकेका विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए ।

तीमध्ये घटनाकै दिन हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिए । जसमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, बौनिया–३, कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह, मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३, डोटीका राजन फुलरा, लमिखल–८, डोटीका पदम थापा, शारदा–३, सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीले ज्यान गुमाए ।

गोली लागेर बाँचेकामा शारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीन डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल छन् ।

ग्रिनेड र गोली लागेर घाइते भएका साथीहरूको उद्धारका लागि विपिनले नै नजिकै अर्को कृषि फार्म (किबुज) मा काम गर्ने बर्दियाका लुइस रिजालको टोलीसमक्ष एम्बुलेन्स पठाइदिन गुहार मागेका थिए ।

विपिनका लागि पहल

बितेका २ वर्षको अवधिमा परराष्ट्र मन्त्रालय र विभिन्न देशका नेपाली दूतावासले विपिनको सकुशल रिहाइका लागि पहल गर । तर नेपालको कमजोर कूटनीतिले विपिनलाई जीवितै फर्काउन सकेन । युद्धविरामपछि बाँकी ४८ जना बन्धकमा विपिन एक्ला विदेशी थिए ।

उनीसँगै बन्धक भएका ३१ जना थाई नागरिकमध्ये २९ जनालाई पहिलो र दोस्रो युद्धविराममै उद्धार गरेर लगिएको थियो । मृतक दुई जनाको शव त्यसअघि नै परिवारले बुझिसकेको थियो ।

छोरो बन्धक बनाइएको खबर पाएको ४३ औँ दिनपछि अर्थात् २०८० मंसिर २ गते तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर बुवा महानन्द जोशी र आमा पद्मा जोशीले रिहाइको पहल गर्न भने ।

साउदले कतारमार्फत् पहल भइरहेको बताए पनि नतिजा हात पारेन । त्यही समयमा प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि उनीहरूलाई आश्वासन मात्रै बाँडे । त्यसपछिका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा‍. आरजु राणा देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रपति रामचन्द्र पौडेल लगायतले गरेको पहल पनि निरर्थक रह्यो ।

सरकारको कूटनीतिक पहलले खास नतिजा नदिएपछि गत साउनमा विपिनकी बहिनी पुष्पा र आमा पद्या रिहाइका लागि दबाब बढाउन इजरायल पुगे । त्यहाँ इजरायली राष्ट्रपति लगायतलाई भेटेर विपिनको रिहाइका लागि दबाब दिन सार्वजनिक अपिलसमेत गरे ।

त्यसपछि उनीहरू २ वर्षदेखि बन्धक बनाइएका दाजु रिहा हुने आशा बोकेर गत असोज ८ गते अमेरिका उडे । त्यसबेला अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इजरायल र हमासबीचको युद्ध रोक्न र बन्धक फिर्ता गर्न वार्ता गराइरहेका थिए । 

उक्त वार्ता अन्तिम चरणमा थियो । तर, विडम्बना तिहार नजिकिँदै गर्दा दाजुलाई हमासबाट मुक्त गराउन गएकी बहिनी र बुढेसकालको साहारा छोरो फर्किने आशले अमेरिका पुगेकी आमा निराश हुन पुगे । उनीहरूको आशाको दियो असोज २७ गते उतै निभ्यो । जोशी परिवारले मात्रै होइन, गत सोमबार देशले एक साहसी युवा गुमायो ।

विपिनको निधन भइसकेको कुरा असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरे ।

उक्त दिन इजरायली समयअनुसार बिहान ७ः३० बजे त्यहाँस्थित सेनाबाट विपिनको दाजु किशोर र बहिनी पुष्पाबीच भिडियो संवाद गरिएको थियो । त्यहाँ इजरायली सेनाले हमासबाट प्राप्त जीवित सूचीमा विपिनको नाम नभएको पुष्टि गरियो । त्यही साँझ इजरायली सेनाले विपिनको शव फेला परेको जानकारी हमासबाट आएको जानकारी दिएको थियो ।

विपिनको निधन पुष्टिपछि उनको परिवार र देश नै शोकमा डुबेको छ ।

इजरायलसँग युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर शव हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भइसकेको छ । फरेन्सिक जाँचमा अपहरण भएको केही महिनामै उनको मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन् ।

त्यसपछि एयर एम्बुलेन्समार्फत् महेन्द्रनगर लगिँदैछ । विपिसहित ४ जनाको शवलाई सोमबार राति अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गरिएको हो ।

इजरायल र हमासबीच जारी युद्ध रोक्न इजिप्टमा सहमति भएको थियो । अमेरिकी शान्ति योजनाअन्तर्गत पहिलो चरणमा हमासले २० जीवित बन्धक हस्तान्तरण गरिसकेको छ । २६ मृतक बन्धकको शव हस्तान्तरण अहिले पनि चलिरहेको छ ।

उता विपिनको शव पहिचानका लागि इजरायल सरकारले विपिनकी आमाको डीएनए पहिले नै लिएको स्रोतले जनाएको छ । उनको निधनको खबरसँगै बहिनी र आमा असोज ३० गते अमेरिकाबाट नेपाल फर्किसकेका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अभिभस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  

सोमबार दिउँसो जोशीको शव फ्लाई दुबईको जहाजमार्फत् काठमाडौं ल्याइएको छ ।

विमानस्थलमा श्रद्धाञ्जली दिएर शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी लैजाने तयारी छ । विपिनलाई श्रद्धाञ्जली दिन राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरू विमानस्थल पुगेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : २३ बजे

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा