१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत | Khabarhub Khabarhub

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

सचिवालय भन्छ : जेनजी र अन्य थपिनुहुन्छ



काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि अहिलेसम्म सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे पटक–पटक प्रधानमन्त्रीले मातहतका निकायसँग छलफल गरेपनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने सन्दर्भमा अहिले पनि बैठकहरू बसिरहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल बताउँछन् ।

खानालका अनुसार अबको एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको छ । ‘तिहारअगाडि मन्त्र‍िपरिषद्लाई पूर्णता दिन पनि सकिन्छ । बिदा भएपनि कर्मचारीहरूलाई बोलाएर भएपनि गर्न सकिन्छ ।’ उनले भने, ‘लगभग तयारी भएको छ । सल्लाह गरिरहेका छौँ । एकै पटकमा पूर्णता दिनका लागि समय कुरेको हो ।’

उनले आएका व्यक्तिहरुको नामबाट ‘सर्टलिस्ट’ तयार गरेर मन्त्रपरिषदमा सदस्य थप्ने तयारी गरिरहेको बताए ।

प्रधानमन्त्रीले आगामी ४ गते मङ्गलबार सात शीर्ष दलसँग निर्वाचनबारे छलफल गर्ने कार्यसूची छ । त्यस कारण तिहार अगाडि मन्त्रिपरिषद् विस्तार गर्न उनलाई सकस देखिन्छ ।

यता, प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ लगायतका व्यक्तिलाई मन्त्री छान्ने जिम्मेवारी दिइएको छ । उनीहरूले नै मन्त्रीको नाम छलफल गरेर टुङ्ग्याउने कसरत गरिरहेका छन् ।

१५ जनाभन्दा बढी नबनाउने तयारीमा सरकार

प्रधानमन्त्री सुशीला कार्कीले केही समयअगाडि १०-१२ जनाभन्दा बढीको मन्त्रिपरिषद् नबन्ने उद्घोष गरेकी थिइन् । तर अहिले प्रधानमन्त्री १५ जनासम्मको मन्त्रिमण्डल बनाउने योजनामा रहेको उनी निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार १० जना बनाएर मन्त्रालयको काम तीव्र गतिमा नहुने भन्दै १५ जनासम्मको मन्त्रिपरिषद् बनाउन लागिएको हो ।

‘सबैलाई समेट्नुपर्ने र मन्त्रालयको कामलाई पनि तीव्रता दिनुपर्ने भएका कारण १५ जना जतिको क्याबिनेट बन्ला ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘१५ भन्दा बढी त बनाउने तयारी छैन । सबैको नामबारे प्रधानमन्त्री छलफलमा हुनुहुन्छ । नाम फाइनल गर्न कुरा मिलेको छैन ।’

प्रधानमन्त्रीले गत आइतबार नै मन्त्रिपरिषदमा केही सदस्य थप गर्न खोजेकी थिइन् । तर एकैपटक सबैलाई समेट्ने भन्दै त्यो तयारी रोकिएको थियो ।

यसबारे खनालले भने, ‘लगभग तयारी भएको छ । केही कुरा मिलाउँदै छौँ । विवाद रहित व्यक्ति मन्त्रालयमा आउनुहुन्छ ।’

जेनजी र अन्य पनि थपिने

प्रधानमन्त्रीले समावेशी तरिकाले मन्त्रिपरिषद् विस्तार गर्न लागेको खनालको दाबी छ । उनी जेनजी र अन्य केही व्यक्ति पनि मन्त्रिपरिषदमा समावेश हुने बताउँछन् ।

‘यो सरकार जेनजीले बनाएको हो । उहाँहरूलाई पाखा लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी हाम्रो छैन । सम्बन्धित विषयमा पोख्त र अनुभवी व्यक्तिहरूलाई नै मन्त्रिपरिषदमा समावेश गर्ने योजना छ ।’ खनालले खबरहबलाई भने, ‘यति कुरा के हो भने समावेशी तरिकाको मन्त्रिपरिषद् बन्छ । सर्टलिस्टमा भएका मान्छेहरूसँग पनि कुराकानी गरिरहेका छौँ ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ अनुहारलाई मन्त्रालयमा प्राथमिकता दिइने छ । यसका लागि छलफल भइरहेको छ ।
हाल मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित ८ जना छन् । त्यसमा जेनजी उमेर समूहका कुनै पनि व्यक्ति छैनन् । गत भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेका कारण कांग्रेस र एमालेको तत्कालीन सरकार ढलेको थियो । त्यस बेला राज्यका थुप्रै संरचनाहरू ध्वस्त भएका छन् ।

हरेक दिन छलफल

प्रधानमन्त्री मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि हरेक दिन लामो समय छलफल गर्ने गरेको उनी निकट स्रोत बताउँछ । ‘एक साताबाट निरन्तर प्रयास भएको छ । फाइनल भएको छैन । हरेक दिनजसो लामो समय छलफल भइरहेको छ ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सर्टलिस्टबारे अध्ययन भइरहेको छ । तयारी पूरा भएको छैन । जेनजीहरुसँग पनि छलफल भइरहेको छ ।’

सोमबार पनि मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।

कहाँ अड्कियो हलो ?

निकट व्यक्तिहरूकाअनुसार जेनजीहरु विभाजित हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन पाएको छैन । जेनजी समूहबीच विवाद उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तारमा गाँठो आइलागेको छ ।

‘एउटाको नाम फाइनल भयो भने उसको नाममा विवाद निकालिन्छ । अर्कोको फाइनल गर्‍यो, त्यसमा पनि विवाद निकाल्छन् । यसै कारण पूर्णता हुन सकेन ।’ स्रोतले भन्यो, ‘जेनजी प्रतिनिधिहरूमा एकरूपता नहुँदा पनि समस्या भएको छ । उहाँहरूले आफ्ना प्रतिनिधि छाने छिटो काम हुन्छ । र, सरकारले पनि काम गर्न पाउँछ ।

यता प्रधानमन्त्री कार्की पनि मन्त्रीपरिषद् पूरा नभएर पफर्मेन्स दिन नसक्दा चिन्तित भएको उनी निकट बताउँछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : १२ बजे

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम