साताका आर्थिक खबर : ६५ अंकले बढ्यो नेप्से, सात महिनामै भित्रियो सात अर्बको लसुन र १३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार | Khabarhub Khabarhub

साताका आर्थिक खबर : ६५ अंकले बढ्यो नेप्से, सात महिनामै भित्रियो सात अर्बको लसुन र १३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, निर्यात ४६ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात दुवै बढ्न पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको भएको हो ।

सातामा ४ दिन शेयर बजार खुल्दा ६५ अंकले बढ्यो नेप्से

शेयर बजारका लागि यो सातालाई सुखद् लिन सकिन्छ । सातामा ४ दिन मात्रै शेयर कारोबार हुँदा पनि बजार हाफ सेन्चुरीभन्दा धेरै बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्तालाई खुसी दिने गरी बढेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २६७८.४७ विन्दुमा रहेकोमा यो साताको बिहीबारसम्म ६५.२७ अंकले बढेर २७४३.७४ विन्दुमा आएको हो ।

सात महिनामै नेपालले आयात गर्‍यो सात अर्बको लसुन

चालु आर्थिक वर्ष (आ.व.) को ७ महिनामा नेपालमा झन्डै ७ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको तथ्यांकअनुसार नेपालमा माघ मसान्तसम्म ६ अर्ब ८७ करोड ४१ लाख ६९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा अघिल्ला वर्षहरूमा बढीमा साढे २ अर्ब सम्मको लसुन आयात हुने गरेको देखिन्छ । तर, चालु आवको ७ महिनामै विगतको तुलनामा झण्डै तेब्बर बढी लसुन आयात भएको आश्चर्यजनक तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति

पुँजीगत बजेट खर्चमा सधैँ कमजोर रहँदै आएको सरकार चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधारको क्षेत्रको काममा अत्यन्तै कमजोर देखिएको छ । तथ्यांकअनुसार पूर्वाधार क्षेत्रसँग सम्बन्धित क्रियाकलापमा ६ महिनाको अवधिमा तीनवटा मन्त्रालयको प्रगति शून्य नै बनेको छ भने सो क्षेत्रमा काम गर्ने ५ वटा मन्त्रालयले १३.२ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइले १०५, सहरी विकासले ११६ वटा, सञ्चार तथा सूचना प्रविधिले ४३ वटा, खानेपानीले ३२ वटा र भौतिक पूर्वाधार तथा यातायातले ५१ वटा गरी जम्मा ३४७ वटा पूर्वाधार क्षेत्रका कार्यक्रम अगाडि सारेका थिए ।

सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?

अमेरिकी अनुदान सहायता र नेपाल सरकारको बजेटसमेत गरी झण्डै एक खर्ब रुपैयाँ बराबरको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट सम्झौता कार्यान्वयन तत्कालका लागि रोकिएको छ ।

अमेरिकाको वासिङ्गटनस्थित एमसीसी मुख्यालयले पठाएको पत्रअनुसार नेपालको अर्थ मन्त्रालयले एमसीसी फण्डबाट हुने भुक्तानी रोकिएको जानकारी गराइसकेको छ । थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको १० वर्षसम्म चर्को विवाद झेल्दै नेपालले २०७८ फागुन १५ गते संसद्बाट एमसीसी कम्याक्ट सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गराएको थियो ।

ओली नेतृत्वको सरकारले सात महिनामा पौने दुई खर्ब सार्वजनिक ऋण थप्यो

नेपाली कांग्रेस र नेकपा (एमाले) गठजोडको वर्तमान सरकारले मुलुकको सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ माघ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिवेदनमा उल्लेख भएअनुसार; गएकाे असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ९८ लाख रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण दायित्व माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७९ अर्ब ९६ करोड ३४ लाख रुपैयाँले बढेको हो ।

माघ मसान्तसम्म नेपालकाे कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । हाल कायम सार्वजनिक ऋण कुल गाहर्स्थ उत्पादन (देशको अर्थतन्त्रको कुल आकार)को ४५.७७ प्रतिशत हो ।

बेराेजगार युवा ठग्न काठमाडौंका चोक-चोकमा ‘जब सेन्टर’

रोजगारी अभाव र श्रम अराजकताका कारण नेपालमा बेरोजगारी समस्या दिनानुदिन भयावह बन्दैछ । औपचारिक क्षेत्रमा रोजगारी नपाइने, न योग्यताअनुसार अवसर न त आधारभूत श्रम गर्ने ठाउँ नै ! गाउँठाउँमा श्रम गर्नै नचाहने, तर शहर र विदेशमा जतिसुकै हण्डर खाएर पनि रोजगारी खोज्दै भौतारिइरहने !

अहिलेहाल युवाहरू यस्तै समस्याले घेरिएका छन् । अनि, यही समस्याको खाडलमा ठगीको बल्छी थापेर ठगहरूले युवा लुट्दैछन् । रोजगारी दिने बहानामा दशकौंदेखि काठमाडौं लगायत शहरमा चलेको ठगी धन्दा निरन्तर चल्दो छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार गरेको नेपाल जीवनस्तर सर्वेक्षण (२०७९/८०) प्रतिवेदनमा उल्लेख भएअनुसार; नेपालमा बेरोजगारी दर कम्तिमा १२.६ प्रतिशत छ ।

शानदार म:मका चार श्रमिकको मृत्युले उठाएको प्रश्न- बीमा नगरी काम खान पाइन्छ ?

यही फागुन ३ गते शनिबार पोखरामा ग्यासले भरिएको बेलुनको झुप्पो पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। सोही कार्यक्रममा घाइते पोखरा महानगर प्रमुख धनराज आचार्यको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा मञ्चमा बालिएको क्यान्डलको झिल्का लागेर बेलुनको झुप्पा पड्किँदा उनीहरु घाइते भएका थिए। घटनालगत्तै पोखराको गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि थप उपचारका लागि भन्दै हेलिकोप्टरमार्फत उनीहरुलाई राजधानी ल्याइएको थियो।

चार वर्षभित्र नेपालको जलवायु उत्तरदायी बजेट २० प्रतिशत !

नेपालले अबको चार वर्षभित्र जलवायु उत्तरदायी बजेट हिस्सा कुल विनियोजनमा २० पुर्‍याउने भएको छ । हाल यस्तो बजेटको अंश कुल विनियोजनमा ६ प्रतिशत हाराहारीमात्रै छ ।

गत माघ २३ गते बसेको सचिवस्तरीय छलफलबाट नेपाल सरकारका सचिवहरूले आर्थिक वर्ष २०८५/०८६ सम्म जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याउने निष्कर्ष निकालेका हुन्‌।

आयोगले अर्थमा पठायो राष्ट्रिय स्रोत अनुमान र खर्च सीमा निर्धारण प्रतिवेदन

राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा ‘राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन, २०८१’ पेश गरेको छ ।

अब अर्थ मन्त्रालयले यही प्रतिवेदनका आधारमा आगामी तीन आर्थिक वर्षका लागि खर्च सीमा र स्रोत अनुमान गर्नेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम राष्ट्रिय स्रोत अनुमान समितिले यो प्रतिवेदन तयार गरेको थियो ।

जलवायु सम्झौताबाट अमेरिका बाहिरिएपछि नेपालले छान्यो २१ परियोजना

नेपाल सरकारको अर्थ मन्त्रालयले १५ माघ २०८१ मा विश्व जलवायु कोष (ग्लोबल क्लाइमेट फण्ड–जीसीएफ) को कन्ट्री प्रोजेक्ट पाइपलाइनमा समावेश गर्नेगरी छनोट भएका २१ परियोजना सार्वजनिक गर्‍यो ।

यी मध्ये खानेपानी मन्त्रालयका दुई र नगर विकास कोष (टीडीएफ)का दुई गरी चार परियोजना गाभेर पुनः पेश भएमा समावेश गर्नेगरी छनोट भएको मन्त्रालयले जानकारी दियो ।

‘कुच्चिएको ग्यास सिलिण्डर भेटिए प्रयोग नगर्नुस्, सरकारी निकायमा उजुरी गर्नुस्’

काठमाडौंको कमलपोखरीस्थित शानदार म:म: रेस्टुरेन्टमा गत माघ २४ गते भएको खाना पकाउने सिलिण्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या चार पुगिसकेको छ । जीवनमा केही गर्न सपनाको सहर काठमाडौं छिरेका लक्का जवान युवाहरूले ग्यास विस्फोटमा जलेर ज्यान गुमाउनु परेको छ ।

ग्यास विस्फोट हुँदा उक्त रेस्टुरेन्टमा काम गर्ने ११ जना युवा घाइते भएका थिए । जसमध्ये ४ जनाले प्राण त्यागिसकेका छन् ।

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्क अनुसार एक करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख ६ हजार ६९१ वटा पुगेको हो ।

जसमा एक करोडदेखि १० करोडसम्म १ लाख ७९ हजार १३१ वटा, १० करोड देखि २० करोडसम्म चुक्ता पुँजी भएका १२ हजार १६८ वटा, २० करोड रुपैयाँ देखि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका ५ हजार ६९४ वटा, ३० करोड रुपैयाँ देखि ४० करोड रुपैयाँसम्मका १ हजार ८३३ वटा र ४० करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको ४ हजार ३५२ वटा कम्पनी हरेको छ ।

पेट्रोलियम पाइपलाइनबाट आयात सुरु

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस रेटिङ’ पाएको छ ।

प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वहरूलगायत विषयको विश्लेषण गरी रेटिङ गरिएको इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

थोरै निक्षेप भएको स्टान्डर्ड चाटर्डले समेत गर्न सकेन कर्जा प्रवाह

चालु आर्थिक वर्षको सात महिनामा बैंकिङ क्षेत्रको व्यवसाय हेर्दा सबै वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न असफल देखिएका छन्‌।

नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको सीडी रेसियो ७९.३५ प्रतिशत मात्रै रहेको छ, जुन केन्द्रीय बैंकले तोकेको मापदण्ड भन्दा १० प्रतिशत कम हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ०१ बजे

पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासङ्घले ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) केबलकार परियोजना

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

म्याग्दी– मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं- निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात

फुङ्लिङ्– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको

फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे