काठमाडौं – युट्युबको रिल्स फिचर्स आएदेखि मुस्किलले नेपाली कन्टेन्ट समग्र ट्रेन्डिङमा पर्छन् । ट्रेन्डिङको संगीततर्फको शीर्ष स्थानमा हरेक साताजसो नयाँ गीत परिरहेकै हुन्छन् ।
यो साता ट्रेन्डिङको युट्युबको शीर्ष स्थानमा ट्रेन्डिङमा फरक विधाको गीत छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको र्याप गीत ‘नेपाल हाँसेको’ले युट्युबको ट्रेन्डिङ छ ।
‘नेपाल हाँसेको’ फागुन १४ गते प्रदर्शन तोकिएको फिल्म ‘लाज शरणम्’को प्रचारात्मक गीत हो । यो बिलकुलै नयाँ गीत भने होइन, बालेन्द्रले ११ वर्षअघि नै सार्वजनिक गरेका थिए ।
अहिले त्यही गीतको रिमेक सार्वजनिक भएको हो । भिडियो नयाँ बनेको छ । भिडियोमा फिल्मका कलाकार हरिश निरौला, सागर लम्साल, अर्जुन घिमिरे, महेश त्रिपाठीलगायत फिचर्ड छन् ।
मेयर बनेपछि बालेन्द्र गायनबाट टाढा छन् । उनको लोकप्रियता भने उत्कर्षमा छन् । फिल्मका कलाकार अर्जुन घिमिरे बालेन्द्रनिकट मानिन्छन् । प्रचारमा सहयोग पुग्ने उद्देश्यले निर्माण पक्षले बालेन्द्रले फिल्मको गीतमा स्वर दिन लगाएको बुझिएको छ ।
यो गीत ११ दिन अघि सार्वजनिक भएको हो । सार्वजनिक भएको केही घण्टामै यो गीत ट्रेन्डिङ पेजमा परेको थियो । अहिलेसम्म यो गीतले ३९ लाख भन्दा बढीले हेरेका छन् ।
ट्रेन्डिङको दोस्रो स्थानमा भने गायक साज्जनराज वैध छन् । उनको एकल स्वर रहेको गीत ’एकादेश’ले ट्रेन्डिङको दोस्रो स्थान कब्जा गरेको हो ।
भिडियोको केन्द्रीय भूमिकामा भने साज्जन र रक्षा थापा छन् ।
यो गीतको भिडियोको निर्देशन गौरभ कुमार थापा हुन् । यो गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । अहिलेसम्म झन्डै १२ लाख भ्युज पाएको छ ।
दुई साताअघि ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको फिल्म ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ ट्रेन्डिङको चौथो स्थानमा झरेको छ । यो १ दशकअघिको लोकप्रिय गीत ‘जालमा’को रिमेक हो ।
कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको स्वर रहेको यस गीत टिकटकमा भाइरल बन्न सफल भएको छ । अहिलेसम्म यो गीतले ४४ लाखभन्दा बढी भ्युज पाएको छ ।
त्यस्तै गायक हेमन्त शर्माको ‘नम्बरी सुन हो म त’, गायक प्रमोद खरेलको एक स्वर रहेको गीत ’लै लै लै’ पनि युट्युबको ट्रेन्डिङमा पेजमै छन् ।
फिल्मका गीत
यो साता प्रदर्शनको तयारीमा रहेका फिल्महरुले प्रचारात्मक सामाग्रीको रुपमा गीत सार्वजनिक गरेका छन् । तर यो साता सार्वजनिक भएका फिल्मका कुनै गीत पनि ट्रेन्डिङमा परेका छैनन् ।
गत साता सार्वजनिक भएको फिल्म ‘पिताम्बर’को गीत ‘मत फ्यान भएँ’ भने ट्रेन्डिङको ११ नम्बरमा छ । यो गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।
यो गीतको भिडियोमा नायक प्रदीप खड्का र नायिका दिव्या रायमाझी फिर्चड छन् । यो फिल्मको प्रदर्शन मिति भने चैत २९ गतेलाई तोकिएको छ ।
त्यस्तै, शुक्रबार मात्रै फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ । यस गीतमा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । स्वरमा अल्मोडालाई सुमन परियारले साथ दिएका छन् ।
गीतको भिडियोमा सृष्टी श्रेष्ठ, मेहश त्रिपाठी, करिश्मा श्रेष्ठ फिचर्ड छन् ।
त्यस्तै फागुन २ बाट प्रदर्शनमा आएको फिल्म ‘रंगी’को गीत ‘उडिदेऊ’ पनि सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका केन्द्रीय कलाकार सलोन बस्नेत र आयुशी ढकाल र नम्रता श्रेष्ठ फिचर्ड छन् ।
यो गीतका गायक अञ्जन रानाभट हुन् । गीतको शब्द भने सौगात सापकोटा र रानाभटले लेखेका हुन् ।
यस साता फागुन १४ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘मायवी’को भजन गीत ‘माता विन्द्याबासिनी’ सार्वजनिक भएको छ ।निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीको रुपमा यो गीत ४ दिन अघि सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र दीपिका प्रसाईं फिचर्ड छन् । यो गीतको शब्द राम अविरल विष्ट रहेको छ । कम्पोज र गायक भने एसडी योगी हुन् ।
प्रतिक्रिया