दुर्गम तथा ग्रामीण क्षेत्रका बालबालिका भोकभोकै विद्यालय गएको हामीले धेरै सुनेका छौं। तर देशको राजधानी रहेको काठमाडौं महानगरका सामुदायिक विद्यालयमा पढ्ने बालबालिका भोकभोकै विद्यालय जानु भनेको सबैको लागि नौलो विषय हो।
काठमाडौंको मुख्य व्यापारिक केन्द्र महाबौद्धको गल्लीभित्र सडकमै साइन बोर्ड राखिएको त्यौड माध्यमिक विद्यालयमा पूर्व प्राथमिक तहका बालबालिका बिहान भोकभोकै विद्यालय आउने गरेको पाइएको छ। काठमाडौं महानगरले अरबौं रुपियाँ खर्च गर्न नसकेको विवरण सार्वजनिक हुन्छ। तर उसैको प्रत्यक्ष निगरानीमा रहेका विद्यालयका विद्यार्थी खान नपाएर कक्षाकोठामै ढल्ने गरेका छन्।
धेरैजसो आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी पढ्ने त्यौड विद्यालयमा धेरै बच्चा भोकै विद्यालय आउने गरेको विद्यालयमा कार्यरत नर्स पुष्पा आचार्य बताउँछिन्।
खबरहबसँग उनले भनिन्- ‘विद्यालय पढ्ने अधिकांश बालबालिकाका अभिभावक भारी बोक्ने, तरकारी बेच्ने, ज्यालादारी गर्ने जस्ता काम गर्ने भएकाले बालबालिकाहरु खानै नखाई विद्यालय आउँछन्।’
धेरैजसो आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी पढ्ने त्यौड विद्यालयमा धेरै बच्चा भोकै विद्यालय आउने गरेको विद्यालयमा कार्यरत नर्स पुष्पा आचार्य बताउँछिन्।
१० बजे विद्यालय आइपुग्ने विद्यार्थी समय घर्किँदै जाँदा ११-१२ बजेपछि पेट दुख्यो भन्दै आउँछन्। के भयो भनेर सोध्दा आफ्नो समस्या त खोल्दैनन्। विश्वास जितेपछि घरमा खानेकुरा नहुँदा बेलुकादेखि केही खान नपाएको दुखेसो गर्छन्। उनका अनुसार दिवाखाजा १ बजेमात्रै खान पाउने हुँदा त्यस्ता बालबालिकालाई धेरै समस्या हुन्छ। एकल अभिभावक त्यसमाथि तरकारी बेच्ने, भारी बोक्ने जस्ता काम गर्नुपर्ने बाध्यताले गर्दा बच्चालाई समय दिन पाउँदैनन्।
‘कोही मम्मी राति दुई बजे नै तरकारी लिन गएको फर्किनु भएन। खाना पकाउने मान्छे कोही भएन भन्छन्। कोही सौतेनी आमाले खान नदिएको गुनासो गर्छन्। कसैको बुवा मात्रै हुने आमा नहुने, कसैको आमा हुने बुवा नहुने परिस्थितिका बालबालिका यहाँ पढ्छन्। सबै जिम्मेवारी एक्लैको काँधमा हुँदा अभिभावकले बच्चालाई भनेजति समय नै दिन पाउँदैनन्, जसको असर बालबालिकाको स्वास्थ्यसँगै पढाइमा परिरहेको छ’, नर्स आचार्यले बताइन्।

अहिले मुसलमान समुदायको रोजा चलिरहेको छ। तीन कक्षामा बस्ने बच्चा पनि रोजा बसिरहेका छन्। रोजाको नियम कडा भएकाले उनीहरु पानी पनि खाँदैनन्। यसैले उनीहरु पेट, टाउको दुख्ने, खाली पेटका कारण वाकवाकी लाग्ने समस्याबाट पीडित रहेका छन्।
घरायसी वातावरणले निम्त्याएको मानसिक समस्या र बाल विवाह
विद्यालयको संरचना बाहिरबाट हेर्दा अलिक असहज खालको छ। पर्याप्त मात्रामा खेल्ने ठाउँ छैन। त्यसमाथि घरायसी वातावरण पनि सोचेजस्तो नहुँदा जति उमेर बढ्दै गयो, त्यत्ति नै उनीहरुमा तनाव बढ्दै गएको स्वास्थ्यकर्मी आचार्यको भनाइ छ।
समयमा खाना खान नपाउने, उनीहरुलाई चाहिने खालको वातावरण नहुने भएकाले टोलाएर बस्ने, तनावमा रहने जस्ता समस्या देखिएको बताइन। कतिलाई त परामर्श दिनुपर्ने अवस्था आएको उनको भनाइ छ।
आचार्यका अनुसार महिनावारी हुने उमेरका किशोरीलाई सेनेटरी प्याड, आइरन चक्की दिने काम विद्यालयले गरिरहेको छ। त्यो बाहेक विद्यालय समयमा उनीहरुको रेखदेख विद्यालयको जिम्मेवारी हो भने अन्य समयमा आफ्ना बालबालिका कहाँ जान्छन् ? के गर्छन् ? संगत कस्तो छ ? भनेर हेर्ने दायित्व अभिभावकको हो।

तर यहाँका विद्यार्थीले राम्रो अभिभावकत्व पाएका छैनन्। जसका कारण सहपाठी किशोरकिशोरी नै एकअर्कासँग नजिक हुने गर्दछन्। हामीले थाहा पाउँदा त सम्झाउँछौं। विद्यालय बाहिरको गतिविधि थाहा हुँदैन। त्यसैले कति किशोर किशोरीहरु ७–८ कक्षामै पढ्दा बिहे गरेर बसेका उदाहरण छन्। जसको प्रत्यक्ष असर उनीहरुको स्वास्थ्यमा पर्ने गरेको आचार्यले बताइन्।
कतिपय विद्यार्थीका अभिभावक नै कुलतमा फस्दा त्यसको असर विद्यार्थीमा परेको प्रधानाध्यापक सुरेन्द्र केसी बताउँछन्।
कतिपय विद्यार्थीका अभिभावक नै कुलतमा फस्दा त्यसको असर विद्यार्थीमा परेको प्रधानाध्यापक सुरेन्द्र केसी बताउँछन्।
विद्यालयमा नर्सको अभाव
यो क्षेत्रमा रहेको त्यौड मात्रै होइन, महाँकाल माध्यामिक विद्यालयको अवस्था पनि त्यस्तै छ। सेतो गुम्बाबाट भित्र जाँदा साँघुरो गल्लीभित्र छिरेपछि ध्यान दिएर हेर्दा मात्रै भेटिन्छ– महाँकाल माध्यामिक विद्यालय। जहाँ शिशु कक्षादेख १० सम्म पढाई हुन्छ। उक्त विद्यालयमा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी पढ्छन्।
घाम देख्न हम्मे पर्ने त्यो विद्यालयमा प्राय कक्षाकोठाको छत मात्रै छ। गर्मीमा त ठिकै हुन्छ, चिसो मौसममा बस्नै गाह्रो हुने गरेको विद्यार्थी बताउँछन्। साथै विद्यालयको क्षेत्रफल सानो भएकाले पढाइ बाहेक अतिरिक्त क्रियाकलाप गर्न नपाइने उनीहरुको गुनासो छ।

भविष्यमा डाक्टर, खेलाडी, सेना बन्ने सपना बोकेका विद्यार्थी विद्यालयमा त्यो वातावरण नपाउँदा खिन्न छन्। विद्यार्थीको स्वास्थ्य सुधारका लागि भन्दै सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम पनि महाँकाल विद्यालयमा सञ्चालनमा छैन। १२ कक्षासम्म पढाई हुने विद्यालयमा यो कार्यक्रम लागु हुने भन्दै आफ्नो विद्यालय छनोटमा नपरेको प्रधानाध्यापक राजीव बज्राचार्यले दुखेसो गरे।
भविष्यमा डाक्टर, खेलाडी, सेना बन्ने सपना बोकेका विद्यार्थी विद्यालयमा त्यो वातावरण नपाउँदा खिन्न छन्।
आगामी वर्ष आफ्नो विद्यालय पनि पर्नेमा उनी आशावादी छन्। विद्यालयले सेनेटरी प्याड, आइरन चक्की दिने र सामान्य प्राथमिक उपचार गर्ने गरेको बताउँदै विद्यालयकी छात्रा अञ्जली गुप्ता भन्छिन्- ‘विद्यालय नर्स भएको भए हामीलाई अझै सहज हुने थियो।’ यी दुई विद्यालय त उदाहरण मात्रै हुन्। यो क्षेत्रमा यस्ता धेरै सामुदायिक विद्यालय रहेको प्रधानाध्यापक बज्राचार्यले बताए।
यो पनि पढ्नुहोस्
घाम नछिर्ने उपत्यकाका सरकारी स्कुल : न उफ्रिने आँगन, न खेल्ने मैदान !
प्रतिक्रिया