उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध घनिष्ठ र सुमधुर रहिआएको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताए । 

‘हामीले हाम्रा दुई मुलुकबीच अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ’, उनले भने, ‘दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’

उपराष्ट्रपति यादवले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

उनले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको विश्वास दिलाउँदै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताए ।

उनले जलविद्युत्, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्न चाहेको पनि बताए । 

‘नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्दछु’, उनले भने, ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रमअन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

उपराष्ट्रपति यादवले धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै हाम्रा चासो बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा रहेको बताए । ‘सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुरु गर्न हर सम्भव प्रयासरत छ । यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ’, उपराष्ट्रपति यादवले भने । 

उनले दक्षिण एसियाको हिन्दू–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेको उल्लेख गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत हाश्मीले दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको समाधान परस्पर सहकार्यबाट गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ७ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया