दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा | Khabarhub Khabarhub

दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गाउँमा बिहीबार दिउँसोदेखि लागेको डढेलो राति नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो ।

नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोका कारण चार घर र दुई मटान जलेर नष्ट भएका छन् । 

दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राईका घर जलेको जनाउँदै उनले चुमाखुका वीरगञ्ज राई र दिलकुमारी राईको मटान जलेर नष्ट भएको बताए । 

सुनकोशी किनारबाट सुरु भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पसेको थियो । ‘गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएका छौँ । डढेलो नियन्त्रणमा लिन इलाका प्रहरी, नगर प्रहरी र स्थानीयले सहयोग गरेका छन्’, उनले भने, ‘आगलागीमा मानवीय क्षति भने भएको छैन । घरका साथै खाद्यान्नसहित सम्पूर्ण सामग्री जेका छन् । डढेलो पीडित परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।’

सामुदायिक वनमा लागेको डढेलो दुर्छिमका विभिन्न गाउँ तथा बस्तीमा छिर्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा आगलागी भएको समयमा हुरिबतास चलिरहेकाले ठूलो क्षति भएको नगर प्रवक्ता गिरीले बताए । गाउँ पसेको डढेलो नियन्त्रणमा आए पनि सामुदायिक वनमा भने आगो नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए ।

सामुदायिक वनमा लागेको डढेलोले करोडौँ मूल्यको जडीबुटी, काठपात, जङ्गली जनावर र चराचुरुङ्गीको क्षति भएको हुनसक्ने स्थानीय तामन राईले बताए । उक्त डढेलोको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । 

यसअघि गत फागुन ४ गते हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित हलेसी बजारमा चार घर र यही चैत ४ गते हलेसी तुवाचुङ–२ डिकुवामा नौ घर जलेर नष्ट भएका थिए । त्रिधार्मिकस्थल हलेसी बजारमा खाना पकाउने ग्यासको सिलिन्डरबाट सल्किएको आगोका कारण सात करोड ५० लाख रुपैयाँ र डिकुवामा वनमा लागेको डढेलो गाउँ पस्दा ७७ लाख रुपैयाँ बढीको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

हलेसी बजारका आगलागी पीडितका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलन भएको २२ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको छभने डिकुवाका लागि राहत सङ्कलन भइरहेको नगर कार्यालयले जनाएको छ । डिकुवावासीका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले प्रतिपीडित घरका लागि १५ हजार रुपैयाँ र नगरपालिकाले दश हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् । 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ३९ बजे

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र,