मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, सांसदबाट निलम्बित भइसक्दा पनि कांग्रेस किन बस्यो मौन ? | Khabarhub Khabarhub

मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, सांसदबाट निलम्बित भइसक्दा पनि कांग्रेस किन बस्यो मौन ?


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार मुद्दामा मुछिएका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन हुँदा पनि सत्ता साझेदार नेपाली कांग्रेसले मौनता साँधेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित बस्नेतको सांसद पद निलम्बनमा परेको एक साता बितिसक्दा पनि कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्छ भन्ने कांग्रेसका नेताहरू पनि अहिले मौन बसेका छन् ।

बरू भ्रष्टाचार मुद्दा लागेका बस्नेत गृहजिल्ला पुगेर तामाझामपूर्ण सम्मान र स्वागत कार्यक्रम भ्याइसकेका छन् । उनले आफूलाई कसैले भ्रष्टाचारी प्रमाणित गर्न नसक्ने चुनौती पनि दिएका छन् ।

तत्कालीन समयमा महामन्त्री गगनकुमार थापासँगै संस्थापन इतर समूहमा रहेका केही युवा नेताहरू खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा उभिएका थिए ।

यस्तै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले खाँणलाई निलम्बन गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन नै गरेको थियो ।

तर, पनि कांग्रेसले पूर्वगृहमन्त्री खाँणबारे कुनै निर्णय गरेन । खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट छुटेर अहिले कांग्रेसको राजनीतिमा फर्किसकेका छन् ।

कांग्रेस नेता खाँण जस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेले भने सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको थियो । रायमाझी अहिले पनि सांसद र एमाले दुवैबाट निलम्बित अवस्थामा छन् ।

पूर्वगृहमन्त्री खाँण पक्राउ पर्दा चर्को स्वरमा आवाज उठाउने नेता कार्यकर्तादेखि कांग्रेस नै यसपल्ट बस्नेतविरुद्ध मुद्दा दायर हुँदा पनि मौन बसेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे अदालतमा मुद्दा दायर हुँदैमा पार्टीले निर्णय गरिहाल्न आवश्यक नरहेको बताउँछन् ।

‘पार्टीले केही निर्णय गर्न आवश्यक छैन । कानुनी प्रक्रियाअनुसार संसद्बाट निलम्बन भएको अवस्था हो,’ उनले खबरहबसँग भने, ‘पार्टीबाट निलम्बन भएको अवस्था होइन ।’

प्रमुख सचेतक घिमिरेले नेताहरूविरुद्ध अदालतमा मुद्दा दायर हुँदा पार्टीले निलम्बन नगर्नुको कारणलाई वैधानिक व्यवस्थासँग जोडेर ब्याख्या गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे

‘अदालतको अन्तिम निर्णयले दोषी करार गरेमात्रै पार्टीले निलम्बन गर्ने हाम्रो वैधानिक व्यवस्था छ,’ उनले भने, ‘त्यस कारण पार्टीबाट अहिले नै केही गर्नु पर्दैन ।’

कांग्रेसको विधानको धारा १३ को (ङ) मा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टी सदस्यता नरहने’ उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेता बस्नेत भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बनमा परेका छन् ।

जेठ १ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाएका थिए ।

टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेतसहितका प्रतिवादीहरूविरुद्ध तीन अर्ब २१ करोड बिगो माग दाबी गरेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित बस्नेत कांग्रेसमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र विजयकुमार गच्छदारपछि भ्रष्टाचारको ठूलो मुद्दा खेप्ने नेतामा पर्छन् ।

जेठ ३ गते बसेको संसदीय दलको बैठकमा केही सांसदहरूले बस्नेतविरुद्ध दायर भएको मुद्दा र सांसद माया राई पक्राउको विषयमा कुरा उठाएका थिए ।
जवाफमा सभापति शेरबहादुर देउवाले मुद्दा दायर भएको विषयलाई ठूलो अर्थमा लिन नहुने जवाफ दिएका थिए ।

‘सांसद मोहनबहादुर बस्नेत र माया राईको कुरा पनि बैठकमा सांसदहरूले उठाउनुभयो । यस विषयमा सभापतिज्यूले जवाफ दिनुभयो,’ प्रमुख सचेतक घिमिरेले बैठक पछि भनेका थिए, ‘राजनीतिमा यस्तै हुन्छ । हामी पनि जेल बसेरै आएका हौँ । यो विषयलाई ठूलो अर्थमा लिनुहुँदैन, थुनामा बसेर आएका हौँ भन्ने कुरा उहाँले राख्नुभयो ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ११ बजे

‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको

पाकिस्तान र इरानबाट तीन हजार भन्दा बढी अफगान परिवार स्वदेश फर्किए

काबुल – अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच

चुनौतीपूर्ण बन्दै छ विपद् व्यवस्थापन

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

काठमाडौं– नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण