हालका घटनाक्रमले चीनमाथि विश्वव्यापी सन्देह र असन्तोष झनै तीव्र हुँदै गएको देखिन्छ। प्रविधि, मानव अधिकार, भू–राजनीति र व्यापार क्षेत्रको व्यवहारले चीनलाई अब केवल उदाउँदो शक्ति होइन, एक चुनौतीको रूपमा हेरिन थालेको छ। ताइवानको सन्दर्भमा बढ्दो सैन्य गतिविधि, उइघुर मुस्लिमहरू माथिको दमन, विश्वभर जासुसी सञ्जालको फैलावट, र विदेशी बजारमा आर्थिक प्रतिस्पर्धा भन्दा बाहिर जान खोज्ने प्रवृत्तिले चीनको छविमा गम्भीर असर पारिरहेको छ।
ताइवान नजिकै सैन्य अभ्यास, युद्धपोतको गस्ती, र आकाशमा चिनियाँ लडाकु विमानहरूको बारम्बार प्रवेशजस्ता गतिविधिहरूले सम्पूर्ण प्रशान्त क्षेत्रमा तनावको स्थिति सिर्जना गरेको छ। चीनले आफ्नो राष्ट्रिय सुरक्षा नीति कडा पार्दै स्वायत्त क्षेत्रहरूमा नियन्त्रण बलियो बनाउने रणनीति लिएको देखिन्छ। यो रणनीति ताइवान, हङकङ, र तिब्बतमा झनै स्पष्ट देखिएको छ। हालै चिनियाँ सरकारले तिब्बतको तथाकथित ६०औं वर्षगाँठलाई प्रचारात्मक रणनीतिक रूपमा प्रयोग गरेको छ, जसमा जातीय समायोजन र सुरक्षा नारा प्रमुखतासाथ अघि सारिएको छ।
मानव अधिकारको सन्दर्भमा चीनमाथि लागेको गम्भीर आरोप भने उइघुर मुस्लिमहरूको दमनसँग सम्बन्धित छ। लामो समयदेखि चलिरहेको अभियान अन्तर्गत थुप्रै मानव अधिकार संस्था, रिपोर्टहरू, र अन्तर्राष्ट्रिय निकायहरूले चीनमा मुस्लिम अल्पसंख्यकमाथि भइरहेको नजरबन्द, जबर्जस्ती श्रम र धार्मिक स्वतन्त्रता हननको विषय उठाउँदै आएका छन्। हालै प्रकाशित विभिन्न रिपोर्टले चीनमा सामाजिक मिडिया नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताको सीमितताबारे पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्।
चीनको प्रविधिमैत्री अनुशासन अब सशस्त्र निगरानीमा रूपान्तरित हुँदै गएको जस्तो देखिन्छ। सरकारी समर्थनमा सञ्चालित कम्पनीहरूले विदेशी बजारमा केवल प्रतिस्पर्धा मात्र होइन, डाटा संकलन र जासुसीसमेत गरिरहेको आरोप लागेको छ। यस्तै एक आरोपमा टर्की सरकारले चिनियाँ जासुसी सञ्जालमा संलग्न भएको भन्दै केही व्यक्तिहरूलाई पक्राउ गरेको छ। सो आरोप अनुसार चीनले नक्कली मोबाइल टावरहरू प्रयोग गरी उइघुरहरूमाथि निगरानी राखिरहेको थियो।
चीनको घरेलु अर्थतन्त्र पनि गम्भीर समस्यामा परेको संकेतहरू देखिन थालेका छन्। युवा बेरोजगारी बढिरहेको छ, स्थानीय सरकारहरूको ऋण बढ्दो छ, र केही चर्चित चिनियाँ ब्रान्डहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन्। उपभोक्ताको आत्मविश्वास घट्दै गएको देखिएको छ र धेरै युवा आफ्नो भविष्यप्रति अनिश्चित भएका छन्।
अर्कोतर्फ चीनले आफ्नो वैश्विक प्रभाव कायम राख्नका लागि कूटनीतिक मञ्चहरूमा आक्रामक कूटनीति अपनाएको छ। दक्षिण चीन सागरमा सैन्य उपस्थिति बलियो पार्न विभिन्न अभ्यासहरू सञ्चालन गरिँदैछ भने अफ्रिका, पश्चिम एशिया, र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरूमा लगानीका नाममा आफ्नो राजनीतिक प्रभाव बढाउन खोजिएको छ। यस्ता रणनीतिहरूले वैदेशिक ऋण फन्दाको आलोचना पनि चर्किएको छ।
समग्रमा हेर्दा, चीनको आन्तरिक रणनीति र अन्तर्राष्ट्रिय व्यवहारबीचको द्वन्द्व अब खुलस्त हुँदै गएको छ। प्रविधि, मानव अधिकार, सैन्य शक्ति र राजनीतिक कूटनीति सबै क्षेत्रमा चीनले लिएको रुखो शैलीले विश्वका थुप्रै मुलुकहरूलाई सचेत बनाएको छ। एकातिर उदीयमान शक्ति बन्ने सपना बोकेको चीनले अर्कोतिर विश्वासको संकट निम्त्याएको छ, जुन अब झनै गहिरिँदै गएको छ।
प्रतिक्रिया