१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य | Khabarhub Khabarhub

सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस

१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य

पुनर्जन्म र मोक्षको अवधारणादेखि हिन्दुत्व र व्यापारसम्म फैलिएको योग सोचेजस्तो सजिलो छैन



काठमाडौँ – इस्वी सम्वतको जुन २१ तारिक अर्थात् आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

योगलाई हिन्दुत्व र व्यापारसँग जोडेर व्यापक प्रचार गरिरहेको भारतको वर्तमान संस्थापन पक्षको लबिइङमा संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा २०१५ को जुन २१ देखि योग दिवस मनाउने निर्णय गरेको थियो । त्यसैअनुसार योग दिवसले निरन्तरता पाइरहेको छ ।

हिन्दु धर्ममा उल्लेखित जीवन दर्शनसँग अकाट्य योगलाई यतिखेर विभिन्न प्रयोजनमा अपनाउन थालिएको छ । संसारभर नै शारीरिक र मानसिक स्वास्थ्यहेतु योग गर्नेहरूको सङ्ख्या बढ्दो छ ।

दोस्रो पक्षले योगलाई पर्यटन र व्यापारिक लाभ निम्ति विस्तार गरिरहेको छ । भारतको स्वास्ती योगा केन्द्रका अनुसार, सन् २०२५ मा योगको विश्वव्यापी बजार १२० अर्ब अमेरिकी डलर (आजको विनिमयदरमा एक नील ६५ खर्ब ६० अर्ब रुपैयाँ) भन्दा बढी हुने अनुमान छ । योगका नाममा हुने व्यापारको आकार अबको पाँच वर्षपछि अर्थात् २०३० सम्ममा २०० अर्ब डलर पुग्न सक्छ ।

तेस्रो पक्षले योगलाई सत्ता र शक्तिसँग धर्मलाई जोड्नेगरी हिन्दुत्व (हिन्दुका नाममा शासन र शक्ति नियन्त्रण गर्ने) प्रयोजनमा प्रयोग गरिरहेको छ । यो घटकले योगलाई विशुद्ध धार्मिक अभियान भन्दा पनि सत्ता र शक्ति प्राप्तिका लागि उपयोग गरिरहेको देखिन्छ ।

स्वास्थ्य, व्यापार र सत्ता राजनीतिको दाउपेचसम्म उपयोग भइरहेको योगको वास्तविक अन्तर्य के हो छ ? वैदिक समुदायमा योगको खास महत्व के हो ? यो सामग्रीमार्फत योगका तिनै केही महत्वपूर्ण पक्षमाथि प्रकाश पार्न खोजिएको छ ।

वेदलाई प्रमुख धर्मग्रन्थ मान्ने हिन्दुमार्गीहरूले मानव जीवनका चार लक्ष्यहरू (फोर गोल्ज) निर्धारण गरेका छन् । धर्म, अर्थ, काम र मोक्ष नै यी चार लक्ष्य हुन् । यी लक्ष्यलाई पुरुषार्थ भनिन्छ ।

पुरुषार्थ अवधारणा विकासमा कुनै एक लेखकको योगदान छैन । यो अवधारणा विभिन्न हिन्दु धर्मग्रन्थहरू र दार्शनिक छलफलहरू मार्फत समयसँगै विकसित भएको मानिन्छ ।

यी चार लक्ष्यहरू अर्थात् पुरुषार्थले मानिसलाई जीवनमा आध्यात्मिक र भौतिक विकासको लागि सन्तुलित दृष्टिकोण प्रदान गर्दछ र मानव विकासका सबै क्षेत्रहरूलाई समेट्ने विश्वास हिन्दुमार्गीहरूमा छ ।

एउटा सामान्य मानिसले जीवन सफल बनाउन पूरा गर्नुपर्ने यी चार पुरुषार्थ हिन्दुमार्गीका लागि कर्तव्यकै रूपमा अर्थ्याइएको छ । यो वेदको कर्मकाण्ड (रिच्युअल्स) सँग सम्बन्धित छ ।

वेदको दार्शनिक पक्षमा दाँज्दा पुरुषार्थ ज्ञानकाण्ड (नलेज अस्पेक्ट) भन्दा पनि कर्मकाण्ड (रिच्यूअल अस्पेक्ट) सँग नजिक छ । यही पुरुषार्थसँग जोडिएको योग पनि स्वतः वेदको कर्म पक्ष (काण्ड) सँगै सम्बन्धित छ ।

हिन्दु धर्ममा पुरुषार्थसँग योग कसरी जोडिन्छ त ? यो जिज्ञासा मेट्नुअघि चार पुरुषार्थबारे संक्षेप चर्चा गरौँ ।

पुरुषार्थको पहिलो लक्ष्य अर्थात् धर्म (ड्यूटी) ले सम्बन्धित जिम्मेवारीमा रहेको व्यक्तिले गर्नुपर्ने कर्तव्यलाई जनाउँछ । जस्तो कि शासकको धर्म जनताको सेवा गर्नु हो ।

राज्यप्रति पनि जनताका कर्तव्य हुन्छन् । कानुनी राज्यको आदेश पालना गर्ने र कर तिर्ने कर्तव्य जनताले पूरा गरिरहेका हुन्छन् । स्मृतिहरूमा पितृधर्मदेखि पुत्रधर्मसम्मका कुरा उल्लेख गरिएका छन् । अर्थात्, एक व्यक्तिले अग्रज र अनुजप्रति पनि कर्तव्य पूरा गर्नुपर्छ ।

दोस्रो पुरुषार्थ अर्थ (इकोनोमी) ले कर्तव्य पूरा गर्न मानिसको आर्थिक पक्ष बलियो हुनुपर्छ भन्छ । हिन्दु ग्रन्थहरूले मानिस धनी र सम्पन्न हुने भन्ने कुराहरूमा पनि जोड दिइएको पाइन्छ । कौटिल्य (विष्णुगुप्त चाणक्य) ले लेखेको अर्थशास्त्रमा यसबारे उल्लेख छ ।

तेस्रो पुरुषार्थ काम (इन्टरटेइनमेन्ट) मनोरञ्जनसँग सम्बन्धित छ । कामका माध्यमबाट मानिसले आफ्ना पाँचवटा इन्द्रीययलाई मनोरञ्जन दिन सक्नुपर्छ । पुरुषार्थ विवेचना अनुसार – आँखाले राम्रो हेर्नुपर्छ, कानले सुमधुर सुन्नुपर्छ, जब्रोले मीठो स्वाद लिनुपर्छ, नाकले सुगन्ध सुँघ्नुपर्छ, छालाले मुलायम स्पर्श पाउनुपर्छ । यी पाँचवटा मनोरञ्जनलाई नै काम भनिन्छ ।

चौथो पुरुषार्थ मोक्ष अर्थात् पुनर्जन्मबाट मुक्ति (लिबरेशन फ्रम रिबर्थ) आज संसारभर विभिन्न प्रयोजनमा फैलँदो योगसँग जोडिन्छ । धर्म, अर्थ र काम पूरा गरिसकेको मानिसले स्वतः मुक्ति खोज्छ । यसका लागि अन्तिम पुरुषार्थ मोक्षको मार्ग अपनाउनुपर्छ ।

मोक्ष भनेको पुनर्जन्मबाट मुक्ति पाउनु हो । संसारका अधिकांश प्रमुख धार्मिक सम्प्रदायमा पुनर्जन्मको अवधारणा छ । हिन्दुधर्ममा ८४ लाख योनीको कल्पना यही मोक्षसँग जोडिन्छ ।

पुनर्जन्ममाथि विश्वास राख्ने हिन्दु धर्मले ८४ लाखपटक विभिन्न स्वरूपमा जन्मिएपछि मात्रै मानवका रूपमा जन्मिने विश्वास राख्छ, जुन दाबी पद्मपुराणमा गरिएको छ । पुनर्जन्मप्रति विश्वास राख्नेहरूबीच लोकप्रिय यो पुराणले अहिलेको जन्मबाट फेरि मानव हुन पुनः ८४ लाख जुनी पूरा गर्नुपर्छ भन्छ ।

तर, मानिसले चाह्यो भने यस्तो योनी अर्थात् जुनी नदोहोर्‍याउन पनि सक्छ । पुनर्जन्मबाट मुक्त भएर साँच्चै मोक्षमा जान सम्भव छ भन्ने दाबी ऋषिमुनिको छ ।

यही मोक्ष प्राप्त गर्न हिन्दु समुदायमा विभिन्न अभ्यास हुने गरेको छ । मोक्ष प्राप्त गर्न मोक्षसम्बन्धी जानकारी हुनुपर्छ भनिन्छ । आत्मज्ञान, योग, तन्त्र र भक्तिजस्ता अभ्यासहरू यसअन्तर्गत पर्छ ।

यी चार पुरुषार्थ पूरा गरी मोक्ष प्राप्त गर्न ऋषिहरूले मानव जीवनलाई चार आश्रम (फोर स्टेजेज अफ लाइफ) मा विभाजन गरिदिए । चार पुरुषार्थसँगै चार आश्रमको नियम पूरा गरेपछि मात्रै मानिसले मोक्ष प्राप्त गर्न सक्ने विश्वास हिन्दुमार्गीहरूमा छ ।

अधिकांश हिन्दुहरूले अहिले अपनाउन छाडिसकेका र समयाक्रमसँगै अभ्यासमा व्यापक परिमार्जन भएका चार आश्रम ब्रह्मचार्य (स्टडी फेज), गृहस्थ (हाउस होल्डर), वानप्रस्थ (रिटायरमेन्ट) र सन्यास (रिनन्सिएसन) हुन् ।

एक व्यक्तिको आयुलाई १०० वर्ष मानेर यी चार आश्रमलाई २५ वर्षका दरले छुट्याएको छ । चार पुरुषार्थ पूरा गर्न निर्धारित चारै आश्रमको अन्तिम गन्तव्य मोक्ष नै हो ।

मोक्ष प्राप्तिबारे हिन्दु धर्ममा निकै पुस्तक लेखिएका छन् । ती पुस्तकमा मोक्षका विधि पनि सिकाइएको हुन्छ । योग, तन्त्र या कुन माध्यमबाट मोक्ष प्राप्त गर्ने हो, सोहीअनुसारको सत्सङ्ग गर्नुपर्छ भनिन्छ ।

यसरी चार पुरुषार्थ र चार आश्रम पालना गरेपछि मोक्ष प्राप्त हुने र त्यसपछि ८४ लाख जुनी भोग्नु नपर्ने हिन्दुमार्गीहरू विश्वास गर्छन् । अर्थात्, पुनर्जन्मलाई सधैँका लागि त्याग्नु नै मोक्ष प्राप्त गर्नु हो ।

मोक्ष

संस्कृत शब्द मोक्ष अर्थात् मुक्तिको अवधारणा हिन्दु र बौद्ध मार्ग दुबैमा साझा प्रयोग हुने शब्द हो । यसलाई अङग्रेजीमा कतै लिबेरसन त कतै इम्यान्सिपेसन लेखिएको हुन्छ ।

हिन्दु मार्गले मानिसले यो जन्ममा भोगका कुराहरू यो भन्दा अघिल्लो जन्मको फल हो भन्छ । भोलि मानिसले के गर्ने भन्ने कुरा अहिलेसम्मका कर्मले निर्धारण गर्ने पनि जनाउँछ । अर्थात्, विगतको डर (फियर अफ पास्ट) र भविष्यको डर (फियर अफ फ्युचर) लाई एकसाथ संयोजन (फ्युजन) गरेर हिन्दु धर्ममा पुनर्जन्मको व्याख्या हुने गरेको देखिन्छ ।

हिन्दु र बौद्धमार्गमा ६ प्रकारका जन्महरूबारे व्याख्या गरिएको छ । बौद्धमार्गीहरूले जन्म र पुनर्जन्मबारे बुझ्न थाङ्कामा कोर्ने भवचक्र (ह्विल अफ लाइफ) मा पनि त्यही व्याख्या गरिएको छ । एउटा कोठामा माथि तीनवटा र तल तीनवटा ब्लक हुन्छ । माथिको कोठामा स्वर्ग अर्थात देवलोक, असुर, मानव, पशु, नरक, प्रेत आदि हुन्छन् । षड्गति यसैलाई भनिएको हो । त्रिपिटकमै भवक्रम भनी उल्लेख छ ।

यी ६ प्रकारमध्ये कसैलाई देवलोकमा जाने इच्छा भयो भने उसले सोहीअनुसार मोक्षका लागि अभ्यास गर्नुपर्छ । यी ६ ठाउँमा नजाने, परब्रह्मसम्म जाने इच्छा राख्यो भने सोहीअनुसार गर्न सक्छ । ब्रह्म चाहिँ यी ६ वटाभन्दा परको कुरा हो भनी बौद्धमार्गीहरू विश्वास गर्छन् ।

वैद्धिक ऋषिहरूले जन्मको यो निरन्तरतालाई भङ्ग गर्न सकिन्छ भने । निश्चित अभ्यास गर्दा पुनर्जन्मबाट मोक्ष मिल्छ र यही संसारमा नफस्नका लागि विभिन्न विधि भएको दाबी गरे ।

ती विधिहरूमा आत्मज्ञान (सेल्फ रियालाइजेशन), योग, भक्तियोग (डिभोसनालिजम) र तन्त्र हो । यस हिसाबले योगको सन्दर्भ यही पुनर्जन्म र मोक्ष प्राप्तिको अवधारणासँग जोडिएको छ ।

मोक्ष निम्ति आत्मज्ञानको विधि अपनाउनेहरूले मानिसको शरीरमा रहेको आत्मा ब्रह्मको अंश भएकाले यसलाई चिनेपछि मात्र मोक्ष प्राप्त हुने दाबी गर्छ । यो पथलाई नै आत्मज्ञान पथ वा वेदान्त पथ भनिन्छ ।

आत्मज्ञानबारे खुलेर कुरा गर्ने गुरुको नाम आदि शंकराचार्य हो । उनले आत्मा चिन्नुपर्छ भनेका छन् । आत्मा चिन्ने मानिसको जन्म संसारमा फेरि हुँदैन, ६ वटा ठाउँको जन्मबाटै पूरै मुक्त हुन्छ भनी व्याख्या गरेका छन् । गीता र उपनिषदमा यससँग मिल्दाजुल्दा कुराहरू छन् ।

अहिले नेपालमा पनि आत्मज्ञानमा विश्वास गर्ने अद्वैतमार्गीहरू छन् । उनीहरूले आत्मा चिन्न योग, साधना या तन्त्र अभ्यास गर्नुपर्दैन । गुरुको कुरा सुन्नुपर्छ, चिन्तन गर्नुपर्छ र आएको निष्कर्षलाई आत्मचिह्नमा प्रयोग गर्नुपर्छ भन्छन् । यसलाई स्वामी विवेकानन्दले पुनरुत्थान गरेका हुन् । ओशो या वेदान्त गुरुहरूले आत्मज्ञानकै कुरा गर्छन् ।

योग

मोक्ष प्राप्तिका विधिमध्ये दोस्रो नम्बरमा रहेको योगको अर्थ जोड्नु भन्ने हुन्छ । जोड्नु भनेको आत्मालाई ब्रह्म अर्थात परमात्मासँग एकाकार (मर्ज) गरिदिनु हो । ब्रह्मसँगै जोडिदिएपछि आत्माले पुनर्जन्म नलिने विश्वास योगमार्गीहरू गर्छन् ।

योगसाधनामा हामीले सुन्ने गरेको योगी पतञ्जलीले ‘योगशुक्र’ पुस्तक लेखेका छन् । सोही पुस्तकमा उनले अष्टाङ्ग या हठयोगबारे उल्लेख गरेका छन् ।

जसले योगमार्फत मोक्ष प्राप्त गर्छ – त्यसलाई योगी भनिन्छ । आफ्नो आत्मालाई लगेर विशाल आत्मासँग मिलाप गराउने व्यक्ति नै योगी हो भनिन्छ । यसरी जोड्न जबर्जस्ती गर्नुपर्ने भएकाले हठयोग भनिएको हो ।

हठयोगमा विभिन्न आठ चरण (स्टेज) हुन्छन् । त्यसैले हठयोगलाई अष्टाङ्ग योग पनि भनिएको हो । योगबाट स्वास्थ्य लाभ पनि हुने भैहाल्यो ।

योगमा चित्तवृत्ति निरोध

योगमार्फत मोक्ष प्राप्त गर्न चित्तवृत्ति निरोध (ट्वीस्ट अफ थट) गर्नुपर्छ । मथिङ्गल घुमाइरहने अनेक सोचाइ रोक्न सकेमात्र मानिसको आत्मा परमात्मामा लिन हुने र त्यसपछि पुनर्जन्मको अध्याय समाप्त हुने विश्वास योगमार्गीहरूमा छ ।

चित्तवृत्ति निरोध गर्न योगीहरूले विभिन्न आठ चरण पार गर्नुपर्छ । यो विधिमा आत्मा चिन्नुनपर्ने, बरु सीधै ब्रह्मामा गएर लीन हुन सकिने विश्वास छ ।

१. यम अर्थात रोक्ने : हत्या, चोरी, यौनसम्पर्क आदि गर्न पाइँदैन ।

२. नियम : स्नान गर्ने, ब्रह्मचर्यमा रहने आदि ।

३. आसन : आसनले शरीरका मुद्राहरूको कुरा गर्छ । ८४ या ३२ आसन र सूर्य नमस्कारका १२ वटा आसन आदि छन् । हलचल नगरी एक घण्टासम्म पद्मासनमा बस्न सके अरू आसन गर्नुपर्दैन भनिन्छ । पद्मासनले शरीरलाई प्राकृतिक स्थिति (नेचुरल पोजिसन) मा ल्याउँछ, साइड इफेक्ट हुँदैन । अहिले बजारमा चलेको योग यही हो ।

४. प्राणायाम : योगमा यो चरण अलिक अप्ठेरो मानिन्छ । यसमा स्वासप्रस्वास नियन्त्रण (ब्रिदिङ कन्ट्रोल) अभ्यास गर्नुपर्छ । मानिस सामान्य अवस्थामा भएका बेला सास ढिलो चल्छ । तनाव भएको अवस्थामा छिटो चल्छ । भित्र अशान्ति भएपनि सास नियन्त्रण गर्नुपर्छ । गुरुबिनै प्राणायम सिकेकाहरू अप्ठेरो स्थितिमा पनि पुग्न सक्छन् । खाडल र जलसमाधि आदि यसैमा पर्छन् । योग चमत्कार यसैमा पर्छ । यो पनि बजारमा धेरै चल्ने आसन हो ।

५. प्रत्याहार (विदड्रल अफ सेन्सेज) : आँखाले बाहिर हेरेपनि भित्र देख्नु र कानले बाहिरको धेरै आवाज नसुन्न अभ्यास गर्नु नै प्रत्याहार चरण हो । यो चरणमा मानिसका पाँचै इन्द्रियलाई आन्तरिकीकरण (इन्टर्नल) बनाउन खोजिन्छ । सामान्यतयाः मानिसहरू बहिर्मुखी (एक्ट्रोभर्ट) हुन्छन् । प्रत्याहार गर्दा यो स्वाभावलाई नै उल्ट्याउनुपर्छ ।

हिमालका कन्दरा, पहाडका फाँट र गुफाजस्ता एकान्त ठाउँमा जानुपर्छ । त्यसैले नेपाल योग पर्यटनको लागि उत्तम ठाउँ हो । योगको उत्तम गन्तव्य तिब्बतस्थित कैलाश मानसरोवर क्षेत्रमा हजारौँ योगीहरूले योग र चमत्कार गरेका रेकर्ड भेटिन्छ । तर, सन् १९६३ मा भारत–चीन युद्धपछि कैलाशमा योग गर्न चीनले कडाइ गरेको छ ।

६. ध्यान सङ्केन्द्रण (कन्सन्ट्रेसन) : यो चरणमा चञ्चल मनलाई कुनै एक चीजमा अड्याउन सक्नुपर्छ । सारसले गरेजस्तो ध्यान गरी मनलाई एकाग्र बनाउनुपर्छ ।

७. धारण (रिटेइन्सन) : यो चरण ध्यानको अवस्थालाई लम्ब्याउने विधि हो ।

८. समाधि (अब्जर्प्सन) : यो योगको अन्तिम चरण हो । समाधि भनेको रोकिनु हो । समाधिमा गएपछि चित्तवृत्ति पूरै रोकिन्छ । समाधिमा लागेको मानिसले अरू कुरा सोच्न सक्दैन । आत्मा ब्रह्ममा पुगेर लीन हुन्छ । यस्तो चरणमा पुगेका योगीहरूको प्राण समेत तालु फुटेरै जाने गरेको देखिन्छ ।

समाधिमा रहने योगीले शुद्ध गाइको घीउ खानुपर्छ, शरीर बलियो पार्नुपर्छ, शरीर बलियो भएको मानिसले मात्र मोक्ष प्राप्त गर्न सक्छ भनिन्छ । यसरी आत्मालाई परब्रह्मसँग मिलाउन यी आठ चरण पार गर्नुपर्ने भएकाले यसलाई आर्य अष्टाङ्गिक मार्ग पनि भनिएको हो ।

अहिले देखिने साधुहरूलाई खाडलमा हाल्ने प्रकृया समाधि होइन । ती योगमा असफल भएका मानिसहरू हुन् । उनीहरूलाई अरूको सहयोग चाहिएको हो । शरीर कमजोर भएको मानिसले यो मार्गबाट पार पाउँदैन । योगीहरूका अनुसार; ऊ आत्मज्ञानतर्फ जाँदा राम्रो हुन्छ ।

नेपालीमा जोगी भनेका योगी नै हुन् । गोरखनाथ यसका उत्तम योगी हुन् । नाथहरू पनि योगी नै हुन् । योगीहरूको प्रमुख केन्द्र गोरखपुर हो । तर कर्मभूमि पश्चिम नेपाल हो । पृथ्वीनारायण शाहले योगीहरूको जीविकोपार्जन गर्न फिरी लगाउने अधिकार दिएका थिए ।

योगीहरू उच्च स्थानमा बस्छन् । उच्च स्थान योगसाधनाका लागि उपयुक्त हुन्छ । सोच नियन्त्रण गर्न उच्च ठाउँमा जानुपर्छ । सोच पैदा गर्न होचो ठाउँमा जानुपर्छ भनिन्छ । त्यसैले योगीहरू हिमाल या उच्च ठाउँमा जान्छन् । चिन्तनमनन गर्नेहरू तल्लो भेगका जङ्गलमा जान्छन् । बनारसको घाटमा बसेपछि मन अस्थिर हुन्छ भनिन्छ, किनकि त्यो होचो ठाउँ हो ।

भक्तियोग (डिभोस्नालिजम) : शारीरिक हिसाबले कठिन अष्टाङ्गिक योग गर्न नसक्नेहरूले भक्तियोगमार्फत मोक्ष प्राप्ति प्रयास गरिरहेका हुन्छन् ।

महापुराणमा सत्ययुगमा योग उत्तम, द्वापारयुगमा वेदान्त उत्तम, कलियुगमा मानिसको समय नभएकाले भगवानको नाम उच्चारण नै काफी छ भन्ने सुनिन्छ । अहिलेका मानिसहरूलाई समयको कम भएकाले यो चलनमा आएको हो । सजिलो हुने हुनाले यो प्रकृतिको योग अहिलेहाल बजारमा प्रचलित छ ।

धेरै नेपालीहरू दासत्वको युगबाट आएका हुनाले भक्तियोगमा धेरै नेपाली भेटिइन्छन् । यो योगका मानिसहरू धेरै धर्मान्ध हुन्छन् । अरूको कुरा स्वीकार गर्दैनन् ।

वैष्णव भेट्दा विष्णु नै सबैभन्दा ठूला हुन्, शिव त विष्णुका सेवकमात्र हुन् भन्छन् । शिवको भक्त छ भने शिव नै सर्वोच्च हुन्, विष्णु उनका भक्तमात्र हुन् भन्छन् ।

कहिलेकाहीँ भक्तियोगका मानिसहरू जुधिरहेका हुन्छन् । जति पनि उग्र धार्मिक चिन्तनका मानिसहरू हुन्छन् – ती सबै भक्तियोगका हुन्छन् भनी चिन्नुपर्छ । किनकि भक्तिमा भएको मानिसले धेरै सोच्न सक्दैन ।

यो सम्प्रदायका व्यक्तिले बुद्धि (इन्टिलेक्ट) प्रयोग गर्दैनन् भनिन्छ । भक्तिवालाहरू एक आराध्यदेव वा दैवीशक्तिमा एकीकृत हुन्छन् । भजन गाउने, आरती गर्ने सबै भक्तियोगमा पर्छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ३१ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट