ओलीको चेतावनी- विद्या भण्डारीको पक्षमा बोल्दै नहिँड्नु, नत्र कारबाही हुन्छ | Khabarhub Khabarhub

ओलीको चेतावनी- विद्या भण्डारीको पक्षमा बोल्दै नहिँड्नु, नत्र कारबाही हुन्छ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लिएर कठोर बन्दै गएका छन् ।

सोमबारदेखि ललितपुरको च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको पक्षमा लाग्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिएका छन् ।

उनले बैठकलाई सम्बोधनका क्रममा विद्या भण्डारीको पक्षमा लाग्नेहरूविरुद्ध आफू कठोर बन्न तयार रहेको चेतावनीसमेत दिएको एकजना केन्द्रीय सदस्यले खबरहबलाई बताएका छन् ।

उनले केही नेताहरूतिर इंगित गर्दै पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बन्दै हिँडेकोसमेत टिप्पणी गरेका छन् । उनले त्यसरी पूर्वराष्ट्रपतिको प्रवक्ता बन्नेहरूलाई कडा कारबाहीको चेतावनीसमेत दिएको ती केन्द्रीय सदस्यले बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीसँग आफूले आइतबार च्यासलमा करिब २ घण्टा लामो संवाद गरेको बताउँदै ओलीले त्यसबेला केही सुझाव पनि दिइसकेको उल्लेख गरे । आफूले दिएका सुझावबारेमा पूर्वराष्ट्रपतिले जवाफ दिइनसकेको पनि ओलीले बैठकमा बताएका छन् ।

आफूले दिएका सुझावबारे पूर्वराष्ट्रपतिले सोचेर उचित समयमा जवाफ दिने बताएको पनि ओलीले बैठकमा जानकारी दिएका छन् ।

पूर्वराष्ट्रपतिको भेटबारे कुरा गर्दै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाए पनि पनि पार्टी कार्यालयमै आउँछु भनेपछि च्यासलमै भेटेको बताए ।

‘पूर्वराष्ट्रपति (विद्या भण्डारी) जीसँग हिजो मैले भेटेको छु । बालुवाटारमा बोलाएको थिएँ, पार्टी कार्यालयमै आउँछु भनेपछि त्यो ठूलो कुरा नभएकाले च्यासलमै बोलाएँ’, उनले भने, ‘पार्टी कार्यालय नदेखेको भनेपछि च्यासलमै भेटेको हुँ । उहाँ आफैंले भेटौँ भनेपछि संवाद गरेको छु ।’

उनले भण्डारीसँगको भेटपछि प्रतिक्रिया दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापातिर लक्षित गर्दै केही नेता प्रवक्ता बनेको भन्दै रोष प्रकट गरे ।

‘कोही नेताहरू उहाँ (विद्या भण्डारी) को प्रवक्ता बनिरहनु भएको छ’, उनले भने, ‘त्यसरी प्रवक्ता बन्दै किन हिँड्न पर्‍यो ? आइतबारको वार्तामा मैले मेरोतर्फबाट सुझाव दिइसकेको छु । उहाँले मेरो सुझावलाई लिएर दिने निर्णयबारेमा जवाफ दिइसक्नु भएको छैन । उचित समयमा दिने कुरा भएको छ। ’

उनले बैठकमा आक्रोशित रुपमा प्रस्तुत हुँदै हिजो पुष्कमल दाहाल प्रचण्ड र माधव नेपालले चलाएको संघर्षभन्दा पनि ठूलो आक्रमण अहिले गर्न खोजिएको बताएका छन् ।

ओलीले अहिले एमालेलाई ओलीमुक्त बनाउने कोसिस भइरहेको भन्दै त्यो कुनै हालतमा सम्भव नहुने पनि बताए । ‘अहिले एमालेलाई ओलीमुक्त बनाउने खेलहरू भइरहेका छन् । हिजो प्रचण्ड र माधवले भन्दा ठूलो आक्रमणको कोसिस हुँदैछ । तर एमालेले त्यसको एकतावद्ध भएर जवाफ दिने छ।’

उनले नेपाल नै एमालेमुक्त बनाउने कोसिस पनि विफल पारिने बताए । ‘ओलीमुक्त एमाले र एमालेमुक्त नेपाल कसैले कल्पना नगरे हुन्छ’, उनले भने, ‘माधव र प्रचण्डको टीमलेभन्दा पनि धेरै ठूलो प्रहार गर्ने काम हुँदैछ । त्यसलाई हामी विफल बनाउँछौँ ।’

उनले पूर्वराष्ट्रपतिको गतिविधिलाई स्वीकार्न नसकिने बताउँदै सुरूमै केन्द्रीय कमिटी सदस्यहरूलाई नियन्त्रणमा राख्न खोजेका छन् । सुरूमै चेतावनीयुक्त सम्बोधन गरेर ओलीले बैठकमा विरोधको स्वर दबाउने सक्दो कोसिस गरेको एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

उनले राष्ट्रपति राजनीतिमा फर्किने कुरामा राष्ट्रपति संस्था र पदको गरिमा पनि जोडिएको बताए । यसरी राष्ट्रपति नै राजनीतिमा फर्किँदा गणतन्त्र गम्भीर विवादमा पर्न सक्ने चेतावनी पनि ओलीले दिएका छन् । उनले पूर्वराष्ट्रपतिलाई सक्दो सुझाव दिइएको बताउँदै उचित जवाफ आउने पनि जानकारी दिए ।

उनले उमेर हदलाई लिएर पनि अफवाह फैल्याइएको बताएका छन् । ओलीले उमेर हद ७० वर्ष कायम गर्दा आफू जेल बसेको पनि हिसाब हुनुपर्छ भनेर बोल्यो भन्दै प्रचार गरिएकोसमेत आरोप लगाए ।

ओलीले पटक पटक चेतावनी दिँदै केही नेतालाई पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बनेको आरोप पनि लगाए । ओलीले यसो भनेर भण्डारीको पक्षमा बोल्ने नेताहरूलाई नियन्त्रणको कोसिस गरेका छन् । उनले भण्डारीको पक्षमा बोल्दै हिँड्नु अनुशासनहीन काम भएको संकेत गर्दै फेरि दोहोरिए कारबाहीको भागी हुनेसमेत चेतावनी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५६ बजे

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका