काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माले, मसाले र मण्डले एकै हुन् भनेका थिए । २०३६ ताका कम्युनिस्टहरूको मुखमा ‘मण्डले’ शब्द झुण्डिएको थियो । कांग्रेसहरू ‘माले र मण्डले’ भन्थे ।
प्रतिगामी प्रवृत्तिलाई ‘मण्डले’ भनिन्थ्यो भने ‘माले र मसाले’ प्रवृत्तिका रुपमा उग्रवामपन्थी प्रवृत्तिलाई बुझिन्थ्यो । अझै पनि ‘मण्डले’ शब्द राजावादीहरूको उपमा बनेको छ ।
२०३६ सालबाट राजनीति सुरु गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध थिए । यही राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका नेताहरूलाई ‘मण्डले’ भनिन्थ्यो ।
लिङ्देन ०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव निर्वाचित भए । ०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष रहे । ०४७ पछि स्थापित राप्रपाको जिल्ला पदाधिकारीदेखि ०६६ सालमा पार्टी केन्द्रीय सदस्य भएका लिङ्देन महामन्त्री हुँदै अध्यक्ष बनेका हुन्।
०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि लिङ्देन पहिलो पटक राष्ट्रियस्तरमा चर्चामा आए ।
जनान्दोलन २०६२/६३ ताका नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा गृहमन्त्री रहेका कमल थापाले राम्रो भूमिका निर्वाह नगरेको आरोप लागेको थियो ।
त्यसबेला ज्ञानेन्द्रले थापालाई अक्षमको आरोप लगाउँदै पदच्यूतसमेत गरे । उक्त घटनादेखि दरबारसँग थापाको सम्बन्ध चिसिएको थियो ।
दरबारसँग थापाको तिक्तता लिङ्देनका लागि अवसर सावित भएको थियो । त्यही अवसरको फाइदा लिँदै राजाको आशिर्वाद पाएका लिङ्देनले थापालाई २०७६ फागुनमा भएको राप्रापको एकता महाधिवेशनमा पराजित गरेका थिए ।
कमल थापासँग विद्रोह गरेर राप्रपाको नेतृत्व लिएका लिङ्देनले सदनमै ‘नेताहरू चोर हुन्’ भनेपछि थप चर्चा चुलिएको थियो । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने उनको अभिव्यक्तिको वाक्यांशले भ्रष्टाचार विरोधी अभियानताका रुपमा उभ्यायो ।

सतहमा विवाद
राप्रपा अध्यक्ष भएपछि लिङ्देनले सबै राजावादीहरूलाई एकैठाउँ ल्याउने वाचा गरेका थिए । तर उनीसँग हारेका कमल थापाले पुरानै दल राप्रपा नेपाल ब्युँत्याए। लिङ्देनले अन्य राजावादी शक्तिलाई पनि अहिलेसम्म मिलाउन सकेका छैनन् । अर्थात्, राजावादीहरूको टुटफुटको राजनीति अद्योपान्त जारी छ।
राजावादीलाई एक ठाउँ ल्याउन नसकेका उनै अध्यक्ष लिङ्देन पछिल्लो पटक स्वेच्छाचारी बन्दै गएको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ । विधानको व्यवस्थाअनुरूपको विधि, सङ्ख्या र सीमा नाघेर एकलौटी पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू थप्ने र हटाउने गर्न थालेपछि लिङ्देनले यो आरोप खेप्नु परेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले उनीविरुद्ध मोर्चाबन्दी नै गरेका छन् । उनीहरूले गत बिहीबार विज्ञप्ति नै निकालेर अध्यक्ष लिङ्देनका कारण पार्टीमा अपूरणीय क्षति पुगेको दाबी गरेका छन् ।
विधानको अक्षरशः पालना गर्नुपर्नेमा जिम्मेवार तहबाटै उपेक्षा र उल्लङ्घन भएको जिकिरसहित उनीहरूले स्वेच्छाचारिता सतहमा आउनु दुखःद भएको जनाएका छन् ।
पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको घरमा भएको बैठकमा राजावादी आन्दोलनका कमान्डरसमेत रहेका नवराज सुवेदी लिङ्देनले पूर्ववत् जिम्मेवारीमै रहेको बताएको विज्ञप्तिमा दाबी गरिएको छ । बैठकमा लिङ्देन, लोहनी, पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, सुवेदी र नेता हरिबहादुर बस्नेत उपस्थित भएका बेला लिङ्देनले उक्त अभिव्यक्ति दिएको उल्लेख छ ।
सुवेदीलाई अध्यक्ष लिङदेनले भनेको बोलीबारे वक्तव्यमा लेखिएको छ, ‘दाइ पार्टीमा पूर्ववत् रूपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुस् ।’ सुवेदीलाई अनुशासन समितिबाट हटाइएकोमा उनीहरूले आपत्ति जनाएका छन् । सुवेदीलाई अनुशासन समितिबाट हटाएर लिङ्देनले सांसदसमेत रहेकी डा. रोशन कार्कीलाई जिम्मेवारी दिएका छन् ।
महामन्त्री राणा भारतमा क्यान्सरको उपचार गरिरहेको बेला सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुख, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधानविपरीत हटाइएको उनीहरूले उल्लेख गरेका छन् । क्रियाशील नेतालाई शृङ्खलाबद्ध कारबाही हुँदा पार्टीपङ्क्ति र जनमानसमा शङ्का र प्रश्नहरू उब्जिएको उनीहरूको जिकिर छ ।

लिङ्देनमाथिका आरोप
राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा पहिलो महाधिवेशन भयो । जसलाई उनीहरूले एकता महाधिवेशनको संज्ञा दिएका थिए । लिङ्देनले उक्त महाधिवेशनमा प्रतिस्पर्धी थापालाई २०० मतले पराजित गरे । अध्यक्षका प्रत्यासी थापासँगको प्रतिस्पर्धा कुनै प्रकारको विरोध वा विद्रोह नरहेको लिङ्देनले बताएका थिए । तर एकता नाम दिएको उक्त महाधिवेशनको केही महिनामै राप्रपा विभाजित भयो ।
त्यसबेला जितपछिको सम्बोधनका क्रममा लिङ्देनले राप्रपामा कुनै गुट नरहेको दाबी गरेका थिए । भनेका थिए, ‘जित्नै पर्ने बाध्यताबीच भएको प्रतिस्पर्धाले पार्टीमा चिरा पर्ने आशङ्का रहे पनि आजबाट हामी सबै एक छौँ । कोही कुनै पक्षका छैनौँ ।’
लिङ्देनले दृढतापूर्वक भनेका थिए– ‘राप्रपालाई हिजोको दिनको जस्तै गतिहीन र निष्क्रिय बनाएर लैजाने छुट हामीलाई थिएन, राप्रपा मात्रै होइन, यसको मुद्दालाई समाप्त हुन नदिन हामीले बाध्यकारी कदमका रूपमा नेतृत्व परिवर्तनलाई लियौँ । अहिले हामी अनेक आशङ्का र अनेक प्रतिकूलताका बाबजुद यो काममा सफल भएका छौँ ।’
तर महाधिवेशनपछि यसको रापतापमा लिङ्देनको स्वेच्छारी प्रवृत्ति हाबी भएको राप्रपाकै नेताहरू बताउँछन् । राप्रपाभित्र मध्यस्थता गर्ने समूहको धेरै ठूलो अभाव भएको उनीहरूको मत छ । मध्यस्थ भूमिका निर्वाह गरेर असन्तुष्टलाई मिलाउने भूमिका शून्य अवस्थामा रहेकाले पार्टी दुर्घटना उन्मुख भइरहेको उनीहरूले बताइरहेका छन् ।
यसले सिङ्गो राप्रपा र विचारलाई कमजोर बनाएको उनीहरूको निष्कर्ष छ । यसमा पनि लिङ्देनकै कमजोरी देखिने उनीहरूको जिकिर छ । लिङ्देनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्ने, असन्तुष्टलाई मिलाउनु पर्ने मत नेताहरूको छ ।
महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउने सन्दर्भमा लिङ्देनका भनाइ र गराइबीच मेल नखाने राप्रपाकै नेताहरू बताउँछन् । राप्रपाभित्रको तीव्र असन्तुष्टिको कारण पनि यही हो ।

लिङ्देनमाथि लागेका आरोपबारे चर्चा गरौँ
राप्रपाको महाधिवेशनपछि लिङ्देनको राजनीतिक यात्राले उचाइ लिनेभन्दा विस्तारै अवोन्नतितर्फ गइरहेको विश्लेषण हुन थालेको छ । नेपालको राष्ट्रिय राजनीतिमा युवाहरूमाझ आशा लाग्दो, भरोसायोग्य पार्टी निर्माण गर्छु भनेका लिङ्देनले महाधिवेशनपछि प्रतिबद्धता पूरा गर्न सकेनन् ।
लिङ्देनले इमान्दारी र निष्ठाको त्याग गरे । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाएसरह हो भन्दै भ्रष्टाचार विरोधी अभियान सुरू गरेका उनको कथनी र करणीमा आकाश जमिनको फरक देखिएको नेताहरू बताउँछन् ।
छ महिनाभित्रमा राजसंस्था फर्काउने, आन्दोलनमा जाने, सरकारमा नजाने, कुनै अमूक पार्टीसँग मिलेर दुईचार सिट पाँचसात सिटको पार्टी बनाउने होइन, व्यवस्था परिवर्तनको एजेण्डालाई स्थापित गर्ने, राजसंस्था ल्याउने, हिन्दू धर्म ल्याउने सबै प्रतिबद्धताको लिङ्देनले आफ्नै गतिविधिबाट खण्डन गरेका आरोप लागिरहेको छ ।
लिङ्देन प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए । पार्टी सरकारमा गयो । महाधिवेशनले जुन म्याण्डेड दिएको थियो, त्यो प्रतिबद्धता र संकल्पविपरीत महाधिवेशनलगत्तै मनोनयनदेखि नै आफ्नो लोकप्रियताको आडमा लिङ्देनले विधि विधान मिचेर काम सुरु गरेको अर्को आरोप पनि झेलिरहेका छन् ।
उनले महाधिवेशनलगत्तै प्रदेश अध्यक्ष निर्वाचित हेमजङ्ग गुरुङलाई तत्काल पार्टीको केन्द्रीय उपाध्यक्ष बनाए । पार्टीको विधानले महामन्त्री सचिवालय प्रमुख हुनुपर्ने ठाउँमा उनले पार्टीको उपाध्यक्षलाई सचिवालय प्रमुख बनाए ।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानु हो भन्ने लिङ्देनले केन्द्रीय सदस्यमा मुद्दा लागेका मान्छेलाई नियुक्ति दिए । अदालतले दण्डित गरेका मान्छे, आर्थिक अपचलनमा मुद्दा झेलिरहेका मान्छेलाई केन्द्रीय सदस्य मनोनित गरे । महाधिवेशनमा पराजितलाई मनोनयन गरी महत्त्वपूर्ण जिम्मेवारी दिए । महाधिवेशनबाट लोकप्रिय मत ल्याएकालाई भूमिकाविहीन बनाए । लिङ्देनले ‘यस म्यान’ र खल्तीका मान्छेहरू ल्याए’, उनीमाथि लागेका अनेकन आरोपबारे एक नेता भन्छन् ।
महाधिवेशनको रापताप र लोकप्रियताको आडमा लिङ्देनले गरेका निर्णय सुरुमा पचाइयो । विस्तारै लिङ्देनको मनोमालिन्य र एकलौटी सोच दम्भका कारण आफ्नै सहयात्रीहरूलाई टाढा बनाएको आरोप पनि छँदैछ । लिङ्देनलाई पार्टी अध्यक्ष बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डा. धवलशमशेर राणाहरूलाई उनले विश्वासमा लिएर काम गर्न नसकेको आराेप छ ।
जिम्मेवारी र भूमिका दिने कुरामा आफ्नो पक्षमा खुलेका, आफ्नो प्रशंसा गर्नेहरूलाई मात्र प्रश्रय दिइरहेको पनि आरोपबाट उनी मुक्त छैनन् । धवल शमशेर राणा बिरामी हुँदा जिम्मेवारी खोसिएका कुरा संवेदनशील विषय थियो । आफ्ना सहयात्रीलाई हठात एउटा सामान्य असन्तुष्टि र आफ्नो विरोधमा बोल्ने बित्तिकै भूमिकाविहीन बनाएको लिङ्देनमाथि आरोप छ ।
राप्रपाका एक नेता भन्छन्, ‘अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सगुन लावतीलाई नियुक्त गरी लिङ्देनले पाँडेपजनी त्यतिबेलादेखि नै सुरु गरे । जुन विधानले बर्खिलाप गरेको थियो । यस्ता घटना क्रमबाट लिङ्देनले आफ्नो मनोबल बढाउँदै लगे ।’
जनवर्गीय सङ्गठनलाई लिङ्देनले भजनमण्डलीका रुपमा परिणत गरेको उनीमाथि आरोप छ । त्यसलाई विधिसम्मत ढङ्गबाट अधिवेशन नगरेको आलोचक बताउँछन् । विभिन्न प्रदेशहरूमा सभामुख लिने विषयमा पनि पार्टीको धारणा र नीतिभन्दा बाहिर गए । प्रदेश विरोधी कुरा गर्ने तर प्रदेश सरकारमा जाने विषय आमकार्यकर्ताको भावनाविपरीत रहेको नेताहरूको बुझाइ छ । यहीँबाट उनको आलोचना बढ्दै गयो । मुकुन्दश्याम गिरीको प्रकरणमा लिङ्देनले विधि विधानको खिल्ली उडाएको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परेको छ ।
नवराज सुवेदीको नेतृत्वमा भएको आन्दोलनलाई पनि राप्रपाभित्रका राजावादी, हिन्दूवादी र राप्रपावृत्त बाहिरका मान्छेले आन्दोलनलाई तुहाउन, कमजोर बनाउन लिङ्देनको भूमिका बढी भयो भन्ने आरोप लगाए । आन्दोलनलाई सशक्त रुपमा अगाडि लैजाने क्रममा जति दृढतापूर्वक भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो भूमिका लिङ्देनले निर्वाह नगरेको पनि उनले आरोप खेपे ।
आफूलाई केन्द्रमा राखेर आन्दोलन चलाउन खोज्दा राजावादीको प्रयास पनि तुहिएको नेताहरूको आरोप छ । आफू भए मात्र ठीक अरुको अस्तित्व स्वीकार गर्न नसक्ने कुरामा उनले प्राथमिकता दिएको एक नेता बताउँछन् ।
‘पार्टी अध्यक्षले अभिभावकका रुपमा पार्टीलाई ड्राइभ गर्नुपर्छ । असन्तुष्टसँग छलफल गरेर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा लिङ्देनले गुटगत राजनीतिलाई प्रश्रय दिइरहे । जुन विषय तल्लो तहसम्म पुग्यो’, राप्रपाका ती नेताले भने, ‘कर्णाली प्रदेशका धेरै पार्टी सदस्य र पदाधिकारीले राजीनामा दिए । पदमूक्तिको विषय फिर्ता हुनुपर्छ भने । जिल्ला अध्यक्षहरूको पनि त्यही मत रह्यो ।’
लिङ्देनको पछिल्लो अभिव्यक्तिले उनी यो असन्तोषलाई कसरी समाधान गर्नेभन्दा असन्तुष्टिहरूलाई मिचेर, पेलेर आफ्ना प्रतिकूल आएका कुरालाई दबाएर जाने दिशामा लागेको नेताहरूको बुझाइ छ । झापामा समेत उनले त्यही किसिमको सन्देश दिएकाले पार्टी आगामी दिनमा दुर्घटना उन्मुख अवस्थामा रहेको देखिएको नेताहरू बताउँछन्।
राप्रपा वैकल्पिक शक्ति बन्न सक्छ भन्ने आम मान्छेलाई लिङ्देनले निराश बनाएको उनी इत्तरको आरोप छ । नेतृत्वले आममान्छे र कार्यकर्तालाई आश्वस्त पार्न नसक्नु नेतृत्वको ठूलो कमजोरी रहेको राप्रपाकै नेताहरू बताउँछन् ।
‘पूर्वाग्रहको दृष्टिले हेर्ने भन्दा पनि फराकिलो चिन्तन, दूरदर्शी दृष्टिकोण र पार्टीलाई राष्ट्रिय राजनीतिमा जबरजस्त शक्तिको रुपमा स्थापित गर्न लिङ्देनले प्राप्त गरेको अवसर गुमाए,’ राप्रपाकै एक नेता भन्छन्, ‘एउटा वैकल्पिक शक्ति निर्माण गर्ने अवसर लिङ्देनले सदुपयोग गर्न सकेनन् ।’
अध्यक्ष बनाउन भूमिका खेल्ने मित्रहरूकै लिङ्देनले विश्वास तोडे । पार्टीमा ठूलो योगदान दिएका महत्त्वपूर्ण व्यक्तिलाई अध्यक्षको आसनबाट बोल्दा मानमर्दन गरेको ती नेताकाे आरोप छ ।
लिङ्देनले पुराना पुस्ता ९५ प्रतिशत पार्टी बाहिर छन्, नयाँ पुस्ता आइरहेका छन् भन्ने उनको अभिव्यक्ति गलत भएको राप्रपाकै नेताहरुकाे बुझाइ छ । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समीश्रण गराएर पार्टी ड्राइभ गराउनु पर्नेमा लिङ्देनले एकाङ्गी ढङ्गबाट पुराना पुस्ताहरुको काम छैन भन्ने भाष्य निर्माण गरेको उनीमाथि आरोप छ ।
‘पुराना पुस्ताको सहयोग सद्भाव लिने, उनीहरूलाई मान–सम्मान गर्ने, उनीहरुको अनुभवबाट पार्टी निर्माण गर्ने भावना कमजोर बनाए । नयाँ किसिमका मान्छेहरू स्टन्टबाजीमा उत्रिएका छन् । लिङ्देन नेपालको राष्ट्रिय राजनीतिमा बढी सस्तो लोकप्रियता खोज्ने, तालीको राजनीति गर्ने कुरामा बहकिएका छन्’, राप्रपाका एक पुराना नेता भन्छन्, ‘राप्रपामा जीवन उत्सर्ग गरेका मान्छे धेरै लामो समय योगदान दिएका मान्छे, समय, सम्पत्ति सिध्याएका मान्छे र यही विचारका आधारमा विस्थापित भएका मान्छेहरूको भावनालाई समेटेर लानुपर्ने भूमिकाबाट लिङ्देन चुके ।’
नयाँ मान्छेका नाममा पार्टीमा महत्त्वपूर्ण भूमिका भएका पुराना मान्छेहरूको मानमर्दन गर्ने र भूमिका शून्य बनाउने काम गरेको लिङ्देनमाथि आरोप छ । यसले पार्टीलाई अगाडि बढाउने विषयमा लिङ्देनको अभिभावकीय र नेतृत्वदायी भूमिकामा कतै न कतै शून्यता देखिएको ती नेता बताउँछन् । उनी भन्छन्, ‘सबैलाई समेटेर लाने राष्ट्रवादी वैकल्पिक शक्ति निर्माण गर्ने अवसरलाई लिङ्देनले गुमाउँदै गए । अरुको अस्तित्व स्वीकार गर्दा आफू सानो हुने र अरुलाई राख्दा आफ्नो भूमिकामा समस्या आउने सङ्कीर्णता लिङ्देनमा हाबी भएको देखिन्छ ।’
फराकिलो ढङ्गबाट पार्टी बलियो हुनुपर्छ । विचार स्थापित हुनुपर्छ । म तलमाथि भए पनि केही फरक पर्दैन भन्ने भावनाले काम गर्दा विचार, सिद्धान्तका लागि धेरै ठूलो टेवा पुग्थ्यो तर त्यो भावना र विचारबाट लिङ्देन स्खलित भएको उनी आत्मकेन्द्रित भएको र आफू केन्द्रित भएको कुरा घटना क्रमले पुष्टि गर्ने राप्रपाका अग्रज नेताकाे दाबी छ ।
‘लिङ्देनको कथनी र करणीमा फरक देखिन्छ । यसले पार्टी निर्माण र आगामी यात्रामा सघाउ पुर्याउँदैन । राप्रपाभित्रको विग्रह र रस्साकस्सीले राप्रपाभित्रको आत्मा नै मार्ने किसिमको अवस्था सिर्जना भएको छ । जुन विचार, एजेण्डा सिद्धान्त छन् जेको लागि पार्टी विचार स्थापित छ, संस्थापक नेताहरूका जस्तो भावना र विचार थ्यो, त्यो नै कमजोर हुँदै गइरहेको देखिन्छ । अन्ततःगत्वा राप्रपाको मूल आत्मा कमजोर हुन पुग्यो,’ राप्रपाका ती नेता भन्छन्, ‘लिङ्देनसँग भएका मान्छे, जसले जीवनमा राप्रपामा भोट हालेका छैनन् । उनले त्यस्ता व्यक्तिलाई नजिक राखेर पार्टीमा प्रभावकारी भूमिका दिए । आफ्नो अनुकूल भए भोलि पार्टीको नेतृत्वमा ल्याउने, पदाधिकारीमा ल्याउने मनशाय बनाएका छन् । यसले पार्टी स्थापनाको मूल्य मान्यता र आदर्शमाथि गम्भीर प्रश्न खडा भएको छ ।’
लिङ्देन गुटइतरका ती नेता भन्छन्- ‘राप्रपाभित्र गुट निर्माण भइरहेको छ । कोही धवल शमशेरको पक्षमा खुलेका होलान्, कोही लिङ्देनको पक्षमा खुलेका होलान् तर आम कार्यकर्ता ‘विचार’ बलियो हुनुपर्छ भन्ने पक्षमा छन् । पार्टी र विचार बलियो हुनुपर्छ भन्ने जमात अहिले धवल शमशेरलाई खुसी बनाउने वा लिङ्देनलाई खुसी बनाउने काममा लागेका छन् । यो सानो समूह जसले गुटको राजनीति गरिराखेका छन् । सरकारमा जाने कुरा, सडक आन्दोलनका कुरा, एजेण्डा स्थापित गर्न पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा लिङ्देन र अरु नेताहरूका बीचमा खाडल छ । यो खाडल पुरिएन भने पार्टीको अन्तरद्वन्द्व समाधान हुने होइन बरु चर्किएर जानेछ ।’
नेतृत्वमा समस्या समाधान गर्ने चासो देखिँदैन । आफ्ना विरोधिलाई पेलेर जाने, कमजोर बनाउने र आफू एकछत्र राज गर्ने भन्ने मनशाय देखिन्छ । आगामी दिनमा लिङ्देनलाई यो विषय प्रतित्युत्पादक हुनसक्ने उनकाे मत छ ।
राप्रपालाई नजिकबाट नियालिरहेका विश्लेषकहरूको मत पनि यी आरोपभन्दा फरक छैनन् । लिङ्देनका आलोचकहरू समेत उनमा पार्टी कब्जा गर्ने, नेतृत्वमा आफू हाबी हुने इच्छा प्रबल रहेको बताउँछन् । उनी भन्छन्, ‘हालको अन्तरसङ्घर्ष पनि यही नै हो । त्यसमा स्वभाविक रुपमा विधि, विधान मिचेर छिनाझप्टी भइरहेको छ । कुन पक्ष हाबी हुन्छ भन्दा पनि यसले समग्र एजेण्डा र पार्टीलाई कमजोर बनाउँछ । यसमा समन्वयकारी भूमिका खेल्ने मध्यमार्गी धारको राप्रपामा अभाव देखिएको छ ।’

के भन्छन् प्रवक्ता
नेताहरूमाथिको कारबाहीको विषयलाई लिएर राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने अध्यक्ष लिङ्देनको बचाउ गरेका छन् ।
नवराज सुवेदीले २०८१ चैत ४ गते नै पार्टी छाडेको घोषणा गरिसकेको अवस्थामा उनलाई स्पष्टीकरण नसोधी जिम्मेवारीबाट मुक्त गरिएको श्रेष्ठले बताए ।
‘नवराज सुवेदीको हकममा २०८१ चैत ४ गते पार्टी छाडेँ भनेर उहाँल नै सार्वजनिक रुपमा घोषणा गर्नु भएको हो’, उनले भने, ‘स्पष्टीकरण त पार्टीमै भएकालाई सोध्ने हो । पार्टी हितविपरीत काम गरेकालाई सोधिने हो । पार्टी नै छाडेँ भनेर हिँडेको मान्छेलाई सोध्ने कुरा भएन ।’
सुवेदीले पार्टी छाडिसकेपछि उनको पद रिक्त भएकाले नयाँ जिम्मेवारी तोकिएको उनले बताए । ‘सुवेदीले पार्टी छाडिसकेपछि उहाँको पद रिक्त भयो । केन्द्रीय सदस्य, कार्यसम्पादन समितिको सदस्य पद अझै पनि रिक्त नै छ। अनुशासन समितिको अध्यक्षमा भने रोशन कार्कीलाई नियुक्त गरिएको छ । अनुशासन समितिमा पार्टीको काम अघि बढाउन कार्कीलाई अध्यक्ष बनाइएको हो ।’
सगुन सुन्दर लावती र मुकुन्दसेन गिरीको हकमा पनि उनीहरूलाई मनोनीत गरिएको पदबाट मात्रै हटाइएको उनले बताए ।
‘पार्टी सदस्यबाटै कारबाही गर्ने हो भने स्पष्टीकरण सोध्नुपर्छ । गिरीलाई केन्द्रीय सदस्य र उपाध्यक्षमा अध्यक्षले मनोनीत गरेको छ । निर्वाचितलाई हटाउँदा अनुशासन समिति र केन्द्रीय कार्यसम्पदान समितिले निर्णय गर्नुपर्छ’, उनले भने, ‘तर मनोनीतलाई हटाउन अध्यक्षलाई विधानले नै तजबिजी अधिकारी दिएको छ । गिरीले नवराज सुवेदीलाई बोकेर निर्वाचन आयोगमा गए । पार्टीविरुद्ध गतिविधि गर्दै लागेकाले पदमुक्त गरिएको हो । विधानले दिएकै सुविधाको उपयोग गरिएको हो ।’
गिरीलाई पनि मनोयन गरेको पदबाट हटाइएको उनले बताए । ‘सगुनसुन्दर लावती निर्वाचित केन्द्रीय समिति सदस्य हुन्।मनोनीत गरेको पदबाट उनलाई अध्यक्षले हटाएको हो’, उनले भने, ‘ध्यक्षले पार्टी राम्रोसँग चलाउन उनलाई प्रवक्तामा मनोनीत गरेको हो। अध्यक्षले मनोनीत गरेको पदबाट हटाउँदा विधान आकर्षित हुँदैन । अध्यक्षको तजबिजी अधिकारको उपयोग गरेको हो ।’
डा. प्रकाशचन्द्र लोहनीलेसहितले गरेको विरोध पनि चियाको कपमा आँधी ल्याउने प्रयास भएको उनले बताए । ‘तर उहाँले पनि यही कुरा उपयोग गरेर आउनु भएको हो । यो रोइलोको अर्थ छैन । चियाको कपमा आँधी ल्याउने प्रयास भएको हो । यसमा अर्थ छैन र पुनर्विचार पनि हुँदैन’, उनले भने ।
यदि मनोनीतलाई हटाउन नपाइने हो भने विधान परिवर्तन गर्नुपर्ने उनले बताए । ‘अध्यक्षको अधिकार खोस्नुपर्यो । यही विधानले मनोनीत गर्न पनि दिन्छ, हटाउन पनि दिन्छ । घामजस्तै छर्लङ्ग कुरालाई अपव्याख्या गरिएको हो’, उनले भने ।
प्रतिक्रिया