गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा भएको देशव्यापी विद्रोह र आन्दोलनपश्चात नयाँ राजनीतिक परिवेश आएको छ । जेन-जीनको आन्दोलनका कारण दलहरू सत्ताबाट किनाराकृत भएका छन् । केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार ढल्दा दलहरूको अस्तित्वमै प्रश्न उठ्ने अवस्था छ । जेन-जीले ल्याएको उथलपुथलपछि नयाँ चुनावी कार्यादेश प्राप्त सुशीला कार्की नेतृत्वको सरकारमाथि भ्रष्टाचार नियन्त्रण र आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्नुपर्ने चुनौती पनि छ । अहिले त्यही सरकारलाई चुनाव गराउन आवश्यक वातावरण बनाउन नसकेको आरोप लागेको छ । नेकपा एमालेले त वर्तमान सरकारको नेतृत्वमा चुनाव हुनै नसक्ने घोषणा गरिसकेको छ । उता नेपाली कांग्रेसले पनि अहिलेकै अवस्थामा चुनाव हुने सम्भावना कमजोर रहेको उल्लेख गरेको छ । यदि निष्पक्ष चुनावको वातावरण बनेमा सहभागी हुने रणनीतिमा कांग्रेस छ । उता नेकपा माओवादी केन्द्रले भने चुनावमा भाग लिने निर्णय गरिसकेको छ । आन्तरिक विवादमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रुपमा केही बोलेको छैन । तर उसले पनि चुनावमा जान सकिने संकेत गरेको छ ।
उनै माओवादी र एमाले हुँदै अहिले आमजनता पार्टी निर्माण गरेका प्रभु साहले पछिल्लो समय तराई-मधेसमा राम्रो आधार बनाइरहेका छन् । यद्यपि, उनले काठमाडौं केन्द्रित हुँदै कवाडी व्यवसायीको पक्षमा र भन्सार महसुल लगायत विषयमा पनि आन्दोलन गर्दै आएका छन् । जेन-जीको उथलपुथलपछिको राजनीतिक घटनाक्रमलाई लिएर उनी अहिले पर्ख र हेरको अवस्थामा छ । अहिलेको विषयलाई आमजनता पार्टीको दृष्टिकोण के हो ? जेन-जी पुस्ताका युवाको आन्दोलन र त्यसपछिको समसामयिक राजनीतिक विषयमा अध्यक्ष साहको धारणा के हो ? यीसहितका विषयमा खबरहबले साहसँग कुराकानी गरेको छ ।
जेन-जी पुस्ताले गरेको आन्दोलनलाई तपाईंले कसरी हेर्नुभएको छ ?
जेन-जी आन्दोलनलाई यसको पृष्ठभूमि र यसको अन्तिम भागलाई जोडेर हेर्नुपर्ने हुन्छ । हाम्रो पार्टीले २ वर्ष अगाडि भृकुटीमण्डपमा प्रदर्शन गर्दै दलतन्त्र र दलहरूको लुटतन्त्रविरुद्ध नेपालमा तेस्रो जनआन्दोलनको आवश्यकता रहेको भनेको थियो । हामीले २ वर्षदेखि त्यसैलाई लिएर निरन्तर आन्दोलन गर्दै आएका छौँ ।
हामीले के बुझेका थियौँ भने नेपालको जुन प्रणाली छ, यसबाट मान्छेमा पैदा भएको उकुसमुकुस विस्फोट हुन्छ । हामीले पहिले नै यो कुराको आँकलन गरेका थियौँ । त्यसमा काम गरिरहेका थियौँ । त्यही संघर्षको आधारमा जागृत जनचेतनाको बलमा जेन-जीहरूले बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलन गरे ।
पहिलो दिन (भदौ २३ गते) शुद्ध जेन-जीहरूको आन्दोलन हो । तर सरकारले अवोध बच्चाहरूको हत्या गरिसकेपछि भोलिपल्टको आन्दोलनमा विद्रोह भयो । त्यो जनताको आन्दोलन हो, जनविद्रोह हो । यो जनविद्रोहमा केपी शर्मा ओली र शेरबहादुर देउवाको अनैतिक गठबन्धनबाहेक कांग्रेस-एमालेकै इतर पक्ष पनि सहभागी थियो । यसलाई केवल जेन-जी, जेन-जीमा पनि कुनै संस्थातिर लगिदिनु भयो भने यो गलत भइरहेको छ भन्ने हामीलाई लाग्छ, किनकी यो जनविद्रोह हो । त्यसैले जनविद्रोकै रूपमा यसको परिभाषा हुनुपर्छ, सम्बोधन हुनुपर्छ ।
तर, तत्कालीन सरकारका प्रधानमन्त्रीले त यो योजनाबद्ध हो, यसमा वैदेशिक शक्तिको हात छ भनेर टिप्पणी पनि गर्नुभएको छ नि ?
यदि यसमा वैदेशिक शक्तिको हात छ भने यसको जिम्मेवारी पनि यिनै नेताले लिनुपर्छ । जुनबेला संविधान बनिरहेको थियो, विदेशीलाई सिधै नागरिकता प्रदान गरियो, दुई देशको नागरिकता प्रावधान दुनियाँमा कहीँ छैन । त्यो पनि भारत र चीनको होइन, सात समुद्रपार अमेरिकीले नेपालको नागरिकता लिने । विदेशीलाई नेपालको जिम्मेवारी दिने जुन गल्ती भयो, एकपटक पश्चाताप गर्नुपर्छ कि पर्दैन ? त्यो पनि साम्राज्यवादी देशको नागरिकलाई नागरिकता दिने कुराको जस्टिफाई जरूरी छ ।
नेपालमा जति पनि शासक र नेता छन्, तिनका प्रिय वस्तु सन्तान र सम्पत्ति विदेशमा छन् । जब शासकका सन्तान र सम्पत्ति विदेशमा भएपछि उसले नेपालको लागि सोच्छ कि विदेशको लागि सोच्छ ? गरिबहरूले मात्रै विदेशमा कमाएर नेपालमा ल्याएका छन् । जति पनि ठूलाबडा छन्, उनीहरूले नेपालबाट विदेश लगिरहेका छन् । जसको समस्या भनेकै वर्तमान संविधान हो ।
आफ्नो गल्तीमा आफूतिर हेर्नुको सट्टा अन्यत्र देखाउने ? नेपालमा दलहरूको भ्रष्टाचार छैन ? जहाँ सरकार त्यहाँ भ्रष्टाचार छ । सडकमा आएका सबै नेपाली जनताले विदेशीबाट डलर खाएर खए त ? यो वाहियात बकवासबाहेक के हुन्छ ?
नेपालको तरल अवस्थामा अरूले आफ्नो स्वार्थ देखाउन सक्छन्, धमिलो पानीमा माछा पनि मार्न सक्छन्, तर, मुख्य त्यो होइन । आत्मगत पक्ष, सरकार र नेताहरू मुख्य हुन् । सबै जिम्मेवारी सरकार र तत्कालीन ठूला दलले लिनुपर्छ ।
तपाईं लगायत अन्य अन्य केही दल र नेताहरूले पनि सरकारको कार्यशैली र भ्रष्टाचारको त विरोध गरेका थिए । तर के तपाईंलाई यो स्तरको आन्दोलन वा विद्रोह हुन्छ भन्ने लागेको थियो ?
आजभन्दा २ वर्ष अगाडि हाम्रो पार्टीको ठूलो समारोहबीचमा तेस्रो जनआन्दोलन हुन्छ भनेका थियौँ । हामीले सुरुदेखि भन्दै आएका थियौँ, यो संविधानले देशलाई डुबाउँछ । यी नेताहरूले कु-कर्म गरे भन्दै आएको र लड्दै आएको भन्नेमा म पनि पर्छु । मेरो दस्तावेज पढ्नुहुन्छ भने देशमा ठूलो आँधी तुफान आउँदैछ भनेर लेखेका छौँ । त्यसैले, हामीलाई देशमा एउटा उथलपुथल आउँदैछ भन्ने अनुमान थियो ।

अनुमान गरेको भनिरहँदा यत्रो विद्रोहको नेतृत्व तपाईंको पार्टी लगायत असन्तुष्ट राजनीतिक शक्तिले गर्न खोजेको वा गर्नसकेको देखिएन नि ?
यो त जेन-जीले गरेको हो नि । खासगरी सामाजिक सञ्जाल खोलाउन गरेको आन्दोलन हो । कुनै राजनैतिक आन्दोलन होइन । पहिला यसरी बुझ्नुपर्छ । राजनीतिक सत्ता उलटपुलट भयो तर, जसले सुरू गरे, उनीहरूको सिधा माग थियो, सामाजिक सञ्जाल खोल्नुपर्छ र भ्रष्टाचार रोक्नुपर्छ । हाम्रो तेस्रो जनआन्दोलन भनेको दलतन्त्रको विरोध हो, प्रणाली परिवर्तनको हो, अलिकति फरक छ भन्ने कुरा बुझ्नुपर्छ ।
यो लडाईँ दुनियाँलाई चकित पार्नेगरी भयो तर, पूर्ण हुन सकेन । अहिले त हराएजस्तो भयो, सफल वा असफल के भयो, अन्यौल बनाइदियो अहिलेको परिवेशले । किनभने यसको नेतृत्व थिएन । सू-विचार सहितको आन्दोलन थिएन, त्यसैले यो भयो ।
अहिलेको व्यवस्थाभित्रको भ्रष्टाचार र दलतन्त्रको विरोधमा भएकाले यो आन्दोलनलाई लम्ब्याउन सकिन्थ्यो होला नि ? तपाईंहरूले त्यसो गर्न त सक्नुभएन त ?
हामीले तीनवटा विषयको उठान गरेर पार्टी निर्माण गरेका हौँ । एउटा राष्ट्रियताको विषय छ । नेपालमा एउटा भगौडा दलाल वर्ग छ, जसले देशलाई खोक्रो बनाउँदैछ । दोस्रो, नेपालमा दलतन्त्र छ, लोकतन्त्र छैन । दलहरूको हालिमुहाली छ, यिनीहरू अघोषित राजा हुन् । नेपालमा कर आतंक छ, अरू देशमा जीडीपीको २० प्रतिशत कर हुन्छ, नेपालमा ३४ प्रतिशत छ । यो विषयमा हामी निरन्तर लडिराखेका छौँ । २ वर्षमा ६ महिना त हामी काठमाडौंमै लडिरहेका छौँ ।
तेस्रो, स्थिरताको विषय हो । संविधानमा नै समस्या छ । शासकीय स्वरूप र निर्वाचन प्रणालीमा समस्या छ । भ्रष्टाचार, अस्थिरता, वैदेशिक हस्तक्षेप, अर्थतन्त्रको कमजोरी र महँगाईको कारण पनि यहि संविधान बनेको छ । यो संवैधानिक व्यवस्था राखेर कहाँ देश उँभो लाग्छ भनेर हामी लड्दै आएका छौं । यो जेनजी भनेकै आम जनता पार्टीले गरेको संघर्षको आधार हो । त्यसकै आधारमा जेनजीहरू अगाडि आए । खाली जेनजी लडेका होइनन् नि बाजे, बुवा सबै लडेका हुन् ।
२४ गतेको लडाइँ खाली जेन-जीको होइन, जेन-जीको हत्याविरुद्ध आमजनताको प्रदर्शन हो । यद्यपि, त्यसमा एमालेको पनि ठूलो तप्का सहभागी थियो भनेर बुझ्न जरूरी छ । तर, यसमा साना बच्चाबच्ची मात्रै सहभागी थिए भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ । यसको सम्बोधन सही ढंगले हुन जरूरी छ । ओली र देउवाको अपवित्र गठबन्धनको केही पक्षबाहेक अरू कांग्रे-एमालेका पनि सहभागी भए भन्नुपर्थ्यो ।
अहिलेको सरकार चुनावका लागि हो, चुनावमा भाग लिनेबीचमा विश्वासको वातावरण बनाउनु पर्छ कि पर्दैन ? त्यो मुख्य कुरा हो भन्ने लाग्छ तर, यो मुख्य कुरा भइरहेको छैन । चुनाव हुन्छ भन्ने कुरामा आम जनता पनि ढुक्क हुनुपर्छ । चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा हुन्छ भन्ने कुरा पनि ढुक्क छैन ।
प्रहरीको मनोबल गिरेको छ, हराएको हतियार फिर्ता भइरहेको छैन । कम्तीमा ६ हजार कैदीहरू बाहिर छन् । जनता भयभित छन्, आफ्नो खबरदारी आफैँ गरिरहेका छन् । यो सुरक्षा चुनौतीमा भयरहित चुनाव हुन्छ कि हुँदैन ? प्रधानमन्त्रीले अन्य दलसँग कुराको बल्ल सुरुवात हुँदैछ । देशले चाहेको शान्तिपूर्ण चुनाव हो, हामीले सरकारले चुनाव गराओस भन्ने चाहन्छौँ ।

जेन-जी आन्दोलनले तरल अवस्था सिर्जना गर्यो, तपाईंहरूलाई आफ्नो अनुकूलमा मुलुक अघि बढाउन पनि त यो अनुकुल समय हो नि, होइन र ?
जुन दिन जनता सडकमा आए, संविधान र प्रणाली केही पनि स्वीकार गरेनन् । शासन प्रशासनको कसैले वास्ता गरेन, नेतृत्वको पनि इज्जत रहेन । यसको मतलब अन्तरिम संविधान बन्नुपर्थ्यो, अन्तरिम सरकार बन्नुपर्थ्यो, त्यहाँ बेइमानी भयो, हाइज्याक भयो र अहिले कुनै न कुनै अदृश्य शक्तिले काम गरिरहेको छ । यो सरकार संदिग्ध गतिविधिमा संलग्न छ । गलत ट्रयाकमा गयो । यसबाट ट्रयाकमा ल्याउन हामी फेरि पुरानो ठाउँमा त जान सकिँदैन । यहीँबाट सच्याउन सोच्नुपर्ने बेला भएको छ।
मैले त त्यतिबेला नै जेन-जी आन्दोलनप्रति ठूलो घात भयो भनेको थिएँ । जेन-जी पुस्ता सम्मानित हुने वा अपमानित हुने भन्ने कुरा यसको सफलता-असफलतासँग जोडिएको छ । यदि हामी आन्दोलनका पक्षधर छौँ भने यो सफल हुनुपर्छ । सामान्य सुधारका लागि नभएर प्रणालीमै हेरफेरका लागि मानिसहरूले आन्दोलन गरेका थिए । अहिले पनि प्रणाली सुधार नगरी केही हुनेवाला छैन ।
तर, अहिले आन्दोलनबाट जुन अवस्थामा मुलुक गयो, यसलाई सही बाटोमा ल्याउन चुनावबाहेक अरु उपाय छैन, यसलाई सही ढंगले बुझ्न जरूरी छ ।
संसद पुनर्स्थापना गरेर पनि ‘करेक्सन’ गर्न सकिन्छ भनेर कांग्रेस–एमालेले भनेका छन् नि ?
यो बकवास कुरा हो । अब हामी पछाडि फर्किन हुँदैन । पछाडि फर्किने भनेको अझै समस्यालाई गिजोल्ने हो । यो सरकार कसले जन्मायो ? बालेनको प्रस्तावमा नक्कली आइडीबाट भोटिङ गराइयो, त्यसपछि केपीजीको सिफारिस र सहमतिमा भएको हो । जसलाई जनताले तिरस्कार गर्यो, उसैको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो भनेपछि यो कस्तो बिडम्बना ? यी दुवै जनाले चुनाव चाहिरहेका छैनन् । देशको निकास पनि चाहेका छैनन् । नत्र चुनाव नै गराउने भए अहिलेसम्म वातावरण बनाउन पर्दैनथ्यो ?
प्रधानमन्त्री बनाउन मिल्ने, चुनाव गराउन वातावरणका लागि भूमिका खेल्न नहुने भन्ने हुन्छ । यसलाई लम्ब्याएर फेरि कसैको स्वार्थ सिद्धि गर्न त खोजिएको छैन ? नेपाली जनतालाई फेरि मुर्ख बनाउने काम त हुँदैन ? हामी सचेत हुन जरूरी छ ।
तपाईंले भनेको जस्तै चुनाव हुने हो भने ठूलादेखि साना दललाई जेन-जी आन्दोलनले छायामा पारिदिएको देखिन्छ । यस्तो अवस्थामा चुनावी दृश्य कस्तो देख्नुभएको छ ?
कुरा पुस्ताको होइन, कुरा सही र गलतको हो । कुनै जेन-जी विरोधमा छ त, कुनै जेन-जी सर्पोटमा छ, कुरा जेन-जीको होइन । कयौँ पाकालाई पनि जेन-जीले साथ दिएका छन् । कयौँ जेन-जी उमेरका विरोधमा छन्, कतिपय ओलीको वरिपरि पनि घुमिरहेका छन् । त्यसो हुँदा कुनै एक कित्तामा लगेर भ्रमित गर्नु हुँदैन ।
सत्य र असत्यकै लडाइँ हो, सही र गलतकै लडाइँ हो । यसलाई कुनै पार्टी र पार्टी विशेषको बनाउन कोसिस गरे पनि त्यस्तो यथार्थ होइन । पार्टीमा पनि खराब र राम्रा छन्, बाहिर पनि खराब र राम्रा छन् । आमजनताले सत्यको पक्षमा साथ दिएको त नाङ्गो आँखाले देखिएको छ । यसलाई ठिक ढंगले बुझाउन जरूरी छ ।
यसलाई पुस्ताको लडाइँ भन्दियो भने संकुचित हुन्छ । पुस्तामा नालायक छैनन र ? अपराधी छैनन् र ? राम्रा मान्छे युवामा पनि छन् र पाकामा पनि छन् । राम्रो भनेकै देशलाई राम्रो चाहनेको जित हो भन्ने मैले बुझेको छु ।
अहिले जेन-जीले जितेको छ, नेताले हारेका छन् । जनताले जितेका छन्, भ्रष्टहरू हारेका छन् । दल हारेका छन्, देशले जितेको छ । हामीले बलिदान भन्यौँ तर, सरकारले शोक मनाइदियो । अहिले जेन-जीका ठेकेदारहरू आफैँ अलमलिए भनेपछि हामी त सत्यको पक्षमा लाग्छौँ ।
त्यसो हुँदा यो सरकारले दुईवटा काम गर्नुपर्छ । एउटा, परिवर्तनको दिशामै अगाडि बढेर चुनाव गराउनुपर्छ । अहिलेबाटै चुनावी वातावरण बनाउनुपर्छ । दोस्रो, यो भन्दा अगाडिको सरकारले जुन कु-कर्म गर्यो, अत्याचार गर्यो, त्यसलाई सच्याउनुपर्थ्यो । यो सरकारले त त्यो भन्दा पनि गल्ती गर्यो । त्यतातिर तपाईं-हाम्रो ध्यान जानु जरूरी छ ।
चुनावका लागि खर्च कटौती भनेर करारका कर्मचारीको म्याद नथप्ने, त्यो पैसा ल्याउने भन्यो । खुद्रे योजना घटाउने भन्यो । तर, उनीहरूले के गरे ? दशैँ भत्ता खाए । दशैँ भत्ता १२ महिनाको काम गरेर १३ महिनाको तलब लिन मिल्छ कि मिल्दैन ? भत्ता काट्न सकिन्थ्यो नि । शोकको बेला दशैँ खर्च निकाल्नु पनि भयो, दिनु पनि भयो । खुद्रे योजना काट्ने कि अनावश्यक काट्ने हो ? खुद्रेमा पनि कुनै खराब छन्, कुनै राम्रा छन् । ठूला योजनामा पनि आवश्यक र अनावश्यक छन् । पैसाको परिमाणले गलत र सही पत्ता लाग्छ ? यो भन्दा फन्टुस कुरा के हुन्छ ?
जागिरबाट हटाउन खोज्दा करारका कर्मचारी पर्छन् । कार्यालयमा बढी करारका कर्मचारीले काम गर्छन् कि स्थायीले ? भ्रष्टाचार ठूला स्थायी कर्मचारीले गर्छन् कि करारका सहयोगीले गर्छन् ? यो भन्दा अगाडिको सरकारले श्रेणीविहीन करारका कर्मचारीलाई दरबन्दीबाट हटाइदियो, लोकसेवा अहिले नायब सुब्बाभन्दा माथि मात्रै आवेदन खुल्छ । देउवा र ओलीले दरबन्दीबाट हटाइदिए, सुशीलाले जागिरबाटै हटाइदिइन् । यस्तो अत्याचार पनि हुन्छ ? करारका कर्मचारी मान्छे होइनन् ? जो पनि करार कर्मचारीमाथि यसरी आघात गर्ने ? त्यसैले यो सरकारले उल्टो यात्रा लियो ।

यहाँनेर तपाईंप्रति एउटा प्रश्न उठेको छ । तपाईं पनि संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेको व्यक्ति । अहिलेसम्म देउवा, ओली र प्रचण्डले ल्याएका बजेट संघीयताविरोधी थिए । गाउँ र वडाका साना आयोजना त प्रदेश वा स्थानीय तहले सञ्चालन गर्ने होला नि ? त्यो दृष्टिकोणबाट हेर्दा खुद्रे योजना कटौतीलाई समर्थन गर्नुपर्ने होइन र ?
त्यसो भए यो सरकारले संविधानअनुसार मन्त्रालय खारेज गरोस् न, त्यो आँट गर्छ ? धेरैजसो देशमा यति धेरै मन्त्रालय हुँदैन । मन्त्रालय २२ बनाए पनि विभाग घटाइएको छैन । पहिला ४५ मन्त्रालय थिए, अहिले पनि सबै मन्त्रालय काठमाडौंमै छन् । मैले संघीयताको कोणबाट भनेको होइन, योजना आवश्यक र अनावश्यक वा उचित र अनुचितको आधारमा हट्नुपर्थ्यो, खुद्रे र साना भनेर होइन ।
गरिबलाई हटाउने होइन, भ्रष्टाचारीलाई हटाएर देखाऊ न । भ्रष्टाचारीलाई पोसेर हिँडिरहेको छ, अनि गरिब ड्राइभरलाई हटाउँछ सरकार । अनि बिजुलीको पैसा नदेऊ भन्छ, सिँचाइका लागि किसानले नहर पाएका छैनन् । कृषि मिटरको लागि जुन स्थानीय तह वा प्रदेश सरकारले पैसा दिन्थे कसैलाई नदेऊ भन्छ । तिम्रो एसीको पैसा कसले तिर्छ ? सुशीला कार्कीले चलाएको एसीको पैसा हामीले तिर्दिनुपर्ने तर, किसानको सिँचाइको पैसा तिर्न नहुने । यस्तो कुकर्म गर्न मिल्छ ?
यतिमात्रै होइन, संविधानले कोहीपनि भूमिहीन नेपाली हुँदैन भनेको छ, सरकारले आज दिन्छु, भोलि दिन्छु भनेर १० वर्ष झुलाउने काम गर्यो । नेपालमा ९० हजार भूमिहीन सुकुम्बासी छन्, तिनलाई जग्गा दिन कति वर्ष लाग्यो, १० वर्ष लाग्यो । त्यसलाई कार्यकर्ता भर्तीकेन्द्र बनाएर खाए । सुकुम्बासी आयोग भनेर बोर्ड राखियो । यो सरकारले आयोग नै खारेज गरिदियो । कम्तीमा उसले बोर्ड त राखेको थियो । केपी ओलीले नियुक्ति गरेको मान्छे खारेज गर्नुपर्दथ्यो । आयोग नै खारेज गरेर सुशीला कार्कीको सरकारले गरेको यो अपराध होइन र ? यो सरकार त केपीको पनि गुरू निस्क्यो नि !
खारेजीमा परेको भूमि आयोगले भूमिसम्बन्धी समस्याको समाधान गर्न सक्थ्यो र ?
सरकारले जुन दिन भूमिसम्बन्धी विधेयक ल्यायो, मैले स्पष्ट भनेको थिएँ, यो भू–माफियाका लागि हो, देशका प्राकृतिक सम्पदालाई नोक्सान गर्छन्, भूमि लुट्ने र बिक्री गर्ने काम गर्छन् । नेपालमा दुई तीनथरी मान्छे छन् । पहिलो, जोसँग भूमि छैन, तिनीहरूको संख्या ८०/९० हजार छ । अर्को, अव्यवस्थित बसोबासी छन्, १४ लाखले निवेदन दिएका छन् । तेस्रो, हदबन्दीभन्दा बढी जग्गा लिएका कम्पनी छन् । जसले चियाबगानका लागि अनुमति लिए, अब हाउजिङ बनाउँछु भन्नेवाला छन् ।
अव्यवस्थितका नाममा ठूला–ठूला गतिविधि गर्नेहरू यहाँनेर घुसपैठ गरे । जो खराब छन् तिनलाई पो रोक्ने होला नि । भूमिहीनलाई जग्गा दिने कुरा त जायज छ । हदबन्दीलाई रोक, लुटलाई रोक, प्राकृतिक सम्पत्तिको रक्षा गर । तर, भूमिहीनलाई जग्गा देऊ । भूमिहीनलाई जग्गा दिन त कुनै कानुनी व्यवस्थाको जरूरी छैन, पुरानैले पुग्छ । नयाँ नाटक गर्न नयाँ कानुन ल्याएको हो ओलीले । ओलीले ल्याएको विधेयकविरुद्ध हामी उभिएका हौँ ।
उसको नियत भू–माफियालाई पाल्नु थियो, यो सरकारले भू–माफियालाई पाल्ने टिमलाई हटाओस् । नयाँ टीओआरका साथ नयाँ टिम बनाओस्, आयोग नै खारेज गर्ने कुरा अर्को अत्याचार हो । उसले त १० जना चोरलाई दिन्छु भने पनि २ जना साधुलाई दिन्छु भनेको त थियो, तपाईंले त चोरलाई पनि दिन्न, साधुलाई पनि दिन्न भन्दिनु भयो । भूमिहीन सुकुम्बासीले जग्गा पाउनु पर्छ कि पर्दैन ?
भर्खरै मधेसमा सरकार फेरियो, यसले दिन खोजेको सन्देश के हो ?
दुई दलको अत्याचारबाट मान्छे आजित भइसकेपछि मधेशमा नयाँ सम्भावना छ भन्ने संकेत गरेको छ । अब अरू प्रदेशले पनि सिको गर्न जरूरी छ । देशले बताइदियो अपवित्र गठबन्धनको काम छैन भनेर । किनकी कुनै पनि एमालेको सांसदले कांग्रेससँग मिल्छौँ भनेर भोट मागेको होइन । कुनै पनि कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउँछु भनेको भोट मागेका थिएनन् ।
अहिले पनि प्रदेशहरूमा अनैतिक सरकार छन्, तिनको पनि बहिर्गमन जरूरी छ । हामीले भनेको के हो भने सबै प्रदेश सरकार विघटन गर, नयाँ जनादेशमा नयाँ सरकार आउँछ । मधेशले यी दुई अप्राकृतिक गठबन्धन गर्नेहरूविरुद्ध एउटा परिणाम देखायो । मैले यसलाई सकारात्मक रूपमा लिएको छु ।
जेन-जी आन्दोलपछि केहीले नयाँ पार्टी खोल्ने प्रक्रिया थालेका छन् । के अब नयाँ दलहरूको विस्तार हुनसक्ने अनुमान गर्न सकिन्छ ?
नेपाली जनता यतिबेला कहाँनेर सचेत हुन जरूरी छ भने अहिले वैदेशिक हस्तक्षेप हाम्रो लागि प्रमुख समस्या हो । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अस्तित्वकै समस्या मुख्य भएर आयो । राष्ट्रियताको लडाइँ मुख्य हो । दलाल हाबी हुँदैछन्, विदेशी शक्तिकेन्द्र यहाँ अड्डा बनाउँदैछन् । यो कुरालाई हामीले नजरअन्दाज गरे सबै राजनीति ध्वस्त हुन्छ ।
ठूलाबडाले त आफ्नो ठाउँ अमेरिकामा बनाइसके, अष्ट्रेलियामा बनाइसके, यता केही भए उता गइहाल्छन् । उनका छोराछोरी-बालबच्चा सबै उतै छन् । यहाँ लुट्नलाई थियो, नसकेपछि उता गइहाल्छन् ।
शासक र शोषकको लागि त समस्या नै भएन नि, नेपाली जनताका लागि समस्या हो । त्यसैले अहिलेको मुख्य समस्या वैदेशिक हस्तक्षेप हो, भगौडा दलाल प्रवृत्ति मुख्य समस्या हो । राष्ट्रियताको लडाइँलाई मुख्य बनाएर हिँड्नुपर्छ भन्ने लाग्छ मलाई ।
तर, जनताले त तपाईंले भनेजस्तो बुझ्दैनन् नि जनताले । प्रत्यक्ष देखेको भ्रष्टाचार र भोगेको बेरोजगार बुझ्छन् । अनि तत्कालीन नारामै आकर्षित हुन्छन् नि !

गरिबका छोराछोरी मरेर नेपालमा पैसा ल्याइरहेको छ, त्यही गाउँका महलवाला भएभरको पैसा लुकाएर विदेश लगिरहेका छन् । यो कुरा दुनियाँले बुझेको छैन र ? पहिलेका राजा र जमिनदारले गाउँमै भकारी राख्थे, गाउँमै मोज गर्थे, गाउँमा नै शासन गर्थे, कम्तीमा विदेशमा लगेर थुपार्दैनथे । सबैभन्दा प्रिय वस्तु छोराछोरी र सम्पत्ति होला नि, आजका शासकका सन्तान र सम्पत्ति विदेशमा लगिएको छ । जनताले चिनेका छैनन् यति कुरा ?
जसका छोराछोरी मरीमरी विदेशबाट पैसा ल्याउँछन्, उनीहरूको मूल्य छैन । जसका छोराछोरी र सम्पत्ति विदेशमा छन्, उसकै यहाँ हालीमुहाली छ, यो नै आजको मुख्य समस्या हो ।
तपाईंको पार्टीको मुख्य आधार मधेश नै हो ? मधेशमा पनि धेरै दल छन् । अबको चुनावसम्म जान तपाईंको तयारी के छ ?
मैले के भन्छु भने हाम्रो पार्टीले काठमाडौंको शासनको सुधारको लागि नै लड्दै आएको छ । काठमाडौं नै हाम्रो आधार हो । मधेशमा बरू हामीले धेरै संघर्ष गरेका छैनौँ । तीन वर्ष भइसक्यो, लगातार एक–एक दिन जोड्ने हो भने तीन महिना हामी सडकमा छौं । नेपालमा कुशल र इमान्दार नेताको खाँचो छ, त्यसैले हामी अगाडि आएका हौं । अहिले दुई प्रकारको नेतृत्व छ, एउटा अनाडी छ, जसले बुझेकै छैन । अर्को बेइमान छ, जसले देशलाई बर्बाद पारिसक्यो ।
यी दुईवटैबाट जोगिएर हामीलाई कुशल र अनुभवी मान्छे चाहिएको छ, जो इमान्दार र अनुभवी दुवै होस् । हामी जनतालाई नै मालिक बनाउनुपर्छ भनेर नयाँ बाटो हिँडिरहेको देख्न सक्नुहुन्छ । मधेशमा मात्रै नभएर नेपालमै धेरै दल छन् । धेरै दलले केही अर्थ राख्दैन, सही र गलतले मुख्य अर्थ राख्छ ।
अन्त्यमा, तपाईंले भनेजस्तै अन्तरिम सरकार र मुख्य ठूला दलले नै चुनावका लागि तयार नहुँदा के फेरि मुलुक अर्को दुर्घटनामा पर्ने देख्नुहुन्छ ?
यो सरकारले चुनाव गराउँछ जस्तो मलाई लागेको छैन । यो सरकार बन्दा नै उसले कम्तीमा दुईवटा तप्कालाई लिनुपर्दथ्यो । आन्दोलनमा को–को सहयोगी शक्ति थिए ? आन्दोलनकारी जेन-जी नै हुन् । आन्दोलनको अगुवाई जेन-जीले नै गरेको थियो । तर, सहयोगी शक्ति को–को भनेर दायरा बढाएर विश्वासमा लिनुपर्दथ्यो ।
दोस्रो भनेको सम्वाद र सहमतिकै वातावरण बनाउनु पर्दथ्यो, त्यता गए जस्तो देखिँदैन । अहिले पनि बालुवाटारमा विदेशी कूटनीतिज्ञका गाडी रातको समयमा आइरहेका छन् । अस्वभाविक गतिविधि भएको छ, राम्रो मान्छे त छिरेकै छैन । सिंहदरबारमै पनि आउने साधारण मान्छेको ८० प्रतिशत हिस्सा घट्यो । सरकारमा जनताको पहुँच घट्यो, बरु बढ्नुपर्थ्यो । सिन्डिकेटको सरकार भन्दा त यो सरकार व्यापक हुनपर्थ्यो, अझ साझा हुनुपर्थ्यो ।
२७ घण्टामा दुनियाँलाई नेपालको जेन-जीले हल्लाइदिए, जुन विश्व इतिहासमा भएको रेकर्ड हो । यसको संरक्षण सरकारले गर्नुपर्छ कि पर्दैन ? कसैको पश्चातापको विषय होला, कसैको गौरवको विषय होला तर, इतिहासको पुँजी हो यो । यसको संग्रह गर्नेभन्दा मेटाउनेतिर सरकारको भूमिका देखियो । सबैले भनेका छन् कि सिंहदरबार र अदालत जलाउन आपराधिक व्यक्तिको हात छ । यसमा केमिकलको प्रयोग भएको छ, प्रज्वलनशील वस्तुको प्रयोग भएको छ, यसको जाँच गर्नुपर्छ कि पर्दैन ? जाँच नगर्दै पोतिदिने ? यो संदिग्ध होइन ? तपाईंले प्रमाण किन पोत्नुभयो ? कुलमान घिसिङ र रामेश्वर खनालले पोत्ने काम गरेका छन्, संदिग्ध गतविधिमा पनि नायक हुन् उनीहरू ।
यही सरकारको गतिविधिले देशमा दुर्घटनाको सम्भावना बढाउँदै गएको छ । मलाई यो सरकारले यो संक्रमणलाई पार लगाउला जस्तो लागेको छैन । यसलाई म देशको जिम्मेवारीमा छु, मैले यसलाई सुरक्षति ल्यान्डिङ गर्नुपर्छ, सफल बनाउनुपर्छ भन्ने चिन्ता छैन । काम सफल गर्ने हो भने न जेन-जी पुस्ताको सम्मान हुन्छ । यो सरकार असफलताको बाटोमा हिँडिरहेको छ । केपी ओलीले विदेशीलाई देखाएजस्तै यो सरकारले पनि अरूलाई देखाउन बेर छैन ।
प्रतिक्रिया