‘जेलमा बस्दाको दु:खबाहेक एमाले निर्माणमा केपी ओलीको कुनै योगदान छैन’ « Khabarhub

अन्तर्वार्ता

‘जेलमा बस्दाको दु:खबाहेक एमाले निर्माणमा केपी ओलीको कुनै योगदान छैन’

पार्टी र देशलाई यो संकटबाट निकाल्न नयाँ नेतृत्व चाहिन्छ



काठमाडौं– साधारण साडी र सामान्य कोट लगाएर हिँड्ने अष्टलक्ष्मी शाक्य नेकपा एमालेकी उपाध्यक्ष छिन् । सादा जीवनशैली अपनाउने उनी नेकपा विघटन हुन लाग्दा बागमती प्रदेशकी मुख्यमन्त्री बनिन् । उनी नेपालमा पहिलो महिला मुख्यमन्त्री पनि हुन् । उनले राजनीतिमै त्याग, तपस्या, बलिदान र जीवन समर्पण गरेकी छन् । पछिल्लो समय खर्चिलो निर्वाचन प्रणालीका कारण २०७९ को निर्वाचनमा उम्मेदवारी नै दिइनन् । खर्च अभावले नसकेर अध्यक्ष केपी शर्मा ओलीसँग टिकट नै नमागेको उनी बताउँछिन् ।

एमाले आफ्नो पार्टीको नीति र सिद्धान्तमा चल्नुपर्ने आवाज शाक्यले उठाइरहिन् । मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादलाई टेकेर एमाले अगाडि नबढेकामा उनले आवाज उठाइरहिन् । यति मात्रै होइन, ओलीले पार्टीलाई निरन्तर ओरालो लगेको र दुःख गरेका नेतालाई पाखा लगाउँदै आफूमात्रै सर्वेसर्वा भएको कुरामा उनी असन्तुष्ट छिन् । शाक्यले केही समयअघिको सचिवालय बैठकमा ओलीको लिखित राजीनामा पनि मागिन् । तर ओली टसमस भएनन् । बरु उनी पार्टीमा आफ्नो विकल्प नरहेको जिकिरसहित राजीनामा माग्नेलाई नै छाडेर जाँदा हुने जवाफ दिए ।

ओलीको यही अडानबीचमा हामीले एमालेको आगामी एघारौँ महाधिवेशनबारे शाक्यसँग संवाद गरेका छौँ । संवादका क्रममा शाक्यले एघारौँ महाधिवेशनमा अध्यक्ष ओलीलाई परास्त गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई साथ दिने घोषणा गरिन् । जेन-जी आन्दोलनका दोषी ओली रहेको भन्दै उनले जिम्मेवार ठाउँमा रहेका नेताले पन्छिन नमिल्ने प्रस्ट पारिन् । पटक-पटक ओलीलाई हेरे पनि निरन्तर क्षति व्यहोर्नुपरेको उनको तर्क छ । अब उनको विकल्प खोज्नुपर्ने बेला आएको शाक्य बताउँछिन् ।

‘पार्टीको शिर गिरेको छ, जुन तरिकाले एमाले बलिदान र त्यागका साथ आएको थियो, त्यो पटक्कै जोगाउन सकिएन’, शाक्यले खबरहबलाई भनिन्, ‘मुलुकलाई ख्यालठट्टाका रूपमा एउटा व्यक्ति र स्वार्थमा चलाइँदा सुरक्षाको पनि गम्भीर प्रश्न उठेको छ, कतिबेला के हुन्छ थाहा छैन ? हामीले नेतृत्वको यही सनक तोड्न पनि ईश्वर कमरेडलाई अगाडि सारेका हौँ ।

शाक्य अब भदौ २७ गते विघटित प्रतिनिधि सभा पुनर्स्थापनातिर भन्दा निर्वाचन केन्द्रित हुनुपर्ने बताउँछिन् । दुःख गरेर बनाएको पार्टी अहिले जटिल अवस्थामा पुगेकोमा पीडा भएको उनी बताउँछिन् ।

यति बोल्दा ओलीले ठेगान लगाउलान् भन्ने उनमा डर छैन । बागमती प्रदेशको मुख्यमन्त्री हुन आफू अघि सर्दा ओलीले डोरमणि पौडेलका नाममा आफूलाई गरेको अपमान उनले भुलेकी छैनन् । ओलीले आफूविरुद्ध लाग्नेलाई पार्टीबाट निकालेका उदाहरण छन् नि भन्ने प्रश्नमा भन्छिन्, ‘लोकतन्त्रमा पख्लास् तँलाई सिद्ध्याइदिन्छु भन्ने कुरा सधैँ चल्दैन । कोही डराएर भाग्दैन । विचारमा लागेको मान्छे डराउँदैन । सही र गलत छलफल गरेर परिणाम भोग्न तयार हुन्छन् तर भाग्दैनन् ।’

यति मात्रै होइन, शाक्य महाधिवेशन प्रतिनिधिलाई एमाले र देश बचाउन विद्रोह गर्न आग्रह गर्छिन् । ओलीले पार्टी र देशलाई नै पछाडि धकेलेकाले यसबाट जोगाउन प्रतिनिधिहरूको ठूलो भूमिका रहेको उनको तर्क छ।

एघारौँ महाधिवेशनमा एमाले कसरी प्रस्तुत हुन्छ ? महाधिवेशनमा ओली र पोखरेलको छुट्टै प्यानल बन्छ ? के साँच्चै एमाले महाधिवेशनबाट एमाले नयाँ नेतृत्व लिएर निर्वाचनमा जान्छ ? भदौ २३ र २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री ओली कतिको दोषी छन् ? लगायतका प्रश्नहरूको जवाफ शाक्यसँग खोजेका छौँ । कुराकानीको सम्पादित अंश :

एमालेको ११ औैं महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने भएछ होइन ?

हो । जनताको बहुदलीय जनवादले पनि स्वास्थ्य प्रतिस्पर्धा नै हुनुपर्छ भन्छ । प्रतिस्पर्धामा योग्य उम्मेदवारले भाग लिन पाउनुपर्छ । मापदण्ड पुगेको उम्मेदवारले भाग लिन पाउनुपर्छ । हामीले त अध्यक्षलाई मार्ग प्रशस्त गर्नुस् भनेकै थियौँ । जुन संकट र स्थिति देखा परेको छ, यो यहाँ प्रधानमन्त्री हुँदा पैदा भएको हो भन्यौँ । तपाईँले अवस्थाको ख्याल नपुर्‍याउँदा भएको हो । विशेष परिस्थितिको विश्लेषण गर्न सक्नुभएन । अनाहकमा स्कुले भाइबहिनीको ज्यान गयो । देशै जलेको छ । यो परिस्थितिको राम्रो विश्लेषण गर्नुपर्छ भनेर पहिले सचिवालयमा पनि छलफल गरेको हो । कुरा राखेको हो । अब पार्टी पुनःव्यवस्थित गर्नुपर्छ, नयाँ ढंगले जानुपर्छ । नवपुस्ताका माग नाजायज होइनन् । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर सामाजिक सञ्जाल बन्द गर्न नहुने हो । यो मागलाई पनि छलफलको विषय बनाउनुपर्छ । तर उहाँ माग सम्बोधन गर्नुभन्दा फरक बाटोमा जानुभयो ।

अध्यक्ष ओलीले मुलुकको नेतृत्व गर्दा रुढीवादी सोच नै हाबी भयो । हिजोको पञ्चायती निरङ्कुशतावादी सोच र धङधङी अहिले पनि बाँकी छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा नयाँ पुस्ता आइसकेपछि नयाँ ढंगले सोच्नुपर्छ भन्दा उहाँ टेर्नुभएन । पटक-पटक मार्ग प्रशस्त गर्नुभन्दा पनि पार लागेन । हाम्रो पार्टीमा नयाँ पुस्ता आइसक्दा पनि पुरानैले जिम्मेवार पाएका छैनन्, अवसर पाएका छैनन् । जहिल्यै एउटै अध्यक्ष, एउटै प्रधानमन्त्री भइरहनु ठिक होइन । हामीले कुरा उठाएको हो । आखिर हुने केही छैन र भएको पनि छैन । यसरी हुँदैन भनेकै हो । तर उहाँले टेर्नुभएन । बिहीबारको बैठकमा पनि उठ्छु, मबिना हुँदैन भन्नुभयो । त्यसपछि ईश्वर कमरेडले मैले उठ्ने तयारी गरेको छु भन्नुभयो । हामीले त अध्यक्षले अब म मार्गप्रशस्त गर्छु भन्नुहोला, स-सम्मान बिदा गरौँला भन्ने सोचेका थियौँ, तर भएन ।

ईश्वर पोखरेल उठ्दा पार्टीले नयाँ बाटो समात्ला त ?

ईश्वर कमरेड पनि को-के कालको मान्छे हो । यो पार्टी निर्माणमा उहाँको धेरै ठुलो भूमिका छ । दुःख गरेको, त्याग गरेको मान्छे हो । भूमिगत जीवन बिताउनु भएको छ । इतिहास हेर्ने हो भने उहाँका दुःख अनगिन्ती छन् । अध्यक्ष ओली १४ वर्ष जेल बस्नुभयो । दुःख कष्ट भयो होला । तर, पार्टी निमार्णमा ओलीको योगदान छैन, जति ईश्वर कमरेडको छ । सङ्गठन निमार्णमा दुःख-कष्ट गरेको अनुभव उहाँमा छैन । साँच्चै भन्दा दुःख गरेर पार्टी निर्माण गरेको ईश्वर कमरेडलाई पनि सम्मान गर्नुपर्छ नि । ईश्वर कमरेडपछि हामी थुप्रै छौँ । युवराज कमरेड, सुरेन्द्र कमरेड, विष्णु कमरेड आदि । ईश्वर कमरेडले घोषणा गरेपछि हामी ढुक्क छौँ ।



उसो भए यहाँहरूले ईश्वर पोखरेललाई साथ दिनुहुन्छ ?

हामीले ईश्वर कमरेडलाई साथ दिएका छौँ । अराजकता र बेथितिविरुद्धमा सशक्त र वैचारिक नेता चाहिन्छ । भिजन भएको नेता चाहिन्छ । यो सबै संकटलाई परास्त गर्ने दूरदर्शी र भिजन भएको नेता हामीले खोजेको हो । अहिले त्यही बाटोमा ईश्वर कमरेड हुनुहुन्छ ।

उसोभए एमालेमा ईश्वर र ओलीको टीमबीच प्रतिस्पर्धा हुन्छ ?

हाम्रो टीम बन्छ । हामीले सत्यको पक्षमा विचार गरेर साथ दिने निर्णय गरेका छौँ । यही अवस्थामा अगाडि बढ्यो भने मुलुक कहाँ पुग्छ ? तपाई हामी कहाँ पुग्छौँ ? हामीले बलिदान दिएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कहाँ पुग्छ ? ख्याल ठट्टाको कुरा होइन । मुलुक रहे हामी रहने हो । नेता रहेर हामी रहने होइन । कमरेड ओलीका धेरै गल्तीहरूले मुलुकलाई अप्ठ्यारो पारेको छ ।

तपाईंहरूको टीम तयार भयो ?

तयार भइरहेको छ । यसमा विधि र विधानले दिएका नयाँ, पुराना सबै नेता अटाउनुहुन्छ । अहिलेको संकट अन्त्य गर्न साथ दिन्छौँ । ईश्वर कमरेडले यसबारे दृष्टिकोण र भिजन ल्याउनुपर्छ । कमरेड ओली पटक-पटक अध्यक्ष र प्रधानमन्त्री हुँदा पनि हालत देखियो नि । हाम्रो प्रगति हुनुपर्नेमा झन् झन् खस्किएको छ । प्रमुख जिम्मेवार कार्यकर्ता होइन, नेतृत्व हुने हो । देशलाई अवस्थामा पुर्‍याउने मूल नेतृत्व हो ।

नेता नफेरिए एमालेलाई जनतामा जान कतिको गाह्रो छ ?

हो, पार्टीको शिर गिरेको छ । एमाले बलिदान, त्याग र योगदानबाट बनेको हो । कमरेड पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी सबैले बनाएको पार्टी हो । उहाँहरूको त्याग र बलिदानको भावना र भिजनबाट बनेको पार्टी हो । आज पार्टी यो अवस्थामा झर्नु दुःखद हो । म आज सुखानीलाई सम्झिरहेको छु । छिन्ताङ, पिस्कर र भिमानलाई सम्झिरहेकी छु । यहाँसम्म आउन रगतको खोलो बगेको देश हो । यो मुलुकलाई एउटा व्यक्तिको स्वार्थमा चलाउनु हुँदैन । अहिले जनताको हालत हेर्नु न । देशमा जनतालाई खाना चाहिएको छ । एउटा नेताले सनक चलाएर हुँदैन । सुरक्षाको पनि गम्भीर प्रश्न छ । कतिबेला के हुने हो, थाहा छैन । शान्तिपूर्व बाँच्ने अवस्था छैन । हामीले यही सनक तोड्न पनि ईश्वर कमरेडलाई अगाडि सारेका हौँ ।

ईश्वर पोखरेललाई पनि दोस्रो भीम रावल बनाउँछन् भन्ने डर रहेछ ?

भीम रावलप्रति हामी कहिले नकारात्मक थिएनौँ । उहाँको कुरा गर्दा पनि भावुक हुन्छौँ । त्यसबेला माधव नेपालहरू अरू पार्टीमा लागेको भएर ओली कमरेडलाई जटिल परिस्थितिमा साथ दिएको हो नि । जे होस् पार्टी फुट्नु हुँदैन । एमाले सकिनु हुँदैन, त्यही भएर तपाईंहरूलाई साथ दिन्छौँ भनेको हो । तर उहाँको व्यवहार हार्दिकता र न्यायपूर्ण भएन । स्वस्थ प्रतिस्पर्धा गर्न जनताको बहुदलीय जनवादले त छुट दिन्छ नि । रावलजीलाई अझ व्यवस्थित बनाएर उठाउन पाएको भए यतिखेर एमाले कति सँच्चिएर जाने थियो । त्यो बेला गलत गरिएछ । रावलजीलाई हाम्रो सम्मान छ ।

तर ओलीसँग प्रतिस्पर्धा गर्न चाहेका नेतालाई त उहाँले अवसर नदिएर पार्टीबाटै निकालेका उदाहरण छन् नि ।

लोकतन्त्रमा पख्लास् तँलाई सिद्ध्याइदिन्छु भनेर सधैँ चल्दैन । कोही डराएर भाग्दैन । विचारमा लागेका मान्छे डराउँदैनन् । सही र गलतबारे छलफल गरेर परिणाम भोग्न तयार हुन्छन् । तर भाग्दैनन् । उहाँको व्यवहार त भोगिरहेका छौँ । उहाँले मिलेर जानुपर्छ, एकताबद्ध हुनुपर्छ भने पनि व्यवहार र शैली उस्तै छ । उहाँको व्यवहार हामी सबै भोग्न तयार पनि भएको हो । हामी त किनारा लागेको मान्छे । एमाले बचाउनुपर्छ, तलको विशाल पंक्तिले केही पाएको छैन । लोकतन्त्र र गणतन्त्रका लागि दुःख गर्ने हजारौँ छन् । तर तिनले न्याय पाएनन् ।

ईश्वर पोखरेलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ भनिँदैछ, यो सत्य हो ?

बाहिर देखेको, सुनेको यो कुरा सत्य हुनसक्छ । अहिले ईश्वर पोखरेल, केपी ओली, विद्या भण्डारी भन्नु भन्दा सत्य कुन छ ? न्यायको पक्ष कुन छ ? यो मुलुकको संकट निकास दिने पक्षमा को छ ? देश र राष्ट्रका जनताको पक्षमा को छ ? जनताका कुरा सुन्ने, कार्यकर्तालाई सुन्ने को छ ? विधिबाट पार्टी चलेको छ कि छैन ? सबैलाई न्यायोचित मूल्यांकन गरेर उचित जिम्मेवारी दिएको छ कि छैन ? त्यही भएर सत्यलाई सबैले साथ दिएका हौँ ।

उसो भए ११ औँ महाधिवेशन एमालेले नीति र नेतृत्वमा छलफल गरेर आउला ?

आउँछ । अझै प्रष्ट भएर आउँछ । आउनुपर्छ नि । छलफल नभए पार्टी त नसकिएला, तर चिरा पर्छ । कति दुःख गरेर बनाएको पार्टी अहिले कमजोर भइरहेको छ । हामीलाई पीडा भइरहेको छ । मलाई पीडा भएको छ । हिजो कस्तो थियो ? आज पार्टी कहाँ पुग्यो ? बहुत पीडा भएको छ ।

ओली नै दोहोरिने अवस्था आए यहाँहरूलाई थप गाह्रो होला नि ?

अब हुँदैन । प्रतिनिधिलाई ठिक र बेठिक छुट्याएर न्यायोचित मूल्यांकन गर्न दिनुपर्छ । मुलुक र पार्टीलाई माथि उठाउनुपर्छ । विधि र नीतिबाट पार्टी चलाउने प्रतिनिधिको चहाना र भावना छ । पार्टी र मुलुक संकटमा परेकामा सबैलाई पीडा छ । मुलुक त बच्नुपर्छ नि । यसमा महाधिवेशन प्रतिनिधिलाई सत्य, देश र जनताको पक्षमा रहेर अगाडि बढ्न आग्रह गर्छु । हामी दास हुनुभन्दा पार्टी र देश बचाउन लाग्नुपर्छ ।

महाधिवेशन प्रतिनिधिहरूको अवस्था कस्तो छ ? ओली र पोखरेलको पक्षमा कति कति छन् ?

हिसाब निकाल्ने भन्दा उहाँहरूले कसरी निर्णय गर्नुहुन्छ भन्ने कुरा हो । उहाँहरूले व्यक्ति पूजा नगरेर पक्कै सत्यतिर लाग्नुहुन्छ । कम्युनिस्ट पार्टी व्यक्ति पूजा गरेर धेरै बिग्रिएको छ । पुष्पलाल श्रेष्ठले भन्नुभएको थियो नि ‘व्यक्ति पूजा होइन । नीति र व्यवहारलाई बोक ।’ त्यो स्थितिबाट पार्टी उठ्नुपर्छ। साँच्चै पार्टी बनाउने देश बनाउने भ भए त्यो ढंगले उठ्नुपर्छ ।

देशमा अलोकप्रिय पात्रका रुपमा केपी शर्मा ओलीको नाम लिने गरिन्छ । नेतृत्व नफेरिए एमालेलाई चुनावमा जान समस्या होला ?

एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु ठिक छ । सरकारले तिथि-मिति तोकेको छ । सरकार त्यसकै लागि बनेको छ । सरकारले निर्वाचन गर्नुपर्छ । हामीले पनि दायाँबायाँ नगरी निर्वाचनमा जाऊँ भनेको हो । तर अध्यक्ष ओली संसद् फर्काउन लाग्नुभयो ।

दोस्रो कुरा, यहाँले भनेको जस्तै गाह्रो छ । यही नेतृत्व लिएर निर्वाचनमा जान धेरै गाह्रो छ । त्यसैले निर्वाचनका लागि मात्रै होइन, यो मुलुक यो संकटपूर्ण अवस्थामा पुग्नु हुने थिएन । नेतृत्व केही होइन भनेर, अर्कालाई दोष दिएर चोखिनु हुन्न ।

अन्तिममा, जेन-जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली कति दोषी छन् ?

यो घटनाबारे राम्रो विश्लेषण हुनुपर्छ । घटना तत्काल योजना बनाएर गरिएको होइन । घुसपैठ गरेर अराजकता र बिध्वंश मच्चाइएको छ । बाह्रय शक्तिले खेलेका छन् । तर, हाम्रो अध्यक्ष चुक्नु भयो । प्रधानमन्त्रीको कुर्सीमा रहँदा देशका सुरक्षा निकाय उहाँकै मातहतमा थिए । तर उहाँले सुरक्षा निकायको कुरा बेवास्ता गर्नुभयो । किन सुन्नुभएन ? पटक पटक सुरक्षा निकायले सम्झाउँदा तर्किनुभयो, सुन्नुभएन । यहीकारण यो अवस्था आयो । भदौ २४ गतेको घटना त्यही हो । जेन-जीका ढाडमाथि टेकेर २४ गते आगजनी र विध्वंस गरियो ।

सरकारको नेतृत्वमा बसेको कमजोर बनेर भाग्नुपर्ने अवस्था कसरी आयो ? उहाँले कस्तो भएर छोड्नु परो आफैँ भन्नु त ? राम्रो गरेको भए उहाँ बालुवाटार छाडेर जानुपर्‍थ्यो त ? प्रधानमन्त्रीको जिम्मेवारी छाड्नुपर्‍थ्यो त ? यस्तो होला भनेर सोचेको पनि थिइनँ । त्यो जिम्मेवारी केपी कमरेडको पनि हो । म के भन्छु भने जेन-जी आन्दोलनमा भएको घटनामा उहाँ अछुतो हुनुहुन्न । दोष उहाँको पनि छ । आफ्ना मात्रै कुरा माथि, अरू सबैका तल भन्ने ठिक छैन । यो घटनामा उहाँ चोखो हुनुहुन्न । किनकि उहाँले देश र जनताबारे सधैँ हेलचेक्र्याइँ गर्नुभयो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४५ बजे

एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम

सचिवहरूलाई प्रधानमन्त्री कार्कीको कडा निर्देशन : कामको गति बढाउनुस्, नतिजाले बोल्नुपर्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर सेवा प्रवाहमा

किसान सूचीकरण गर्दै माडी नगरपालिका

चितवन– माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ ।

के थियो महान्यायाधिवक्ता र उनकी छोरी जोडिएको डिम्ब बेचबिखनको मुद्दा ?

काठमाडौं- यतिबेला उमेर नपुगेका किशोरीहरूबाट अवैध रुपमा डिम्ब सङ्कलन गरी