एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु « Khabarhub

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् ।

ऊर्जा डेभलपर्स प्रालि अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी– १ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका– ७ भारवाङमा  विद्युतगृह  रहने अपर म्याग्दी– १ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरुङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरु गरेको छ । २०८१ साल वैशाख २८ गतेदेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरुङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

उनका अनुसार, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरुङ र  विद्युतगृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।

मुदीकै दोभानमा बाँध र जेल्टुङमा  विद्युतगृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युतगृहको  पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि ६ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युतगृहको लागि पूर्वाधार बनाउने र सुरुङ निर्माणको तयारी गरिएको छ । सुरुङ निर्माण र विद्युतगृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए ।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जानकारी दिए ।

आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने  विद्युतगृहबाट सुरुङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : १५ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो