नेपालको पर्यटन मन्त्रालय कस्तो रहेछ भने अरुतिर मन्त्री आएपछि प्लेन किन्छन्, हाम्रोचाहिँ प्लेनले मन्त्री किन्दोरहेछ । ०४६ देखि अहिलेसम्म कुनै पनि पर्यटनमन्त्री हेर्नुहोस्, समस्या यही छ । प्लेनले मन्त्री किन्छ । रामहरि जोशीदेखि अहिलेसम्मका सबै मन्त्रीलाई म चिन्छु । त्योभन्दा पहिले पनि मोहम्मद मोहसिनदेखि दीपक बोहोरासम्म । म गलत होइन भने, अरब डलरकाण्ड शायद त्योबेला पर्यटन मन्त्रालयकै केसमा भएको थियो जस्तो लागिरहेको छ मलाई ।
काम गर्ने हाम्रो कस्तो राम्रो पद्दति रहेछ क्या ! अहिले म यस्सो हेर्दैछु । मेरै पार्टीका मेरै साथी (बद्री पाण्डे) पर्यटन मन्त्री हुनुहुन्छ । एकदम युवा, काम गर्ने मान्छे भनेर खुशी पनि लागेको छ । यहाँले अहिले ८० नम्बर ल्याउनुभएको छ । प्रधानमन्त्रीले दिएको कार्य सम्झौतामा ८० नम्बर ल्याउनुभएको छ । मैले एउटा छलफलमा कुरा पनि गरेँ, यो नम्बर कसरी आउँदो रहेछ ?
नेपालमा तीनवटा अन्तर्राष्टिय विमानस्थलमध्ये दुईवटा चलेकै छैनन् । पोखरा विमानस्थलको हामीले ऋणको वार्षिक ब्याज मात्रै झण्डै एक अर्ब तिर्नुपर्दोरहेछ । आम्दानी २५ करोडभन्दा बढी हुँदैन ।
दुईवटा प्लेन छन्, त्यो पनि न्यारो बडी र वाइट बडी । वाइट बडी चल्दै चल्दैन । न्यारो बडी पनि चलेन । संयोग कस्तो रहेछ भने दुवैतिर उडाएको प्लेन भैरहवातिर लगेर राख्नुपर्यो । अवस्था यस्तो छ ।
आन्तरिक उडानतर्फ नेपाल एयरलाइन्सको कुरा गर्नु हुन्छ भने दुईवटा विमान थिए, ती पनि अहिले थन्किएर बसेका छन् । चलेका छैनन् र चल्ने अवस्था पनि छैन । निजी एयरलाइन्सहरुले चलाइदिएर हाम्रो अलिकति कमसेकम पर्यटकलाई यहाँ ल्याउने माध्यम बनेको छ । म प्राइभेट एयरलाइन्स कम्पनीहरुलाई धन्यवाद दिन चाहान्छु ।
सरकारको अवस्था हेर्दा शून्यतामा छ । जो पनि आउँछौँ, यो पनि काम गर्यौँ, त्यो काम गर्यौँ भन्छौँ ।
पर्यटन मन्त्री विदेशतिर जानुभएको थियो, अस्ति नै यो विधेयक (नागरिक उड्डयन प्राधिकरण फुटाउने विधेयक) संसदमा आउनेवाला थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख सामुन्ने मैले भनेँ– मन्त्रीको उपस्थिति नभइकन अहिले तपाईले यो विधेयक नलग्नुस् । यी विधेयक हामीले फागुन २७/२८ गते नै ल्याउनेवाला थियौँ । मन्त्रीले म २८ गते आउँछु भन्नुभएको थियो । मन्त्री विहीबार काठमाडौँ आएजस्तो अनुभुति भएको छ । संसदमा पनि देखेको थिएँ ।
अब हामी केही गर्न नसक्दा अरुलाई देखाएर यो गरिदिए हुनेथियो कि भन्ने परम्पराको विकास भएको जस्तो लाग्यो ।
यरलाइन्स चलाउन सकेका छैनौं । अब हामी नयाँ–नयाँ कुराहरु ल्याउँछौँ । अहिले हाम्रो नेपाल एयरलायन्स अहिले पनि झण्डै ४८ देखि ५० अर्ब रुपैयाँ वार्षिक घाटामा छ ।
हामीले आफ्ना मान्छेहरु नियुक्ति गर्नुपर्ने हुँदोरहेछ कहीँ पनि । केही गर्न नसक्दाखेरि यसलाई फुटाएर, टुटाएर भइहाल्छ कि भन्ने हो भने यो मैले पनि औचित्य देखेको छैन । म यो पक्षमा छैन । म पनि अहिले प्राधिकरणलाई २ वटा, ५ वटा बनाउँ भन्ने पक्षमा छैन । काम गर्दा एउटैबाट गर्न सकिन्छ । यसमा ‘कन्फ्क्टि अफ इन्ट्रेस’ क–कसको कता–कता छ, त्यतातिर पनि जान चाहिनँ । तर कानुन बनाएर जाँदा कसैले पनि गरेको छैन ।

हामी अहिलेसम्म युरोपिएन युनियनको ब्लयाकलिस्टमै छौँ । मन्त्रीले विश्वको सबैभन्दा राम्रो पर्यटन मन्त्री भनेर अवार्ड पाएको अवस्था छ । कस्तो राम्रो होला ? मैले नबुझेको क्या ! मलाई त के लाग्थ्यो भने कुनैबेला रामशरण महतले पाउँदा म गर्व गर्थेँ । नेपालको अर्थराजनीतिमा त्यतिको मान्छे अहिलेसम्म छैन ।
भूकम्प जानेवित्तिकै उहाँले एउटा लगानी सम्मेलन गर्नुभयो त्यसमा झण्डै ७ खर्ब भन्दा बढी रकम भित्र्याउन सफल हुनुभयो । अहिले हामीले गर्नुपर्ने त्यस्तै हो । युरोपका पर्यटकलाई नेपालमा ल्याउने हो । अरु त छाडौँ, थाइल्याडको सबैभन्दा बढी मान्छे कहीँ आउँछ भने लुम्बिनीमा आउँछ । तर, थाइल्याडबाट लुम्बिनीमा हामीले एउटा प्लेन ल्याउन सकेका छैनौँ । जजिरा र अन्तको कुरा गछौँ ।
तपाई एयरपोर्टमा जानुस्, उताबाट आउनेको त कुरै छैन, यताबाट जानका लागि पनि भैरहवामा गएर प्लेन राख्नुपर्छ । मेरो र तेरो नभनिकन यसको अन्त्य गरौं ।
कहिलेकाँही हामी संसदमा सत्ता पक्ष र प्रतिपक्ष भनेर उफ्रिन्छौँ । एक मिटरको फरक हुन्छ सत्ता पक्ष र प्रतिपक्षको । त्यही एक मिटर वारी आयो भने हिजो प्रतिपक्षमा गरेका सबै कुरा बिर्सिने । फेरि प्रतिपक्षमा गएपछि सबै कुरा सम्झिएर फेरि गाली गर्ने । यो पद्दतिले गर्दा हामीले नीतिगत रुपमा केही पनि गर्न सकिरहेका छैनौं । मान्छेमा वास्तवमा तिक्ता आउनुपर्ने कारण पनि यही हो । एकले अर्कोलाई विश्वास नगर्ने, एकले अर्काको राम्रो कुराको पनि समर्थन नगर्ने, गाली मात्रै गर्ने ।
मैले भन्न खोजेको के हो भने एमालेलाई गाली गर्यो भने सुन्ने को हुन्छ ? जनता हुन्छ । रास्वपालाई गाली गर्यो भने सुन्ने को हुन्छ ? पब्लिक नै हुन्छ । कांग्रेसलाई गाली गर्यो भने सुन्ने को हुन्छ ? पब्लिक हुन्छ । पब्लिकले हामीप्रति गाली मात्र सुन्छ, अनि कहाँबाट राम्रो धारणा बनाउन पाउँछ ? हाम्रो नेतृत्वले पनि यही गरेको छ अहिलेसम्म ।

बरु कानुन बनाउँ । प्राधिकरणलाई टुक्र्याएर संगठन राम्रो हुन्छ, नेपालमा एकदम पर्यटकको संख्या बढीहाल्यो, लगानीको वातावरण सिर्जना भइहाल्यो, सारा यो समस्या समाधान भइहाल्यो, अरु २ वटा ठूला प्लेन आउने भए वा यहाँ थन्किएका सबै प्लेनहरु बन्ने भए जस्तो मलाई लाग्दैन ।
हामी कतिसम्म गयौँ भने एमवाई–१२ र एम–१६ ल्याउँदाखेरी झण्डै ८ खर्ब बढी पैसामा ल्याएको होइन ? प्लेन पनि कस्तो स्टिममा ल्याएको ? त्यही देशको पाइलट ल्याउनु पर्ने । अरुले उडाउनै नपाउने रे । जान्दा पनि नजान्ने । यहाँबाट बिराटनगर जाँदा २० जना लिएर जाने, फर्किँदा थेग्न सकेन भनेर १६ जना मात्र आउनु पर्ने ।
८ खर्बमा ल्याएको प्लेन अहिले कवाडीको भाउमा बेच्दा ५ करोडमा पनि बिक्दैन । त्यो ल्याउनका लागि नीतिगत सहमति दिने व्यक्तिलाई अन्त देशमा हो भने झुण्ड्याइन्थ्यो । यस्तो काम गर्न पाइन्छ ? यस्तो काम गर्ने हो ? फेरि पनि हामी त्यही काम गर्ने खोजिरहेका छौँ ।
म सत्तापक्षकै माननीय हुँ, त्यसमा पनि म कांग्रेसकै माननीय हुँ । मेरै साथी मन्त्री हुनुहुन्छ । तर, यो (प्राधिकरण विभाजन) आवश्यक छ भन्ने मलाई लाग्दैन । म राज्य व्यवस्था समितिको सभापति पनि हुँ । सार्वजनिक रुपमा मेरो यो विषयमा असहमति छ । यो छुट्याउन अहिले आवश्यकता देखिनँ । कसलाई देखाउनका लागि यो विभाजन गरिँदैछ ? कोही काम गर्ने मान्छेले, त्यहाँको एमडीले टेरेन कि ? कार्यकारी निर्देशकले नटेरेर हो कि ? टेर्न नलगाएर हो कि ? काम गर्न नसकेर हो कि ? त्यो हो भने त्यहीँ भन्नु पर्यो । यो विभाजनकै अवस्थामा जानुपर्ने मैले देखेको छैन ।
यो पनि-
नागरिक उड्डयन प्राधिकरण फुटाउनु ठीक कि गलत ?

नेपालमा ५५ वटा एयरपोर्ट छन् । वास्तवमा हाम्रो टुरिजमको क्षेत्र भनेको लुक्ला नै हो । त्यहाँ अहिले कस्तो समस्या छ, रामेछापबाट लग्नु हुन्छ । तर, रामेछापमै समस्या भएर प्लेन ल्याण्ड हुन सकिरहेको छैन । रुम्जाटार हेर्नुभयो, त्यहाँ पनि ठाउँ पुगेको छैन । त्यसको लेन्थले भ्याएन भन्ने कुरा आएको छ ।
गर्नुपर्ने काम कतैतिर नगर्ने, नगर्नुपर्ने काम गर्ने । अनि, जनतामा निराशा पैदा गर्ने काम भाको छ । यस्तो बेलामा मन्त्रीहरु पपुलर हुन भ्याट लगाइदिने, हेर्नु त । ७० अर्ब रुपैयाँको समाचार त सुनिहाल्नुभयो ।
नेपाल ध्वजा वाहकमा पनि धेरै पहिलेदेखि एमडी भएका व्यक्तिहरु म पनि चिन्दछु । त्यहाँ कस्तोखालको हुनुहुन्छ, चिन्छु । त्यहाँ अधिकारी थर गरेको मान्छे हुनुहुन्छ । राजाकै नाम, युवराज हुनुहुँदोरेछ । तर, नेपाल एरयलाइन्सका महाराज युवराज पनि उहाँ नै भएर सबै काम बिग्रिएको हो । व्यक्तिगत रुपमा मेरो केही छैन । तर, काम गरिदिए हुन्थ्यो भन्ने छ ।
जहिले पनि एयरलाइन्सलाई दुहुनो गाई बनाउने तर घाँस केही नहाल्ने । कुँडो, खोले केही नदिने भएपछि दुहुँदा रगत मात्र आउनेजस्तो स्थिति सिर्जना भएको छ । अब नेपालको पर्यटन व्यवसाय यस्तो नहोस् । शुभकामना ।
(दरबारमार्गमा शुक्रबार इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च ‘आईएसएसआर’ले आयोजना गरेको बहस कार्यक्रम प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाद्वारा प्रस्तुत विचार)
भिडियो-
प्रतिक्रिया