नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होला त लगानीकर्ताको सपना ? | Khabarhub Khabarhub

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होला त लगानीकर्ताको सपना ?


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत बनेका चुडामणि चापागाईं चौतर्फी दबाबमा छन् । निजी क्षेत्रमा लामो समय काम गरेकाले उनको आगमनसँगै लगानीकर्ताले नेप्सेमा सुधार हुने अपेक्षा गरेका छन् ।

शेयर लगानीकर्ताको संघहरुलाई सीईओ चापागाईंले आफूले तीन महिनापछि धमाधम परिणाम दिन थाल्ने प्रतिबद्धता जनाएका थिए । पुँजी बजार सुधारका लागि चापागाईंसँग काम गर्नुपर्ने जति छ, त्यतिनै चुनौती छ ।

नेप्सेसँग सरोकार राख्ने विभिन्न व्यक्ति तथा संस्थाहरुसँगको भेटमा नवनियुक्त सीईओ चापागाईंले आफू निजी क्षेत्रबाट आएकाले परिणाम दिने गरी काम गर्ने आश्वासन दिँदै आएका छन् । नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)का प्रमुखबीच प्रत्येक दुई हप्तामा बैठक गर्ने सहमति भएको थियो । यद्यपि तातो तावामा बसेका उनका लागि हरेक दिन अग्निपरीक्षा हुनेमा दुईमत छैन ।

प्रविधिमैत्री नेप्सेको खाँचो
अहिले नेप्सेले अन्तिम १५ मिनेटको कारोबारलाई एभरेजिङ गरेर अन्तिम मूल्य निर्धारण गर्ने गरेको छ । तर, उक्त अन्तिम मूल्य भने बजार बन्द भएको आधा घण्टा पछि ३ः३० तिर मात्र आउँछ ।

शेयर बजार उच्च अंकले बढेको बेला होस् वा घटेको बेला शेयर लगानीकर्ताले बेला बेला टीएमसमा समस्या आएको गुनासो गर्ने गरेका छन् । लगानीकर्ताहरुले पनि विगत लामो समयदेखिकै नेप्सेले ल्याएको प्रविधि पुरानो भएकाले नयाँ ल्याउनुपर्ने माग गर्दै आएका छन् ।

टीएमएसमा देखिने समस्या समाधान गर्न पनि नेप्सेले नयाँ सफटवेयर ल्याउनुपर्ने आवश्यकता छ । जुन काम प्रमुख चापागाईंले गर्नुपर्ने हुन्छ । विगतमा एक दुई अर्बको कारोबार हुँदाको टिएमएस र अहिले २१ औँ शताब्दीमा पनि त्यही भएकाले तत्काल फेर्नुपर्ने इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।

‘नेप्सेका सीईओले पहिले समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्छ । अहिलेको अवस्थामा लगानीकर्ताहरु एक सेकेन्ड पनि तलमाथि हुन चाहँदैनन्’, ढकालले भने, ‘लगानीकर्ताले आफ्नो शेयर भनेको समयमा किन्न र बेच्न पाउनु पर्‍यो ।’

नेप्सेको अहिलेको टीएमएस पुरानो भएको र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी ल्याउनुपर्ने नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको धारणा छ । सफ्टवेयर अपग्रेड गरेर नयाँ बनाउनुपर्ने जिम्मेवारी नेप्सेका सीईओलाई भएको पाण्डे बताउँछन् ।

‘कतिपय समयमा ठूलो कारोबार हुँदा स्टिममा ह्याङ हुने गरेको छ, त्यसलाई पनि नयाँ सीईओले समाधान गर्नुपर्छ’, पाण्डेले भने, ‘नेप्सेको सिस्टम सीमित मान्छेको पहुँचमा छ भन्ने आएको छ । त्यसलाई पनि समाधान गर्नुपर्छ ।’

नेप्सेले अन्तर्राष्ट्रिय स्तरको प्रविधि ल्याउनुपर्ने शेयर लगानीकर्ता गोपाल कटुवाल ‘स्वामी’को पनि समान धारणा छ । ‘टीएमएसमा समस्या छ । त्यसको समाधान गरिदिनुपर्‍यो’, कटुवालले भने, ‘अन्तर्राष्ट्रियस्तरको प्रविधि नयाँ सीईओले ल्याइदिनुपर्‍यो ।’

ब्रोकरहरु आफैँले पैसा हालेर सफ्टवेयर बनाइरहेको सन्दर्भमा नेप्सेले अन्तर्राष्ट्रियस्तरको प्रविधि ल्याइदिए लगानीकर्ताले सीईओ चापागाईंको गुन कहिल्यै नबिर्सने कटुवाल बताउँछन् ।

छेपारोको कथा बन्दै संस्था पुनर्संरचना
नयाँ स्टक एक्सचेञ्ज आउने चर्चासँगै नेप्सेको पुनर्संरचनाको विषय अझै पेचिलो बन्दै गएको छ । नेप्सेका प्रत्येक नेतृत्वले चाहना राखेको तर गर्न नसकेको विषय भनेकै संस्थागत पुनर्संरचना हो ।

नेप्सेको पुनर्संरचना गर्नुपर्ने पक्षमा लगानीकर्ताहरु पनि रहेका छन् । नेप्सेमा भएको सरकारको शेयर बेचेर निजीमा लैजान सीईओ चापागाईंले पहल गर्नुपर्ने अध्यक्ष ढकाल बताउँछन् ।

‘त्यति नगरेसम्म नेप्सेको विकास हुँदैन । नेप्सेमा सरकारले स्वामित्व हटाउने, त्यसमा सर्वसाधारण र निजीक्षेत्रको वा विदेशी साझेदार हाले पनि हुन्छ’, ढकालले भने, ‘यसलाई पूर्ण रूपमा निजीकरण गर्न सकियो भने मात्र नेप्सेले काम गर्न सक्छ ।’

अहिले प्रविधिमैत्री भनिरहेपनि नेप्सेलाई निजीकरण गरेन भने उचित परिणाम आउन नसक्ने ढकाल बताउँछन् । सरकारी निकायमा एउटा खरिद पक्रिया गर्नु पर्‍यो भने पनि त्यो लामो हुन्छ’, ढकालले भने, ‘जसले गर्दा पुँजी बजार ध्वस्त भइसकेको हुन्छ, तर कुनैपनि काम गर्न सकिँदैन ।’

नेप्सेको नयाँ प्रोडक्ट ल्याउने चुनौती
विश्वको विकसित शेयर बजारमा हेर्ने हो भने त्यहाँ भएका स्टक एक्सचेञ्जहरुले विभिन्न खालका प्रोडक्टहरु प्रचलनमा ल्याएका हुन्छन् । अमेरिका ‘एस एन्ड पी ५००’ जापानमा ‘निक्कै २२५, निक्कै एसिया ३००’, भारतमा ‘निफ्टी ५०’ जस्ता प्रोडक्टहरु प्रचलनमा छन् ।

जसमा दोस्रो बजारमा सूचीकृत भएका राम्रो कम्पनीलाई राखेर वा नयाँ स्टार्टअप कम्पनीहरुलाई राखेर त्यस्तो प्रोडक्टहरु बनाउने गरिन्छ । शेयर बजार कुन बाटोमा छ भन्ने पनि त्यसैलाई हेरेर बजार घटेको बढेको भन्ने गरिएको हुन्छ । जापानको कुरा गर्ने हो भने त्यहाँको टोकियो स्टक एक्सचेञ्ज (टेस्ट)को परिसूचक भन्दा २२५ को परिसूचक बढी हुन्छ ।

तर, नेपालमा नेप्से सूचकबाहेक अन्य कुनै पनि प्रोडक्ट छैन । नेपालमा पनि ‘नेप्से ३०’ ल्याउनको लागि चर्चा चलेको थियो । तर, त्यो अहिलेसम्म आउन सकेको छैन । नयाँ सीईओ चापागाईंलाई यसखाले प्रोडक्ट ल्याउन लगानीकर्ताहरुले उत्तिक्कै जोड गरेका छन् । सीईओ चापागाईंले नेप्से ३० ल्याउनुपर्नेमा अध्यक्ष पाण्डे पनि सहमत छन् । ‘नेप्से ३०, एसएमइजको कुरा चलेको थियो’, पाण्डेले भने, ‘त्यसलाई ल्याउनु पर्‍यो ।’

लगानीकर्ता कटुवाल थप्छन्– ‘३ वर्ष निरन्तर नाफा गरेका र लाभांश बाँडेका ३० वटा कम्पनीहरुलाई राखेर ल्याउने भन्ने कुरा थियो’, कटुवालले भने, ‘अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासहरूलाई नेपालमा ल्याउन सकियो भने पुँजी बजारको राम्रो विकास हुन्थ्यो ।’

हाम्रो बजार १८०० बाट बढ्दै गर्दा फण्डामेन्टल राम्रो भएका कम्पनीहरु बढ्न नसकेको र नेप्से ३० आएको खण्डमा गुणस्तरीय कम्पनीहरुले राम्रो गर्न सक्ने कटुवालको बुझाइ छ ।

ल्याउन नसकेको ‘इन्ट्रा डे’को रहर
नेप्सेमा हरेक नेतृत्व फेरिएसँगै उनीहरुले प्रतिवद्धता जनाउने अर्को विषय हो– अन्तरदिवसीय (इन्ट्रा डे) कारोबार । निवर्तमान सीईओ कृष्णबहादुर कार्कीले पनि जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो कार्यकालमा इन्ट्रा डे ल्याउने बताएका थिए ।


तर, कार्कीले आफ्नो कार्यकाल सकेर घर फर्किँदा भने इन्ट्र डे ल्याउन भने सकेनन् । अब इन्ट्रा डे ल्याउने जिम्मेवारी सीईओ चापागाईंको काँधमा छ । इन्ट्रा डेको विषयमा नेप्सेले अध्ययन गरिसकेको छ । त्यो लामो समयदेखि नेप्सेको दराजमा थन्किएर बसेको छ । त्यसलाई कार्यान्वयन गराउने चुनौती चापागाईंको काँधमा छ ।

नेप्सेलाई निजीकरण गरेपछि मात्र इन्ट्रा डे आउन सक्ने अध्यक्ष ढकालको मत छ । ‘नेप्सेलाई निजीकरण नगरेसम्म इन्ट्र डे आउन सक्दैन’, ढकालले भने । नेपालमा इन्ट्रा डे आएमा शेयर बजारको लागि राम्रो हुने शेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन् ।

‘इन्ट्रा डे आउँदा मुख्यतया यो उतारचढाव रोकिन्थ्यो भन्ने हो’, रौनियारले भने, ‘अहिले कारोबार पनि कम देखिन थालेको छ त्यो पनि बढ्ने थियो ।’ इन्ट्रा डेको विषयमा धितोपत्र बोर्ड र नेप्से नेतृत्व पटक पटक छलफलमा बसेको बताइएको छ ।

घाटामा नाफाको जुक्ति
नेपालको शेयर बजार एकतर्फी मात्र छ । अर्थात् शेयर बढेमा मात्र फाइदा हुन्छ । घट्दो बजारबाट भने कसैलेपनि फाइदा लिन सक्दैनन् । तर अन्य विकसित देशहरुमा भने घट्दो बजारमा पनि सर्ट सेलिङ गरेर फाइदा लिन सकिन्छ ।

सर्ट सेलिङमा शेयरको मूल्य जति घट्यो त्यति लगानीकर्तालाई फाइदा हुने हुन्छ । त्यो भएर लामो समयदेखि लगानीकर्ताले सर्ट सेलिङ नेपाली बजारमा पनि चाहिने भन्दै माग गर्दै आएको विषय हो ।

नेप्सेका अघिल्ला प्रमुख कार्कीले सर्ट सेलिङको विषय आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । सर्ट सेलिङको विषयमा नेप्सेले अध्ययन गरिसकेको छ । अब त्यसलाई कार्यान्वयन गर्न बाँकी छ । कार्यान्वयनमा ल्याउन भने प्रविधि, बजारको साइज जस्ता थुप्रै विषयमा सुधार गर्न अध्ययनले सुझाव दिएको छ ।

टी प्लस १ हुने र डिपी शुल्क घट्ने कहिले ?
भारतको शेयर बजारमा शेयर बेचेको त्यही दिन आफ्नो खातामा पैसा जम्मा हुन्छ । अर्थात् टी प्लस १ मै आउँछ । तर, नेपालमा भने आफूले शेयर बेचेको तीन दिन पछि मात्र आफ्नो खातामा अर्थात् टी प्लस ३ मा मात्र पैसा आउँछ ।

त्यसलाई एक दिनमा झार्न त्यतिकै चुनौती छ । नेप्सेका सीईओ सिडिएसको सञ्चालक समेत रहने भएकाले गर्दा शेयर किनबेचको सेलमेन्ट एक दिनमा गराउने चुनौती चापागाईंलाई छ ।

त्योसँगै अर्को भनेको शेयर कारोबार गर्दा लाग्ने शुल्क कम गराउने दायित्व पनि चापागाईंलाई छ । अहिले एक कम्पनीको शेयर किन्दा २५ रुपैयाँ डिपी शुल्क लाग्ने गरेको छ । जुन शुल्क बढि भएको भन्दै लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् ।

पहिले कागजमा शेयर किनबेच हुने गरेकोमा अहिले अनलाइनमा हुँदा पनि उही मूल्य हुनु गलत भएको अध्यक्ष पाण्डे बताउँछन् । ‘सिडिएसले लिने गरेको २५ रुपैयाँ बढि भएको र त्यसलाई कम गर्नुपर्छ’, पाण्डेले भने, ‘पहिले ठेलीका ठेली कागजपत्रहरु हुने गरेकोमा २५ रुपैयाँ ठिकै भएपनि अहिले एक क्लिकका भरमा कारोबार हुँदा भने २५ रुपैयाँ डिपी चार्ज बढी भएको छ ।’

यो शुल्क नेप्सेका सीईओ चापागाईंले पहल गरेर घटाउन सक्छन् । अहिले यो शुल्क घटाउने जिम्मेवारी चापागाईंको काँधमा आएको छ । त्योबाहेक शेयर शिक्षाको अभियान चलाउनुपर्ने पनि लगानीकर्ताको भनाइ छ । ६०/६५ लाख लगानीकर्ता भइसकेको ठाउँमा जनचेतनाका कार्यक्रम नेप्सेले गर्नुपर्ने अध्यक्ष ढकाल बताउँछन् ।

‘हिजोका दिनमा बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स दिँदा सबै शाखाबाट हुन्छ भन्ने सोचेका थियौँ । तर अहिले कुनै फाइदा भएको छैन’, ढकालले भने, ‘अब त्यसका लागि उहाँले हरेक बैंकका शाखाबाट कारोबार गर्ने व्यवस्था मिलाउनु पर्छ ।’

त्यसो भए लगानीकर्ताले सहज रूपमा किनबेच गर्न पाउने भएकाले गर्दा कारोबार बढ्दा त्यसको प्रतिफल सबैले लिन सक्ने ढकाल बताउँछन् । ‘यदि यस्तो भएन भने नयाँ स्टक एक्सचेञ्ज जन्मिछ । यी अधुरा काम सबै त्यसैले गर्छ’, ढकाल भन्छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ५६ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा