काठमाडौं– विगत २१ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनका मुख्य कमाण्डर हुन्– लक्ष्मीकिशोर सुबेदी । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष रहेका सुबेदी झट्ट हेर्दा सरल र नरम देखिन्छन् । उनी दुर्गम गाउँतिरको कुनै सरकारी विद्यालयका नेपाली शिक्षक हुन सक्ने अनुमान कतिपय मानिसको छ । तर, शिक्षक आन्दोलन हाँकिरहेका लक्ष्मी सरको पृष्ठभूमि भने अलि फरक छ ।
सानैदेखि पढाइमा अब्बल रहेका सुबेदीले धनकुटाको कुरुले तेनुपामा कक्षा ७ सम्म पढे । मोरङको मधुमल्लास्थित मनोहर जनता माविबाट एसएलसी गरे । एसएलसी सकेपछि धरानको चर्चित साइन्स क्याम्पस हात्तीसारबाट आईएस्सी सिध्याए । अनि काठमाडौं आएर त्रिचन्द्र कलेजमा बीएस्सी भर्ना भए । त्रिविबाट उनले रसायनशास्त्र (केमेस्ट्री) मा प्रथम श्रेणीमा एमएस्सी उत्तीर्ण गरे।
हाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष रहेका सुवेदी धनकुटाको छरुवा खोलाको पानी खाएर हुर्केका व्यक्ति हुन् । उनी कुरुले तेनुपा (हाल चौबीसे गाउँपालिका) को सम्पन्न परिवारमा जन्मिएका हुन् ।
लक्ष्मी सरकारी विद्यालय पढाउने शिक्षकका छोरा हुन् । उनका पिता टीकाप्रसाद सुवेदी धरानको शिक्षा सदन स्कुलमा पढाउँथे । टीकाप्रसादले धरानको विजयपुरमा घर बनाएका थिए ।
लक्ष्मीकिशोर हाल विज्ञान विषयका शिक्षक हुन् । उनको परिवारका अधिकांश सदस्यहरु हालसम्म शिक्षण पेशामा आवद्ध छन् । श्रीमती, बहिनी र बहिनी–ज्वाइँ पनि शिक्षण पेशामै छन् ।
हाल शिक्षक महासंघमा कांग्रेस र कम्युनिस्ट दुबै पृष्ठभूमिका शिक्षकहरु आवद्ध छन् । अध्यक्ष लक्ष्मीकिशोर भने विद्यार्थी कालदेखि नै खरो कांग्रेस हुन् । उनी विद्यार्थीकालमा नेवि संघमा आवद्ध थिए । लक्ष्मी किशोरकी आमा अम्बिका सुवेदी धनकुटाकी चर्चित कांग्रेस नेतृ हुन् ।
महासंघका अध्यक्ष सुवेदीले राजधानीमा उच्च शिक्षा अध्ययनसँगै जागिर खान काठमाडौं खाल्डो बाहिर जानु परेन । हाल उनले कोर नेवा वस्ती तलाँछिमा रहेको त्यौड उच्च माध्यमिक विद्यालयमा विज्ञान विषय पढाइरहेका छन् । यो २०१७ सालमा स्थापना भएको पुरानो सरकारी स्कुल हो ।
यो पनि-
घाम नछिर्ने उपत्यकाका सरकारी स्कुल : न उफ्रिने आँगन, न खेल्ने मैदान !

महासंघ अध्यक्ष सुवेदीसँग काठमाडौंका विभिन्न विद्यालयमा पढाएको अनुभव छ । उनीसँग कांग्रेसनिकट नेपाल शिक्षक संघ काठमाडौंको जिल्ला अध्यक्षसमेत चलाएको अनुभव छ । महासंघको अध्यक्ष हुनुअघि उनी महासचिवको जिम्मेवारीमा थिए ।
विज्ञान विषयका शिक्षक लक्ष्मीकिशोर साहित्यकार पनि हुन् । ‘तमोरको सुस्केरा’ लगायतका साहित्यिक किताब लेखेका उनी समालोचनामा समेत कलम चलाउँछन् ।
हाल काठमाडौंको नैकापमा स्थायी बसोबास गर्दै आएका अध्यक्ष सुवेदीका दुई छोरा छन् । जेठा छोराले सिभिल इन्जिनियरिङको पढाइ पूरा गरेर हाल बिहेको तयारी गरिरहेका छन् । कान्छा छोराले पनि मेकानिकल इन्जिनियरिङ भर्खरै पूरा गरेका छन् । दुबै छोराले विद्यालय तहको पढाइ निजी विद्यालयबाटै पूरा गरेका हुन् ।
केपी ओलीसँग मिलेन ‘केमेस्ट्री’

जब लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा चैत २० देखि काठमाडौंमा शिक्षकहरुको प्रदर्शन सुरु भयो, त्यसबेला प्रधानमन्त्री ओलीलाई लागेको थियो, यिनीहरु कांग्रेस–एमालेकै कार्यकर्ता हुन्, ठूला पार्टीले सम्झाएपछि कसो आन्दोलन फिर्ता नलेलान् । तर, ओलीले सोचेजस्तो भएन ।
आन्दोलनमा सक्रिय रहेका एमाले निकट शिक्षकहरुलाई पार्टीका तर्फबाट सम्झाइबुझाइ गर्ने र थर्काउनेसम्मका कामहरु एमाले नेताहरुले गरिरहेको गुनासो कतिपय शिक्षकले गरेका छन् । यसै क्रममा प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेका थिए, ‘शिक्षक महासंघका अध्यक्ष सुबेदी तपाईहरुकै पार्टीका रहेछन्, सरकारलाई अप्ठ्यारो नपारियोस् भनेर सम्झाइदिनुप¥यो ।’
प्रधानमन्त्रीको आग्रहपछि देउवाले आफ्ना कार्यकर्ता खटाएर सुवेदीलाई सम्झाउने प्रयास गरेको स्रोतले खबरहबलाई बतायो । तर, देउवाको प्रयास सफल नभएको बताउँदै कांग्रेस स्रोत भन्छ, ‘लक्ष्मीकिशोर केपी ओलीजस्तै हठी स्वभावका मानिस हुन्, सरकारलाई घुँडा नटेकाएसम्म पछि हट्लान् जस्तो लाग्दैन । कांग्रेसले भने पनि उनी मान्नेवाला देखिन्नन् ।’

यसबीचमा प्रधानमन्त्री ओलीले अध्यक्ष सुवेदी लगायतको टोलीसँग बालुवाटारमा छलफल पनि गरेका थिए । तर, शिक्षा ऐन गोजीमा हालेर मात्रै आन्दोलनबाट ब्याक हुने अडान शिक्षकहरुले यथावत राखेपछि ओलीको प्रयास सफल हुन सकेन । बरु शिक्षामन्त्रीले नै राजीनामा दिने परिस्थिति आयो ।
आन्दोलनसँगै आलोचना पनि
सरकारसँग नझुक्ने महासंघका नेताको अडानले आन्दोलनकारीहरुलाई उर्जा थपिरहे पनि अभिभावक, विद्यार्थी, स्थानीय तह र नागरिक समाजमा भने आन्दोलनकारी शिक्षकहरुमाथि पनि आलोचना बढ्न थालेको छ । यससँगै अध्यक्ष लक्ष्मीकिशोर र उनको टिममाथि अब कसरी अघि बढ्ने भन्नेबारे चुनौती थपिएको छ ।
पत्रकार टीकाराम यात्रीको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रममा अध्यक्ष सुबेदीले बोलेका कुरालाई लिएर आन्दोलनकारीको आलोचना सुरु भएको छ । सुबेदीलाई यात्रीको प्रश्न थियो– २० दिनदेखि आन्दोलनमा हुनुहुन्छ, अझै कति दिन आन्दोलन लम्बिने हो यकिन छैन । यो समय कुनै शैक्षिक गतिविधि भएको छैन र गतिविधि नगर्न निर्देशन दिनुभएको छ । परीक्षाको प्रश्नपत्र जाँच्न दिनुभएको छैन, परीक्षा लिन मान्नु भएको छैन । यो बीचको पारिश्रमिक लिनु हुन्छ वा हुँदैन ?

जवाफमा अध्यक्ष सुवेदीले भने, ‘कुनै पनि पेशाकर्मीले पेशागत हितका लागि वा उन्नयनका लागि आन्दोलन गरेको छ भने उसले पारिश्रमिक लिन्छ । हामी शिक्षकले पनि शिक्षा सुधारको आन्दोलन गरिरहेका छौ । तसर्थ पारिश्रमिक लिन्छौं ।
लामो समयदेखि शैक्षिक क्रियाकलाप ठप्प भएपछि आन्दोलनकारीमाथि आलोचना हुन थालेको हो । एसईईको प्रश्नपत्र जाँच नगर्ने र कक्षा १२ को परीक्षा नगर्ने अडान लिएपछि शिक्षकका नेताहरु आलोचित हुन थालेका छन् ।
एकातर्फ प्रधानमन्त्री ओलीको अडान, अर्कोतिर अध्यक्ष सुबेदीको अडान, यसको निष्कर्ष कहिले र कस्तो निस्केला अहिले नै केही भन्न सकिने स्थिति छैन ।
यो पनि-
प्रतिक्रिया