काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न लागेको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को विषयमा जानकारी दिन मङ्गलबार पत्रकार सम्मेलन गर्यो ।
सम्मेलनमा मेलाबारे जानकारी दिँदै व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले प्रेस विज्ञप्ति पढेर सुनाए । सम्मेलनमा उपस्थित पत्रकारहरूको हातमा मेलाबारे जानकारीसहितको विज्ञप्ति थमाइयो ।
सम्मेलनमा सभापति डाल्मियाले महासंघका उपाध्यक्षहरू हेमराज ढकाल र सुरजकृष्ण बैद्यसहित उपस्थित भएका पत्रकारमाझमा विज्ञप्तिको विवरण पढेर सुनाउन थाले ।
मेलाबारे जानकारी दिँदै डाल्मियाले मेलामा २५० वटा स्टल हुने सुनाए । उनले एकातिर विज्ञप्ति पढ्दै थिए अर्कोतिर पत्रकार मुखामुख गर्दै थिए ।
सम्मेलनमा पत्रकाहरु मुखामुख गर्नुको मुख्य कारण थियो प्रेस विज्ञप्ति । जसमा मेलामा ३०० भन्दा बढी स्टलहरू हुने भनिएको थियो । तर, सभापति डाल्मियाले भने २५० स्टल मात्रै भरिने भनेपछि पत्रकारहरू मुखामुख गर्न थालेका थिए ।
विज्ञप्ति र दुई उपाध्यक्षहरू र मेलाका उपसभापति सविन श्रेष्ठको पनि मन्तव्य सकिएपछि भने पत्रकारका लागि प्रश्न सोध्ने समय दिइयो । समय पाउन साथ पत्रकारले आफूलाई दिइएको विज्ञप्ति र सभापतिले भनेको कुरामा मेल नखाएको भन्दै प्रश्न गरे ।
पत्रकारले स्टलको सङ्ख्याको विवरण दुई वटा भएको विषयमा जवाफ दिन सभापति डाल्मिया आफैँ तम्सिए । मेला आयोजकले सुरुमा ३०० वटा स्टल राख्ने योजनाका अगाडि बढाएको भएपनि आर्थिक मन्दीका कारणले व्यवसायी आउन नसक्ने भएकाले २५० मात्र स्टल हुने सभापति डाल्मियाले प्रष्ट पारे ।
‘२५० भन्दा बढी पनि हुन सक्छ’, उनले भने, ‘त्यसलाई हामीले एभरेजमा भन्दा २५० वटा हुन्छ भनेर भनेका हौं ।’
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्ट्रिकल तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, स्मार्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरू रहने आयोजकले जानकारी दिएका थिए ।
मेलाको बारेमा प्रश्न सोध्दै पत्रकारले आयोजकलाई विगतका वर्षमा भारतका स्टल धेरै हुने गरेकोमा यो वर्ष भए–नभएको विषयमा पश्न गरे । पत्रकारले गरेको प्रश्नमा जवाफ दिँदै सभापति डाल्मियाले भारतका १० स्टल रहने जानकारी दिए ।
नेपालमा जारी राजावादी र शिक्षक आन्दोलनका कारण व्यवसायी आउन नचाहेको उनले बताए ।
‘दैनिक रुपमा बन्द र हड्तालले गर्दा आउने भनिएका स्टल पनि अएनन्’, डाल्मियाले भने, ‘यसपाली स्टलहरू घट्यो ।’
मेला समितिका उपसभापति श्रेष्ठले त आफूहरुले मन नलाग्दा– नलाग्दै पनि मेलाको आयोजना गरेको बताए । अहिले सजिलो अवस्था केही नभएकाले मन नलाग्दा पनि मेला आयोजना गर्नुपरेको बताए ।
प्रदर्शनीस्थल नभएको गुनासो
महासंघले अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीस्थल नभएको भन्दै गुनासो गरेको छ ।
अन्तर्राष्ट्रिय व्यापार मेलाले शिथिल भएको अर्थतन्त्र चलायमान बनाउने भएपनि गतिलो प्रर्दशनी स्थल नहुँदा लज्जित हुनुपरेको महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले गुनासो गरे ।
‘ एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल पनि छैन, मेला गर्न समस्या भोग्नु पर्छ’, उपाध्यक्ष ढकालले भने, ‘सरकारले ठाउँ उपलब्ध गराए आफैँ लाउने थियौँ ।’
सभापति डाल्मियाले प्रदर्शनीस्थल राम्रो नभएकाले समस्या भोग्नु परेको खबरहबसँगको कुराकानीमा बताए । भृकुटीमण्डपमा फोहोर व्यवस्थापन र शौचालय राम्रो नभएको मेलाका उपसभापति श्रेष्ठ बताउँछन् ।
‘सम्झियो भने मनै मर्छ’, श्रेष्ठले भने, ‘मेला प्रदर्शनीस्थल राम्रो नभएकाले समस्या भोग्नु परेको छ ।’
विगतका वर्षमा प्रदर्शनीमा आएका व्यापारी बिरामी भएको गुनासो श्रेष्ठले गरे । सरकारले एउटा प्रदर्शनीस्थल बनाउन नसक्दा मेला गर्न समस्या भएको उनले बताए । अर्का उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले गर्दा मन्दीमा रहेको व्यापार चलायमान हुने बताए । वैद्यले नेपालमा उत्पादित सामान विदेशीले चिन्ने मौका पाउने बताए ।
मेलामा करोड खर्च, ५ करोड अनुमान
आयोजकले मेलामा एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । मेलामा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने मेलाका सभापति डाल्मियाले बताए ।
‘एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ’, खबरहबसँग उनले भने, ‘मेलामा ५ करोड रुपैयाँ भन्दा बढीका सामान किनबेच हुने अनुमान छ ।’
वैशाख २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा हुने मेलामा २० हजार भन्दा बढी सहभागी हुने आयोजकले जनाएको छ ।
मेडइननेपाल शो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादन, साथै चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडी (इभी) समेत राखिने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहऔआयोजनामा यो मेला हुँदैछ ।
प्रतिक्रिया