इन्जिनियरिङ पढ्दै माओवादी बनेका बसवराजु : एलटीटीईसँग गुरिल्ला युद्ध सिके, बस्दा-बस्दै रकेट लञ्चर बनाउँथे | Khabarhub Khabarhub

इन्जिनियरिङ पढ्दै माओवादी बनेका बसवराजु : एलटीटीईसँग गुरिल्ला युद्ध सिके, बस्दा-बस्दै रकेट लञ्चर बनाउँथे


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नंबाला केशव राव उर्फ बसवराजु सुरक्षा बलको कारबाहीमा बुधबार मारिएका छन् ।

‘अपरेशन ब्ल्याक फरेस्ट’ अन्तर्गत छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षाबलसँगको मुठभेडमा उनी मारिएका हुन् । भारतीय गृहमन्त्री अमित शाहले बसवराजु सहित २७ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् ।

बसवराजु भारतीय माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक थिए । उनको मृत्युलाई सन् २००४ पछि माओवादी आन्दोलनका लागि सबैभन्दा ठूलो क्षति भनिएको छ ।

बसवराजु वैचारिक, संगठनात्मक र सैन्य रणनीतिकारका रूपमा चर्चित थिए । उनको नेतृत्वमा भारतमा माओवादी आन्दोलनले लामो समय प्रभाव पारेको थियो ।

उनको मृत्युले भारतीय माओवादी आन्दोलनलाई गम्भीर धक्का लागेको छ । यसलाई भारतीय जनता पार्टी नेतृत्वको केन्द्रीय सरकारले माओवादी आन्दोलन सकिने दिशातर्फको एउटा ठूलो खुड्किलो भनेको छ ।

छत्तीसगढमा सुरक्षाबलसँगको भिडन्तमा माओवादी नेता मारिएका नंबाला केशव राव उर्फ बसवराजमाथि भारतीय सरकारले १.५ करोड रुपैयाँको पुरस्कार तोकेको थियो । उनी भारतमा माओवादी आन्दोलनका शीर्ष नेता हु्न् ।

बुधबार छत्तीसगढको दुर्गम जंगलमा सुरक्षा बलले माओवादीविरुद्ध ठूलो सफलता हात पारेका बताइएको छ । केन्द्र सरकारद्वारा प्रतिबन्धित संगठन भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव बसवराजु मारिएपछि उक्त आन्दोलन पनि संकटमा परेको छ ।

केन्द्रीय रिजर्भ पुलिस बल र डिस्ट्रिक्ट रिजर्भ गार्डको संयुक्त अपरेशनमा उनी मारिएका पुष्टि भएको छ । पछिल्ला वर्षहरूमा यो सुरक्षाबलको सबैभन्दा ठूलो सफलता मानिएको छ ।

इन्जिनियरिङ पढ्दै माओवादी बनेका बसवराजु

सन् १९८० मा आन्ध्र प्रदेशको वारंगलस्थित क्षेत्रीय इन्जिनियरिङ कलेज (वर्तमान एनआईटी) बाट बीटेक सकेर बसवराजु माओवादी आन्दोलनमा होमिएका थिए ।

उनी लामो समयदेखि सुरक्षाबलहरूको पहुँचभन्दा बाहिर थिए । यसअघि पनि उनी भिडन्तमा मारिएको खबर आएको थियो, तर उनी हरेकपटक जोगिने गरेका थिए ।

एलटीटीईबाट गुरिल्ला युद्ध

सुरक्षा विशेषज्ञहरूका अनुसार बसवराजु गुरिल्ला युद्धमा निकै दक्ष नेतामध्ये एक थिए । उनले श्रीलङ्काको तमिल विद्रोही समूह एलटीटीईसँग जंगल युद्ध, बम, बारुद र सैन्य रणनीतिसम्बन्धी तालिम लिएका थिए । उनी माओवादीहरूलाई काँधमा राखेर चलाउने रकेट लञ्चर बनाउन सिकाउँथे । यद्यपि ती प्राविधिक कमजोरीका कारण धेरै सफल हुन सकेनन् ।

कयौँ ठूला आक्रमण

बसवराजुको नेतृत्वमा भारतका विभिन्न राज्यहरूमा माओवादी लडाकूले कयौं ठूला आक्रमण गरेका थिए ।

सन् २०१०- दन्तेवाडा : सीआईपीएफ क्याम्पमा आक्रमण (७६ जवान मारिए)

झिरम घाँटी आक्रमण : कांग्रेस नेता महेन्द्र कर्मा लगायत २७ जनाको मृत्यु

सन् २०१८, अराकु घाँटी : टीडीपी विधायक किदारी सर्वेश्वर र पूर्व विधायक सिवेरी सोमाको हत्या

एक्सन म्यान

६ फिट अग्ला बसवराजु सधैँ ९ एमएम पेस्तो, एके-४७ बन्दुक र सञ्चार उपकरण बोकेर हिँड्थे । पूर्व माओवादी सदस्यहरूका अनुसार उनी ‘एक्शन म्यान’ थिए ।

उनी सन् १९७९ मा वारंगलको कलेजमा विद्यार्थीबीचको झगडामा एक छात्रको मृत्यु भएपछि पहिलोपटक पक्राउ परेका थिए । त्यसबेला उनलाई सशर्त धरौटीमा छाडियो ।

सन् १९८० को दशकको सुरुवातमा उनी विशाखापट्टनममा भक्तको भेषमा अय्यप्पा दीक्षा लिँदै गर्दा उनी पक्राउ परे, तर पछि फेरि भाग्न सफल भए ।

उनी मार्क्सवादी-लेनिनवादी विचारधाराबाट प्रभावित थिए । १० जुलाई सन् १९५५ मा आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको जियन्नापेट गाउँमा जन्मिएका बसवराजु इन्जिनियरिङ पढ्दा-पढ्दै मार्क्सवादी-लेनिनवादी विचारधाराबाट प्रभावित भए ।

सन् १९८० मा कोन्डापल्ली सीतारमैयाको नेतृत्वमा रहेको सीपीआई (एमएल) पीपुल्स वार ग्रुप (पीडब्लुजी) मा सामेल भए । उनी ‘रेडिकल स्टुडेन्ट्स युनियन’ (आरसएसयू) का पनि सदस्य थिए ।

रणनीतिक योजनाकार

सन् १९८०–८७ को बीचमा उनी विशाखापट्टनम र पर्वी गोदावरीमा विभिन्न भूमिकामा सक्रिय रहिरहे । त्यसपछि उनी पार्टीको केन्द्रीय समिति, सन् २००४ मा पीपुल्स वार र माओवादी कम्युनिस्ट सेन्टर (एमसीसी) एकीकरणपछिको सीपीआई (माओवादी) मा प्रमुख रणनीतिकार बनेर उदाए । उनले ‘रेड कोरिडोर’ र ‘जनताना सरकार’ को अवधारणा ल्याए।

सन् २००१ मा उनी पोलिटब्यूरो सदस्य भए । त्यससँगै उनी पार्टीको सैन्य शाखा सीएमसीका प्रमुख बने । उनको मृत्युको खबरपछि उनको गाउँ जियन्नापेटमा शोकमा डुबेको छ । उनको शव गाउँ लाने नलाने विषयमा अझै पनि परिवार अनिश्चयमा परेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : ०८ बजे

अर्थ मन्त्रालय प्रवेशमा कडाइ

काठमाडौं– अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।  बजेट निर्माणलाई ध्यान

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल

गलकोट– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू

सरकारको स्वास्थ्य नीति चिकित्सक उत्पादनमा केन्द्रित

काठमाडौं– सरकारले आर्थिक सुधार कार्ययोजना २०८२ अन्तर्गत स्वास्थ्य नीतिमा चिकित्सकहरूको

वर्षायाममा उद्योगीलाई सहुलियत दरमा बिजुली दिइने

काठमाडौं– धेरै बिजुली उत्पादन हुने समयमा उद्योगीलाई सहुलियत दरमा बिजुली