कोशीका गोठ रित्तै ! | Khabarhub Khabarhub

कोशीका गोठ रित्तै !

आधुनिक पशुपालनमा युवाको आकर्षण


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका बस्तीमा चर्चित छ- कोशीमा कति पानी बगिसक्यो ?

यो अनुत्तरित प्रश्नमा जीविका चलाउने नागरिकका दुःख कोशीको छालजस्तै छन्। विगत एक सय वर्षमा कोशीले पनि आफ्नै प्रवाहमा दुःख पाइरह्यो। कहिले पूर्व, कहिले पश्चिम। कोशीसँगै कोशी किनाराका बस्ती पनि सरिरहे। कोशीमा जीवन गुजारा गर्ने पनि कोशीको लयसँगै कहिले यता कहिले उता गरिरहे।

कोशीसँगै पौठेजोरी खेल्ने कोशीका गोठालाको कथा त्यस्तै छ- कोशीका छालहरू जस्तै।

१९८५ सालताका कोशी नदी अहिलेको पूर्वी तटबन्धतर्फ भएर बग्थ्यो। समय समयमा कोशीले आफ्नो बाटो बदल्दै आएको छ। आफ्नो बाल्यकाल र बाउबाजेका कथा सुनेका वयोवृद्ध कोशी किनारको जीवन सुन्दर र सङ्घर्षमय रहेको बताउँछन्।

साविक प्र. बेली मौजे सुन्दर गुन्दर चतरा गाउँ पञ्चायत हुँदै हाल बराहक्षेत्र नगरपालिका-२ का स्थानीय आनन्दप्रसाद गौतम (८४) सुन्दै, देख्दै र भोग्दै आएका घटना सम्झन्छन्। सप्तकोशी नदीले विगत एक सय वर्षमा थुप्रै पटक धार परिवर्तन गरेको छ। बर्खामा भेलबाढी आएपछि कोशी एकै ठाउँमा रहेन। आफ्नो नयाँ पुराना बाटाहरू समातिरह्यो। वि. सं. १९८५ सालमा कोशीको मूल भङ्गालो पूर्वतर्फ थियो। विभिन्न कालखण्डमा यसले आफ्नो रूप फेरिरह्यो। गौतमका अनुसार वि. सं. १९९०, २०११, २०२२, ०२४, ०२५, ०३८, ०४०, ०४२, ०४५, ०६५, ०७९, ०८१ सालमा कोशीमा बाढी आयो।

कोशीका गोठालाले कोशीको परिवर्तनसँगै आफ्नो जीविका पनि उसैगरी फेरबदल गर्दै आए। कोशी किनाराका मान्छेको जीविका कृषि र पशुपालनबाट हुन्थ्यो। अद्योपान्त कोशी किनार कृषि क्षेत्र हो। बहुसङ्ख्यक नागरिकले कृषि र पशुपालनलाई नै मुख्य पेशाका रूपमा लिएका छन्।

कोशीका गोठालाहरु कोशीमा गाईवस्तु हेलाउँथे (पारी तार्थे)। वारि चरन थिएन। प्रत्येक किसानका घरमा सयौंका सङ्ख्यामा गाईवस्तु थिए ।

२०२५ सालताका आनन्दप्रसाद गौतमका गोठमा दुई सय गाईवस्तु थिए। ‘गाईवस्तु बाछाबाछी धेरै हुने भएकाले ठ्याक्कै यति नै भनेर गणना थिएन तर एक-डेढ सय वस्तु त कोशीपारी हेलाउँथ्यौं। बाछाबाछी वारि नै गोठमा हुन्थे’, गौतम भन्छन्।

कोशी किनारमा ठूलाठूला गोठ थिए। गोठमा सयौं गाईवस्तु थिए। नागरिकको जीविका गाईवस्तु हेर्ने, दूध बेच्ने गर्दै चलिरहेको थियो। बिहानै वस्तु फुकाएर कोशी नदीमा धपाइन्थ्यो। वस्तुभाउ नदीमा हेलिंदै पारी टिक्री (कोशीका साना साना टापु) मा चर्थे। साँझ भएपछि आफैं फर्कन्थे।

‘हामी पनि केटाकेटीमा गाईका पुच्छर समातेर कोशी तर्थ्यौं, यो एउटा छुट्टै रमाइलोको पल हुन्थ्यो’, गौतम पुराना दिन सम्झिंदै भन्छन्, ‘अहिले पो डर लाग्छ, कति जोखिमको क्षण हुन्थ्यो त्यो, तर त्यतिबेला त्यसैमा आनन्द पनि हुन्थ्यो।’

विगत एक दशकदेखि कोशी नदीमा वस्तु हेलाउनेक्रम घट्दै गएको छ। गौतम परिवारको गोठ अहिले सरेर घरमा आइपुगेको छ।

गाईवस्तुका नाममा ग्वालीमा एउटा गाई र बाछी छन्। परम्परागत पशुपालनतर्फ नयाँ पुस्ताले आकर्षण देखेनन्। जागिर र वैदेशिक रोजगारमा परिवारका सदस्य लागे। गाईवस्तुको स्याहार चाकरमा कमी हुँदै आयो। रोगव्याधिले पनि वस्तुभाउ मरे। गोठ रितिंदै गयो।

शिवनारायण चौधरी (६४) वराहक्षेत्र-४ धनपुरीका पशुपालक। केटाकेटीदेखि नै पुर्ख्यौली पेशा कृषि र पशुपालन गर्दै आएका छन्। कोशी नदी किनारमा गोठालो गरिरहेका उनका अहिले १०-१२ वटा गाईवस्तु छन्। बर्खा लाग्न थालेपछि उनले वस्तुभाउ हेलाउन छाडे। कोशीवारि नै गोठाला गरिरहेका उनले जाँगर घट्दै गएको बताए।

बराहक्षेत्र-६ स्थित ठाकुरबारीमा वस्तुभाउ हेर्दै गरेका उनले कोशीका गोठालाले अहिले गाईवस्तु टप्पुका टिक्रीमा हेलाउन छाडेको बताए। ‘बर्खा लागेपछि कोशी वारि नै वस्तुभाउ हेर्न थालेको छु, कोशीपारी गाईवस्तु तार्ने चलन कम हुँदै आएको छ।’ चौधरी भन्छन्, ‘समय पहिलेजस्तो रहेन, गोठालो पेशा दुःखी पेशा भयो।’ चौधरीका अनुसार यो क्षेत्रका सबैभन्दा बढी गाईवस्तु पालन गर्ने सिंहबहादुर तामाङ थिए। भरौलीवासी उनका गोठमा दुई सय बढी गाईवस्तु थिए। अहिले सिंहबहादुर पनि छैनन्, गोठमा गाईवस्तु पनि छैनन्।

कोशीमा गाईवस्तु हेलाउने चलन चतरादेखि राजाबास प्रकाशपुर हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका बस्तीवासीको दैनिकी थियो। कोशीपारि गरैया, चिलिया टप्पुका स्थानीय पनि टिक्रीमै वस्तु हेलाउँथे। कालान्तरमा यो चलन हराउँदै गयो।

‘कोशी किनारमा जन्मिएका हामीलाई प्रकृतिले बचाएर ल्याएको रहेछ, हामी धेरै पटक मर्नबाट जोगिएका छौं, धेरै पटक कोशीका भेलबाट जोगियौं, खोला, नहरबाट जोगियौं, प्रकृतिका अनेकौं प्रकोपबाट जोगिएर कोशी सभ्यतालाई अगाडि बढाउँदै आएका रहेछौं’, समाजशास्त्रमा स्नातकोत्तर गरेका बराहक्षेत्र-२ का युवा प्रदीप कार्की भन्छन्, ‘कोशीका कथाभित्रका हामी पात्र हौं।’

आधुनिक पशुपालनतर्फ युवा

विजयकुमार राउत (३५) ले श्रीलङ्का टप्पुको चिलियामा आफ्नो धेरै समय गोठालामै बिताए। उनी एक्लै २०-२२ वटा भैंसी राँगाका गोठाला थिए।

राँगापालनतर्फ उनको यो व्यवसायिक कदम थियो। २०६३ सालदेखि ०६६ सालसम्म उनले राँगा पाले। तर रोग प्रकोपका कारण धेरै समय निरन्तरता दिन सकेनन्। ‘पशुपालनको सम्भावना देखेर व्यवसायिक रुपमा राँगापालन सुरु गरेको थिएँ, तर रोगका कारण धेरै घाटा बेहोर्नु पर्‍यो’, उनले भने। राजनीतिमा हाल सक्रीय उनले टप्पु छाडे।

टप्पुका हरेक घरले भैंसी राँगा पाल्थे। चरन क्षेत्र प्रशस्त थियो। अहिले पनि १/२ हल राँगा भैंसी पालन गरिन्छ तर व्यवसायिक रूपमा प्रवर्धन हुन नसकेको राउत बताउँछन्।

समयान्तरसँगै कोशीका टिक्रीमा पशुपालन गर्ने थिति आधुनिकतातर्फ अघि बढेको छ। कोशीका पुराना गोठालाका गोठ रितिँदै गए पनि कृषि पशुपालनलाई नै समृद्धिको आधार मानेका युवाको आकर्षण पनि उत्तिकै छ।

विगत सात महिनाअघिदेखि बराहक्षेत्र-६ स्थित जलाल टिक्रीमा राँगापालन गर्दै आएका युवा कैलाश कार्की (४१) उत्साहित छन्। उनका गोठमा १५० वटा राँगा छन्। उनको समूहले व्यावसायिक राँगापालनसँगै १२० बिघा जग्गामा मकै खेती गरेको छ। मकै खेतीबाट घाँस उत्पादनका लागि साइलेस मेसिन राखेका छन्। ‘कृषि पेशाबाटै समृद्धि हासिल गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक कृषि थालेका हौं’, कार्की भन्छन्, ‘कृषि र पशुपालनलाई हेयको दृष्टिले होइन उत्पादन र औद्योगीकरणका दृष्टिले अघि बढाउन चाहेका छौं।’

कोशी क्षेत्रमा व्यवसायिक पशुपालनको प्रशस्त सम्भावना रहेको छ। युवा व्यवसायी मात्र होइन पशुपालनको पुर्ख्यौली पेशा गर्दै आएका भरत यादव श्रीलङ्का टप्पुका उदाहरणीय पशुपालक हुन्। बराहक्षेत्र-६ बाट सिसौली घाट तरेपछि यादवको गोठ पुगिन्छ। उदयपुरको बेलका रामपुरबाट समेत पुग्न सकिने यादवको गोठमा एक सय भैंसी छन्। तीन सय गाईमध्ये ४० वटा गाई गोठमै छन्। बाँकी जङ्गलमा रहेको यादव बताउँछन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : १५ बजे

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा