लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण | Khabarhub Khabarhub

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।
     
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख रुपैयाँ बराबर बाह्य ऋण उठाइएको छ ।

यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ । 

गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ । चालु आवका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो ११ महिनामा तीन खर्ब १५ अर्ब रुपैयाँ हाराहारी उठिसकेको छ ।
     
सरकारले अधिकांश बाह्य ऋणलाई पुँजीगत शीर्षक अर्थात् विकास आयोजनामा खर्च हुने बजेट स्रोतका रूपमा देखाएको हुन्छ । अहिले विकास आयोजनाको काम सुस्त हुँदा र खर्च गर्न नसक्दा वैदेशिक ऋण प्राप्ति कमजोर देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।  

‘दुईपक्षीय वा बहुपक्षीय निकायबाट आउने बाह्य ऋण विभिन्न विकास आयोजनामा खर्च गर्ने गरी सहमति भएको हुन्छ । आयोजनामा काम गरेका आधारमा त्यसको भुक्तानी र शोधभर्ना हुँदै जाने हो । हाम्रा निकायले तोकिएका समयमा काम गर्न नसक्दा बाह्य ऋण प्राप्ति कमजोर भएको हो’, कोइरालाले भने ।
     
बाह्य ऋणलाई स्रोत देखाइएका अधिकांश आयोजनामा पहिले आन्तरिक स्रोतबाट खर्च भएर पछि शोधभर्ना हुने गरेको उनको भनाइ छ । दातृ निकायबाट हुने बाह्य ऋण प्रतिबद्धताको रकम सोझै सरकारको खातामा आउने नभई सम्बन्धित आयोजनाको काम सम्पन्न भएको आधारमा प्रगति देखिने भएकाले यस वर्ष बाह्य ऋण प्राप्ति कमजोर देखिएको हो ।

‘दातृ निकायहरूले बढी जसो ‘बजेटरी सपोर्ट’ भन्दा पनि ‘प्रोजेक्ट फाइनान्सिङ’ गरेको हुन्छ । आयोजनामा काम भयो भने पैसा आउने हो, काम हुन सकेन भने आउँदैन’, कार्यालयका प्रमुख कोइरालाले भने । 

आयोजना कार्यान्वयन गर्न सम्बन्धित विषयगत मन्त्रालय र मातहतका निकाय जिम्मेवार हुने भएकाले कुनै एक मन्त्रालय वा निकायको कमजोरीका कारण नभई समग्र विकास खर्च कमजोर देखिएकाले त्यसको प्रभाव बाह्य ऋण प्राप्तिमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार शनिबार बेलुकासम्म सरकारको कूल पुँजीगत खर्च वार्षिक लक्ष्यको ४२ प्रतिशत हाराहारी छ ।

सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी कूल ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । 

चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा गत जेठ मसान्तसम्ममा दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ सरकारी ऋण थपिएको हो । गत जेठ मसान्तसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ४७ प्रतिशत हुन्छ ।

त्यस्तै, हालसम्म सरकारले तिर्न बाँकी ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव शून्य छ र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ९४ प्रतिशत छ । गत जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ बराबर छ ।

सरकारले चालु आवमा पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । गत जेठ मसान्तसम्ममा चार खर्ब १४ अर्ब १९ करोड रुपैयाँ ऋण उठिसकेको छ । 

वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ७५ दशमलव ७२ प्रतिशत हुन्छ । सरकारीको ऋणको साँवाब्याज भुक्तानीका लागि पछिल्लो ११ महिनामा तीन खर्ब २९ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । यस वर्ष सरकारले साँवा ब्याज तिर्न चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । 

गत जेठ मसान्तसम्ममा आन्तरिक ऋणको साँवा तिर्नका लागि दुई खर्ब २३ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ र आन्तरिक ऋणको ब्याज तिर्नका लागि ५४ अर्ब ३७ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । 

त्यस्तै, यही अवधिमा बाह्य ऋणको साँवा तिर्नका लागि ४३ अर्ब २९ करोड रुपैयाँ र बाह्य ऋणको ब्याज तिर्नका लागि आठ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : २८ बजे

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित