काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६१ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालभर डेंगी सङ्क्रमितको कुल सङ्ख्या दुई हजार १ सय ८१ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) द्वारा सार्वजनिक तथ्यांक अनुसार पछिल्लो साता ६ वटा प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
ईडीसीडीका अनुसार सबैभन्दा धेरै बागमतीमा ९ जनामा सङ्क्रमण देखिएको छ भने कोशीमा ५, लुम्बिनीमा ३, मधेशमा १ र कर्णाली प्रदेशमा १ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ सङ्क्रमित थपिएको ईडीसीडीले जनाएको छ ।
अझै तिन महिना डेंगीको जोखिम उच्च रहेकाले सङ्क्रमतिको सङ्ख्या बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । श्रावण महिनालाई डेंगी सचेतना महिना राष्ट्रिय अभियानको घोषणा गर्दै मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी नियन्त्रणका लागि खोजौँ र नष्ट गरौँ राष्ट्रिय अभियान चलाइरहेको छ ।
श्रावण महिनाभर चल्ने यस अभियानमा आफ्नो स्थान वरपर डेंगी सार्न कारक लामखुट्टेका लार्भा खोजी र नष्ट अभियानमा सहभागी भएर आफू अनि सबैको स्वास्थ्य रक्षामा सहभागिताका लागि अनुरोध गरेको छ ।
प्रतिक्रिया