सिन्धुली– दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ ।
हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए।
मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गर्नु भएको हो । सोमबार बिहान उक्त स्थानमा करिब २५-३० वर्षको पुरुषको शव फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए। प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुपा बरामद गरेको थियो ।
प्रहरीका अनुसार पंकज साथिहरुसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए।
घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । भारतको विभिन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ ।
प्रतिक्रिया