कञ्चनपुर– कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिन्छन्, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उनले आफ्नो परिवार चलाइरहेका छन् ।
करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उनी सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे। उनको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उनी घर फर्किए ।
‘घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो’, उनले भने, ‘विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे ।’
श्रीमती लक्ष्मीका साथमा उनी चिया, समोसा र पकौडा बनाउँछन्। दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउँछन्। त्यसमा उहाँका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन् ।
दैनिक २०० सहकारीमा बचत गर्ने उनले वार्षिक रु एक लाखसम्म बचत गर्ने गरेका छन् । उनको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोगेका छैनन् ।
‘विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले’, उनी विगतलाई सम्झँदै भन्छन्, ‘विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन् ।’
सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उनले बताए।
‘हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ’, स्थानीय युवा सुरेश विकले भने, ‘स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उनले गरेको सङ्घर्ष अनुकरणीय छ ।’
उनका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हटेका छैनन् ।
उनले भने, ‘तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उनलाई रुचाउँछन् ।’
प्रतिक्रिया