काठमाडौं– नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले यस वर्षको ३१औँ कार्गो दिवस साउन १३ गते (जुलाई २९, २०२५) काठमाडौंको हायात रिजेन्सी होटलमा मनाउने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष एवं ३१औँ कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले यस वर्षको कार्गो दिवस ‘लोजिस्टिक्स डेभलपमेन्ट अफ नेपाल एण्ड बीबीआईएन कनेक्टिभिटी’ नाराका साथ मनाइने जानकारी दिए ।
अग्रवालका अनुसार कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा भव्यताका साथ आयोजना गरिनेछ । नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्य तथा विभिन्न एयरलाइन्स, व्यवसायिक संस्था र विभिन्न क्षेत्रको सहयोगमा कार्यक्रम आयोजना गरिने उनले बताए ।
अग्रवालले कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नगरी देशको समग्र आपूर्ति श्रृंखलालाई अझ प्रभावकारी र सुदृढ बनाउने बारेमा गहन विचार विमर्श गर्ने अवसर प्रदान गर्ने बताए । यो दिवसले नेपालको लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न र पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउन महत्त्वपूर्ण भूमिका खेलेको अग्रवालको भनाइ छ ।
कार्यक्रममा तीन सत्र आयोजना हुनेछ । पहिलो सत्रमा उद्घाटन कार्यक्रम र नेफा वार्षिक अवार्ड २०२५ प्रदान गरिनेछ ।
दोस्रो सत्रमा ‘लोजिस्टिक्स डेभलपमेन्ट अफ नेपाल एण्ड बीबीआईएन कनेक्टिभिटी’ विषयक अन्तरक्रिया कार्यक्रम हुनेछ भने तेस्रो सत्रमा फेलोशिप एण्ड ट्रेड मिट कार्यक्रम आयोजना गरिनेछ ।
नेफा वार्षिक अवार्ड अन्तर्गत नेपाली लजिष्टिक्स क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने नेफा सदस्य, सरकारी/गैरसरकारी निकाय, अनलाइन र अफलाइन एयरलाइन्स तथा सुख्खा बन्दरगाह संचालकहरूलाई सम्मान गरिने अग्रवालले जानकारी दिए ।
नेफाले प्रत्येक वर्ष जुलाई २९ को दिनलाई कार्गो दिवसको रूपमा मनाउने गरेको छ । यस संघद्वारा तीन दशकभन्दा बढी समयदेखि मनाउँदै आएको कार्गो दिवस नेपालको लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रको प्रमुख कार्यक्रमको रूपमा स्थापित भइसकेको छ ।
कार्गोसँग सम्बन्धित कानुन नभएकाले गर्दा व्यवसायीलाई समस्या परेको नेफाका अध्यक्ष राजेन्द्र संग्रौलाले बताए । कानून बन्ने कुरा अहिले उद्योग मन्त्रालयबाट अगाडि बढिरहेकाले गर्दा भविष्यमा चाडै कार्गो व्यवसायीको हितमा कानुन बन्ने संग्रौलाले जानकारी दिए ।
कार्गो सेवामा टिडिएस लगाएकाले व्यवसायी धसासाही भएको अध्यक्ष संग्रौलाको भनाई थियो ।
प्रतिक्रिया