विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्‍ने थाहा थियो | Khabarhub Khabarhub

विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्‍ने थाहा थियो

‘म राजनीतिमा फर्किँदा एमालेमा त्रास फैल्याइयो, गुट भेला गरियो‘


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किन खोजेपछि नेकपा एमालेभित्र त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाएकी छन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै दुई कार्यकाल र ७० वर्षे उमेरहदको विषयमा उठेका कुरालाई लिएर आफूविरुद्ध आक्रमणको प्रयास भइरहेको बताएकी छन्।

भण्डारीले मंगलबार राजधानीस्थित निवासमा आयोजित छलफलमा विगतदेखि वर्तमानसम्मका विषयहरूमा स्पष्ट धारणा राखिन्। उनले हाल पार्टीभित्र नीति र विचारको बहस गुमेको, गुटगत भेटघाट मौलाएको र लोकतान्त्रिक आचरण हराउँदै गएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले २०७९ पछि नेकपा माओवादी केन्द्रसँग बनेको सत्ता समीकरणलाई अपरिपक्व भनिन् । ‘२०७९ को चुनावपछि माओवादीलाई प्रधानमन्त्री बनायौँ, तर हामीलाई त राष्ट्रपति दिएनन्’, उनले भनिन्।

चुनावमा स्पष्ट बहुमत नआउँदा ठूला पार्टीहरूबीच सहकार्य आवश्यक हुन्छ भन्ने धारणा आफूले नै अघि सारेको बताएकी उनले तर व्यवहारमा एमाले नेतृत्वले आफूलाई उपेक्षा गरेको गुनासो गरिन्।

भण्डारीले राजनीतिमा फर्किने आफ्नो निर्णयपछि एमालेमा ‘टेरर’को अवस्था बनाइएको बताइन् । अब दलहरूमार्फत् शिक्षा, स्वास्थ्य र ग्लोबल वार्मिङका कुरा उठाउनुपर्छ भनेर आफूले भनेको उनले बताए।

‘मैले राजनीतिमा आउने भनेपछि अहिले नेकपा एमालेमा टेरर जस्तो सिर्जना गरिएको छ । दुई कार्यकाल र ७० वर्षे उमेर हद राख्दा केपी शर्मा ओलीलाई नै बाधा छ। अहिलेको बैठकमा पनि ईश्वर पोखरेल र युवराज ज्ञवालीले मात्रै बोल्नु भएको छ’, उनले भनिन्।

‘म राजनीतिमा फर्केपछि नेकपा एमालेभित्र अवाञ्छित त्रासको स्थिति सिर्जना गरिएको छ’, उनले भनिन्, ‘म राजनीतिमा आउनेबित्तिकै एमालेमा टेररजस्तो बनाइयो ।’

उनले च्यासलमा भएको भेटमा जबजको निर्देशअनुसार पार्टीको लोकतान्त्रीकरण र दुई कार्यकालमा आफैं ब्याक भएको कुरा उठाएको पनि बताइन् ।

‘७० वर्षबारे कुरा उठाएपछि उहाँले छलफल हुन्छ भन्नु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विद्या भण्डारीबारे कुरा हुँदैन भन्नु भएको हो । मेरो स्पष्ट कुरा भएको मैले सदस्य ता नवीकरण गरेँ म राजनीतिमा आइसकेँ भनेको हो’, उनले भनिन्, ‘उहाँले राष्ट्रपति सम्मानित पद हो, राजनीतिमा आउँदा गालीगलौज गर्छन्, सम्मानित पदको ख्याल गर्नुपर्छ भन्नु भएको हो ।’

उनले भदौ २०–२२ मा हुने भनिएको विधान महाधिवेशनमा आफूलाई जान नदिने रणनीति अघि सारिएकोबारे यसअघि नै जानकार रहेको बताइन् ।

‘मलाई पहिले नै थाहा थियो, भदौ २०-२२ मा हुने विधान महाधिवेशनमा मलाई जान दिँदैनन् भन्ने कुरा । अहिले पार्टीमा नीतिको बहस छैन । किन भने विधान महाधिवेशनअघि त नीतिको बहस हुनुपर्ने हो’, उनले भनिन्, ‘बैठकमा पनि खाली अध्यक्ष केपी शर्मा ओली भनेर भनिएको छ। महाधिवेशन घोषणा नभई अध्यक्षको चर्चा चलाइएको छ।’

अहिले नै पार्टीको गुटभेला चलाइएको उनले बताइन् । ‘सुन्दैछु कोशीको गुटभेला भयो, गण्डकीको भयो, कहिले पूर्वको गर्ने कहिले पश्चिमको । एमाले पटक पटक फुटेकाले कार्यकर्तामा डर र त्रास छ’, उनले थपिन् ।

राष्ट्रपति छाडेपछि सुविधा लिइनँ

भण्डारीले आफूले राष्ट्रपतिबाट निवृत्त भएपछि कानुनी अधिकारका धेरै सुविधा लिन इन्कार गरेको उल्लेख गरिन्।

‘२०७९ फागुन २९ मा छोरीको घरमा थिएँ, राष्ट्रपति कार्यालयले पठाएको ल्यान्ड क्रुजर फर्काएँ, मैले इभी मागेको थिएँ तर अहिलेसम्म दिइएन,’ उनले भनिन्।

उनले ५० हजार मसलन्द खर्च, तीन जना स्टाफ र अन्य सुविधा पनि स्वेच्छाले फिर्ता गरेको जनाइन्। ‘सेतो हात्ती भनेर उडाएपछि तीनजना नेपालीको जागिर गयो,’ उनले भनिन्।

‘कानुनअनुसार स्रेस्ता मिलाएर खाँदा पनि हुन्थ्यो । नेपाली सेना र प्रहरी राख्दा सडकमै सुताउन भएन, उनीहरूका लागि लिएको घरको भाडा सरकारले तिरिरहेको छ’, उनले भनिन् ।

भण्डारीले राष्ट्रपतिको पद पनि पार्टीले दिएको विशेष जिम्मेवारीको रूपमा स्वीकार गरेको बताइन्। ‘म पार्टी कार्यकर्ता थिएँ, म संगठक हुँ,’ उनले राष्ट्रपतिका रूपमा पनि पार्टी प्रतिनिधित्व गरेको बताउँदै भनिन् ।

‘मैले राष्ट्रिय आवश्यकतालाई हेरेर राजनीतिमा आएको हो । म पार्टी काममा छु, म संगठक हो, म राष्ट्रपतिमा पनि पार्टीले जिम्मेवारी दिएर गएको हो । राष्ट्रपति छाडेपछि सदस्यता नवीकरण गरेँ’, उनले भनिन् ।

उनले ओलीसँग च्यासलमा भएको भेटमा पार्टीको लोकतान्त्रीकरण र दुई कार्यकालबारे स्वयम् ओलीले अघिल्लो कार्यकालमा बोलेको कुरा स्मरण गराएको बताइन्।

‘७० वर्षबारे कुरा उठाउँदा ओलीले छलफल हुन्छ भनेका थिए, तर पछिल्लो बैठकमा मलाई नै छलफलको विषय नबनाउने भनिएको छ,’ उनले भनिन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ४५ बजे

ओली र पोखरेलको चेतावनीबीच पनि विद्या भण्डारीको पक्षमा उभिए केन्द्रीय सदस्यहरू

काठमाडौं- नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर