‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’ | Khabarhub Khabarhub

मोबिलिटी

‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको नाडा अटो शो–२०२५ चलिरहेको छ । शोमा प्रमुख आकर्षणको रूपमा उड्ने कार रहेको छ । एमएडब्ल्यू ग्रुपले ल्याएको उड्ने कार कहिलेबाट नेपालमा उड्न थाल्छ भन्नेमा सबैको चासो रहेको छ ।

चिनियाँ कम्पनी चाङ्गनले उत्पादन गरेको यो कार केरुङ नाका हुँदै पहिरोको गोरेटोमा भरियालाई बोकाएर नाडा अटो शोमा ल्याइएको हो । जमिनमा गुड्ने सवारीसाधनको मेला नाडा अटो शोमा उड्ने कार किन ल्याइयो त ? अव्यवस्थित तार र भवनको असमान उचाइले कुरुप बनाएको नेपालका शहरको आकाशमा यो कार गुडाउन सम्भव छ ? पहाडी र हिमाली भेगमा यस्तो कारको उपादेयता कहाँनेर छ ?

नाडा अटो शोको सेरोफेरोमा हरेर एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय विद्युतीय कार बिक्रीमा आक्रामक बनिरहेको एमएडब्ल्यूको बारेमा बताइदिनु न !

एएमएडब्ल्यूले नेपालमा ६० वर्षदेखि नेपालमा अटोमोबाइलको काम गरिरहेको छ । हामीले विराटनगरमा एउटा सानो वर्कसपबाट यो काम थालेका थियौँ । यतिखेर हामीले अटोमोबाइल्सका सबै क्षेत्र समेटेका छौँ ।

दुईपाङ्ग्रेमा यामाहा मोटरसाइकल, हेभी इक्विपमेन्टमा जेसीबी र लुब्रिकेन्ट्समा एचपी बिक्री गरिरहेका छौँ । कमर्सियल भेहिकलमा आइचर र विद्युतीय सवारीसाधन (ईभी) मा एमएडब्ल्यूले डिपल, नामी र सेरेस बिक्री गरिरहेको छ । ईभीमै फोटोनका कमर्सिएल भेहिकल छ ।

एमएडब्ल्यू वृद्धि विशेषगरी अटोमोबाइलमा डिस्ट्रिब्युटोरसीप भएको कम्पनी हो । हामीहरूको हायरपर्चेज कम्पनी पनि छ ।

नेपालमा अटोमोबाइल क्षेत्र प्रतिष्पर्धी बन्दै गरेको देखिन्छ, यो प्रतिष्पर्धाबीच तपाईँहरूले आगामी दिनमा के फरक गर्दै हुनुहुन्छ ?

आफ्ना ग्राहकलाई राम्रोभन्दा राम्रो सेवा कसरी दिन सकिन्छ भन्नेमा छौँ । अन्तरराष्ट्रिय मापदण्डको गुणस्तरीय उत्पादनहरू नेपालमा ल्याउन लागिपरेका छौँ । हामीले कसरी राम्रो सेवा दिन सक्ने र अरू कुन–कुन प्रडक्टले ग्राहकको आवश्यकता पूरा गर्छ भन्ने सोचेर अगाडि बढिरहेका छौँ ।

तर, हाम्रो मेजर फोकस दुई/तीनवटा छ । पहिलो ग्राहक सन्तुष्टि नै हो । दोस्रो इनोभेटिभ र टेक्नोलोजिकल्ली सुपेरियर प्रोडक्टहरू ल्याउने । तेस्रो – आफ्नो डिजिटल फुटप्रिन्ट अगाडि बढाउने ।

तपाईँ नाडामा समेत आबद्ध हुनुहुन्छ, अहिले नाडा अटो शो पनि चलिरहेको छ । त्यसमा तपाईँहरूले कस्ता सवारीसाधन या उत्पादन राख्नुभएको छ ?

नाडा अटो शोमा हामीले इन्नोभेसनलाई बेसिस मानेर नयाँ प्रविधि भित्र्याउन केन्द्रित भएका छौँ । डिपलको ईभी टोल, फ्लाइङ ट्याक्सी र ईभी टोल तपाईँहरूले देख्न सक्नुहुन्छ ।

बजारमा धेरै राम्रो प्रशंसा पनि भएको छ, राम्रो रेस्पोन्स पाएका छौँ ।

उड्ने कारबारे कस्तो रेस्पोन्स पाउनुभएको छ ?

नाडा अटो सोमा अध्यक्षज्यूसँग हाम्रो कुरा भइराखेको थियो । उहाँले भन्नुभयो कि एकैदिन रेकर्ड सङ्ख्यामा मानिसहरू नाडा अटो शो हेर्न आए । त्यसमा धेरै मानिसहरू हाम्रो ईभी टोल हेर्नकै लागि पनि आए । त्यसलाई मैले राम्रै मानेको छु ।

नेपालमा के देखियो भने पहिलोचोटी कुनै पनि कुरा आउँदा त्यसप्रति मानिसहरूको चासो राम्रो देखिन्छ । हेर्न र प्रयोग गर्न लालायीत हुन्छन्, यो राम्रो पक्ष हो ।

उड्ने कार कस्तो हो ? यसको फिचर कस्तो छ ?

यसलाई ल्यान्डिङ भेहिकल भन्नुपर्‍यो । यो कुनै पनि ठाउँबाट सीधै उड्न सक्छ । अहिले प्रर्दशनीमा ल्याइएको ट्याक्सी करिब तीन किलोमिटर माथिसम्म जान सक्छ र ३० किलोमिटरको रेञ्ज छ । यो कार प्रतिघण्टा १३० किलोमिटरको गतिले उड्न सक्छ ।

यसलाई चलाउन मानिस चाहिँदैन अर्थात् उक्त कारमा ड्राइभर या पाइलट हुँदैनन् । अपरेट गर्न एउटा कमान्ड सेन्टर चाहिन्छ । कमाण्ड सेन्टरबाटै यसलाई नियन्त्रण गरेर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सकिन्छ । अहिले जुन इभिटोल ल्याइएको छ, त्यो डिस्प्लेको लागि मात्रै हो । प्रदर्शनीमा राखिसकेपछि यो फिर्ता पठाइन्छ ।

नेपालमा उड्ने कार कहिलेबाट आउँछ र नेपालीले चढ्न पाउँछन् ?

यसलाई अपरेट गर्न हवाई नियामकको भूमिका बढी हुन्छ । नेपाल नागरिक उड्यन प्राधिकारण (क्यान) ले फ्लाइङ कार चलाउन दिन आवश्यक नियम बनाउनुपर्छ । उडान अनुमति लिनेदिने अवस्था बनाउनुपर्छ । त्यसै आधारमा उड्ने कार चलाउन सकिन्छ ।

तर, अहिलेसम्म नेपालमा त्यस्तो कानुन या संयन्त्र केही बनेको छैन । चीनमा यो सबै बनाइसकेका छन् । उनीहरूले mटाइप सर्टिफिकेटदेखि एयर वर्दनेस सर्टिफिकेट पनि चीन सिभिल एविएसन अथोरिटीबाट पाइराखेका छन् ।

उनीहरू अब चीनमा उड्ने कार चलाउन अघि बढिरहेका छन् । हामीकहाँ पनि उड्ने कार चलाउन नियमकानुन, आवश्यक पूर्वाधार र संयन्त्र बनाउनुपर्छ । परीक्षण पनि हुनुपर्‍यो । सरकारले निम्ति आवश्यक व्यवस्था मिलाउन सके अलिक अगाडि नै नेपालीसँग उड्ने कार हुनेछ ।

हाम्रोमा धेरैजसो भूभाग पहाडले ढाकेको छ । सुत्केरी महिला या बिरामी नै पर्दा पनि महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था छ । त्यसो गर्दा खर्च पनि निकै हुन्छ । यो उड्ने कार अप्ठेरो ठाउँमा उद्धारका त्यस्ता काममा प्रयोग गर्न मिल्दैन ?

यो लामो यात्राको लागि होइन । हेलिकप्टरलाई यसले प्रतिस्थापन गर्न सक्दैन । आजको दिनमा हेलिकप्टरको विकल्प यो होइन । यसको टोटल रेञ्ज नै ३० किलोमिटर छ । तर, चीनमा २०० किलोमिटर रेञ्जको पनि आइसक्यो ।

तत्काललाई लामो दूरीका लागि यो प्रभावकारी हुँदैन । मलाई लाग्छ – पर्यटनमा बढी प्रभावकारी हुन सक्छ । सवारीचाप धेरै हुने सडक छल्दै एक ठाउँबाट अर्को ठाउँमा जान यसले कहिलेकाहीँ मद्दत गर्न सक्छ ।

सञ्चालनमा ल्याएपछि यसको अन्य रूप पनि भविष्यमा विकास हुँदै जान्छ । चीनमा एकपटक अप्रेसन स्टार्ट भएपछि सबैलाई उदाहरण पनि हुन्छ ।

चीनमा कुद्न नै थालिसकेको हो र ? प्रक्रिया कहाँ पुगेको जानकारी पाउनुभएको छ ?

चीनमा सबै तयारी भइसकेको छ । यस्ता कार सञ्चालन गर्नेले लाइसेन्स पनि पाइसकेका छन् । अब यसको व्यवसायिक उत्पादन र सञ्चालन चाँडै नै सुरु हुनेवाला छ ।

नाडा अटो शो मा वा नेपालमा यो उडेको देख्न पाइन्छ कि पाइँदैन ?

हाम्रोमा उडाउन अनुमति छैन, कमाण्ड सेन्टर पनि छैन । यी दुई आधारबिना फ्लाइङ कार उडाउन मिल्दैन । यसलाई उडाउन कमाण्ड सेन्टर चाहिन्छ । किनकि यो अलिकति सेन्सेटिभ कुरा हो ।

यो नाडामा ल्याउनुको उद्देश्य के हो ?

चाङ्गनको एउटा ब्राण्ड डिपल कार हो । यो अत्याधुनिक प्रविधि कम्पनी हो । त्यहाँको सरकारले लगानी गरेका १०० वटा कम्पनीमध्ये चाङ्गन पनि एउटा हो ।

त्यसको मतलब के भयो भने सरकारले पनि विश्वाससाथ लगानी गरेको छ । कम्पनीको भविष्य हेरेरै उनीहरूले लगानी निम्ति यसलाई रोजेका हुन् । चाङ्गन चीनको तेस्रो ठूलो अटोमोबाइल कम्पनी हो । यसको कुल आम्दानी मात्रै ४० बिलियन अमेरिकी डलर छ । यो ठूलो कुरा हो ।

हामीले देखेका जति पनि कार छन्, जस्तै एस जिरो सेभेन आएको थियो, त्यो पनि प्राविधिक रूपमा एकदमै उन्नत कार थियो । अहिले हामीले एस जिरो फाइभ लन्च गरेका छौँ । त्यो पनि प्रविधि र समग्र प्रदर्शनमा धेरै अगाडि छ ।

बीचमा उसले ट्रान्सफर्मेटिभ एसयूभी पनि लिएर आएको थियो । ट्रान्सफर्मेटिभ एसयूभी र पिकअप पनि, यी दुईवटामा रूपान्तरण गर्न सक्ने खालको उत्पादन थियो ।

उसले प्रविधिमा धेरै ध्यान दियो । त्यही प्रविधि देखाउन फ्लाइङ कार ल्याएका हौँ । भविष्यमा चाङ्गनले हावा, पानी र जमिनमा चल्ने (ट्राइफिबियस) कार बनाउने भिजन अघि सारेको छ । अहिले तपाईँंले हावा र जमिनमा उड्ने कार हेर्नुभएको छ । तर एउटै कार बनाएर त्यसलाई थल, जल र आकाशमा चलाउन खोजिरहेका छन् ।

उनीहरूले आगामी पाँच वर्षमा ईभीमा दुई बिलियन अमेरिकी डलर खर्च गर्नेवाला छन् । यसको प्राविधिक विशेषज्ञता र प्राविधिक क्षमता देखाउन हामीले चाङ्गनको फ्लाइङ कार नेपालमा ल्याएका हौँ ।

हामीले ईभीमा राम्रो गर्‍यौँ भनिरहेका छौँ । समग्रमा नेपालमा विद्युतीय सवारीसाधनको बजार कस्तो छ ? अवसर र समस्या के के हुन् ?

नेपालमा हामीहरूले स्वच्छ विद्युत् उत्पादन गर्ने धेरै अवसरहरू छन् । हामीहरूसँग सम्भावना पनि छ । आज हामी गरिरहेका छौँ । आगामी पाँच वर्षमा धेरै ऊर्जाका परियोजनाहरू ग्रीडमा थपिनेवाला पनि छन् ।

हामीहरूसँग बिजुलीको बचत पनि हुन लागेको छ । त्यो दृष्टिकोणले पनि ईभी सवारी साधनको सञ्चालन लागत कम छ । हामीकहाँ नै उत्पादित बिजुली खपत गर्छ । पेट्रोलियम पदार्थको पनि बचत गर्छ । मतलब, हामीहरूको विदेशी मुद्रा पनि बचाउँछौँ । नेपालका लागि त्यो एकदमै उपयुक्त कुरा हो ।

कसैले थर्मल पावरबाट बिजुली बनाएर ईभीमा प्रयोग गर्ने, त्यो त बेग्लै कुरा हो । हामीहरूको त आफ्नो स्वच्छ ऊर्जा छ । यो नेपालका लागि एकदमै उपयुक्त उत्पादन हो । त्यसैकारण सरकारले पनि ईभीलाई प्रवर्द्धन गरिरहेको छ । आज नेपालमा ईभीमा पहुँच ७० प्रतिशत पुगिसकेको छ, जुन विश्वमै राम्रो मानिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ०३ बजे

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश