लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू | Khabarhub Khabarhub

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनी गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरूले बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भाग लिने अधिकांश सांसदहरूले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गरे । प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेक भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताइन् । 

उनले भनिन्, ‘लिपुलेक नेपालको अभिछिन्न भूभाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।’

सांसद दुर्गा राई नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको  लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गरिन् ।

उनले भनिन्, ‘सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा  एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौँ । भूगोलमा सानो भए पनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।’

सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अभिन्न भूभाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताइन् । उनले सबै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह गरिन् । 

सांसद नैनकला थापाले सार्वभौम र स्वाधीन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताइन् । उनले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राखिन् । 

सांसद प्रभु हजाराले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भए पनि नेपाल र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिए ।

सांसद देवेन्द्र पौडेलले हरितालिका विशेष अवसरमा सम्पूर्ण नेपालीजनप्रति शुभकामना व्यक्त गर्दै ढोरपाटन सिकार आरक्ष जाने सडक अस्तव्यस्त रहेकाले मर्मत र सुधारका लागि ध्यानाकर्षण गराए । 

सांसद ठाकुर गैरेले तीजका नाममा अहिले पनि कतिपय सामन्ती अवशेषका प्रवृत्तिका कारण भड्किलो, खर्चिलो, रवाफिलो बन्दै गएकाले सुधारको खाँचो औँल्याए ।

उनले सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय हितको पक्षमा सामाजिक न्याय, लोकतन्त्र, जनजीविका र सुशासनको पक्षमा तीजले एकताबद्ध  तुल्याउने विश्वास व्यक्त गरे ।

सांसद नारायणप्रकाश साउदले विद्यालय शिक्षा विधेयक पारित गरे पनि सबैलाई स्वीकार्य गरी अघि बढाउन पर्ने सुझाव दिए ।

सांसद नारायणप्रसाद आचार्य पाल्पाको रामपुर खण्डको सडक, कृषि, नगदेवाली र शिक्षा क्षेत्रमा ठूलो महत्त्व राख्ने भएकाले समयमै मर्मत र सुधारका लागि अनुरोध गरे ।

सांसद पुष्पबहादुर शाहले राष्ट्रिय परिचय पत्र बनाउन जाने क्रममा यसै साता पनि ज्येष्ठ नागरिकको लडेर मृत्यु भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितणको व्यवस्थाका लागि अनुरोध गरे ।

सांसद प्रकाश ज्वालाले जाजरकोट केन्द्रवीन्दु भएर गएको  भूकम्पमा सल्यान जिल्लामा पनि पूर्वाधार क्षेत्रमा ठूलो नोक्सानी भएकाले सरकारले त्यसमा समेट्न, छिटो पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्न र जिल्लामा दमकलको व्यवस्था गर्न  सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रतीक्षा तिवारीले तीजका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नजिकिँदो चाडबाडका अवसरमा  अत्यावश्यक वस्तुमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमनको माग गरिन् ।

सांसद प्रेम महर्जनले  भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औँल्याए । रासस
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २७ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्