योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार « Khabarhub

योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् ।

‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन् ।

उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित भएका छन् । कोहलपुर–१५ निवासी मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे ।

कतिपय मजदुरहरूले भने आफूहरूको सहमतिबिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । खारेजीको माग गर्ने मजदुरहरूलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवले बताए ।

कोहलपुर–६ निवासी मजदुर गीता थारुले अहिले आफूहरूलाई सङ्गठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताए । सङ्गठनको आन्दोलनका कारण आफ्नो दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ ।

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियनको नेतृत्व गर्ने अधिकांश सदस्यहरू उद्योगमा कार्यरत नै नरहेको दाबी गरे । उनले फर्जी नाम राखेर दिएको निवेदनलाई प्रमाणीकरण नै नगरी श्रम कार्यालय, नेपालगञ्जले प्रतिष्ठानस्तरको ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए ।

श्रेष्ठका अनुसार उद्योग पूर्णरूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गरियो । पहिलेदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक करिब पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगलाई श्रम कार्यालयले वास्तविकता नबुझी खाता रोक्का गरिदिएपछि बन्द गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।

श्रेष्ठले उद्योग बन्द हुँदा दैनिक १० लाखभन्दा बढी घाटा भइरहेको भन्दै सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरे ।

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले योयो प्लाइउडका मजदुरहरू विभाजित भएको स्वीकार गरे । उनका अनुसार उचित पारिश्रमिक नपाएको भन्दै केही मजदुरद्वारा सङ्गठनका नाममा परेको उजुरीमाथि कारबाही हुँदै जाँदा उद्योगको खाता रोक्का गरिएको थियो । अहिले मजदुर र उद्योग प्रतिनिधिहरू दुवै पक्ष उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन् ।

ट्रेड युनियन दर्ताको विषयमा भने रजकले दर्ताका लागि आएको निवेदन र मजदुरको हस्ताक्षरको आधारमा सङ्गठन दर्ता गरिएको बताए । मजदुरको हस्ताक्षर कीर्ते भएकोलगायतका विषयमा प्रमाणीकरणको लागि ३५ दिनभित्र श्रम अदालतमा जानसक्ने कानूनी व्यवस्था रहेको उनको भनाइ छ ।

विगत पाँच वर्षदेखि सञ्चालित यो उद्योगले कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका खटिक समुदायको बसोबास रहेको स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएको थियो । उद्योग बन्द भएपछि स्थानीयहरूको मुख्य रोजगारीको स्रोत पनि गुमेको छ । (रासस)

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ११ : ०४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा