व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’ « Khabarhub

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीव्र गतिमा भइरहेको छ ।

‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

आयोजना सम्पन्नपश्चात् चार सय परिवारका छ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने व्यास–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए । 

उनका अनुसार उक्त आयोजनाबाट वडाका करिब छ हजार जना प्रत्यक्ष लाभान्वित हुनेछन् । सङ्घ र प्रदेश सरकारबाट सात करोड ७८ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आएको जनाउँदै आलेले सङ्घबाट क्रमगत बजेटअनुसार दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइरहेको उल्लेख गरे ।

सोही वडाको ठिन र हर्कपुरको सिमानामा पर्ने सेतीनदी नजिकै रहेको गरजौदी मुहानको पानी पाँच सय मिटर उचाइमा लिफ्ट गरी रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिने वडाध्यक्ष आलेले बताए  । 

‘मुहानमा गर्नुपर्ने आवश्यक निर्माण सकिएको छ । लामो दूरी रहेकाले बीच भागमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर पानीमाथि लिफ्टिङ गरिनेछ’, उनले भने, ‘बीच भागमा निर्माण गरिने ट्याङ्कीबाट पानीमाथि लिफ्टिङ गरी एक लाख ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर घरघरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।’

आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण सकिएको छ । विसं २०८४ सम्म सम्पन्न गर्ने गरी क्रमागत बजेटअनुसार निर्माण भइरहेको छ । योजना सम्पन्नपछि वडावासीलाई स्वच्छ खानेपानीका साथै करेसाबारीमा सिँचाइ गर्न सहज हुने व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।

उनले भने, ‘पछिल्लो समय यस वडा फलफूल र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ । सिँचाइको सहज सुविधा पुगेसँगै व्यावसायिक किसानको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।’ 

वडामा पशुपालन र कृषि व्यवसायलाई थप प्रोत्साहन गर्दै युवालाई यसतर्फ आकर्षित गराउन आवश्यक सहयोग गर्ने बताउँदै उनले यसले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ४५ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर