वरिष्ठ अधिवक्ता त्रिपाठीले इजलासमा भने- सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामा पठाउनुपर्छ | Khabarhub Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीले इजलासमा भने- सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामा पठाउनुपर्छ


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी छ ।

बुधबार बिहान अदालतमा हाजिर भएर श्रीमती निकिता पौडेलको जिम्मा लगाइएका रविको मुद्दामा बिहीबार सरकारी वकिल र पीडितको तर्फबाट अधिवक्ताहरूले बहस गरेका छन् ।

बिहीबार इजलास सुरु हुनेबित्तिकै सरकारी वकिलहरूले बहस गर्दै रविलाई हिरासतमा नराखेर श्रीमतीको जिम्मा लगाउने न्यायाधीश प्रल्हादकुमार योगीको निर्णयमा गम्भीर प्रश्न उठाए ।

उनीहरूले बयान दिन अदालतमा आएको मान्छेलाई परिवारको जिम्मा लगाएपछि अब लामिछाने जोडिएको मुद्दा नहेर्न पनि न्यायाधीश योगीलाई आग्रह गरे ।

बिहीबारको थुनछेक बहसका पुर्पक्ष नहुन्जेलसम्म रविलाई हिरासतमा नपठाएकोमा सरकारी वकिलहरूले आपत्ति जनाए ।

त्यसक्रममा पीडितहरूको तर्फबाट बहसमा सहभागी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश योगीलाई घेर्ने कोसिस गरे । उनले भिड उचाल्ने र कानुन व्यवसायीलाई हातपात गराउन उकास्ने व्यक्तिलाई हिरासतमा नराखी परिवारको जिम्म लगाउने इजलासको निर्णयलाई गम्भीर गल्तीको संज्ञा दिए ।

उनले बहसका क्रममा सुप्रिम सहकारी प्रकरणमा रविविरुद्ध प्रमाणहरू स्पष्ट देखिएको पनि उल्लेख गरे । ‘रविले सहकारी ठगी गरेको स्पष्ट प्रमाणहरू देखिन्छन् । उनले रकम लगेका खाता नम्बरहरू देखिन्छन् । रवि संलग्न गोर्खा मिडियामै ११ करोड आएको छ । २ करोड त रविको नाममा गएको छ’, उनले भने, ‘सहकारीको पैसा अन्त पठाउन र दिनै मिल्दैन ।’

उनले रवि को हुन् भन्ने पनि प्रश्न उठाए । ‘कास्कीमा मुद्दा चल्दा रवि लामिछाने पोखरा निवासी भनिएको छ । रुपन्देहीमा मुद्दा चल्दा बुटवल-११ बस्ने रवि लामिछाने भनिएको छ’, उनले भने, ‘आखिर ठगीमा संलग्न वास्तविक रवि लामिछाने को हुन् त ? सुप्रिम सहकारीकै अध्यक्षसहित अरु मान्छे थुनामा छन् । रविलाई मात्रै कसरी छाड्न मिल्छ ?’

रविलाई थुनामा राख्ने प्रशस्त आधार रहेको त्रिपाठीले इजलासमा बताए । ‘रविलाई थुनामा राख्ने बलिया आधार छन् । यदि अभियुक्तले कानुनी प्रक्रियालाई अवरुद्ध गर्न सक्छ र साक्षी-प्रमाण नष्ट गर्न सक्छ भने अदालतले उनलाई बेल दिन मिल्दैन । त्यसैले रविलाई थुनामा पठाउनुपर्छ ।’

उनले कानुन व्यवसायीमाथिसमेत हातपात गराउँदै हिँडेकाले रवि दण्डित हुनलायक व्यक्ति भएको बताए । ‘स्पष्ट रुपमा रविलाई थुनामा पठाउनुपर्छ । कानुन व्यवसायीमाथि पनि हातपात गराउने काम भएको छ’, उनले भने, ‘यो मुद्दामा एउटा अभियुक्त मात्रै उभिएका छैनन्, राज्य नै उभिएको छ । यदि यस मुद्दामा पनि राज्यले न्याय दिन सकेन भने जनताको विश्वास उड्छ । लोकतन्त्र पनि अपहृत हुन्छ ।’

संविधानले हरेक नागरिकलाई बाँच्न पाउने अधिकार दिएको बताउँदै सहकारीका बचतकर्तालाई ठगिएको उनले स्मरण गराए । ‘सहकारी पीडितहरू आवाज हुन् । आवाजविहीनहरूको न्यायको प्रश्न प्रमुख हुन्छ’, उनले भने, ‘न्यायिक प्रक्रियामाथिको विश्वास राख्नुपर्ने हुन्छ। धेरै ठाउँमा अपराध गर्नेलाई छाड्नु हुँदैन । रविले एक ठाउँ होइन, पाँच ठाउँमा ठगेको भेटिएको छ। अझ जीबी राई आए भने अरु ठगेका ठाउँ भेटिन सक्छन् ।’

उनले यस प्रकरणमा राज्य नै कठघरामा उभिएको दोहोर्‍याउँदै धेरै ठाउँमा अपराध गरेको देखिएकाले दण्ड पनि त्यहीअनुसार हुनुपर्ने बताए ।

‘मुलुकमा दुईवटा न्याय प्रणाली हुन्छ? पाँच पाँच ठाउँमा ठगेको मान्छेलाई बाहिरै राख्न उचित हुँदैन । यस प्रकरणमा रवि थुनामा जानलायक व्यक्ति हु्न्,’ उनले भने, ‘यस मुद्दामा श्रीमानको निर्णयमा पनि प्रश्न उठेको छ । त्यसैले रविबारे तपाईंले पनि मुद्दा हेर्न मिल्दैन । उनलाई उनको अपराधमा उचित सजाय निर्धारण हुनेमा तपाईंमाथि प्रश्न उठेको छ ।’

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ५ : २१ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी